जनता अजये शक्ति हुन्, तर जनता सचेत भएनन् भने के हुन्छ ?

0
659
  • मोहनविक्रम सिंह

जनता अजये शक्ति हुन् । उनीहरू जागृत भए भने विस्मयकारी घटनाहरू हुन्छन् । महान परिवर्तन वा क्रान्तिहरु हुन्छन् । तर त्यससित जोडिएको अर्को गम्भीर पक्ष पनि छ । जनता जागृत भएनन् भने के हुन्छ ? त्यो अवस्थामा कैयौँ गम्भीर र भयानक घटनाहरू पनि हुने गर्दछन् । इतिहासको गति रोकिन्छ । प्रति क्रान्तिहरु हुने गर्दछन् ।

जनतामा अद्भूत शक्ति छ । तर उनीहरूको त्यो शक्ति त्यो बेला नै प्रकट हुन्छ, जब उनीहरू जागृत हुन्छन् । उनीहरू सुसुप्त भए भने त्यसबाट कैयों गलत शक्तिहरूलाई अगाडि आउन अवसर प्राप्त हुन्छ । उनीहरूले युगौँयुगसम्म पनि समाजमा प्रभूत्व कायम गर्दछन् । इतिहासको गतिलाई उल्टो दिशामा फर्काउन पनि सफल हुन्छन् । जनतामा जति महान र विस्मयकारी शक्ति भए पनि उनीहरू सुसुप्त अवस्थामा पुगे भने कसैले घोडा चढेर उनीहरूमाथि दौडाए पनि उनीहरूलाई थाहा हुन्न । उनीहरूमाथि शोषण, दमन वा अन्याय र अत्याचारको पहाड खसे पनि उनीहरू चूप बस्दछन् । त्यति मात्र होइन, त्यसलाई समर्थन पनि गर्न थाल्दछन् । त्यसको जयजयकार पनि गर्न थाल्दछन् ।

संसारमा लामोसमयसम्म दास युग वा सामन्ती व्यवस्था रहने गरेका छन् । तिनीहरूद्वारा जनता ठूलो मात्रामा उत्पीडित हुने गर्दथे । तैपनि ती प्रतिक्रियावादी व्यवस्थाहरुको अस्तित्व सम्भव भयो । जनता समयमा नै जागृत भएको भए ती व्यवस्थाहरूको अन्तका लागि युगौँ युगौँसम्म पर्खनु पर्दैनथ्यो । आज पनि पूँजीवाद वा साम्राज्यवादद्वारा जनता विश्वव्यापीरूपमा नै शोषित र उत्पीडित हुनु परेको छ । रातदिन कडा परिश्रम गर्ने मेहनतकश जनता गरिब विपन्न रहन्छन् र उनीहरूको शोषण, उत्पीडन गर्ने शोषकहरूले ठूला महल बनाउँछन् । स्वर्गीय जीवन बिताउँछ । त्यो व्यवस्था त्यसरी नै अन्यायपूर्ण छ, जसरी कुनै दिन दास युग वा सामन्त युगहरू थिए । त्यसै गरेर अन्तमा दास युग वा सामन्तयुग जस्तै पूँजीवाद वा साम्राज्यवादको पनि अन्त हुनु पनि अनिवार्य छ । त्यो ऐतिहासिक सत्य हो । ऐतिहासिक विकासको अनिवार्य नियम हो । तर आफ्नो चरित्र जनविरोधी भए पनि दासयुग वा सामन्ती व्यवस्थाको संसारका विभिन्न देशहरुमा लामो समयसम्म अस्तित्व रहेको थियो । त्यसै गरेर पूँजीवाद र साम्राज्यवादको पनि अझै केही लामो समयसम्म अस्तित्व रहने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तैपनि तिनीहरूको अन्त अनिवार्य छ । स्वयं पूँजीवादी उत्पादनको प्रक्रिया, जसभित्र त्यसको सामाजिकरणको प्रक्रिया मुख्य छ, त्यसभित्र पैदा हुने अन्तरविरोध तथा संकटका कारणले नै त्यसको अन्तलाई अवश्यम्भावी बनाउँछन् । तर त्यसका लागि जनता जाग्नु पर्दछ । पूँजीवाद र साम्राज्यवादको अस्तित्व कहिलेसम्म कायम रहने छ ? त्यो कुरा यो कुरामाथि निर्भर रहने छ : जनता कहिलेसम्म जाग्नेछन् ? जनता जागे र उठे भने संसारको कुनै शक्तिले पूँजीवाद वा साम्राज्यवादलाई अडाएर राख्न सक्दैन ।

