जनताको संस्कृतिको विकासका बाधक तत्व

0
132
बदरुद्दिन उमर

कुनै पनि वर्गविभाजित समाजमा श्रमिक जनताको विराट् संख्याको श्रमशक्तिको शोषणमाथि नै शासक वर्ग अडिएर रहेको हुन्छ । जनताको महत्तम भागमाथि मुठ्ठीभर व्यक्तिहरूको शासक र वर्चस्व नै वर्गविभाजित समाजको चरित्र हो । यस किसिमको समाजमा श्रमिक जनताले आफ्नो श्रमशक्तिद्वारा जे जति उत्पादन गर्दछ, त्यसको ज्यादै थोरै भाग मात्र उसले पाउँछ र बाँकी महत्तम भाग चाहिं उत्पादका साधनका मालिकहरूको हातमा पुग्दछ । यी मालिकहरूले आफैं परिश्रम गर्दैनन् र सम्पूर्ण जनसंख्यामा यिनीहरूको प्रतिशत अति नगण्य हुन्छ ।

बहुसंख्यक परिश्रमी जनतामाथि श्रमविमुख मुठ्ठीभर शोषक वर्गको शोषण र शासनविना कुनै बाधा–व्यवधान सधैं सधेैंका निम्ति चलिरहनु संभव हुंदैन । यही कारण शोषण र शासनको क्रमलाई चलाइराख्नका निमित शोषण वर्गद्वारा शक्ति प्रयोग र निर्यातन आवश्यक हुन्छ । श्रमिक जनता शोषणबाट थङ्थिलो भएर कहिलेकाहीं विद्रोही बन्न पुग्छ र आफूमाथि रहेको शोषणलाई मिल्काएर फ्याँक्न शोषक वर्गमाथि आधात गर्दछ । यस आक्रमणको प्रतिक्रियास्वरूप शोषक वर्गले विद्रेहीहरूमाथि अझ शक्तिशाली आक्रमण गर्दछ, किनभने शोषकहरू संगठित हुन्छन् र उनीहरूसँग बढी घातक हातहतियार हुन्छन् । कुनै पनि वर्गविभाजित समाजमा घात–प्रतिघातको यो प्रक्रिया वर्गसंघर्षभित्र पर्दछ । तर त्यस्तो समाजमा शोषक वर्ग श्रमिक जनतामाथि नियन्त्रण कायम राख्नका निम्ति सधैं नै शक्तिप्रयोग मात्र गर्दैन । यसको मूल कारण के हो भने आली शक्तिप्रयोगद्वारा मात्र आधुनिकतम र घातक हतियारद्वारा सुसज्जित हुंदाहुंदै पनि जनतामाथि आफ्नो नियन्त्रण धेरै दिनसम्म कायम राख्नु शोषक वर्गको निम्ति संभव हुंदैन । वर्गविभाजित समाजमा बहुसंख्यक र मुठ्ठीभर मानिसहरू लगातार शक्तिपरीक्षणमा उत्रिएको खण्डमा बहुसंख्यकहरूसामु मुठ्ठीभर मानिसको पराजय सुनिश्चित छ । यस्तो स्थितिमा बहुसंख्यक श्रमिक वर्गको जीतलाई लामो समयसम्म टाल्न सकिंदैन । निरन्तर शक्तिपरिक्षणको स्थिति उत्पन्न नहोस् वा त्यसलाई ज्यादै लामो समयसम्म टालन सकियोस् भनेर शासक वर्गहरू अरू तरीका पनि अपनाउँछन् । यी तरीकामध्ये प्रमुख तरीका हो – जनताको सोचमाथि नियन्त्रण स्थापित गर्नु । प्राचीन भारतमा शोषक वर्गले यसका निम्ति जुन सर्वोत्तम उपाय अपनाएको थियो त्यो थियो – जन्मान्तरवाद (पुनर्जन्मवाद) । यस वादका अनुसार प्रत्येक मानिसको जीवनमा राम्रा वा नराम्रा जे जस्ता कुरा हुन्छन्, त्यसका निम्ति अरू कोही होइन मानिस आफैं नै उत्तरदायी हुन्छ । अर्को शब्दमा, यो जीवनमा जे जति हुन्छ, त्यो पहिलो जन्मको कर्मको आधारमा नै हुन्छ । यस ‘कर्मवाद’ का अनुसार शोषण, निर्यातन (बदला लिने प्रक्रिया) अनाचार, अत्याचार आदिका निम्ति कसैलाई पनि व्यक्तिगत रूपबाट दोषी ठहर्‍याउन सकिंदैन र कसैलाई दोषी ठहर्‍याउन सकिंदैन भने त्यसका विरूद्ध कुनै संघर्ष वा विद्रोह संगठित गर्ने प्रश्न पनि उठ्दैन । कुनै सामन्तले कुनै गरीब किसानको जमीन हडप्छ, किसानलाई कुटपिट गर्छ वा उसकी स्वास्नीलाई घिसार्दै लगेर अत्याचार गर्दछ भने यस्तो स्थितिमा त्यस सामन्तमाथि दोषारोपण गर्न सकिंदैन । र, सामन्त दोषी नै छैन भने न्याय र दण्डको कुरो गर्ने कसरी ? यहाँ गरीब किसानसित जे जस्तो भयो त्यो उसको पहिलो जन्मको कर्मको आधारमा नै भएको हो । अघिल्लो जन्ममा उसले पनि कसैको जमीन खोसेको थियो होला, कसैलाई कुटेको थियो होला र कसैकी श्रीमतीमाथि अत्याचार गरेको थियो होला । अत: यस जीवनमा जे भयो, त्यो उसको अघिल्लो जन्मका पापहरूको प्रायश्चित हो, यसको विरोध वा प्रतिवाद हुन सक्दैन ।

