जीवनसित जोडिएका संस्कार, आचरण र चाडबाडहरूको सैद्धान्तिक विवेचना

0
698
– मोहनविक्रम सिंह

यो लेखमा जीवनका जन्मदेखि मृत्युसम्म जोडिएका विभिन्न संस्कार, आचरण र चाडबाडबारे समेत वैचारिक रूपले प्रकाश हाल्ने प्रयत्न गरिने छ । तर तिनीहरूबारे विचार गर्नुभन्दा पहिले यो प्रश्नबारे नै केही विचार गर्नुपर्ने आवश्यकता छ : जीवन के हो ? त्यो प्रश्नको जवाफमा एकजना चिकित्सकले भनेका थिए : कुनै मानिसको जन्मदेखि मृत्युसम्मको अवधि नै जीवन हो । जीवनको त्यो परिभाषा सही मात्र छैन, सरल, सङ्क्षिप्त र सटीक पनि छ । सामान्यतः जीवन भन्नाले जन्मदेखि मृत्युसम्मको अवधिलाई बुझ्नु पर्दछ । तर त्यो कुरा सामान्यतः नै सत्य हो । कुनै व्यक्तिको जीवनसित जोडिएका संस्कारहरू जन्मभन्दा पहिलेको अवस्था र मृत्युभन्दा पछिको अवस्थासित पनि जोडिएका हुन्छन्, जस्तै किरिया, अशौच, श्राद्ध, स्मृतिसभा आदि । जीवनबारे विचार गर्दा एउटा अर्को दृष्टिले पनि विचार गर्नुपर्ने आवश्यकता छ । पहिलो, वस्तुगत पक्ष र दोस्रो, आत्मगत पक्ष । जीवनको वस्तुगत पक्ष भन्नाले मूलतः प्राणसहितको शारीरिक रूप आउँछ । आत्मगत पक्ष भन्नाले जीवनसित जोडिएका भावनात्मक, सामाजिक वा सांस्कृतिक पक्षहरू आउँछन् । पहिलो प्रधान पक्ष हो र त्यसबारे सामान्यतया विश्वव्यापी रूपमै एकरूपता हुन्छ । दोस्रो पक्षबारे संसारका विभिन्न देश, एउटै देशका पनि विभिन्न भाग वा जातिहरूमा कैयौँ भिन्नता हुन्छन् । यो लेखमा जीवनसित जोडिएको दोस्रो पक्षबारे नै प्रकाश हाल्ने प्रयत्न गरिने छ ।

यो लेखमा विचार गर्न थालिएका विभिन्न प्रश्नहरू आचरण वा जीवनको दोस्रो पक्ष, अर्थात्, आत्मगत पक्षसित नै सम्बन्धित छन् । तिनीहरूबारे दुईवटा कुराहरू प्रारम्भमा नै स्पष्ट हुनुपर्ने आवश्यकता छ : पहिलो, ती सबैको स्वरूप मूलरूपमा भौतिक, सामाजिक वा व्यावहारिक हुन्छ । दोस्रो, तिनीहरू सधैँ स्थिर रहन्नन् र तिनीहरूमा परिवर्तन भइरहन्छ । ती दुवै प्रवृत्तिहरूसित जोडिएको एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ : पहिलो, अध्यात्मवादीहरूले सामान्य भौतिक, सामाजिक र व्यावहारिक क्रियाकलापहरूलाई धार्मिक रूप दिने प्रयत्न गर्दछन् । दोस्रो, तिनीहरूलाई स्थिर राख्न प्रयत्न गर्दछन् । ती ४ वटा प्रवृत्तिहरूका सीमाभित्र नै हामीले जन्मदेखि मृत्युसम्मका सबै संस्कार, आचरण वा चाडबाडहरूलाई व्याख्या गर्ने र बुझ्ने प्रयत्न गर्नुपर्दछ । यो प्रसङ्गलाई सुरु गरौँ–मकैको उदाहरणबाट ।

पहिले गाउँका बारीमा मकै फलेपछि धार नदिई खान हुँदैनथ्यो । तराईमा पनि भुँडेबाबालाई नचढाई खान हुँदैनथ्यो । त्यसरी मकै खाने कार्यलाई देवी, देवता वा धार्मिक कार्यसित जोडिएको छ । तर त्यसका मूलमा जुन दृष्टिकोणले काम गरेको छ, त्यसको प्रकृति भौतिक, सामाजिक र व्यावहारिक प्रकारको छ । त्यसरी मकैको पूजा गर्ने प्रचलनद्वारा सर्वप्रथम अन्नप्रति आदर प्रकट गरिएको छ । त्यो जीवनको महत्वपूर्ण आधार हो । त्यसकारण त्यसप्रतिको आदर स्वाभाविक हो । साथै मकै खान लायक नहुँदासम्म त्यसलाई खाएर नष्ट नगरियोस् भन्नका लागि प्रतिबन्ध लगाउन पनि त्यस प्रकारको पूजाको विधि अपनाउने गरियो । विभिन्न धार्मिक ग्रन्थ वा स्थानहरूमा अन्नको अन्य विभिन्न रूपमा पूजा गर्ने प्रचलनहरू छन् । मकै भौतिक पदार्थ हो । त्यससित जोडिएका विभिन्न प्रकारका पूजाका विधिहरू सामाजिक–सांस्कृतिक पक्षहरू हुन् । भौतिक रूपमा सबैलाई पूजा गरेर खाइन्छ वा नगरिकन खाइन्छ – त्यसबाट भौतिक स्वरूप वा उपयोगितामा कुनै अन्तर आउन्न । त्यससित जोडिएका पूजाका विभिन्न विधिहरू बेग्लाबेग्लै स्थान वा कालका मानिसहरूका भावना वा मान्यताहरूका परिणामहरू हुन् ।

मानव जीवनसित जोडिएका विभिन्न संस्कारहरूलाई नै हेरौँ । कुनै बच्चा जन्मेपछि मात्र होइन, कुनै महिलालाई गर्भ रहेपछि पनि विभिन्न प्रकारका पूजा गरिन्छ वा उत्सव मनाइन्छ । हिन्दुस्थान वा हाम्रो देशको तराईमा पनि त्यस्तै एउटा पूजा गरिन्छ, जसलाई ‘गोद भराइ’ भनिन्छ । त्यो पूजा, एकातिर, कुनै बच्चाले गर्भ धारण गरेकोमा प्रसन्नताको सूचक हो भने अर्कातिर, त्यो गर्भमा रहेको बच्चाको सुरक्षाको कामनाद्वारा निर्देशित हुन्छ । तर त्यो मानवीय भावनालाई धार्मिक रूप दिइएको छ ।

बच्चा जन्मेपछि कैयौँ धार्मिक कार्यहरू गरिन्छन्, जस्तो कि ६ दिनमा छैठी, ११ दिनमा न्वारान, ६ महिनामा भात ख्वाई आदि । यी सबै कार्यको व्यावहारिक वा सामाजिक महत्व प्रस्ट छ । बच्चा जन्मेपछि परिवार वा इष्टमित्रमा प्रसन्नता हुन्छ । त्यही प्रसन्नता व्यक्त गर्न नै छैटी मनाइन्छ । कुनै व्यक्ति जन्मेपछि नाम राख्नुपर्ने आवश्यकता हुन्छ । त्यस दृष्टिकोणले न्वारानको महत्व हुने प्रष्ट छ । त्यही कुरा भात ख्वाईका सन्दर्भमा पनि सत्य हो । जन्मेपछि बच्चाहरूले आमाको दूध खान्छन् । तर केही महिनापछि उनीहरूलाई अन्न ख्वाउनुपर्ने आवश्यकता हुन्छ । त्यसैलाई भात ख्वाई भनिन्छ ।

