झिमरुकले बनायो पक्की पुल 

0
189
प्युठान । झिमरुक गाउँपालिकाको वडा न. ३ आहालखोलामा कृषि सडक तथा पक्की पुल (कल्भर्ट) निर्माण कार्य सम्पन्न भएको छ । झिमरुक गाउँपालिकाको आ.व. २०७४–७५ को ५० लाख तथा श्रमदान अन्तर्गत पाँच लाख ९२ हजार एक सय ६९ रूपैयाू गरी कुल ५५ लाख ९२ हजार उक सय ६९ रूपैयाूमा उक्त कृषि सडक तथा पक्की पुल निर्माण कार्य सम्पन्न भएको हो ।
                पुल तथा सडक प्रदेश सभा सभासद कृष्णध्वज खड्का र तारा जिसीले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा सभासदहरूले विकास निर्माणका काममा स्थानीय जनता र जन प्रतिनिधि संयुक्त रूपमा लाग्नु पर्ने बताउनु भयो । झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले झिमरुक रिङरोड अन्तर्गत त्यो पुल निर्माण भएको र छिट्टै नै रिङरोडको काम सम्पन्न हुने कुरा जानकारी दिनु भयो । पुल निर्माण भएपछि झिमरुक गाउँपालिकाका ओखरकोट, आहालखोला, बाँदीकोटका साथै गौमुखी गाउँपालिकाका नारीकोट, खुङ तथा गुल्मी जिल्लाका उपभोक्ता समेत लाभान्वित भएका छन् । साविक ओखरकोटको आहालखोला र बाँदीकोट कृषि उत्पादनको लागि उर्वर भूमि हुन् ।
               कृषि सडक वरिपरि रहेको आहालखोलामा खास गरी आलु र मुलाको बिउको राम्रो उत्पादन हुने गरेको छ । आहालखोलामा उत्पादन हुने मुला र आलु जिल्लाका विभिन्न बजार र जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । गाउँपालिकाले उक्त क्षेत्रलाई आलु तथा मुलाको पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । पक्की पुल निर्माण भएपछि कृषि उत्पादन निर्यात गर्न सहज हुने वडा अध्यक्ष मिन बहादुर केसीले बताउनु भयो । वर्षाको समयमा आवतजावत गर्न समेत स्थानीयलाई सजिलो हुने भएको छ । वर्षामा बाढी आइरहने र नजिकमा झोलुङ्गे पुलसम्म पनि नभएकोले वर्षाको समयमा वारपार गर्न समेत स्थानीय जनतालाई मुस्किल परेको थियो ।
             पुल निर्माण भएपछि स्थानीय जनता खुशी भएको वडा अध्यक्ष केसीले बताए । खोलामा आउने बाढीका कारण नजिकै रहेको प्रभात माविमा वर्षाको समयमा विद्यार्थी आवतजावत गर्न सक्दैनथे । त्यो वाहेक मच्छीको गौमुखी क्याम्पस, स्कुल र ढाँडाको बजार आउन जान पनि दिन कुर्नु पथ्र्यो । अब स्कुल, क्याम्पस र बजार जान सहज भएको प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक खोडस केसीले बताउनु भयो । ‘वर्षाको समयमा साना नानीबाबुहरू सजिलै स्कुल आउन सक्नेछन’ केसीले भन्नु भयो । राष्ट्रिय जनमोर्चाले चुनाव अगाडि पुल बनाइदिने प्रतिबद्धतालाई पुरा गरेकोमा आफूलाई धेरै खुसी लागेको कुरा स्थानीय हरि बहादुर एमसीले सुनाउनु भयो । वर्षातको समयमा खोलाले कसलाई बगाउने हो भन्ने चिन्ता हुन्थ्यो भन्दै अब त हामी मात्र होइन, गाडी पनि पुलबाटै गुड्ने भयो, बोलेको काम पुरा गरेको भन्दै गाउँपालिका नेतृत्वलाई स्थानीय जनताले धन्यवाद दिएका छन् ।
               प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बहुमत वडा अध्यक्ष र सदस्य सहित राष्ट्रिय जनमोर्चाले जितेको छ । विकास जसले गरे पनि सबै जनताको हुने कुरा उल्लेख गर्दै उपभोक्ता समितिका अध्यक्ष केशर जङ्ग एमसीले पुल बनाउदा जनमोर्चाले काम गर्‍यो भनेर पुल बनाउन नदिन केही नेता नै लागेको र पुल बनेपछि उनीहरूको मुख बन्द भएको सुनाए । गाउँपालिकाको उक्त बजेटले पक्की पुलको निर्माण गर्नुका साथै दुई हजार सात सय ३० मिटरको छ मिटर चौडा बाटोको निर्माण, नदी नियन्त्रणका लागि तटबन्ध तथा मेसिनरी वालको समेत निर्माण कार्य सम्पन्न भएको झिमरुक गाउँपालिकाका सवइन्जिनियर नगेन्द्र आचार्यले बताउनु भयो । – सुवाश संयम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here