‘कर्मवाद’को यस तत्वलाई जनतका बीचमा व्यापक रूपबाट प्रचार गरिंदै ल्याइयो र कालान्तरमा यो जनताको संस्कार बन्न पुग्यो । यस संस्कारबाट वंशीभूत भएको कराणले जनताले शोषण उत्पीडनलाई नियतीको विधान ठान्न थाल्यो र यसका विरूद्ध आन्दोलन संगठित गर्ने कुरै पनि सोचेन ।

प्राचीन भारतको शोषक वर्गले ‘कर्मवाद’लाई जन्म दिएर जुन धुत्र्याई गरेको थियो, त्यसबाट उसलाई शोषित वर्गमाथि आफ्नो आधिपत्य कायम गर्न युगौदेखि सहयोग पुग्दै आएको छ । शोषक वर्गको सिर्जनशीलताले यस क्षेत्रमा अनेकौं विष्मयकारी काम गरेको छ र शोषणका नयाँ नयाँ वादहरूको आविष्कार गरेको छ । यी वादहरूको प्रभावको कारण शोषित जनताले शोषण–उत्पीडनलाई आफ्नो स्वाभाविक प्राप्यको रूपमा हेरको छ र प्राय: बहुसंख्यक मानिसहरूमाथि दुईचार जना शोषकहरूको वर्चस्व स्थापित गर्नमा यस्ता आविष्कारहरूले सहायक भूमिका नै निर्वाह गरेका छन् ।

