जनताले अवस्य मलाई विश्वास गर्नुहनेछ- वाम उम्मेदवार शाही

0
29

खिमविक्रम शाही
साझा वाम उम्मेदवार, बागलुङ– २(ख)
त्यस्ता के के एजेण्डा छन् तपाईसँग जस्का कारण तपाइलाई यस क्षेत्रका जनताले मतदान गर्नुहुन्छ ?
एजेण्डा साझा छन् । यस अघि स्वर्गीय साँसद टेकबहादुर घर्ति मगरले निर्वाचन जितेर जानुभएको ठाउँ हो, उहाँले संसदमा पेश गर्नुभएका कतिपय योजनाहरु, नीति निर्माण तहको टेबुलमा छन् । त्यसलाई अगाडि बढाएर उहाँको अधुरा रहेका सपना पुरा गर्नु छ । त्यो बाँकी कार्यभार पूरा गर्नपनि मेरो उमेदवारी हो । नेकपा र राष्ट्रिय जनमोर्चाबीचका धेरै साझा एजेण्डाहरु छन् । त्यसलाई व्यवस्थित गर्ने प्रतिनिधिका रुपमा मलाई अघि सारिएको छ । त्यो गहन जिम्मेवारीको बोध मलाई भएको छ । निसीखोला, तमानखोला र ढोरपाटनमा ग्रामीण बस्तिहरुमा पुग्दा त्यहाँका जनताका धेरै आकाँक्षाहरु, आवश्यकताहरु र अनिवार्यताहरु पनि आफ्नै आँखाले हेरेर मैले त्यो जिम्मा पुरागर्नुपर्छ भन्ने अन्तरआत्मैबाट बोध भएको छ । जनताको जनमत, मलाई उमेदवारी तय गर्दा सहकार्यमा रहेको नेकपा र मेरो पार्टि राष्ट्रिय जनमोर्चाको पक्षमा रहेको कारण पनि मैले जित्छु भन्नेमा म ढुक्क छु ।

तपाई निर्वाचनमा जाँदा, वा जनताकाबीचमा बोल्दा, मत माग्दा के प्रतिवद्धता जनाउनु भएको छ ?

मैले खास गरी ४ तहबाट मेरो जिम्मेवारी र काम गर्ने तरिकाका सन्दर्भमा आफ्ना साझा धारणा बनाएको छु । त्यसमा पनि मलाई उमेदवारी समर्थन गर्ने अर्को जिम्मेवार पार्टि नेकपा र मेरो आफ्नो दल राष्ट्रिय जनमोर्चाका बीचमा बनाइएका साझा धाराणालाई प्रतिवद्धता भित्र राखेको छु । मैले यस अघिपनि भने जस्तै, नीतिगत प्रतिवद्धता, आर्थिक प्रतिवद्धता, पूर्वधार विकास तथा शिक्षा सम्बन्धि प्रतिवद्धता, स्थानीय प्रतिवद्धताहरु मेरो चुनावी प्रतिवद्धता पत्रमा समेत हेर्न सक्नुहुन्छ । जनतालाई त्यो सबै उपलब्ध पनि गराइसेकेको छु । मेरो नीतिगत प्रतिवद्धतामा लामो राजनैतिक आन्दोलनबाट प्राप्त, गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकरात्मक उपलब्धीको रक्षा गर्ने नै हुने हो । त्यससँगै आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्नु, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्नु, जनतन्त्र, जनजीविका र जनअधिकारको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्नु, जनतालाई सुशासनको ग्यारेण्टी गरी भ्रष्टचार विरुद्ध जन अभियान सञ्चालन गर्नु छ ।
अर्को कुरा यहाँ पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्नुछ । यहाँको भिन्नै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुद पार्नु छ । हाम्राबीचमा ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण र संवद्धन गर्नुछ । यि कुरामा मैले ध्यान पु¥याउने प्रतिबद्धता जनाएको छु ।