हिटलरको उदाहरण विश्वका अगाडि छ । त्यसको उद्भव र विकास हुन सक्यो । त्यो शक्तिशाली हुन सक्यो किनभने, त्यसलाई जनताको समर्थन प्राप्त हुन सक्यो । पहिलोपल्टको चुनावमा त्यसको पार्टीको ठूलो हार भयो । तर दोस्रोपल्टको चुनावमा त्यसलाई बहुमत प्राप्त नभएपनि सबैभन्दा ठूलो पार्टीका रूपमा त्यसको विजय भयो । भनिन्छ, महिलाहरूबाट उसलाई अत्यधिक मत प्राप्त भएको थियो । त्यस प्रकारको जनसमर्थनले नै उसलाई जर्मनीको चांसलर बन्न र तानाशाह बन्न मद्दत पुर्‍याए । जातिवादी राजनीति उसको मुख्य हतियार बनेको थियो । एकातिर, यहुदी जाति प्रतिको द्वेषपूर्ण प्रचार र आतङ्ककारी कारवाही र, अर्कातिर, जर्मन जाति विश्वको श्रेष्ठ जाति हो भन्ने जातिवादी प्रचारले जर्मनीमा हिटलरलाई ठूलो पैमानामा समर्थन जुटाउन मद्दत पुर्‍यायो । त्यही समर्थन उसको फासिष्ट शासन र विश्वमा साम्राज्यको विस्तारको महत्वाकांक्षाको आधार बन्यो । त्यही स्थितिमा द्वितीय विश्वयुद्ध भयो । त्यस प्रकारको नीतिका विरुद्ध समयमा नै जर्मन जनता जागृत भएको भए अवस्य पनि हिटलरको त्यस प्रकारको नीति अगाडि बढ्न सक्ने थिएन । त्यही कुरा सानो पैमानामा नेपालका सन्दर्भमा पनि सत्य हो । जनता सचेत भएको भए निरंकुश राणा शासनको अन्तका लागि जनताले एक शताब्दिसम्म प्रतिक्षा गर्नुपर्ने थिएन । त २०१७ सालको प्रतिगामी घटना पनि घट्न सक्ने थिएन वा निरङ्कुश राजतन्त्र वा पञ्चायती शासनको अन्तका लागि २०४६ सालको प्रतीक्षा गर्नुपर्ने थिएन । २०५९ मा ज्ञानेन्द्रको निरङ्कुश राजतन्त्र कायम भएपछि छिटै नै त्यसको अन्त भयो । त्यसरी नै समयमा नै जनता जागृत भएको भए पञ्चायती तानाशाही व्यवस्थाको अन्तका लागि ३० वर्षसम्म प्रतीक्षा गर्नुपर्ने थिएन ।

जनता जागृत भएपछि विस्मयकारी घटनाहरू हुन्छन् । महान परिवर्तन वा क्रान्ति हुन्छन् । त्यो सत्य हो । तर त्यससित जोडिएको अर्को सत्य यो हो कि जनतालाई जागृत गर्नु सधैँ धेरै नै कठिन हुन्छ । त्यसका लागि कैयौँ पल्ट शताब्दियौँको लामो समय पनि लाग्दछ । भनिन्छ, कुम्भकर्ण ६ महिनासम्म सुत्दथ्यो । तर कतिपय अवस्थामा जनताको निद्रा कुम्भकर्णकोभन्दा कैयौं गुणा, सयकडौं, हजारौं गुणा बढी हुन्छ । यसबाट जनविरोधी तत्वहरूले फाइदा उठाउने गर्दछन् ।