धर्म, दर्शन, संस्कृति, साहित्यलाई मिलाएर समाजको जुन अधिरचना (उपरी ढाँचा) बन्दछ, त्यसमा शोषक वर्गको धुत्र्याईं शुरूदेखि नै परिलक्षित हुन्छ । धर्म, दर्शन, संस्कृति आदिको उपयोग विभिन्न समयमा समाजका बहुसंख्यक मानिसहरूमाथि अल्पसंख्यक शोषकहरूको शोषण र शासन यथावत् कायम राख्नका निम्ति नै बढी हुंदै आएको छ । सबै क्षेत्रमा शोषक वर्गद्वारा सृजित र पालित केही संस्कारले बहुसंख्यक जनताको सोच र भावनामाथि आधिपत्य जमाइरहन्छन्, यसबाट जनताको सिर्जनशीलता बाधित हुन्छ । यिनै कारणहरूले कुनै पनि वर्गविभाजित समाजमा श्रमिक जनतको सिर्जनशीलता वा आम व्यक्तिको सिर्जनशील चेतनाको सम्पूर्ण विकास संभव हुंदैन । यस किसिमको समाजमा सभ्यता, संस्कृति आदिको जुन अर्थ निस्कन्छ, ती मुठ्ठीभर मानिसहरूद्वारा निर्धारित हुन्छन् । अत: जनसंख्याको सबभन्दा ठूलो हिस्साको सिजर्नशीलता केबल समाजको आधारभूमि वा उत्पादन क्षेत्रसम्म मात्र सीमित रहन्छ । समाजको अधिरचनामा आम जनताको सिर्जनशीलताको प्रभावन नपरोस् भन्ने कुरामा शासक वर्गको सर्तक दृष्टि रहन्छ । उनीहरू यसका निम्ति नयाँ नयाँ उपायहरू आविष्कार गरिरहन्छन् । वस्तुत: धर्म, दर्शन, साहित्य, संस्कृति, राजनीति जस्ता क्षेत्रहरूमा शोषकवर्गको सिर्जनशीलताको विलक्षण परिचय शोषणका अत्युत्तम तरिकाहरूको आविष्कारमा फेला गर्दछ । यसकारण प्रत्येक युगमा शोषक वर्गको सांस्कृतिक इतिहास उसको शोषण–शासनको इतिहासको अभिन्न अंग हो । यसको यो इतिहास व्यापक अर्थमा मानवसमाजको सिर्जनशीलताका बाटामा बाधाहरू उत्पन्न गर्ने इतिहास नै हो ।

आम जनतालाई शिक्षाबाट वञ्चित गर्नु शोषक वर्गको एक प्रधान लक्ष्य रहेको छ । फ्रान्सेली दार्शनिक दिदेरो भन्ने गर्दथे – जुन किसान पढ्न जान्दछ, उसलाई ठग्नु कठिन हुन्छ । दिदेरोसित परिचित नभए पनि बंगलादेशका जमिन्दारहरूले प्राथमिक शिक्षाको विरोध गर्दै जुन तर्क दिएका थिए त्यसमा ध्यान दिनु आवश्यक छ । उनीहरूको भनाइ के थियो भने प्राथमिक शिक्षाको प्रसारको परिणामस्वरूप –

– गर्मी हावा सहने किसानका छोराछोरहरूको शक्ति समाप्त हुनेछ ।
– बच्चाले आफ्नो पिताको काम अर्थात् खेतीसँग घृणा गर्न थाल्नेछ ।
– नोकरहरू पाइने छैनन् ।
– मानिसहरूले गरीबीका बारेमा कुरा गर्नेछन् र संघर्ष गर्नेछन् ।
– किसानले सोचविचार गर्न शुरू गर्नेछ र प्रचारकहरूको बहकाउमा लाग्नेछ ।

किसानले ‘पढ्न’ र ‘सोच्न’ नसकोस् भनेर अंग्रेज सरकारका सामु बंगलादेशका जमिन्दारहरूको यो निवेदन शोषकहरूको वर्गहितका रक्षाका निम्ति आम जनताको सिर्जनशीलताको खुल्ला विरोध थियो । तर यो नयाँ कुरो होइन । शोषक वर्गका सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक आदर्शहरूको मूल चरित्र यही हो । श्रमिक जनताको लेखपढलाई रोक्न जहाँ उनीहरू सक्दैनन्, त्यही जनताको सोच्ने शक्ति विकासित नहोस् भनेर प्रयत्न गर्दछन् । यो पनि सम्भव हुंदैन, अनि उनीहरू जनताको सोच विपथगामी (गलत बाटोमा लाग्ने) होस् भन्ने प्रयत्न गर्दछन् । इतिहासका विभिन्न चरणमा शोषक वर्गहरूका कामको ढंग बदलिने गरेका भए पनि तिनीहरूको मूल लक्ष्य कहिल्यै बदलिएन । श्रमजीवी जनताको सिर्जनशीलता, उनीहरूको मानसिक विकास र उनीहरूको सांस्कृतिक अग्रगतिलाई रोक्नु नै शोषक वर्गको सांस्कृतिक चर्चाको उद्देश्य रहेको छ । जनताको सोचलाई नियन्त्रित गर्नु नै तिनको लक्ष्य रहेको छ ।

