जसका झोलाभरि गीतका सीडी हुन्छन्
सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो अस्सी, झन् ठूला दुःखले घेरेको
जनवादी गायक जीवन शर्माले ८० वर्षे वृद्धको वेदना समेट्दै ०४१ सालतिर यो गीत गाएका थिए । गीत गाउँदा उनी २४ वर्षे युवक थिए । अहिले उमेरको खुड्किलोमा ५६ वर्ष पुगिसक्दा पनि त्यो गीतको मर्म समाजमा उस्तै देख्छन् उनी, झन् ठूला दुःखले घेरेको !
अहिले पनि सर्वहारा वर्ग उस्तै रोग, भोक र अभावमा पिल्सएको छ । अधिकारको समान वितरण कागजबाट हामफालेर बस्तीहरुमा पुग्न नाइँनास्ती गरिरहेको छ ।
परिवर्तनका लागि गीतमार्फत आम मानिसलाई प्रेरित गर्दै आएका जीवनले एक समय एकैखालका गीत गाइरहे । अन्याय र उत्पीडनमा परेका जनतालाई अधिकार खोज्न जागरुक गराउने र संघर्षका लागि हुटहुटी भर्ने ।
पछिल्लो समय भने उनले दुईथरी गीत गाउँदै आएका छन् ।
‘अहिले देश अलि अप्ठेरो बाटोबाट हिँडिरहेकाले राष्ट्रिय एकताका लागि सबैलाई आह्वान गर्ने गीतहरु गाउनुपर्ने आवश्यकता छ’, शर्मा भन्छन्, ‘र, अर्कोचाहिँ जनजीविका सम्बन्धी गीतहरु गाउने गर्छु ।’
देश खण्डित हुन दिनुहुँदैन भनेर उनी पहाडी, मधेसी, हिमाली र सबै जातिबीचको एकतामा गीतमार्फत स्वर थपिरहेका हुन्छन् ।
मधेसी, पहाडी, हिमालका हिमाली
सयौं जाति जनजाति हामी सबै नेपाली ।
केही महिनाअघि आएको शर्माको अर्को गीत पनि देशप्रेमी मनहरुलाई झक्झक्याउने खालको छ –
तलमा पर्यो बेसीको फाँट, माथि पर्यो कैलाश
यतिमा राम्रो मिलेको देश टुक्रिन्छ कि झैं भा’छ ।
जीवन अर्थात् संघर्ष
बाग्लुङमा जन्मेका जीवन शर्माले ०३२ सालदेखि संगीत यात्रा थालेका हुन् । तर, गीत रेकर्ड गर्न भने प्रजातन्त्र पुनःस्थापनापछिको समयसम्म कुर्नुपर्यो ।
०४१ सालदेखि भूमिगत भएर पिंढी, मझेरी, आँगनी र बस्तीहरूमा गाउँदै हिँडेका शर्माका गीतहरू ०४७ सालमा रेकर्ड भएर आउँदा निकै लोकपि्रय भए ।
शर्माले बाँचेको जीवनलाई हेर्दा लाग्छ, संघर्ष युद्ध मैदानमा मात्रै होइन, जीवनमै पाइलैपिच्छे गाँसिने रहेछ ।
आम मान्छेको अधिकारको कुरा गर्ने शर्मा सादा जीवन बाँचिरहेछन् । वर्गसंघर्ष र साझा सपनाको धून सोच्दै सडक र फुटपाथमा फित्ते चप्पल पड्काउँदै हिँडिरहेका भेटिन्छन् उनी ।
शर्माले यस्तो रुखोसुखोपन आफैंले रोजेको बाटो हो । बाग्लुङको राङखानीमा जन्मिएका उनले चाहेको भए धन कमाउने सम्भावना पनि उत्तिकै थियो । तर, छँदाखाँदाको स्कूले हेडमास्टरको जागिरमा उनको मन अडिएन । जागिर छाडेर संगीततिर लाग्दा उनी समाजको नजरमा ‘मति बिग्रेको मान्छे’ समेत बने ।
आफैंले नकमाए पनि पैतृक सम्पत्ति सम्हालेर बस्दा पनि काइदाको जिन्दगी चल्थ्यो । उनका पिता उतिबेला पञ्चायती व्यवस्थामा बाग्लुङका प्रधानपञ्च र जिम्मावाल थिए ।
तर, छोराको आँखा आफ्नै पिताजस्ता मान्छेहरूबाट हेपिएका, दबिएका र ठगिएका समाजका निमुखा मान्छेका आँसुले पोलिरहेको थियो । आज तिनै हेपिएका वर्गका लागि गीत गाउँदा ती आँसुको भार कम हुँदै गएको महसुस गरेका छन् शर्माले ।
जनताको माया नै काफी