कुम्भकर्णको निन्द्रा खालि शारीरिक मात्र हुन्थ्यो । तर जनताको निन्द्र त्योभन्दा बेग्लै हुन्छ । प्रकट रूपमा उनी जागेका हुन्छन् । तर उनीहरूको चेतना सुसुप्त हुन्छ । उनीहरू एक प्रकारले सम्मोहित अवस्थामा हुन्छन् । सम्मोहन (ज्थउलयतष्कm) भनेको यस्तो अवस्था हो, जुनबेला कुनै मानिस प्रकट रूपमा जागेको हुन्छ, तर वास्तवमा उसको दिमाग अन्य मानिसको बसमा हुन्छ र उसले अरू मानिसको निर्देशनमा काम गरेको हुन्छ । जनविरोधी शक्तिहरूले खालि शक्ति वा दमनका बलमा सधैँ जनतालाई बसमा गर्न सक्दैनन् । त्यसैले उनीहरूले जनतालाई सम्मोहित गर्ने प्रयत्न गर्दछन् । कैयौँ भ्रमहरू फैलाएर जनतालाई आफ्नो निहित स्वार्थका पक्षमा काम गराउने प्रयत्न गर्दछन् र त्यसका लागि काफीहदसम्म सफल पनि हुने गर्दछन् । हिटलर त्यसको एउटा ज्वलन्त उदाहरण हो । जातिवादको भ्रम फैलाएर जर्मन जनतालाई उत्तेजित पारिएको थियो । कान्ट र हेगलजस्ता महान् दार्शनिक वा माक्र्स एेंगेल्सजस्ता महान क्रान्तिकारीहरुको देशमा पनि हिटलर आफ्ना जातिवादी विचारहरुद्वारा भ्रम पार्न सफल भएको थियो । भारतमा सन् १९४७ पछिको हिन्दू–मुस्लिम दङ्गाका सन्दर्भमा पनि त्यही कुरा सत्य हो । मुस्लिम नेताहरूले धर्मका नाममा जनतालाई व्यापक रूपले उत्तेजित पारेर हिन्दू–मुस्लिमहरूका बीचमा व्यापक हिंसात्मक अवस्थाको सिर्जना गरिएको थियो । इतिहासमा त्यस प्रकारको उदाहरणहरूको कमी छैन ।

नेपाल र भारतमा कैयौँ शताब्दिसम्म महिलाहरूलाई पतिको मृत्युपछि ज्युँदै जलाउने काम गरिएको थियो । आज एउटा सामान्य बालकले पनि बुझ्न सक्दछ, त्यो अत्यन्त वर्वर, अमानवीय र निकृष्ट प्रकारको कार्य थियो । तर धर्मको नाममा जनतालाई त्यस प्रकारको कार्य गर्न उत्प्रेरित गरियो । जनताले त्यो कार्यलाई धार्मिक कार्य ठान्दथे । तर त्यो चरम प्रकारको धार्मिक अन्धविश्वास थियो । कैयौं धर्मशास्त्रहरुले युगौंसम्म त्यो कार्यको पक्षमा प्रचार गरेर जनतामा त्यस प्रकारको मानसिकता तयार पारेका थिए । त्यही कुरा महिलाहरू माथिका हिंसा वा छुवाछूत प्रथाबारे पनि सत्य हो । मानवीय आधारमा कुनै पनि प्रकारले ती प्रचलनहरूलाई उचित मान्न सकिन्न । तर समाजमा अहिले पनि यस प्रकारका मानिसहरूको कमी छैन, जसले ती प्रथाहरूलाई सही ठान्दछन् । कुरा त्यहीसम्म मात्र सीमित छैन । सामन्ती व्यवस्था, राजाहरूको अस्तित्वलाई सही सावित गर्न पनि धर्मको ठूलो भूमिका रह्यो । धर्मको आधारमा मानिसहरूको दिमागलाई यसरी तयार पारियो कि उनीहरूले शताब्दियौंसम्म सामन्ती व्यवस्था वा राजतन्त्रको अस्तित्वलाई लगातार र दृढतापूर्वक समर्थन गरिरहे । यहाँसम्म कि मानिसहरूले राजालाई ईश्वरको अवतारसम्म ठान्ने गरे । अहिले पनि त्यस प्रकारका मानिसहरूको कमी छैन, जसले राजतन्त्रलाई समर्थन गर्दछन् । नेपालमा राजतन्त्रको पुनस्र्थापनामा जोड दिने राजनीतिक सङ्गठनहरूले पनि संविधानसभाको चुनावमा ठूलो सङ्ख्यामा मत प्राप्त गरेको कुराबाट त्यो कुरा प्रष्ट हुन्छ ।