मानिसको जीवनमा अन्य कैयौँ महत्वपूर्ण चरणहरू हुन्छन्, जस्तो कि विवाह, चौरासी पूजा, मृत्युको बेलामा गरिने किरिया वा मृत्युपछि गरिने श्राद्ध आदि । भौतिक वा सामाजिक दृष्टिले तिनीहरूको महत्व छ । विवाह जीवनको महत्वपूर्ण चरण हो । त्यसै गरेर चौरासी पूजा पनि कुनै व्यक्ति वृद्ध भएपछि ऊप्रति प्रकट गर्ने आदर वा सम्मानको एउटा रूप वा अभिनन्दन हो । परिवारका कुनै व्यक्तिको मृत्युबाट परिवार वा इष्टमित्रलाई धेरै नै दुःख लाग्छ । त्यो बेला किरिया बस्दा कैयौँ दिनसम्म सेता कपडा लगाउने, कपाल काट्ने, नून नखाने वा बेग्लै बस्ने गरिन्छ । त्यो कुनै व्यक्तिको मृत्युपछि शोक प्रकट गर्ने एउटा पद्धति हो । मृत्युपछि पनि एक–एक वर्षमा श्राद्ध गर्ने गरिन्छ । त्यो मृत व्यक्तिको सम्झना वा उसप्रतिको आदर हो । उक्त विषयहरूमा संसारका विभिन्न देशहरूमा बेग्लाबेग्लै प्रचलन पाइन्छन् ।

माथि उल्लिखित सबै कार्य भौतिक, सामाजिक वा मानवीय दृष्टिले महत्वपूर्ण छन् । व्यावहारिक दृष्टिले पनि तिनीहरूको उपयोगिता भएको कुरा प्रष्ट छ । तर ती सबै कार्यहरूलाई धार्मिक रूप दिने प्रचलन विश्वव्यापी रूपमा नै पाइन्छ । तिनीहरूका स्वरूपमा विभिन्न देश वा जातिहरूमा कैयौँ भिन्नता पाइन्छन् । तैपनि सामान्य रूपमा त्यस प्रकारका धार्मिक प्रचलनहरूलाई लौकिक जीवनभन्दा बाहिरका धर्म, पाप, पुण्य, स्वर्ग, नर्क, ईश्वर, देवी–देवता, भूत–प्रेत आदिसित जोड्ने गरिएको पाइन्छ । विभिन्न देश वा धार्मिक सम्प्रदायहरूमा तिनीहरूबारे कैयौँ धार्मिक ग्रन्थहरूको रचना गरिएको छ वा तिनीहरूबारे लामो परम्परा रहने गरेको छ । त्यस प्रकारका धार्मिक विधिहरूसित मानिसका गहिरो भावना, विश्वास वा मान्यताहरू जोडिने गरेका छन् । तैपनि जीवनको भौतिक पक्ष प्रधान र शाश्वत पक्ष हो । संसारभरि तिनीहरूको स्वरूप मूलतः एकै प्रकारको हुन्छ । तर त्यससित जोडिएका धार्मिक पक्षहरू उपरी र गौण पक्ष हुन् । बेग्लाबेग्लै देशहरूमा मात्र होइन, एउटै देशका बेग्लाबेग्लै कालहरूमा, एउटै देशका पनि बेग्लाबेग्लै भाग वा जातिहरूमा पनि तिनीहरूबारे भिन्नता हुन्छ वा तिनीहरूमा परिवर्तन भइरहन्छ । बेग्लाबेग्लै देश वा समाजमा जीवनसित जोडिएका धार्मिक विधि, संस्कारहरूमा भिन्नता भए पनि बच्चा जन्मेपछि हर्ष मनाउने, नाम राख्ने, अन्न खुवाउने, विवाह, चौरासी पुगेपछि सम्मान प्रकट गर्ने, मृत्युपछि शोक मनाउने, मृत्युपछि प्रत्येक वर्ष उसको सम्झना गर्ने वा उसप्रति आदर गर्ने कार्यहरूको सामाजिक वा मानवीय महत्व भएको कुरा स्पष्ट छ ।

अध्यात्मवादीहरूले खालि मानव जीवनसित सम्बन्धित विषयहरूमा मात्र होइन, कैयौँ भौतिक विषयहरूलाई पनि धार्मिक पक्ष वा देवी देवतासित जोड्ने गर्दछन् । हिमालयसित जोडेर कैयौँ देवी देवताहरूको कल्पना गरिएको छ । पृथ्वी, आकाश र ग्रहहरू, पानी, नदी, समुद्र, पहाड, पर्वत, विभिन्न रुख (वर, पीपल), घाँस–पात (दुबो, पाती), कैयौँ पहाड, द्यौराली, पशुपंछी आदिका सन्दर्भमा पनि त्यही कुरा सत्य हो । तर विभिन्न भौतिक पदार्थहरूसित जोडिएका अध्यात्मवादी वा धार्मिक पक्षहरूलाई हामीले स्वीकार नगरे पनि ती सबै भौतिक तत्वहरूलाई निषेध गर्ने वा तिनीहरूको उपयोगितालाई अस्वीकार गर्न मिल्दैन । वास्तविकता यो हो कि ती सबै भौतिक पदार्थहरूको मानव जीवनमा ठूलो महत्व, उपयोगिता वा आवश्यकता हुन्छ । त्यसकारण ती सबैको पूजा गर्ने प्रणाली मूल रूपमा तिनीहरूप्रतिको आदर वा सम्मान हो । मानव जीवनमा तिनीहरूको ठूलो महत्व भएको कुरालाई स्वीकार गरिन्छ । पृथ्वीबारे कैयौँ धार्मिक वा देवी देवताको कल्पना गरिएको छ । तिनीहरूबारे हाम्रो दृष्टिकोण जे भए पनि पृथ्वीको आवश्यकता, महत्व वा उपयोगिता अस्वीकार गर्न मिल्दैन । पृथ्वीलाई निषेध गरेर कहाँ गएर बस्ने ? आगो, पानी, नदी, आकाश, वायु, वनस्पतिसितका कैयौँ अवधारणाहरू, धार्मिक विश्वास वा अन्धविश्वासका कारणले तिनीहरूको उपयोगितालाई निषेध गर्ने कुरा सोच्न पनि सकिन्न । त्यही कुरा जन्मदेखि मृत्युसम्मका सबै संस्कारहरूका बारेमा पनि सत्य हो ।

