झिमरुकले गरिबको घरमा टिन लगाइदिने

0
701

प्युठान । आ.व. २०७५/७६ को बजेट प्रस्तुत गर्दै झिमरुक गाउँपालिकाको गाउँसभाले आफ्नो गाउँपालिकाका गरिब तथा विपन्न परिवारको खरको छानो हटाइ जस्ताले घर छाइदिने कार्यक्रम बनाएको छ ।

गत असार ९ गते गाउँपालिकाको मच्छीमा सम्पन्न सभामा सभाका सदस्य टिका बहादुर जिसीले आ.व. २०७५/७६ का लागि ३६ करोड ७२ लाख ५६ हजार बजेट प्रस्तुत गर्नु भएको थियो । कुल विनियोजन बजेटमध्ये चालुतर्फ २६ करोड ५६ लाख आठ हजार आठ हजार दुई सय रूपैया छुट्टाइएको छ भने पुँजीगततर्फ १० करोड १६ लाख ४७ हजार आठ सय विनियोजन गरिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र क्षेत्रको सन्तुलित र दिगो विकास गर्दै गरिबी, असमानता र भोकमरीको न्यूनीकरण गर्दै दिगो विकास लक्ष्य हासिल गरी देशकै नमूना गाउँपालिकाका रूपमा “हाम्रो झिमरुक, राम्रो झिमरुक” बनाउन बजेट उद्यत रहेको कुरा गाउँपालिकाका प्रमुख तिलक जिसीले बताउनु भएको छ ।

यस वर्ष मुख्य योजनाका रूपमा झिमरुक रिङरोड अन्तर्गत दहखोला, मर्कावाङ, चुधारा, बासटारी, बाङ्गे, बौडा, पोखरी, बडडाँडा, सौतामारे, बालुवाखोला, चिप्लेटी, नब्बे, भेडावारी, बेबर, खेवलीघारी, टिमुरचौर, दिहाल्ना, तुषारा, कुता, कुटिचौरबाट बतासेडाँडाका लागि ५० लाख, मच्छी, सौतामारे हुँदै पुर्कोटदह सडकका लागि ५० लाख, नब्बे–थापाचौर सडकका लागि २५ लाख, चमेरे–बागमारा–पाहाले–नुवार गुल्मीको सडक स्तरोन्नतिको लागि २१ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी, पर्यटन विकासका लागि होमस्टे भवन निर्माण गर्न १० लाख, गढी, अमलादेवी मन्दिर मर्मत गर्न चार लाख ७५ हजार र रक गार्डेनको डी.पी.आर. निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ । आर्थिक विकासका मुख्य क्षेत्र कृषि, पशु, पर्यटन, सहकारीका क्षेत्रमा ९८ लाख २५ हजार, व्यावसायिक, आधुनिक र आत्मनिर्भर कृषि प्रणाली विकासका लागि ७७ लाख ६० हजार विनियोजन गरेको छ । यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र सामाजिक विकासको लागि २१ करोड ३६ लाख ३९ हजार विनियोजन गरिएको छ ।

शिक्षामा गुणस्तर कायम गर्नका लागि एक करोड पुँजीगत अनुदान सहित शिक्षा क्षेत्रमा कुल ११ करोड ७१ लाख ३८ हजार रूपैयाँ छुट्टाइएको छ । खेलकुद मैदान निर्माण गर्न चार लाख छ हजार, उर्जा विकासका लागि २७ लाख सात हजार तथा भवन तथा शहरी विकासका लागि ६१ लाख ४० हजार विनियोजन भएको छ ।

जनतामा कर तिर्ने बानीको विकास गराई ४८ लाख राजस्व आर्जन गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रसासकीय अधिकृत तारकिरण कुँवरले जानकारी दिनु भयो ।– सुवास जि.सी.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here