यान्त्रिक अन्धविश्वासको वशिभूत भएर शताब्दियौँसम्म मानिसहरूले आफ्नो आमा, भाउजू वा बहिनीहरूलाई ज्यूँदै चितामा जलाउने गरे । उनीहरुले समाजको एउटा अङ्गलाई आफूबाट अलग गरेर अछुतका रूपमा बहिष्कृत गरे । महिलाहरूमाथि शताब्दियौँसम्म अन्याय, अत्याचार गर्ने गरे र कतिपय रुपमा अहिले पनि त्यस प्रकारका व्यवहारहरु कायम छन् । रङ्गका आधारमा मानिसहरूप्रति भेदभाव र अन्याय–अत्याचार गर्ने गरियो । खालि दक्षिण अफ्रिकामा मात्र लामो समयसम्म हब्सीहरु त्यसप्रकारको रंगभेलको सिकार हुनु परेन, अमेरिका जस्तो अत्यन्त शिक्षित र विकसित देशमा पनि अहिलेसम्म त्यस प्रकारको रंगमाथि आधारित विभेद विभिन्न रुपमा कायम छ । बताइरहनुपर्ने आवश्यकता छैन, ती सबै कृतिम रूपले र योजनावद्ध प्रकारले जनतामा फैलाइएका भ्रमहरू हुन् । ती उदाहरणहरूले बताउँछन्, जनताले कसरी स्वय आफ्ना हितहरूमा गम्भीर प्रकारले आघात पुग्ने गलत विचारहरूलाई पनि अपनाउँछन् । त्यस प्रकारका विचारहरूलाई हटाउन लामो समय लाग्दछ । तर त्यो बेलासम्म त्यस प्रकारको गलत विचारले ठूलो क्षति पुराइसकेको हुन्छ । हिटलरले फैलाएको गलत विचारलाई जनताले हटाए । तर त्यसले जर्मनी र विश्वमा कति धेरै क्षति पुर्‍यायो ? आम रूपमा थाहा भएको कुरा हो ।

कतिपय गलत विचारहरू कसरी जनतामा फैलिन्छिन् र जनताका बीचमा घर जमाउँछन् ? त्यस प्रकारका कैयौँ उदाहरणहरू अहिलेको नेपालको वर्तमान राजनीतिमा पनि पाइन्छन् । नेपालमा राजतन्त्र वा निरङ्कुश राजतन्त्रको कालमा देशमा कति धेरै राजनीतिक अस्थिरता रहने गर्‍यो ? जनतामाथि कति धेरै अन्याय र अत्याचार हुने गरे ? देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा कति धेरै कुठाराघात पुग्ने गरेको थियो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । पहिले शाही कालमा, राणा कालमा पनि कैयौँ दरवारकाण्डहरू भए, केही समय पहिले भएको वीरेन्द्रको सपरिवार हत्या काण्डले पनि राजतन्त्र अन्तर्गत कति धेरै राजनीतिक अस्थिरता हुन्छ ? प्रष्ट छ । राजाको निरङ्कुश शासन अन्तर्गतको पञ्चायती शासनको बेलामा देशमा व्यापक रूपमा भएको मण्डले गुण्डागर्दी र सयकडौँ प्रकारका काण्डहरू, राजपरिवारद्वारा नै विभिन्न प्रकारका तस्करी, ठूलो मात्रामा राष्ट्रिय सम्पत्तिको दुरूपयोग, भ्रष्टाचार, कैयौँ बलात्कार र हत्याको घटनाहरू, स्थानीय संयन्त्रहरूमा भ्रष्टाचार, शाही परिवारका सदस्यहरू वा युवराज पारसद्वारा अनियन्त्रित प्रकारको दुव्र्यवहार आदिले राजतन्त्र कति निरङ्कुश प्रकारको व्यवस्था हो ? त्यो कुरामा कुनै शङ्का रहन्न ।