देशमा कैयौँ चाडबाड, मेला र पर्व मनाइन्छन् । प्रायशः ती सबैको सामाजिक महत्व हुन्छ वा तिनीहरू मनोरञ्जनका माध्यम हुन्छन् । विभिन्न जातिसित सम्बन्धित कतिपय त्यस प्रकारका चाडबाड आदिको प्रचलन सामाजिक प्रकारको हुन्छ, तर पछि तिनीहरूलाई धार्मिक रूप दिइएको हुन्छ । तैपनि व्यवहारमा तिनीहरूले सामाजिक रूप ग्रहण गरेका हुन्छन् । कतिपय चाडबाडहरू धार्मिक आधारमा प्रारम्भ भएका हुन्छन् । तैपनि व्यवहारमा तिनीहरूले सामाजिक रूप ग्रहण गरेका हुन्छन् । दसैँ, तिहार, तीज, देवाली पूजा, ल्होसार, इद, बकरिद, बडादिन आदि सबैका सन्दर्भमा त्यो कुरा सत्य हो । यी सबै चाडपर्वलाई एक वा अर्को रूपले धर्मसित जोड्ने कार्य गरिएको हुन्छ । उदाहरणका लागि दसैँलाई राम–रावण युद्धपछि रामको अयोध्या आगमनसित जोडिएको छ । तीजलाई महादेव पार्वतीको प्रेम र विवाहसित जोडिएको छ । अन्य चाडपर्वलाई पनि एक वा अर्को प्रकारले धर्म, देवी देवता आदिसित जोड्ने गरिन्छ । तर त्यस प्रकारका चाडपर्व चाहे धार्मिक आधारमा प्रारम्भ गरिएको होस् वा पछि तिनीहरूलाई धार्मिक रूप दिइएको होस्, व्यवहारमा तिनीहरूले सामाजिक रूप ग्रहण गरेका हुन्छन् । दसैँ मनाउँदा मानिसहरूको ध्यान ती चाडपर्वसित जोडिएका धार्मिक पक्षहरूप्रति कम जान्छ, तर तिनीहरूका सन्दर्भमा मानिसहरूको सामाजिक सम्बन्धको पक्ष प्रधान हुन्छ । ती चाडपर्व मनाउँदा मानिसहरू प्रसन्न हुन्छन् । केटाकेटी रमाउँछन् । टाढा–टाढा गएका इष्टमित्रहरू घर फर्कन्छन् । राम्रा वा नयाँ कपडा लगाउँछन् । तीजलाई नै लिऊँ । त्यसको धार्मिक पक्ष जे भए पनि त्यसलाई महिलाहरूको विशेष चाडका रूपमा लिइन्छ । मीठो खान्छन् । नयाँ कपडा लगाउँछन् । एक अर्कासित प्रसन्नताको आदान–प्रदान गर्दछन् । नाचगान गर्दछन् । वास्तवमा ती सबै चाडबाडहरू मानिसबीचको सम्बन्धका माध्यम हुन्छन् । उदाहरणका लागि कुल पूजा वा देवालीलाई नै लिऊ । बेग्लाबेग्लै थर र जातिहरूले बेग्लाबेग्लै प्रकारले कुल पूजा गर्दछन् । त्यसका सन्दर्भमा विभिन्न प्रकारका धार्मिक विधि अपनाउँछन् । तैपनि ती सबै गौण पक्षहरू हुन् । प्रधान पक्ष कुल पूजाका अवसरमा त्यो थर र जाति विशेषका मानिसहरूका बीचको सामाजिक सम्बन्ध हो । त्यो बेला त्यो थर र जाति विशेषका मानिसहरू टाढा–टाढाबाट आउँछन् र आपसमा भेटघाट हुँदा उनीहरू प्रसन्न हुने गर्दछन् ।

कैयौँ चाडपर्वहरूको प्रारम्भ भौतिक आधारमा भएको हुन्छ । मानिसहरूको जीवनमा वर्षा, अग्नि, पानी, अन्न, हावा, माटो, पृथ्वी, आकाश, सूर्य, चन्द्र, नदी, समुद्र आदिको घनिष्ट सम्बन्ध हुन्छ । कैयौँ चाडपर्व वा मेला तिनीहरूसित नै सम्बन्धित हुन्छन् । तिनीहरूबारे बेग्लाबेग्लै धार्मिक विधिहरूद्वारा पूजा गरिन्छ वा मेलाहरूको आयोजना गरिन्छ । तर ती धार्मिक विधि वा पूजाहरूका कारणले मानिसहरूको जीवनमा वर्षा, अग्नि, पानी, अन्न, हावा, माटो, आकाश, सूर्य, चन्द्र आदिको महत्व कम हुन्न वा तिनीहरूलाई निषेध गर्न सकिन्न ।

अध्यात्मवादीहरूमा कुनै चीजलाई धार्मिक रूप दिने प्रवृत्ति यति धेरै पाइन्छ कि त्यस प्रकारको प्रवृत्तिबाट प्रायशः कुनै पनि चीज बाहिर हुन्न । कुनै मानिसको आँखा वा शरीरको कुनै अङ्ग फरफराउँछ । त्यसको धार्मिक रूपले व्याख्या गरिन्छ । घरबाट निस्कँदा भरिएको वा रित्तो गाग्री, मुर्दा आदि देखियो, बिरालो वा सर्पले बाटो काट्ने आदि कैयौँ प्रसङ्गहरूमा बेग्लाबेग्लै धार्मिक व्याख्याहरू गरिएका हुन्छन् । मानिसले सपना देख्दछन् । तिनीहरूको पनि धार्मिक रूपले बेग्लाबेग्लै प्रकारले व्याख्या गरिएको हुन्छ । मानिसको मृत्यु हुन्छ । मृत्यु जीवनको सबैभन्दा अन्तिम र दुःखद पक्ष हो । कसैको मृत्यु भएपछि शोक मनाउनु सामान्य र स्वाभाविक कुरा हो । मृत्युपछि कुन प्रकारको शोक अपनाउने ? त्यसबारे हाम्रो देशमा पनि विभिन्न धार्मिक वा सामाजिक सम्प्रदायहरूमा कैयौँ भिन्नता पाइन्छ । मुस्लिम, इसाई, विभिन्न जनजाति आदिमा त्यसबारे बेग्लाबेग्लै विधि अपनाइन्छन् । संसारका बेग्लाबेग्लै देशहरूमा पनि त्यस प्रकारका कैयौँ विधिविधान छन् । त्यसै गरेर जन्मभन्दा पहिलेको पूर्वजन्म र मृत्युपछि पुनर्जन्मबारे पनि धर्मले कैयौँ रहस्यमय प्रकारका कल्पना गरेको छ । मध्ययुगमा मरेपछि स्वर्ग जाने भन्ने विश्वासमा युरोपमा पोपहरूबाट “पापमोचन पत्र” किन्न नसक्ने मान्छे मरेपछि नर्क पर्छ भन्ने अन्धविश्वास व्याप्त थियो । सर्वप्रथम सन् १५१७ मा मार्टिन लुथरले “पापमोचन पत्र”का विरुद्ध आवाज उठाए । पुनर्जागरणकालको भेलले यो अन्धविश्वासलाई बढारेको थियो ।