जीवनको गायन यात्रामा रक्तिम परिवार नजोडे उनको कथा अपूरो हुन्छ । उनी रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत हुन् । ०४२ सालमा स्थापना भएको रक्तिमले स्थापना कालदेखि नै जनताका गीत गाउँदै आएको छ ।
जीवनका रातो लाल्टिन, झरनाको चिसो पानी, यसपालि त यस्तै भो आमा, फोकल्यान्डको टापुबाट जस्ता धेरै गीत जनपि्रय छन् ।
यी गायकलाई देशको विभिन्न कुनादेखि विदेशबाट समेत सांगीतिक कार्यक्रमको निम्तो आइरहेको हुन्छ । उनी अधिकारका लागि जागरुक बनाउँदै परिचित गला खोल्ने गर्छन् ।
चार दशक लामो गायन यात्रा पार गरेका उनी आफ्नो उपलब्धि केलाउँछन्, ‘व्यक्तिगत सुख-सुविधाभन्दा पनि समाज रुपान्तरण भयो कि भएन, जनताको आँसु पुछियो कि पुछिएन भन्ने कुरा मुख्य हो । त्यसका लागि यात्रा जारी छ ।’
संगीत कर्मले परिवारलाई कत्तिको भरथेग गर्यो, त्यसको लेखाजोखा गरेका छैनन् उनले । परिवारबाट गुनासो र दुःखेसो धेरै सुनेका छन् ।
‘गुनासो त कसको परिवारमा हुँदैन होला र, व्यक्तिगत समस्या त कलाकार हुनुअघि पनि छँदै थियो’, चित्त बुझाउने मेलो पनि छ । आर्थिक अभावले गरिब-दुःखीका गीत सिर्जना गर्न झन् ऊर्जा मिल्ने गरेको उनको अनुभव छ ।
घरायसी अपेक्षा र गुनासो आफ्नो ठाउँमा रहे पनि पत्नी नीलिमा पुन पनि गायिका भएकाले उनले घरमा सांगीतिक वातावरण भने पाएका छन् ।
आर्थिक हिसाबमा कलाकारिता गरेरै गुजारा गर्ने अवस्था छैन । कैयौं कलाकार टिक्न नसकेर पलायन भएको देखेका छन् उनले । पाइरेसी, सीडी बिक्री नहुने जस्ता कारण पर्याप्त छन् । यस्तो अवस्थामा देश-विदेशको सांगीतिक कार्यक्रम नै जीविकाको मेलो भएको उनी सुनाउँछन् ।
दुई साताअघि जापानको कार्यक्रमबाट फर्किएर अहिले पश्चिम नेपालमा व्यस्त भएका हुन लागेका शर्माले अनलाइनखबरसँग भने, ‘हामी जनताको गीत गाउने कलाकारलाई जनताको माया नै काफी छ ।’
डायरीको पानामा खुम्चिएका सिर्जना
अहिलेसम्म ४५ वटा गीति एल्बम निकालिसकेका जीवनका पाँच सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । अधिकांश गीतमा लेखन र संगीत आफ्नै छ । नयाँ एल्बम थप्न उनलाई हत्पती आँट नै आउँदैन । कारण हो, पैसाको अभाव ।
अडियो क्यासेटको जमानाका यी गायक भन्छन्, ‘पहिले अडियो क्यासेट निकाल्दा कम खर्चले पुग्ने भए पनि अहिले सीडी र भीसीडीको जमानामा खर्च धान्नै गाह्रो पर्छ ।’ यसले गर्दा उनले लेखेका धेरै गीत डायरीको पानामै खुम्चिएका छन् ।
गाह्रो-साह्रो पर्दा सरसहयोग र ऋणपानले चलाउनुपर्ने अवस्था सधैंको छँदैछ । जीवनको नजरमा शहरको डेरा र परिवार पर्तिर छ- एउटा गुजुल्टो परेको संसार । उनी डेराको बासबाट निस्किएर त्यही गुजुल्टो फुकाउन लागिरहेका हुन्छन् ।
उनले अहिलेको जमाना एल्बम तयार पार्ने होइन, एउटा गीत निकालेर युट्युबमा हाल्ने हो भनेर राम्ररी बुझेका छन् । तर, म्युजिक भिडियो निकाल्नका लागि लाग्ने लाखभन्दा बढी रकम सम्झेर मनमा कहाली छुट्छ । यही भएर केही महिनाअघि रेकर्ड गरेको गीत पनि अडियोमै सीमित छ । जेनतेन गीत रेकर्ड गर्छन् र सांगीतिक कार्यक्रमहरुमा जाँदा सुनाउँछन्, उनको विकल्प यही हो ।
