‘ठुलो मान्छे’– बाबु रोका मगर

0
657

एकजना विद्वान ड्रामण्डले भनेका छन् ‘जो अरु कसैको विचार र तर्क सुन्न चाहदैन, त्यो कट्टर हो, जो तर्क गर्न सक्दैन त्यो मुर्ख हो र जो तर्क गर्ने साहस गर्दैन त्यो नोकर हो’ त्यसैले आज म ‘ठुलो मान्छे’ को केहि तर्क गर्न गइरहेको छु ।

आज ति अतीत वालापनलाई याद गरेर बस्छु यदाकदा मनमा तिखो सुइले घोपे जस्तो महसुस हुन्छ । बचपनमा स्कुल जाँदा बाटोमा कसैले सोधे भने पढेर के बन्छौ बाबु भन्दा ‘ठुलो मान्छे बन्छु’ भनेर जवाफ दिने सायद म मात्रै नभएर म जस्ता कयौ बाबु– नानीहरू छन् होला ।

फाटेको जाङ्गे झोलामा च्यातिएका किताब कापी अनि पेन्सिल र कलमका ठूटा बोकेर शिक्षा प्राप्त गर्नका लागि स्कुलमा पढाइ गर्न जाने हामी कयांै विधार्थीहरु मध्ये धेरै जस्तो बाबुहरू त पढेर ठुलै मान्छे बनेका छन् तर म भने सधै बाबु नै रहिरहे ।

उतिबेला पढाइमा खासै मन लगाएर पढिएन मैले सोच्थे कि– “हात्ती पढेर ठुलो भएको होर ?” स्कुलमा साथीहरुले घोकी–घोकी पाठ कण्ठ गरेको देख्थें घरमा आएर पनि उनीहरुले गृहकार्य गरेको देख्थें मनमनै सोच्थें होइन साँच्चै ठुलो मान्छे बन्न यसरीनै रगेटिनु पर्ने हो त ? ठुलो मान्छे कसरी बन्ने भन्नेबारे म सोच्ने गर्थें आज सबैले धन पैसा र मान प्रतिष्ठाको कुराकानी गर्दा बल्ल अहिले आएर थाहा भयो साँच्चै ठुलो माछे बन्न धेरै पढाई गर्नुपर्ने रहेछ । धेरै पढेपछि ठुला–ठुला देश अनि ठुला–ठुला शहरमा गएर ठुला–ठुला मान्छेहरुसँग अंग्रेजी भाषामा ठुला–ठुला कुराकानी गर्ने खाने लगाउने तरिका नै अर्कै हुँदोरहेछ ठुलो मान्छेहरुको ।

त्यति सजिलो कहाँ रहेछ र राजै ठुलो मान्छे बन्न ? मेरो साथीको कुरा गर्छु उ आज ठुलो मान्छे भएको छ । उसले ठुलो मान्छे बन्न धेरै मेहेनत गरेको छ । धेरै चिज गुमाएको छ । आफुलाई जन्म दिने बाबु–आमा आफु जन्मेको ठाउँ अनि आफ्नो देश छोडेर विश्वको सबैभन्दा ठुलो बिकशित देश अमेरिका पुगेको छ । यसैका लागि उसले गरेको मेहेनत मेरो लागि ठुलो चुनौतिको कुरा हो मैले चाहेर पनि त्यो काम गर्न सक्दैन । किनकि मलाई पढेर ठुलो मान्छे बन्नु थिएन । उसले जस्तै बाबु–आमा जन्मथलो अनि जन्मभुमि छोडेर अर्कैको भाषा बोल्न अरुको इशारामा काम गर्न उचित लागेन । आज उसको घरमा बुढा–बाबुआमा मात्रै टुक्रुक्क बसेको देख्दा ठुलो मान्छे बन्नुको मतलब बुझेको छु । जति बेला उ आफ्नै गाउँ आफ्नै देशमा थियो उसको कति राम्रो चर्चा थियो । उसको सबैले ध्यान दिन्थे मान सम्मान इज्जत पनि त्यस्तै थियो । किनकि उसले धेरै पढेको थियो । आज मैले उसलाई र म आफुले आफुलाई दाँज्न खोज्दा स्तर मेरो सानो भएता पनि बिचार चै उसको भन्दा मेरो नै ठुलो लाग्यो । किनकि मेरा साथीहरु पैसा कमाउनको लागि धेरै पढेका रहेछन तर मैले ज्ञान पाउनको लागि मात्रै थोरै पढे उनीहरुमा र म मा फरक यहि नै हो कि ?