आज पनि हिन्दु समाजमा मरेका बाबुबाजेले खान्छन् भन्ने अन्धविश्वासमा पिण्ड चढाउने, ती मृतकहरूले पाउँछन् भन्ने भ्रममा बाहुनलाई गाई, पलङ, लत्ताकपडा र प्रशस्त द्रव्य दान गर्ने प्रचलन हराएको छैन । आज सहजजस्तो देखिने यो प्रचलन अध्ययन र मानव चेतनाको विकाससँगै भावी पुस्ताका लागि एउटा आश्चर्य र दन्त्यकथाको विषयजस्तो बन्ने छ । त्यसबारे संसारका विभिन्न देशका धर्म र जातिहरूमा बेग्लाबेग्लै प्रकारका व्याख्याहरू पाइन्छन् । महिला रजस्वला हुन्छन् । त्यसबारे पनि हाम्रो देशमा बेग्लाबेग्लै विधिहरू अपनाइन्छन् । हिन्दु समाजमा कैयौँ दिनसम्म घरपरिवारसित नछोईकन बस्नु पर्दछ । तर नेवार वा विभिन्न जनजातिहरूमा त्यस प्रकारको परहेज गरिन्न । सुदूरपश्चिमी पहाडहरूमा छाउपडी प्रथा पाइन्छ । त्यो बेला रजस्वला भएकी महिला घरभन्दा बाहिर गोठ वा अन्यत्र बस्नुपर्दछ । ती सबै कुराहरूलाई हामीले दुई भागमा बाँडेर हेर्नु पर्दछ : पहिलो, ती सबैसित जोडिएका भौतिक, सामाजिक र भावनात्मक पक्ष । दोस्रो, तिनीहरूसित जोडिएका धार्मिक पक्ष । पहिलो पक्षको व्यावहारिक महत्व छ र तिनीहरूको उपयोगिता वा महत्वलाई पूरै अस्वीकार वा निषेध गर्नु सही हुनेछैन । हिन्दुको बडा दसैँ वा मुस्लिमहरूको इदको प्रकृति धार्मिक भए पनि तिनीहरूले व्यापक सामाजिक रूप ग्रहण गरेका छन् । त्यही कुरा नेपालका जनजातिहरूका ल्होसार, तीज, तराईको छठ पूजा, विभिन्न थर र जातिहरूका कूल पूजा आदिबारे पनि सत्य हो । ती सबैसित जोडिएका धार्मिक पक्षहरूलाई कुन रूपमा ग्रहण गर्ने ? त्यसबारे बेग्लाबेग्लै पक्ष वा व्यक्तिहरूका बेग्लाबेग्लै मतहरू हुन सक्दछन् वा कतिपयले तिनीहरूसित जोडिएका धार्मिक अवधारणालाई अस्वीकार गर्न सक्दछन् । तर तिनीहरूसित जोडिएका सामाजिक पक्षहरूलाई विरोध गर्नु वा सामाजिक रूपमा तिनीहरूमा सहभागिता हुन अस्वीकार गर्नुलाई सही मान्न सकिन्न । मानिसहरूको आचरणबारे पनि बेग्लाबेग्लै समाजमा कैयौँ धार्मिक विधि र विधान हुन्छन् । सबै जाति वा धार्मिक सम्प्रदायमा त्यस प्रकारका कैयौँ नियमहरू हुन्छन् ।

जीवनसित जोडिएका विभिन्न संस्कार, आचरण, चाडपर्व र मेलाहरूको स्वरूपमा लगातार परिवर्तन हुँदै आएको छ । पहिलेका कैयौँ प्रचलनहरू शिथिल हुँदै गएका छन् वा मानिसहरूका त्यही प्रकारका कतिपय संस्कार वा प्रचलनहरू लुप्त हुँदै गएका छन् । बच्चा जन्मिन्छ । उसको नाम पनि राख्ने गरिन्छ । जवान भएपछि उनीहरूको विवाह पनि हुन्छ । तर तिनीहरूसित सम्बन्धित पुराना प्रचलित धार्मिक विधि वा संस्कारहरू धेरै हराउँदै गएका छन् । त्यही कुरा मृत्युका बेलामा अपनाइने विधिबारे पनि हो । समाजमा मृत्युपछि किरिया नबस्ने, कपाल नखौरने, एक वर्षसम्म सेतो कपडा लगाएर अशौच नबार्ने प्रवृत्तिहरू बढ्दै गइरहेका छन् । तिनीहरूको सट्टा शोकसभाहरू आयोजित गर्ने, श्रद्धाञ्जलि दिने, वार्षिक रूपमा स्मृतिसभा आयोजना गर्ने आदि प्रचलनहरू बढ्दै गएका छन् । निश्चय नै यी प्रश्नहरूमा प्रायशः समाजमा विवाद वा द्वन्द्व हुने गर्दछ । त्यस प्रकारका प्रचलनहरू कायम राख्नुपर्दछ भन्ने पनि ठूलो जनमत छ भने तिनीहरूको अतिक्रमणका प्रवृत्तिहरू पनि बढ्दै गइरहेका छन् ।

यस सन्दर्भमा यस्ता केही प्रचलनहरूको उल्लेख गर्नु अप्रासाङ्गिक हुने छैन, जसबारे कुनै समयमा समाजमा ठूलो द्वन्द्व थियो, तर अब त्यस प्रकारका कुनै विवाद वा द्वन्द्व बाँकी रहेको छैन र ती प्रचलनहरू पूरै लुप्त भइसकेका छन् । हामी केटाकेटी छँदा बाहुनहरूले मात्र होइन, क्षेत्रीहरूले पनि धोती फेरेर मात्र खाना खानु पर्दथ्यो । कसैले धोती नफेरीकन खाना खायो भने उनीहरूलाई जातबाट बहिष्कृतसम्म गरिन्थ्यो । बाहुनहरूले प्याज, लसुन खानु ठूलो पाप ठानिन्थ्यो । कुनै मानिस भारतमा गएर फर्कदा प्रायश्चित गर्नुपर्दथ्यो, गोदान गर्नुपर्दथ्यो । त्यसलाई ग्रामीण भाषामा पत्ते गर्ने भनिन्थ्यो । भारतमा इस्ट इण्डिया कम्पनी सरकारले शासन गरेको समयमा नेपालका धेरै बाहुन क्षेत्री तिनीहरूको पल्टनमा भर्ती भएका थिए र दोस्रो विश्वयुद्धमा अङ्ग्रेजको पक्षमा लडेका थिए । बाँचेर घर फर्केका सबै प्रायस्थित वा पत्ते गरेर मात्र आनो घरमा पसेका थिए । तिनीहरूले गोदान पनि गरेका थिए । गोदानको अर्थ हुन्थ्यो, कुनै नदीमा ४ पैसा बाहुनलाई दान दिएर चोखिनु । पछिसम्म पनि तीर्थवर्त वा कुनै काम विशेषले भारतमा गएका व्यक्तिहरूले पनि त्यही प्रकारले पत्ते गर्नुपर्ने प्रचलन थियो । छोरीहरूले पढ्नु अत्यन्त नराम्रो मानिन्थ्यो । मलाई आनै अनुभव छ । २०१०/११ सालमा जब हामीले प्युठानको ओखरकोटमा एउटा प्राइमरी स्कुल सुरु ग¥यौँ, महिला र दलितलाई स्कुलमा पढाउनेबारे गाउँमा ठूलो विरोध थियो । उनीहरूको जोड यो कुरामा थियो कि दलितका छोराहरू आए पनि उनीहरूलाई स्कुलमा ढोकाबाहिर नै राख्नु पर्दछ । गाउँमा मानिसहरूको यो जोडदार मत थियो, केटीहरूले पढे उनीहरू बिग्रन्छन् । त्यस प्रकारका सोचाइहरूका विरुद्ध सङ्घर्ष गरेर हामीले दलित र महिलालाई पनि स्कुलमा पढ्न पठाउने कार्य सुरु ग¥यौँ । तर गाउँलेहरू छोरीहरूलाई पढ्न पठाउन तयार भएनन् । हाम्रो धेरै प्रयत्नपछि एउटी बालिका स्कुलमा आएर पढ्न तयार भइन् । तर बाबुआमाले फिस दिन अस्वीकार गरे । त्यसैले हामीले केटीहरूबाट फिस नलिने निर्णय ग¥यौँ । ती बालिका पछि नर्स बनिन् ।