राजावादीहरूले यो प्रचार पनि धेरै गरेको पाइन्छ कि राजाद्वारा नै राष्ट्रियताको रक्षा हुन सक्दछ । तर कालापानीमा भारतीय कब्जा देशमा निरङ्कुश राजतन्त्र भएको बेलामा नै भएको थियो । राजाले आफ्नो निरङ्कुश शासनप्रतिको भारतीय विरोधलाई कम गर्न कालापानीमा भारतीय कब्जालाई स्वीकार गरेका थिए । कतिपय भारतीय कुटनीतिज्ञहरूले ता यो मत पनि प्रकट गरेका छन्, नेपालको राजाको समर्थनमा नै भारतीय सेनाले कालापानीमा कब्जा गरेको थियो । राजाद्वारा कालापानीमा भारतीय कब्जाको विरोध गरिएन । त्यो एउटा मात्र उदाहरणले बताउँछ, राजाद्वारा राष्ट्रियताको कतिसम्म रक्षा हुँदो रहेछ ?

राजतन्त्र अन्तर्गतका गतकालका ती केही उदाहरणहरूमाथि विचार गर्दा राजतन्त्रको पुनस्र्थापना भयो भने खालि लोकतन्त्र र गणतन्त्रको अन्त हुने मात्र होइन, गम्भीर प्रकारको राजनीतिक अस्थिरता देखापर्नेछ, अन्याय, अत्याचार तथा भ्रष्टाचार र राष्ट्रिय सम्पत्तिको दुरूपयोग बढेर जानेछ र देशको राष्ट्रियतामा पनि गम्भीर आँच पुग्नेछ । राणाहरू आफ्नो शासनको मरणासन्न अवस्थामा पुगेको बेलामा उनीहरूको भयदोहन गरेर भारतीय विस्तारवादले उनीहरूलाई १९५० को सन्धि गर्न लगाइएको थियो । राजतन्त्रको पुनस्र्थापनाका लागि भारतीय समर्थन प्राप्त गर्न पूर्व राजा राष्ट्रिय हितहरूको सौदावाजी गर्न तयार हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । कुराहरू त्यति प्रष्ट हुँदाहुँदै पनि जनताको एउटा ठूलो सङ्ख्याले राजावादीहरूलाई आफ्नो समर्थन दिन तयार हुन्छन् भने त्यसले के बताउँछ भने कैयौँ गम्भीर प्रकारका गलत विचारहरूले पनि जनतामा सजिलैसित घर बनाउँछन् र त्यसको परिणाम स्वरूप कैयौँ गम्भीर दुष्परिणामहरू हुने गर्दछन् भन्ने कुरामा कुनै शङ्का रहन्न ।

