ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

0
158

इस्लामावाद । पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

ट्रम्पको यस्तो वयानपछि पाकिस्तानी सरकारले कडा विरोध जनाएको छ। पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफ भनेका छन्– ‘हामी चाँडै नै राष्ट्रपति ट्रम्पलाई जवाफ दिनेछौं। हामी दुनियाँलाई सत्य कुरा बताउनेछौं। तथ्य र काल्पिनिकबीचको फरक बताउनेछौं।’ लगत्तै इस्लामावादमा रहेका अमेरिकी राजदूत डेविड हलेलाई बोलाएर पाकिस्तान विदेश मन्त्रालयले ट्रम्पको ट्वीटको विरोध जनाएको छ।

यस्तै, पाकिस्तानी नागरिक पनि ट्रम्पको विरोधमा उत्रिएका छन्। अफगानिस्तानमा आफ्नो सैनिक फौज उतार्दासमेत अमेरिका असफल भएको र कमजोर देशलाई मात्रै दोषी देख्ने गरेको भन्दै पाकिस्तान आतंकवादीविरुद्ध लड्न सक्षम रहेको सन्देशसहित सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखिरहेका छन्।

ट्रम्पको विवादित ट्वीटपछि पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासीले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।

चीन र साउदीको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग रोक्ने निर्णयले पाकिस्तानलाई कुनै असर नपर्ने भएको छ। किनकी अमेरिकाले सन् २०१० देखि निरन्तर सैन्य सहयोगमा कटौती गर्दै आइरहेको छ।

अर्को तर्फ चीन र साउदी अरबले पाकिस्तानमा लगानी बढाइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय चीन पाकिस्तानको ठूलो सहयोगी बन्दै आइरहेको छ र लगातार लगानी बढाइरहेको छ। चीनका अलावा साउदी अरब पनि पाकिस्तानका लागि दोस्रो ठूलो सहयोगी हो। कैयौ परियोजनामा अनुदान दिँदै आएको छ।

निरन्तर घटिरहेको छ अमेरिकी सहयोग

अमेरिकाले २००९/११ को हमलापछि पाकिस्तानलाई दिँदै आएको आर्थिक सहयोगमा कटौती सुरु गरेको थियो। २०१० सम्म ४.५ अर्ब डलर दिँदै आएको अमेरिकाले २०१६ सम्ममा ७९४ लाख डलरमा झार्यो। २००२ देखि २००९ सम्म वार्षिक २.२ अर्ब डलर दिँदै आएकोमा २०१० मा ४.५ अर्ब डलर दियो। तर, २०१६ मा घटेर ७९४ लाख डलरमा आइपुग्यो।

कुल सहयोगको तथ्यांकलाई हेर्ने हो भने अमेरिकाले २०१० मा पाकिस्तानलाई १.२४ अर्ब डलर दिएको थियो। २०१६ सम्म आइपुग्दा घटेर ३१६ लाख डलरमा आइपुग्यो।

यस्तो बेला ट्रम्पले पाकिस्तानलाई वार्षिक रुपमा दिइँदै आएको २२५ लाख डलर रोक्ने निर्णयले इस्लामावादलाई कुनै असर गर्नेछैन्। पाकिस्तानले अमेरिकाबाट सन् १९४८ देखि नै आर्थिक सहयोग पाउँदै आएको छ। जसमा आधाभन्दा बढी सैन्य सहयोग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here