माथि उल्लिखित सबै कुरा अब इतिहास भइसकेका छन् । त्यस्ता कुराहरू गर्दा नयाँ पुस्ताका मानिसले सोच्न सक्दछन्, के त्यस्तो पनि थियो र ? अब बाहुन वा क्षेत्रीहरूले धोती फेरेर भात खाएको कतै देखिन्न । उनीहरूले होटेलमा गएर खाना खाए पनि कसैले कुरा उठाउँदैनन् । बाहुनहरूले आम रूपमा लसुन, प्याज खाने गर्दछन् । लसुन, प्याज खाएको कारणले कुनै बाहुनको जात गएको मानिँदैन । बाहुनहरूले लसुन, प्याज खानेबारेमा समाजमा विवाद वा सङ्घर्ष चल्ने गर्दथ्यो । मुलुकी ऐनमा त्यसबारे कानुनी व्यवस्था गरिएको थियो । पछि त्यो प्रचलन हट्दै गयो र त्यसअनुसार मुलुकी ऐनमा पनि संशोधन गरियो । पहिले विभिन्न जातका मानिसलाई ‘पानी चल्ने’ र ‘पानी नचल्ने’ जातको रूपमा विभाजन गरिएको थियो । ‘पानी चल्ने’ जातका मानिसले ‘पानी नचल्ने’ जातको मान्छेलाई छोएमा ‘छिटो’ हाल्नु पर्दथ्यो । तर अब छोइछिटो हाल्नुपर्ने प्रचलन पूरै हटिसकेको छ । बाहुन, क्षेत्रीले कुखुराको मासु वा रक्सी खाए पनि त्यो अब सामान्य कुराजस्तै भएको छ । व्रतबन्ध गर्ने चलन पनि हराउँदै गएको छ । कसैले व्रतबन्ध गर्दैन वा जनै लगाउँदैन भने पनि समाजमा त्यसबारे कुनै खास आपत्ति गरिदैन ।

पहिले १४ पुस्ताभित्र वा अन्तरजातीय रूपमा विवाहलाई निषेध गरिएको थियो । १४ पुस्ताभित्र विवाह गर्नेलाई कडा सजायको व्यवस्था थियो । दलित जातिको कुनै पुरुषले ‘उच्च’ जातिको कुनै महिलासित विवाह गरेमा १४ वर्ष जेल जानु पर्दथ्यो । पछि अन्तरजातीय विवाहको प्रचलन बढ्दै गयो । त्यसपछि अन्तरजातीय विवाहलाई निषेध गर्ने कानुनलाई नै खारेज गरियो । कानुनमा त्यस प्रकारको सुधार गरिएपछि पनि अझै कसैले अन्तरजातीय रूपमा विवाह गर्यो भने त्यसबारे तीव्र विवाद चल्ने गर्दछ । त्यसरी विवाह गर्ने व्यक्तिहरूलाई गाउँबाट निकाल्ने, सामाजिक बहिष्कार गर्नेसमेत गरेका कैयौँ उदाहरण पाइन्छन् । कसैलाई सामाजिक रूपले त्यसरी बहिष्कार नगरे पनि केटा वा केटीका परिवारहरूले प्रायशः त्यसरी अन्तरजातीय रूपमा विवाह गर्ने आना छोरीहरूलाई स्वाभाविक रूपले स्वीकार गर्दैनन् । खास गरेर कुनै ‘उच्च’ जातिका मानिसहरूले ‘तल्लो’ जातका बीचमा विवाह भयो भने अहिले पनि त्यसको कडा प्रतिवाद गरिन्छ । पहिले १४ पुस्ताभित्र विवाह गर्न नपाउने कानुनमा परिवर्तन गरेर ७ पुस्ताभित्र मात्र विवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।

माथि दिइएका उदाहरणहरूबाहेक समाजमा प्रचलित अरू कैयौँ संस्कार पनि लगातार बदलिँदै वा लुप्त हुँदै गएका छन् । तर मूल रूपमा जन्मदेखि मृत्युसम्मको जीवनको क्रम एकै प्रकारले अगाडि बढिरहेको हुन्छ । त्यो मूल वस्तुगत पक्ष हो । त्यसमाथि बनेको सामाजिक संरचना गौण र उपरी पक्ष हो, जसमा भौतिक जीवनमा वा मानिसका धारणाहरूमा हुने परिवर्तनअनुसार परिवर्तन हुँदै जान्छ । त्यसपछि धार्मिक विधि, विधान, संस्कार, सामाजिक मान्यता वा कानुनहरूमा पनि परिवर्तन हुँदैजान्छ । निश्चय नै, त्यस प्रकारका सुधार वा परिवर्तनहरूका लागि कैयौँपल्ट दार्शनिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरूमा ठूला सङ्घर्षहरू चल्ने गरेका छन् । सतीप्रथालाई नै लिऊँ । कुनै समयमा हिन्दु समाजमा त्यो सर्वमान्य मान्यता थियो । अब कुनै पुरुष मरेपछि उसकी पत्नीलाई जिउँदै जलाउने कुरा कसैले सोच्न पनि सक्दैन । तर त्यस प्रकारको सुधार वा परिवर्तनका लागि भारतमा ठूला सामाजिक आन्दोलनहरू चलेका थिए । छुवाछूत प्रथाको नै कुरा गरौँ । मनुस्मृति वा कैयौँ धार्मिक ग्रन्थहरूमा त्यसबारे कडा व्यवस्था गरिएको छ । तर त्यसबारे कडा धार्मिक बन्देज हुँदाहुँदै पनि आज त्यो प्रथा धेरै हटेर गएको छ । तैपनि आज पनि छुवाछूत प्रथाका पक्षमा ठूलो जनमत र एक प्रकारले भन्ने हो भने समाजको एउटा समूहले त्यो प्रथालाई कायम राख्न जोड लगाउने गरेको पाइन्छ । तर स्पष्ट छ, भौतिक जीवन र समाजको संरचनामा भइरहेको परिवर्तन र मानिसको चेतनामा भइरहेको विकासका आधारमा पहिलेका समाजका अन्य कैयौँ प्रचलनहरू इतिहासका विषय बनेभैmँ भविष्यमा यो प्रथाबारे पनि मानिसहरूले प्रश्न गर्नेछन् : के कुनै दिन छुवाछूत प्रथाजस्तो प्रचलन पनि समाजमा थियो ?