सङ्घीयता नेपालजस्तो सानो, पिछडिएको र आर्थिक दृष्टिकोणले कमजोर देशका लागि उपयुक्त छैन । त्यससित जोडिएर आएका जातिवाद र क्षेत्रीयतावादले देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति पैदा गर्ने कुरा प्रष्ट छ । पहिले देशका विभिन्न जातिहरूले आत्मनिर्णयको अधिकार सहित आफ्ना लागि बेग्लाबेग्लै जातीय राज्य वा प्रदेशहरू माग्ने कुरा जोडदार प्रकारले उठेका थिए । अहिले संविधानको मस्यौदा वा विधेयकमा जातीय आधारमा कुनै पनि राज्यको गठन गर्ने अवधारणा अगाडि ल्याइएन । तर अहिले जातीय आधारमा थारुहट प्रदेशको निर्माणको माग सशक्त प्रकारले उठिरहेको छ । त्यस सिलसिलामा टीकापुरको जघन्य हत्याकाण्ड भयो । अहिले पनि थरुहट प्रदेशका लागि कैयौँ स्थानहरूमा जुलुस, प्रदर्शन, आगलागीका घटनाहरू पनि हुने गरेको छ । थारु युवकहरूले लाठी लिएर प्रदर्शन गर्ने गर्दछन् । हडताल गर्दछन् । मर्न, मार्न तयार हुन्छन् । उनीहरुको त्यस प्रकारको गतिविधिले बताउँछ, आफ्ना मागहरूलाई उनीहरूले दिलैदेखि सही ठहराउँछन् । तर उनीहरूको त्यस प्रकारको आन्दोलन वा विरोध प्रदर्शनले उनीहरूको मागको औचित्यता प्रमाणित गर्दैन । थारुमाथि शताब्दियौँदेखि हुने गरेका शोषण, उत्पीडन गलत छन् र तिनीहरूको अन्त हुनुपर्दछ । तर थारुहट प्रदेशको निर्माणले त्यो समस्यालाई हल गर्दैन । उनीहरूमाथि हुने गरेको शोषण, उत्पीडन वा भेदभावको मुख्य कारण सामन्ती व्यवस्था नै हो । त्यसको अन्त भएपछि नै उनीहरूमाथिको शोषण, उत्पीडन वा भेदभावको अन्त हुनेछ । जातीय आधारमा प्रदेशको निर्माणबाट शोषण, उत्पीडन वा भेदभाव अन्त हुने छैनन्, तर तिनीहरू अरू स्थायी हुनेछन् । किनभने कुनै पनि स्थानमा जातीय आधारमा कायम हुने एकताले वर्गसङ्घर्षलाई कमजोर पार्दछ । थारुहरु आफ्नो जातिका जमिन्दारबाट पनि ठूलो मात्रमा उत्पीडित हुने गर्दछन् । तर जातीय एकता कायम गर्ने नाममा वर्गसङ्घर्ष पक्ष कमजोर हुनेछ र त्यसरी त्यहाँ थारु जनतामाथि हुने शोषण, उत्पीडन यथावत रहने छन् । त्यसैले थारुहट प्रदेशको आन्दोलन स्वयं शोषित, पीडित आम जनताको हितमा छैन र त्यसबाट उच्चवर्गीय थारुहरूको स्वार्थ मात्र पूरा हुनेछ ।