यहाँले भने जस्तै वा प्रतिवद्धता पत्रमा उल्लेख भए अनुसार, यहाँको गरिवी, पछौटेपन, आर्थिक विपन्नतालाई कसरी सम्बोधन गर्नुहुन्छ । योजना के छन् ?
मैले जे कुरा जनताकाबीचमा बोलेको छु, प्रतिवद्धता पत्रमा लिपिबद्ध गरेको छु, त्यो अन्तरआत्ममा लागेका हामीले भोगेका र समाधान गर्नैपर्ने सवाल उल्लेख गरेको छु । यहाँको कृषि र कृषिजन्य उद्योगको विकास गर्नुछ । किसानको आयश्रोत बृद्धिमा मद्दत पु¥याउन विऊ, गोठसुधार, उन्नत पशु तथा पंक्षी, मत्स्य र मौरीपालनका लागि अनुदानको व्यवस्था गर्नुछ । यहाँको अव्यवस्थित बसोवासलाई व्यवस्थित पार्न एकीकृत बस्ती विकास, खेतियोग्य जमिनको संरक्षण, वनजङ्गल र खानी क्षेत्रको विकास र संरक्षण गर्न रणनीतिक योजना तय गर्नुछ । सरकारले दिर्दै आएको जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, अनाथ, असाह्य र बालवालिकाको भत्तामा थप बृद्धि गरी उनीहरुको दैनिक आवश्यकता सहज ढंगबाट पूरा गर्न सक्ने गरी उपलब्ध गराउनुछ ।
अहिलेको जटिल समस्याको रुपमा रहेको युवाको बढ्दो विदेश पलायनलाई रोक्नु छ । युवा उद्यमशील घुम्ती कोषको व्यवस्था गरी घरेलु तथा साना उद्योग, कृषि फम, पशुपालन तथा सीपमूलक र उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने कार्यक्रम तय गर्नुछ । पर्यटनलाई उद्योगको रुपमा विकास गरी ग्रामिण क्षेत्रमा पैदलमार्ग र होमस्टे स्थापना, जलयात्रा, रक गार्डेन तथा प्याराग्यलाईडिङ सञ्चालन गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा बृद्धि ल्याउने मेरा प्रतिवद्धताहरु छन् ।

यतिधेरै प्रतिवद्धताहरु अघि सार्नुभएको छ, चुनावका लागि मात्र हो कि गर्नैका लागि हो ?
यसो हेर्दा वर्तमानमा मेरा प्रतिवद्धताहरुमा प्रश्नहरु पनि उत्पन्न होलान तर ती जनताको आधारभूत आवश्यकता हुन् । ति पुरा गर्ने पर्छ मैले । आजको भोली के गर्न सकिन्छ त्यसमा प्रयत्न गरौंला तर केही न केही त कसैले गर्नैपर्छ । चुनाव जित्ने तर जनताका काम गरिएन भने त के का लागि जित्नु पर्यो, कस्लाई जित्नु पर्यो र ? त्यस अर्थमा पनि मैले जिम्मेवारी पाएपछि, यहाँका जनताका आधारभूत आवश्यकताका सूची मेरो प्रतिवद्धतापत्र हो, मेरो बचन हो । त्यसकारण त्यो प्रतिबद्धतापत्र देखाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि नै हो ।