शोषक वर्गका सम्पूर्ण प्रतिरोधी प्रयासहरू हुंदाहुंदै पनि उत्पादनका क्षेत्रमा श्रमजीवी मानिसहरूको सिर्जनशीलतालाई बाधित गर्नु शोषकहरूकै वर्गहितमा पनि सम्भव हुंदैन । आधारभूत यस क्षेत्रमा श्रमजीवी जनताहरूको सिजर्ननशीलता अवाधित रहन्छ, त्यसैले सबै बाधाहरूलाई छिचोल्दै त्यो सिर्जनशीलताको प्रभाव समाजको अधिरचनासम्म धेरथोर पुगिनै हाल्दछ । आम जनताको सिर्जनशीलताको सर्वश्रेष्ठ उदाहरण हो –लोकसाहित्य । शारीरिक र मानसिक श्रमबाट विच्छिन्न रहँदारहँदै पनि लोकसाहित्यमा नै हामी श्रमजीवी जनताको भावी संस्कृतिको विकासका विराट् सम्भावनाहरू पाउँछौं । म्याक्सिम गोर्कीले साँचो कुरो के भनेका थिए भने माक्र्सवादीहरूले जब सांस्कृतिक इतिहासको रचना गर्नेछन्, त्यतिखेर स्पष्ट हुनेछ – सांस्कृतिक सिर्जनशीलताको प्रक्रियामा बुर्जुवा वर्गको भूमिकालाई अहिलेसम्म अतिरंजित रूपबाट देखाउने गरिएको छ र यो अतिरञ्जना साहित्यको क्षेत्रमा नै सर्वाधिक छ । तर त्यतिरेख अतिरञ्जनाको कुरो मात्र स्पष्ट हुने नभएर मानवजातिको मानसिक र सांस्कृतिक विकास शोषक वर्ग र बुर्जूवावर्गको हातबाट जति भएको छ, त्यो भन्दा धेरै बढी उनीहरूले यस विकासलाई बाधा पुर्‍याएका छन् भन्ने पनि स्पष्ट हुनेछ ।”

सन् १९४७ मा ब्रिटिस भारतको विभाजनपछि पाकिस्तान राष्ट्र बन्दा पूर्व बंगलादेशका जनताहरूमाथि र सम्पूर्ण पाकिस्तानका जनतामाथि उर्दुभाषा लाद्ने प्रयास, तत्कालीन पाकिस्तान सरकारद्वारा जनताको मानसिक र सांस्कृतिक विकासको अग्रगतिको दिशामा बाधा पुर्‍याउने कार्यकै एउटा उदाहरण हो । यहाँ के ख्याल राखिनु पर्छ भने हामीले शोषक वर्गद्वारा सदा गरिएका जुन धुत्र्याइहरूका कुरा गरेका छौं, त्यही अनुरूप उर्दुलाई जनतामाथि लाद्नका निम्ति मुस्लिम लीग सरकारले धर्म र इस्लामलाई अघि सारेको थियो । उर्दू इस्लामको भाषा हो र बांग्ला इस्लाम चर्चाको विपरीत छ, उनीहरूको तर्क यस्तै थियो । यो तर्क दिनको कारण के थियो भने यो देशका जनता धर्ममा आस्था राख्दछन् । यद्यपि धर्म स्वयं नै शोषक वर्गको धुत्र्याईमध्ये एक हो, तर हाम्रो देशका बहुसंख्यक जनता धार्मिक संस्कारहरूका वशीभूत छन् यो एउटा सामाजिक सत्य हो । यस सत्यलाई बुझेर नै पाकिस्तानको शोषक–शासक वर्गले राष्ट्रभाषाको प्रश्नलाई धर्मसँग गाँसेको थियो । तर उनीहरूको षड्यन्त्र शुरू शुरूमा केही सफल भएर पनि अन्तत: विफल भयो । जनताले अन्तसम्म भाषाको प्रश्नलाई धर्मसँग गाँसेर हेरेन । उनीहरू आफ्नो आजीवीकाको संघर्षसँग भाषा समस्याका सही सम्बन्धहरूलाई बुझ्न सफल भएका थिए । जनताको यही समझले आन्दोलनलाई अघि बढाएको थियो र उनीहरू राष्ट्रभाषाको समस्याको समाधान खोज्न सफल भएका थिए ।