पूर्वमा मधेश प्रदेशको आन्दोलन उठिरहेको छ । पहिले मेचीदेखि महाकालीसम्म एक मधेश–एक प्रदेशका लागि उठेको आन्दोलन थारुहट प्रदेशको आन्दोलनका कारणले पूर्वी तराईमा मात्र सीमित हुन पुगेको छ । संविधानको मस्यौदा बनाउँदा जातीय आधारमा कुनै प्रदेशको निर्माण नगरिए पनि पूर्वमा आठवटा जिल्लाहरूको मधेश प्रदेशको निर्माण गरिएको छ । मोरङ्ग, सुनसरी र झापालाई त्यो मधेश प्रदेशमा सामेल गर्न आन्दोलन चलिरहेको छ । जातीय आधारमा थारुहट प्रदेशको निर्माण जस्तै पहाडबाट अलग गरेर आत्मनिर्णयको अधिकार सहितको मधेश प्रदेशको निर्माणका लागि चलिरहेको आन्दोलन पनि गलत छ । ती दुवै प्रकारका प्रदेशहरूको निर्माणका लागि चलिरहेका आन्दोलनहरूलाई पूर्वमा मधेशी र पश्चिममा थारु जनताको ठूलो समर्थन छ र त्यहाँ जनस्तरमा नै हिंसात्मक कारवाहीहरू पनि हुने गरेका छन् । तर त्यसरी पूर्वी तराईमा मधेश प्रदेशको निर्माण हुँदा पश्चिममा थारु प्रदेशको निर्माण हुँदा जस्तै त्यसबाट शोषित, उत्पीडित जनतामाथि हुने गरेका शोषण, उत्पीडन समाप्त हुनुको सट्टा ती झन् स्थायी हुनेछन् । त्यसरी मधेश प्रदेशको निर्माणबाट खालि उच्च वर्गहरूलाई नै बल पुग्नेछ र आम मधेशी जनतालाई कुनै फाइदा हुने छैन । त्यसरी त्यहाँको आन्दोलन स्वयं आम मधेशी जनताको हितमा नभएको कुरा प्रष्ट छ र व्यवहारले त्यो कुरा अरू प्रष्ट पार्दै लैजाने छ ।
पूर्वमा मधेश प्रदेश र पश्चिममा थरुहट प्रदेशको निर्माण गरियो भने त्यसका कैयौँ घातक दुष्परिणामहरू हुनेछन् । पूर्व र पश्चिम तराई दुवैतिर विभिन्न जातिहरूको मिश्रित वसोवास छ । त्यसरी जातीय आधारमा पश्चिममा र क्षेत्रीय आधारमा पूर्वमा प्रदेशहरूको निर्माण गर्ने हो भने सम्पूर्ण देशमा गम्भीर प्रकारको जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना हुनेछ । त्यसरी ती प्रदेशहरूको निर्माण हुँदा मेचीदेखि महाकालीसम्मको सम्पूर्ण तराई पहाडि भूभागहरूबाट अलग हुनेछ र त्यसबाट देशमा गम्भीर प्रकारको भौगोलिक, आर्थिक, सामाजिक, व्यावहारिक र भावनात्मक असन्तुलन र असहज स्थितिको सिर्जना हुनेछ । अहिले संविधानसभाद्वारा पारित संविधानमा जातीय आधारमा कुनै प्रदेशको निर्माण गर्ने अवधारणा नल्याइएको भए पनि थरुहट प्रदेशको निर्माण हुने वित्तिकै देशका अन्य भागहरूमा पनि जातीय प्रदेशहरुको निर्माणका लागि माग र आन्दोलन उठ्न थाल्नेछन् । देशका सबै भागहरूमा मिश्रित प्रकारको वसोवास छ । त्यो अवस्थामा जातीय आधारमा प्रदेशको निर्माणबाट पैदा हुने असहज स्थितिको सजिलैसित अनुमान गर्न सकिन्छ ।

जनता अजय शक्ति हुन् र उनीहरूभित्र अदुभूत क्षमता निहित हुन्छ । तर कतिपय अवस्थामा जनतामा बेग्लाबेग्लै प्रकारका गलत विचारहरूले घर जमाउँछन् । त्यो अवस्थामा उनीहरूका आन्दोलनहरूको परिणामहरू प्रत्युत्पादक पनि हुने गर्दछन् । त्यो अवस्थामा ती आन्दोलनहरूबाट जनतालाई फाइदा पुग्नुको सट्टा जनविरोधी तत्वहरूलाई फाइदा पुग्ने गर्दछ र जनताको समर्थनबाट कैयौँ जनविरोधी व्यवस्थाहरू कायम हुने वा बेग्लाबेग्लै प्रकारका तानाशाहहरू पनि पैदा हुने गर्दछन् । नेपालमा पनि त्यस प्रकारको उदाहरणहरूको कमी छैन । जनतामा उच्च प्रकारको चेतना वा विकासबाट नै त्यो स्थितिमा नियन्त्रण गर्न र जनतामा निहित शक्तिलाई सही दिशामा अगाडि बढाउन सकिन्छ ।

मिति : २०७२ असोज १७ गते (एकता संदेश वर्ष : ३७, अङ्क : १, डिसम्बर २०१५ मा प्रकाशित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here