जीविकाको मेलो टार्न उनी कार्यक्रमहरुमा जाँदा झोलाभरि गीतका सीडी बोकेर बिक्रीका लागि समेत लैजाने गर्छन् । तर, त्यसरी कलाकारलाई सहयोग गर्नुस् भन्दै हात बढाउन खासै जाँगर चल्दैन उनलाई । झोलाका सीडी झोलामै रहन्छन् ।
तीन छोरा र एक छोरीका पिता हुन् जीवन । पछिल्लो समय भने जेठो छोराले शिक्षण पेशा थालेपछि घर खर्च धान्न त्यसले पनि केही सहज बनाएको छ । अनामनगर घट्टेकुलोको डेराको जिन्दगी सिंगो संसार हो उनको ।
गाह्रो-साह्रो पर्दा सरसहयोग र ऋणपानले चलाउनुपर्ने अवस्था सधैंको छँदैछ ।
जीवनको नजरमा शहरको डेरा र परिवार पर्तिर छ- एउटा गुजुल्टो परेको संसार । उनी डेराको बासबाट निस्किएर त्यही गुजुल्टो फुकाउन लागिरहेका हुन्छन् । अरबदेखि मलायासम्म अल्झिएका दाजुभाइको पीडामा उनले गीतमा यसरी समभाव पोखेका छन् –
कोही साथी सागरपारि अरबको खाडीमा
कोही साथी सिठी फुक्दै मलायाको झाडीमा
हत्केलामा ज्यान राखी समुद्रको पानीमा
के साह्रो आपत यो जिन्दगानीमा !
अभियान जारी छ
सांस्कृतिक अभियान नाम रहे अनुसार रक्तिमले देशको संकटपूर्ण समयमा सांगीतिक अभियान चलाउँदै आएको छ ।
पहिलो संविधानसभाको निर्वाचनको बेला चेतनाको गीत गाउँदै अन्तिम समयसम्म जनतालाई सचेत पार्यो । गत वर्ष भारतीय नाकाबन्दीका कारण सर्वसाधारणको जीवनयापन बिथोलिँदा रक्तिम फेरि जाग्यो । जनताको पक्षमा गीत गाउँदै उनीसहितको टोली देश दौडाहामा निस्कियो । यस क्रममा उनी पोखरा हुँदै नवलपरासी, चितवन हुँदै दाङसम्म पुगे ।
अहिलेसम्मको यात्रामा अनेक अनुहार नियालेका छन् जीवनले, अनेक नियत र नियति केलाएका छन् । सर्वहारा वर्गको मुक्तिका कुरा गर्ने तर आफू भने सामन्ती रवाफमा हिँड्ने धेरै क्रान्तिकारी चरित्र देखेका छन् । त्यस हिसाबमा उनी आफ्नो यात्रामा सन्तोष मान्छन् । जस्तो कथनी, उस्तै करनी छ ।
सर्वहाराका लागि भनेर उठेको पार्टी पनि पथभ्रष्ट र झेली देखिँदा जीवनको मन कुँढिएको छ । ‘जनताका लागि लड्नुपर्छ, उकास्नुपर्छ भन्ने नेताहरूभित्रै पनि सामन्ती प्रवृत्ति छ,’ उनको अहिलेसम्मको बुझाइ यही हो ।
वर्गीय आन्दोलन बिस्तारै जातीय आन्दोलनतर्फ मोडिँदा त्यसको परिणाम राम्रो देखिरहेका छैनन् उनले । उनको विचारमा कलाकारिताले राजनीति र सामाजिक गतिविधि तथा प्रचलनलाई सम्बोधन गर्दै नराम्रा कुरालाई उदांगो पार्ने र राम्रा कुरालाई मलजल गर्छ । उनी त्यसैमा सक्रिय छन् ।
जीवनको संघर्षपथमा बाढी पनि छ, पहिरो पनि । यसैले तिनलाई छल्दै हिँड्नुको रोमाञ्च पनि छ । तमाम समस्याका बीच पनि जनवादी गायकका रूपमा निरन्तर लागिरहन उनलाई के कुराले ऊर्जा दिएको होला ?
जवाफमा उनीसँग सूची नै छ –
गरिबको गरिबीले । दुःखियाहरूको आँसुले । मिहिनेत गरेर खाने मान्छेका पसिनाले । अनि त्यो दुःख, पीडा, पसिनाबाट उनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ भन्ने भावनाले ।
प्रस्तुतिः जोतारे धाइबा
(यो प्रस्तुति: जोतारे धाइवा ज्यूको हो । हामीले वहाँको यो रचना अनलाइन खबरबाट साभार गरेका हौं । यो लेख २०७३ माघ ९ गते १४:२५ मा प्रकाशित (२०७३ माघ १० गते ६:५२मा अद्यावधिक गरिएको)