जितगढीमा पेन्सन क्याम्प राख्न नदिइने

0
628

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि भारतले प्रभुत्व जमाउन खोजी रहेको बताउनु भएको छ । उहाँले नेपालको एकता, अखण्डता र सार्वभौमिकतामाथि भारतले हस्तक्षेप गरी रहेको पनि बताउनु भयो ।

ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियानले जितगढी किल्ला संरक्षण विषयक २०७४ फागुन ७ गते सम्पन्न अन्तरक्रियामा बोल्दै उहाँले भारतले नेपाललाई सधैँभरि अस्थिर बनाएर आफ्नो अनुकूलमा चलाउन खोजेको दावी गर्नु भयो । भारतको विस्तारवादी नीतिका विरुद्व स्वाभिमानी नेपालीले उसका विरुद्व खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बुटवलको फूलवारीमा भारतीय पेन्सन क्याम्प बनाउन दिन नहुने बताउँदै भारतले पेन्सन क्याम्प बनाउने नाममा सैनिक अड्डा बनाउने तयारी गरेको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भारतीय सरकारलाई पेन्सन क्याम्प बनाउन दिनै नहुने बताउनु भयो । उहाँले प्रचण्डले जितगढी जस्तो महत्त्वपूर्ण क्षेत्रमा पेन्सन क्याम्प बनाउन भारत सरकारलाई जग्गा दिने निर्णय गरेर प्रचण्ड सरकारले राष्ट्रघाती काम गरेको बताउनु भयो ।

लेखक तथा साहित्यकार दिल साहनीले फूलवारीमा भूतपूर्व भारतीय सैनिकका नाममा भारतले हस्तक्षेप गर्न खाजेको बताउँदै प्रचण्ड सरकारको निर्णय खारेज गर्नु पर्ने बताउनु भयो । मणि मुकुन्द सेन उद्यान पार्कका अध्यक्ष खेम लुइटेलले फूलवारीमा पेन्सन क्याम्प बनाउनै नहुने बताउनु भयो । ऐतिहासिक क्षेत्रमा भारतलाई पेन्सन क्याम्प बनाउनका लागि जग्गा दिने पूर्ववर्ती प्रचण्ड सरकारको निर्णय खारेज गरेर जितगढी क्षेक्राई बचाउनु पर्ने उनको दावी थियो । नागरिक अभियानका अगुवा पदम कार्कीले भारतको चिन्ता गरेर नेपालको राष्ट्रियता जोगिन नसक्ने बताउनु भयो । बुटवल बार एसोसिएसनका अध्यक्ष खडानन्द भण्डारीले प्रचण्ड सरकारले गरेको निर्णयलाई अदालतले खारेज गर्न सक्ने भएकाले अदालतमा रिट हाल्नु पर्ने र त्यसका लागि बारले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, विन बहादुर कँुवर, युवराज पन्थी, बुटवल–१ का वडाध्यक्ष रमेश नेपाल, रूपन्देही व्यापार सङ्घका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, रूपन्देही उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, यातायात मजदुर तथा भलाइ कोषका अध्यक्ष नारायण भट्टराई, प्रेम सुवेदी, भुल बहादुर सुनारी मगर, गणेश उचै लगायतले बोल्दै प्रचण्ड सरकारको निर्णयलाई खारेजका लागि आवश्यक अनुसार आन्दोलन उठान गर्नु पर्नेमा जोड दिनु भयो ।

ऐतिहासिक जितगढी किल्ला बचाऊँ अभियानका अध्यक्ष वद्रे आलमको अध्यक्षता र विनोद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here