विभिन्न चाडबाड वा जीवनसित जोडिएका संस्कारहरूमा विभिन्न देश, समाज, जाति, काल वा एउटै देशका पनि बेग्लाबेग्लै भागहरूको सामाजिक अवस्था वा मानिसको चेतनाको स्तरअनुसार अन्तर हुन्छ । छुवाछूत प्रथाकै कुरा गरौँ । देशका बेग्लाबेग्लै भागहरूमा त्यसको अवस्था बेग्लै छ । राजधानी वा देशका ठूला सहरहरूमा त्यो प्रचलनमा धेरै कमी आएको छ । तर देशका दूरवर्ती भागहरूमा त्यसबारे बढी कट्टरता पाइन्छ । जन्म, विवाह वा मृत्युसम्बन्धी संस्कारहरूबारे पनि बेग्लाबेग्लै समाज, जाति वा एउटै देशका पनि बेग्लाबेग्लै भागहरूमा काफी भिन्नता पाइन्छ । नेपालको हिन्दु समाजमा ७ पुस्ताभित्रको विवाहलाई कडाइपूर्वक निषेध गरिन्छ । तर मुस्लिम समाजमा त्यसबारे बढी खुकुलो व्यवस्था छ । हाम्रो समाजमा पहिले भाउजूसित विवाह गर्ने आम चलन थियो । तर त्यो प्रथा अब हटेर गएको छ र कानुनले पनि त्यसका लागि अनुमति दिन्न । तर तराईका कतिपय जातिहरूमा अहिले पनि त्यो प्रथा विद्यमान छ । त्यस सन्दर्भमा उत्तरी हिमाली भागहरूमा घरका सबै दाजुभाइकी एउटै पत्नी हुने प्रथा पनि उल्लेखनीय छ । पुरुषहरूले बहुपत्नी राख्ने प्रथालाई नै लिऊँ । केही समय पहिलेसम्म त्यो समाजमा आम रूपमा प्रचलित चलन थियो । तर अब त्यो प्रथामाथि कानुनले प्रतिबन्ध लगाएको छ । अब त्यसबारे मानिसहरूको दृष्टिकोण पनि बदलिएको छ । एउटी पत्नी छँदा वा ऊसित सम्बन्धविच्छेद नभई कसैले अर्को विवाह ग¥यो भने त्यसलाई राम्रो मानिन्न । पहिले विधवा विवाहका विरुद्ध समाजमा कडा दृष्टिकोण अपनाइयो । अहिले पनि त्यस प्रकारको दृष्टिकोण प्रशस्त पाइन्छ । तर विधवा विवाहविरुद्ध पहिलेजस्तो कडा रूप अपनाइन्न ।

माथिका जीवनसित जोडिएका संस्कारहरूको सङ्क्षिप्त चर्चाबाट के प्रष्ट हुन्छ भने जीवनका विभिन्न अवसरमा अपनाइने कुनै पनि संस्कारको दैवी वा शाश्वत स्वरूप छैन । तिनीहरूसँग जोडिएका पाप, पुण्य, स्वर्ग, नर्क आदिका धारणाहरू मानवीय कल्पनाहरू मात्र हुन् । ती सबै संस्कार सामाजिक आवश्यकता वा मानिसहरूको विश्वासअनुसार अपनाइएका प्रचलनहरू हुन् र मानिसहरूका धारणामा हुने परिवर्तनअनुसार लगातार परिवर्तन भइरहन्छ । हिन्दुहरूका दृष्टिमा गाईगोरुको मासु खानु ठूलो पाप मानिन्छ । तर मुस्लिम वा इसाईहरूमा त्यसका लागि खुला छुट छ र त्यसो गर्नु पाप मानिन्न । त्यही कुरा विभिन्न चाडबाडका सन्दर्भमा पनि सत्य हो । कुनै एउटा समाजमा धेरै नै उत्साहपूर्वक मनाइने चाडपर्वहरू क्रमशः औपचारिक मात्र बन्दै जान्छन् । तिनीहरूमध्ये कतिपय हराएर जाने पनि गर्दछन् ।

जीवनसित जोडिएका संस्कार वा चाडबाडहरूलाई मानिसहरूले सामाजिक आवश्यकता वा जीवनका आवश्यकताअनुसार अपनाउने गर्दछन् । समाज वा जीवनको अवस्थामा परिवर्तन भएपछि तिनीहरूका रूप वा विधिमा पनि परिवर्तन हुने गर्दछ । तर मानिसहरूले प्रत्येक युगमा कुनै चाडबाड वा संस्कारलाई स्थायी बनाउन त्यसलाई रूढीवादी रूप दिन पूरा प्रयत्न गर्दै आएका छन् । हिन्दु धर्मले जन्म, विवाह र मृत्यु सबैलाई उच्च रूपमा धार्मिकीकरण गर्ने वा तिनीहरूलाई पाप–पुण्य, स्वर्ग–नर्क आदिसित जोड्ने प्रयत्न गरेको छ । त्यसका लागि कैयौँ धार्मिकग्रन्थहरूको रचना गरिएको छ । भागवत पुराण र स्वस्थानी व्रतकथाहरूले जीवनसित जोडिएका संस्कार, आचरण वा धार्मिक विधिविधानका पक्षमा जनमत तयार पार्न र तिनीहरूलाई स्थायी बनाउन पूरा प्रयत्न गर्दछन् । तर त्यस प्रकारका प्रयत्नहरू हुँदाहुँदै पनि समाज वा जीवनको गति रोकिन्न । भौतिक अवस्थामा हुने परिवर्तनअनुसार समाज वा जीवन अगाडि बढिरहन्छ । पहिलेको समाज वा जीवनको अवस्थामा बनेका सामाजिक प्रचलन, धारणा वा व्यवस्थाहरूले सुधार वा परिवर्तनको गतिलाई रोक्ने प्रयत्न गर्दछन् । त्यो अवस्थामा पुराना र नयाँका बीचमा द्वन्द्व हुन्छ । तर सामाजिक विकासको इतिहासले देखाउँदै आएको छ, समाजको अग्रगामी गति र पुराना धार्मिक र सामाजिक मान्यताहरूका बीचमा केही द्वन्द्व भए पनि अन्तमा पुराना प्रचलनहरूको ठाउँ नयाँ प्रचलनहरूले लिँदै जान्छन् । अधिकतर अवस्थामा स्वस्पूmर्त रूपले त्यो कार्य हुन्छ । जस्तो कि, बाहुनहरूले लसुन, प्याज, गोलभेडा खाने वा बाहुन, क्षेत्रीहरूले धोती नफेरी खाना नखाने चलन वा छोरीहरूलाई पढ्न नदिने चलन आदि । ती प्रचलनहरू बिना कुनै खास द्वन्द्व स्वस्पूmर्त र एक प्रकारले थाहै नभईकन हराएर गए । बाहुनहरूले लसुन, प्याज र गोलभेडा खान थाले वा बाहुन क्षेत्रीले धोती नफेरी भात खान थाले । अब कसैले धार्मिक विधि नपुर्याईकन, जग्गे नराखीकन विवाह गरे पनि त्यो कुनै खास आपत्तिजनक कुरा बन्दैन । कसैले बाबुआमाको मृत्युपछि विधिपूर्वक किरिया नबसे पनि वा अशौच नबारे पनि विवाह, किरिया वा अशौचका विधिहरू छोट्याए पनि केही टीकाटिप्पणी हुन्छ, तर त्यसको गम्भीर प्रकारले आपत्ति गरिन्न । तर स्थान वा परिवार विशेषमा त्यसबारे भिन्नता हुन्छ । कतिपय स्थान वा परिवारहरूमा किरिया नबसे पनि वा अशौच नबारे पनि सामान्य रूपले लिइन्छ भने कतिपय परिवार वा स्थानहरूमा त्यसका लागि बढी सामाजिक दबाब दिने गरिन्छ । कतिपय अवस्थामा कुनै सामाजिक चलनको रक्षाका लागि पुराना दर्शन वा धर्मले कडा प्रतिवाद लिन्छन् भने त्यसका विरुद्ध पनि कैयौँ नयाँ दर्शन वा सुधारका आन्दोलन अगाडि आउँछन् । भारतमा सतीप्रथाका विरुद्ध चलेको त्यस प्रकारको आन्दोलनबारे पहिले नै उल्लेख भइसकेको छ । तर धर्मले सतीप्रथाजस्तो समाजमा शताब्दियौँदेखि जरा हालेर बसेको प्रथालाई बचाइराख्न सकेन ।