अहिले त गाउँ गाउँमा स्थानीय सरकारपनि छन् । त्यहाँ समन्वय गरेर स्थानीय तहका योजनाहरु के कस्ता ल्याउनुभयो ?
हो, यहाँले भन्नुभएको जस्तो, गाउँका जनताको नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । म उमेद्वार रहेको प्रदेश क्षेत्रमा ३÷३ वटा स्थानीय सरकार छन् । उनीहरुले पनि जनताका समस्या समाधान गर्नेनै हो । मैले पनि तिनै स्थानीय सरकारसँग समन्वय गरेर यहाँको विकास निर्माण, नीति निर्माण गर्ने हो । त्यसकालागि केही छलफलबाट साझा एजेण्डाहरु बनेका छन् । जस्तो ढोरपाटनमा रहेको एयरपोर्टको तत्काल सञ्चालनमा गर्न आवश्यक पहल गर्नुपर्ने छ । साथै यस क्षेत्रको पर्यटन विकासको योजना बनेका छन् । त्यसमा थप पहल गर्नु छ । राष्ट्रिय गौरवको योजना मध्यपहाडि लोकमार्ग र सालझण्डी ढोरपाटन लोकमार्गदेखि ग्रामीण तहलाई जोड्ने गरी ग्रामीण सडकको निर्माण र विस्तार गर्ने आवश्यकता महसुस गरेर योजना बनाएका छौं । उत्तरगंगा जलासययुक्त जलविद्युत परियोजना बागलुङ कै भुगोलमा निर्माण गर्न जोड दिनु छ । बुर्तिवाङ र त्यसको नजिक रहेका सडक सञ्जाललाई सहरीकरण गर्दै स्तरबृद्धिका साथै कालोपत्रेको काम गर्ने र बुर्तिवाङ, बोङ्गादोभान, खुङ्खानी, तमान, दरबाङ हुँदै धवलागिरी वेसक्याम्पसम्म पर्यटकमैत्री सडक निर्माणको लागि पहल गर्नु छ । यस्तै बुर्तिवाङ, खुङ्गा, तमान, दरबाङ मोटरबाटो, बोहरागाँउ देखि प्युठान जोड्ने मोटर बाटो, चाचल, सामा, बराहताल मोटरबाटो, बुर्तिवाङ, मस्ती, अर्नाकोट मोटरबाटो, हुन्द्रफेदी, लुकुरबन, खोलाखर्क रमुवा मोटरबाटो निर्माण तथा विस्तार गर्ने योजना छन् । बुर्तिवाङ, निसी, निशलढोर, भुजीढोर, बराहताल, बोङ्गादोभान हुँदैं बुर्तिवाङ रिङरोड निर्माण गर्नुछ । बुर्तिवाङमा आधुनिक सहरीकरणको कार्यक्रम सञ्चालन गर्नुका साथै झिवाखोला, निसी, बोवाङ, तमान र ढोरपाटनमा साना सहरी विकास कार्यक्रम लागु गर्ने एजेण्डा पनि ल्याएको छु । पर्यटन विकासमा सहयोग पुर्याउनका लागि अर्नाकोट, नरसिंहकोट, बराहताल, रुद्रताल, जस्ता स्थानको विकास र पर्वद्धनमा ध्यान दिर्दै खुङ्खानी र बोङ्गादोभानमा रक गार्डेन र होमस्टे (घरवास कार्यक्रम) सञ्चालनको सम्भावना अध्ययन गरी निर्माणका लागि पहल गर्नु छ । ढोरपाटन क्षेत्रको एकिकृत पर्यटन विकासको लागि जोड दिनुछ । यस्ता तमाम काम गर्नु छ यो गर्ने भन्नेमात्र होईन, विजय भएपछि मैले गरेरै देखाउने छु ।

अरु विषय जो तपाइको मनमा लागेको छ, त्यसका लागि योजना बनाएको र तत्काल गर्ने कामको सूची के बनाउनुभएको छ ?
सबै भन्दा चासोको विषय, बुर्तिबाङमा जिल्ला अस्पतालका रुपमा निर्माण भएको संरचनामा आवश्यक जनशक्ति सहितको प्रविधियुक्त अस्पताल स्थापना, निसीखोला र तमानखोला गाउँपालिकाका गाउँपालका स्तरको कम्तिमा पनि २५/२५ शैयाको अस्पताल निर्माणमा जोड दिने मेरो योजना छ । त्यससँगै यहाँका जनताले भोग्नु परेको सरकारी काममा हुने प्रशासनिक झन्झटलाई न्यूनिकरण गरी छिटो छरितो तरिकाबाट हुने गरी प्रशासनिक कार्यको व्यवस्था गर्ने मेरो प्रतिवद्धताहरु छन् । त्यसलाई पुरा गर्ने छु । मेरो उमेदवारी, दुई बामपार्टिका साझा अवधारणाहरु, जनस्तरका समस्याका कुरा र मैले जितेपछि गर्नेपर्ने प्रतिवद्धताहरुलाई यहाँको मिडियामार्फत राख्ने मौका दिनुभयो । यहाँलाई र यहाँ सम्वद्ध मिडियालाई धन्यवाद व्यक्त गर्दछु । (हाँक साप्ताहिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here