पाकिस्तानको प्रारम्भिककालमा राष्ट्रभाषा समस्याको एउटा संवैधानिक समाधान हुंदाहुंदै पनि समस्याको पूर्ण समाधान पाकिस्तान कालमा हुन सकेन । सांचो अर्थमा आज पनि यस समस्याको समाधान हुन सकेको छैन । प्रत्येक वर्ष एक्काइस फरवरी र त्यसअघि एक हप्तादेखि चल्ने आलोचना उत्सवहरूमा अनेकौं पण्डित र ज्ञानी बांग्ला भाषाका निम्ति आँसु चुहाउँछन्, बिलौना गर्दछन् । यसरी वर्षौदेखि उनीहरूका गालाहरू अश्रुजलबाट भिजिरहेका छन्, बांग्ला भाषाको चर्चामा कुनै बृद्धि भैरहेको छैन । किनभने, फरवरी महिनामा भाषण दिने यी नाटकवाजहरू वास्तवमा कुनै न कुनै तरिकाले बांग्ला भाषा विरोधी छन् । समाजका शोषक वर्गको अधीनस्थ वा कृपापात्र यी मानिसहरू व्यापक रूपबाट बांग्ला भाषा र संस्कृतिको चर्चाको मार्गमा हजारौं किसिमका तगाराहरू उभ्याउँछन् ।

अघि नै मैले के भनें भने कुनै पनि वर्गविभाजित समाजमा अल्पसंख्यक शोषक वर्ग श्रमजीवी जनताको मानसिकता र सांस्कृतिक विकासमा बाधक हुन्छ । हाम्रो समाज वर्गविभाजित समाज हो । यहाँ शोषक र शासित वर्गको अस्तित्व छ । यहाँ शोषक वर्ग सत्तामा अधिष्ठित छ । यही मूलकारण हो जसले गर्दा बांग्ला भाषाको चर्चामा बृद्धि भैरहेको छैन वा त्यस्तो चर्चा व्यापक र गम्भीर भैरहेको छैन ।