समाज वा जीवनको अवस्थामा हुने परिवर्तन वा मानिसको चेतनामा हुने परिवर्तनअनुसार कैयौँ सामाजिक प्रचलन वा जीवनका विभिन्न अवस्थासित सम्बन्धित संस्कारहरू बद्लिने गर्दछन् । तैपनि कुनै खास अवस्थामा समाजमा विद्यमान रूढीवादी चिन्तन प्रणालीको परिणाम यो हुन्छ कि समाज वा जीवनको अवस्था र मानिसको चेतनामा हुने परिवर्तनअनुसार समाजमा विद्यमान कुनै प्रचलनमा सुधार वा विकास हुन पाउँदैन । त्यस प्रकारका थुप्रै उदाहरण पाइन्छन् । एक युवक एक युवती आपसमा प्रेम गर्छन् र आनो स्वतन्त्र निर्णयका आधारमा विवाह गर्न चाहन्छन् । तर परिवार र समाजले त्यसका लागि अनुमति दिन्न । भारतमा कतिपय स्थानमा त्यसरी विवाह गरेको कारणले कचहरी बसेर मृत्युदण्ड दिएका उदाहरणहरू पनि पाइन्छन् । एउटा भारतीय अङ्ग्रेजी दैनिकले भर्खरै दिएको ताजा समाचारअनुसार पञ्जाबको एउटा गाउँमा परिवारको मतका विरुद्ध एउटा युवकसित प्रेम गरेकाले बाबुआमा वा दाइहरू मिलेर आनी छोरीको हत्या गरी जलाएर खरानीलाई नदीमा याँकेका थिए । हाम्रो देशमा पनि ‘तल्लो’ र ‘उपल्लो’ जातिको बीचमा विवाह गरेको अवस्थामा परिवार वा समाजमा तीव्र विवाद पैदा हुने गर्दछ, खास गरेर दूरवर्ती र पिछडिएका गाउँहरूमा । त्यस सिलसिलामा विवाह गरेका युवकयुवतीलाई अलग गरिदिने वा घर र परिवारबाट बहिष्कार गर्ने गरेका पनि थुप्रै उदाहरण पाइन्छन् ।

समाजमा विद्यमान विभिन्न प्रचलन वा संस्कारहरूमा स्वतः सुधार वा परिवर्तन हुन्छ भनेर प्रतीक्षा गर्नुको सट्टा कतिपय अवस्थामा तिनीहरूमा सुधार वा परिवर्तनका लागि सचेत र सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता हुन्छ । यसका लागि विभिन्न देशमा कैयौँ सामाजिक वा धार्मिक सुधारका आन्दोलनहरू चल्ने गरेका छन् । भारतमा राममोहन राय, स्वामी दयानन्द सरस्वती आदिले चलाएका सामाजिक वा धार्मिक आन्दोलनहरू त्यस प्रकारका उदाहरणको रूपमा लिन सकिन्छ । संसारका अन्य देशमा वा धार्मिक सम्प्रदायहरूमा पनि त्यस प्रकारका सुधार आन्दोलनहरू चल्ने गरेका छन् । तर नेपालमा त्यस प्रकारका सामाजिक वा धार्मिक सुधार आन्दोलनहरूको इतिहास छैन भने पनि हुन्छ । हाम्रो देशमा त्यस प्रकारका आन्दोलनहरू चल्ने नगरेको भए पनि भारतमा चल्ने त्यस प्रकारका आन्दोलनहरूकोे असर हाम्रो देशमा पर्ने गरेको पाइन्छ । नेपालमा जङ्गबहादुरद्वारा सतीप्रथाको अन्तको घोषणा भारतमा सतीप्रथाका विरुद्ध चलेको आन्दोलनको नै परिणाम थियो । नेपालमा महिला वा दलितको अवस्थामा सुधारका लागि देखापरेको चेतनाका पछाडि पनि भारतमा त्यो दिशामा चलेका आन्दोलनहरूको धेरै असर परेको छ ।

भौतिक वा सामाजिक जीवनमा भइरहेका सुधारहरूका कारणले सबै सचेत प्रयत्न पुराना रूढीवादी विचारहरूसित सङ्घर्ष गरेर नै अगाडि बढ्न सक्दथे र बढिरहेका छन् । विद्यमान रूढीवादी सामाजिक प्रचलनहरूमा धेरै हदसम्म सुधार हुँदै गएको छ । तैपनि पुराना रूढीवादी सोचाइहरूको समाजमा यति धेरै जोड छ कि सङ्गठित र सचेत प्रयत्नहरू नभएसम्म तिनीहरूमा सन्तोषजनक सुधारको सम्भावना छैन । स्वतस्फूर्त रूपले त्यस प्रकारको सुधारको प्रतीक्षा गर्दा लामो समय लाग्ने छ र रूढीवादी प्रकारका प्रचलन वा संस्कारहरूका कारणले जनताका विभिन्न समूह लामो समयसम्म पीडित भइरहनु पर्नेछ । छुवाछूत प्रथालाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । त्यसद्वारा ठूलो जनसमूह पीडित हुनुपर्दछ । त्यसैले स्वतस्फूर्त रूपले त्यसको अन्त हुनेछ भनेर पर्खेर बस्नुभन्दा सचेत र सङ्गठित रूपले त्यसमा सुधारका लागि प्रयत्न गर्नु आवश्यक छ । कतिपय सामाजिक रीति वा रूढीवादी प्रचलनहरूद्वारा महिला पीडित हुने गर्दछन् । त्यो अवस्थामा त्यस प्रकारका रीति वा प्रचलनहरूमा सुधारका लागि सचेत रूपले प्रयत्न गर्नुपर्दछ । स्वस्थानी व्रतकथाजस्ता धार्मिकग्रन्थहरूले समाजमा जुन भ्रम वा अन्धविश्वास पैmलाउँछन्, तिनीहरूमा सुधार होइन, त्यस प्रकारका धार्मिक कार्यहरूका विरुद्ध सम्झौताहीन प्रकारले सांस्कृतिक सङ्घर्ष चलाउने गर्नुपर्दछ । जनताको चेतनाको स्तर उठाएर नै त्यो कार्य पूरा गर्न सकिन्छ र त्यो दिशामा सङ्गठित रूपले प्रयत्न गर्नुपर्दछ ।