आजकल उनीहरु आफ्नो दुनियाँमा रमाएको देख्छु, सोच्छु झ् उनीहरुको पढाइ यसो–आराम गर्नको लागि जस्तो ठान्छु । त्यसैले आजकल जो पनि पढाइ गर्न ठुलै देशमा गएको देख्छु । यहीकारण हो कि देशमा थोरै पढेलेखेका ब्याक्तिहरुले नै देश चलाउदै छन ? हाम्रो पढाइ यसो–आराम र पैसा कमाउनु मात्रै हो भने म त भन्छु यस्तो पढाइ नगरेको बेस पढाइ गरेर देशै छोड्नुपर्ने स्थिति आउछ भने त्यो पढाइको के जरुरत वास्तवमा पढाइ शिक्षा पाउनको लागि नभएर पैसा कमाउनको लागि भएको छ । पढाइको आबश्यक्ता भएर नै होला शहरका गल्लि गल्लीहरुमा बोर्डिङ्ग खोलिएका छन् । गाउँका सरकारी बिद्यालय गाभिदै छन् । आजको पढाइ पनि साँच्चै नै ब्यापार बन्दै गएको छ । मेरा छोराछोरीले आफूभन्दा ठुलो किताबको झोला बोकेर बोर्डिंग पढन गएको देख्दा कति दु:ख लागेर आउछ । किनकि उनीहरुलाई पनि ठुलो मान्छे बन्नु छ कठैबरा यो हरिबिजोग ? त्यसैले त म कहिल्यैपनि ‘ठुलो मान्छे’ बन्न चाहेन ।

तपाइ हामी मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो छ कि प्राय हामी मानिसहरुलाई यो विचारलाई कसरी करोडौं डलरमा बदल्ने भन्ने कुरा थाहा छैन । धेरै पढेलेखेका व्याक्तिहरुको सोंच पनि ठुलै हुने भएकोले उनीहरुसँग बोलि भाषा पनि नमिलेको जस्तो भान हुने गर्छ यस्सो आफुले नेपालीमा कुरा गरेपनि उनीहरुले अंग्रेजी नै पड्काएपछि साँच्चै नै ठुलो मान्छे हो जस्तो लाग्छ अनि यदाकदा उनीहरुसँग बोल्न पनि ओठ थरर्र काापेर आउछ । यो अंग्रेजी भाषा पनि कति ठुलो रहेछ ? त्यसैले होला दुनियाँका हरेक मान्छेहरुले यो भाषा बोल्न सिकेका ज्ञान बिज्ञानका धेरै कुरा गर्छन् । बिकास र सामाजिक कुरा चै एकदम थोरै गर्छन् । सायद उनीहरु देश छोड्नको लागि नै पढाइ गरे कि ? कुनैबेला एउटा नारा सुनेको थिए “आजको शिक्षा भोलिको आबश्यक्ता“ सायद यहि नै होला हिजोको शिक्षाले आज “एनी हाउ पैसा कमाउ” भन्ने लहर ल्याएको छ धेरै पढ्नेहरु किताबको हिरो जरुर बने तर ब्यबहारिकताको हिरो बन्न सकेनन कि ?

चिल्ला गाडीहरु अनि चम्किला घरमा नोकरचाकर राखेर मौसम अनुसारको भ्रमणमा घुम्न निस्कने तर मजबुर ब्यक्तिलाई सहयोग नै नगर्ने उल्टै मान खोज्दै ठुलो स्वरमा आफ्नो पहिचान गराउने वाह‘ वाह‘ क्या सान छ ठुलो मान्छेको । पहिचान बोल्यो जान्ने भयो नबोलि हिड्यो ठुलो भयो हामी मान्छेहरुको सोंच ?

मान्छे पद प्रतिष्ठामा जतिसुकै ठुलो भएतापनि असन्तुष्ट भएपछी सबैको मनमा यहि कुरा खेलिरहेको हुन्छ रे कास म ठुलो मान्छे हुन्थे भने…. ? हामी मान्छेहरु लोभीको भाँडो हो हामीलाई जति दिए पनि थोरै हुन्छ त्यसैले इच्छा भन्दा आबश्याक्तालाई पुरा गरौं किनकि मानिसको इच्छा कहिल्यै पुरा हुन सक्दैन ।

हामीले ध्यान दिनुपर्ने एउटा कुरा मान्छे आफु कहिल्यै ठुलो हुँदैन र आफुले आफुलाई ठुलो ठान्नु पनि हुँदैन तपाइ हामीले गरेको कर्मलाई चिनेर बुझेर अरु मान्छेहरुले नै ठुलो बनाउ छन् । त्यहि नै ठुलो मान्छेको पहिचान हो । राम्रो कर्म गरौं राम्रो अनि ठुलो मान्छे बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here