पहिलेका चाडबाड वा संस्कारहरूलाई आधुनिक वा प्रगतिशील रूप दिने दिशामा पनि महत्वपूर्ण परिवर्तनहरू हुने गरेका छन् । छैटी, न्वारान, भातख्वाइ, विवाह, मृत्यु वा विभिन्न चाडपर्वसित सम्बन्धित धार्मिक विधिहरूलाई हटाएर नयाँ र आधुनिक वा प्रगतिशील प्रकारले तिनीहरूलाई सम्पन्न गर्ने प्रचलन बढ्दै छ । विवाहलाई प्रगतिशील प्रकारले सम्पन्न गर्ने गरिन्छ । मृत्युपछि किरिया बस्ने, अशौच बार्ने, श्राद्ध गर्ने आदि कार्यहरूको सट्टा शोकसभा मनाउने, श्रद्धाञ्जलि दिने वा स्मृति दिवस मनाउने आदि गरिन्छ । तीजको चाडलाई महादेवी पार्वतीको कथासित जोडेर धार्मिक विधिले मनाउने प्रचलनका ठाउँमा त्यसलाई महिलाहरूको चाड, महिलाको हक र अधिकारको प्राप्ति तथा सांस्कृतिक रूपान्तरणको आन्दोलनको रूपमा मान्ने प्रचलन बढ्दै छ । दसैँ, तिहार, देवाली, ल्होसार, इद, बकरीद आदिलाई त्यस प्रकारले रूपान्तरण गर्ने प्रयत्न गर्दै जानु पर्दछ । तिनीहरूलाई सामाजिक सम्बन्ध वा सांस्कृतिक उत्सवका रूपमा आयोजना गर्न वा मनाउन सकिन्छ । तिहारको धार्मिक पक्ष जे भए पनि अब त्यो भाइबहिनीका बीचको भावनात्मक सम्बन्ध र स्नेहको पवित्र चाडका रूपमा विकसित भएको छ । त्यसको धार्मिक पक्ष के हो ? त्यसप्रति आम रूपमा मानिसको ध्यान कमै जान्छ । दसैँले पनि एउटा धार्मिक पर्वको रूपमा भन्दा सामाजिक उत्सव र मेलमिलापको चाडको रूप लिँदै छ । देवालीले पनि टाढाटाढासम्मका दाजुभाइहरूको भेटघाटको अवसर दिन्छ । ल्होसार, छठ, इद, बकरीद आदि बारे पनि त्यही कुरा सत्य हो । त्यसैले हामीले ती चाडहरूलाई बहिष्कार गर्ने वा निषेध गर्ने होइन, तिनीहरूलाई प्रगतिशील र सामाजिक र सांस्कृतिक रूपमा रूपान्तरण गर्ने प्रयत्न गर्नुपर्दछ । तुरुन्त तिनीहरूलाई त्यस रूपमा रूपान्तरण गर्न सम्भव छैन । तिनीहरूसित परम्परागत रूपमा मानिसको भावना जोडिदै आएका छन् । त्यसकारण ती चाडबाडसित जोडिएका धार्मिक वा रूढीवादी प्रचलनहरूप्रतिको भिन्न दृष्टिकोण वा विरोधका कारणले तिनीहरूप्रति नकारात्मक दृष्टिकोण अपनाउने, विरोध गर्ने, बहिष्कार गर्ने दृष्टिकोणले तिनीहरूसित जोडिएका जनताका भावनाहरूमा चोट पुग्न सक्दछ । त्यसैले त्यस प्रकारका चाडबाडसित जोडिएका कतिपय धार्मिक रीतिहरूसित हामीहरू सहमत नभए पनि तिनीहरूको सामाजिक पक्ष वा जनभावनामाथि ध्यान दिंदै त्यस प्रकारका चाडबाडलाई सम्मान प्रकट गर्ने वा तिनीहरूमा सहभागी हुने नीति अपनाउनु पर्दछ । त्यसो गरेर हामीले ती चाडबाडसित जोडिएको धार्मिक विधिको होइन, तिनीहरूसित जोडिएका सामाजिक पक्ष वा जनभावनाको आदर गरिरहेका हुन्छौँ । उदाहरणका लागि, हामीले मुस्लिमहरूको इद, जनजातिहरूको ल्होसार आदिका अवसरमा तिनीहरूको विरोध गर्ने वा तिनीहरूलाई बहिष्कार ग¥यौँ भने निश्चित रूपले ती समुदायका मानिसको भावनामा चोट पुग्दछ । त्यसैले हामीले त्यस प्रकारका चाडबाडहरूप्रति आदर वा सम्मान प्रकट गर्ने गर्नुपर्दछ । त्यही कुरा दसैँ, तिहार, तीज आदिका सन्दर्भमा पनि सत्य हो ।

सामान्यतः हामीले जनताको धार्मिक स्वतन्त्रताको अधिकारलाई सम्मान गर्नुपर्दछ । कसैले कुन प्रकारको धर्म, ईश्वर, देवी–देवता वा सामाजिक प्रचलनमाथि विश्वास गर्दछ ? त्यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर त्यस प्रकारको कुनै विश्वास वा प्रथाले जनता वा कुनै जनसमुदायको हितमा बाधा नपुर्याओस् । कुनै धार्मिक विश्वास वा प्रचलनका कारणले त्यस प्रकारको कुनै कार्य गरेमा त्यसप्रति हाम्रो विरोध नै हुनुपर्दछ । त्यसका विरुद्ध वैचारिक वा सांस्कृतिक रूपान्तरणका लागि सचेत प्रयत्न गरिनु पर्दछ ।

माथि सामान्य रूपले जीवनसित जोडिएका विभिन्न संस्कार, आचरण वा चाडबाडहरूको प्रकृति मूल रूपमा सामाजिक हुन्छ र जीवनको भौतिक वा सामाजिक आवश्यकतानुसार तिनीहरूको उत्पत्ति हुन्छ र पछि तिनीहरूलाई धार्मिक वा रूढीवादी रूप दिने प्रयत्न गरिन्छ भनिएको छ । तर त्यो कुरा सीमित र आंशिक रूपमा नै सत्य हो । कतिपय त्यस प्रकारका संस्कार, आचरण वा चाडबाडहरू जीवनको आवश्यकता वा अवस्थाको कारणले भन्दा पनि समाजका प्रतिक्रियावादी वर्गीय आवश्यकता वा तिनीहरूको रक्षाका लागि विभिन्न प्रकारका सामाजिक संस्कारहरूलाई सुदृढ गर्न सुरु गरिएको हुन्छ । व्रतबन्ध, स्वस्थानी व्रतकथा, भागवत सप्ताह आदिलाई त्यस रूपमा लिन सकिन्छ । तर एउटा कुरा के प्रष्ट छ भने उनीहरूबाट त्यस प्रकारका प्रयत्नहरू भए पनि भौतिक वा सामाजिक जीवनमा हुने परिवर्तन वा जनताको चेतनामा हुने विकासअनुसार त्यस प्रकारका प्रयत्नहरू लगातार कमजोर र शिथिल हुँदै गइरहेका छन् । समाजको विकासको त्यस प्रकारको प्रगतिशील वा परिवर्तनशील प्रक्रियालाई रूढीवादी चिन्तनले रोक्न सक्दैन । यस सिलसिलामा कतिपय धार्मिक सम्प्रदायले, खास गरेर तालिवानजस्ता कट्टरपन्थी समुदायहरूले रूढीवादी प्रचलनहरूको रक्षाका लागि अपनाएको दमनकारी पद्धति खास गरेर उल्लेखनीय छ । तर त्यस प्रकारको दमनकारी पद्धतिका विरुद्ध विश्वव्यापी रूपमा र स्वयं मुस्लिम समाजमा पनि विरोधका स्वर वा आन्दोलनहरू बढ्दै गइरहेको देखिन्छ । त्यसले, एकातिर भौतिक र सामाजिक जीवनमा हुने परिवर्तन तथा अर्कातिर, रूढीवादी चिन्तनहरूको बीचमा चल्ने द्वन्द्व एउटा विश्वव्यापी प्रवृत्ति हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । तर विश्वको अहिलेसम्मका समाजको इतिहासले लगातार यो कुरा बताउँदै आएको छ कि अन्तमा रूढीवादी प्रचलनहरूका विरुद्ध प्रगतिशील धाराको नै विजय हुँदै जान्छ । त्यो कुरा विश्वव्यापी रूपमा र नेपालको सन्दर्भमा पनि सत्य हो ।
फागुन ८, २०६९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here