साधारणतया, जनताको सोचलाई प्रभावित गर्नमा मातृभाषाको भूमिका सबैभन्दा बढी हुन्छ । वर्गविभाजित समाजमा शोषक वर्गहरू यही कारण जनता र उसको मातृभाषाको संस्कृतिको देनका बीच व्यवधान उत्पन्न गर्ने कोशिश गर्दछन् । तर जब शोषक वर्गको आफ्नो स्वार्थ पनि अनेकांशमा जनताको भाषा–चर्चा, शिक्षा आदिसँग जोडिन पुग्छ, त्यतिखेर सीमित रूपबाट उनीहरू तिनको विकासका निम्ति प्रयत्नशील हुन्छन् । पाकिस्तानी समयमा जतिखेरसम्म बांग्ला भाषाका निम्तिको संघर्ष बंगाली बुर्जुवा वर्गको हितमा थियो, त्यतिखेरसमम उनीहरू बांग्ला भाषाको पक्षमा धेरै मुखर थिए र संघर्षमा केही सीमासम्म सरिक थिए । तर पछिको समयमा तिनै मानिसहरूका निम्ति बांग्ला भाषाप्रेमी र सही सांस्कृतिक विकासको प्रश्न महत्वहीन हुनपुग्यो । कारण अवसरवादी यी बुद्धिजीवीहरूको स्वार्थ साम्राज्यवादी स्वार्थहरूसित यसरी मिसियो कि व्यापक रूपबाट बांग्ला भाषा र संस्कृतिको चर्चाको आवश्यकता नै उनीहरूको जीवनमा रहेन । अत: के आश्चर्यको कुरो होइन भने बंगलादेश एक स्वतन्त्र राष्ट्रको रूपमा प्रतिष्ठित भएपछि बंगाली बुर्जुवावर्गमा अंग्रेजी प्रेम बढ्यो र तिनका नानीहरू अंग्रेजी माध्यमका विद्यालयतिर बढ्दै गए । ब्रिटिस पब्लिक स्कुलहरू र क्याडेट कलेजहरूमा पढ्ने यी नानीहरूले वर्गसंघर्षलाई कायम राख्दै त्यसलाई अरू तीब्र बनाउँदै गए । अर्कातिर त्यति नै खेर देशका प्राथमिक विद्यालयहरूका सामू सरकारी अनुदान नपुग्नाले भयानक संकट उपस्थित भयो । थुप्रै विद्यालयहरू बन्द गर्नुपर्‍यो र शिक्षाको मान चिन्ताजनक स्तरसम्म तल आयो । यो आकलनबाट अनिवार्य प्राथमिक शिक्षाको प्रश्न शासक वर्गको सामु कति महत्वको छ, स्पष्ट हुन्छ । माध्यमिक विद्यालयको स्थिति पनि कमबेसी उस्तै भयो । अझ पाठ्यक्रमलाई अनावश्यक रूपबाट जटिल बनाएर सम्पूर्ण स्थितिलाई अरू बढी अप्ठेरो बनाइयो । कम उमेरका छात्र–छात्राहरूको मानसिक विकासका निम्ति यो शिक्षा व्यवस्था लाभदायकभन्दा बढी हानिकारक प्रमाणित भयो । धनी सम्प्रदायका केटाकेटीहरूले भने यिनै परिस्थितिहरूमा प्रशस्त सुविधाहरू पाए । मोडेल स्कुल, क्याडेट कलेज, अंग्रेजी माध्यमको पढाई, विशेष कोचिङ व्यवस्था र सर्वोपरि विदेश–शिक्षाको अवसर आदि प्राप्त गरेर आफ्नो शिक्षाको स्तर उनीहरूले अरूको तुलनामा माथिल्लो तहको बनाए । एक्काईस फरवरीका अनुष्ठानहरूमा जुन मानिसहरू बांग्ला भाषाका निम्ति आँसु चुहाउँछन्, यिनीहरू तिनै हुन् ।

शेख मुब्जीको नेतृत्वाधीन अवामी लीगसँग सम्बद्ध दलालहरूको एउटा यस्तो वर्ग पनि थियो, जो बंगलादेशको प्रतिष्ठापछिदेखि सन् १९७५ को मध्यसम्म उग्र बंगाली जातीयतावादको धारक–बाहक र उर्दूका साथै अन्य भाषाभाषीहरू, चकमा तथा अल्पसंख्यक अन्य जातिहरूको उत्पीडक र तिनको संस्कृतिको प्रबल विरोधी रहिरह्यो । शेख मुजीव जस्तै उर्दूभाषी र अल्पसंख्यक अन्य जातिहरूलाई बंगाली बन्न स्पष्ट धम्की त वर्तमान शासक वर्गले दिइरहेको छैन, तर यो वर्ग पनि अल्पसंख्यक समुदायको सांस्कृतिक विकासको भने विरोधी छ । यसमा आश्चर्यचकित हुने कुरो छैन । वर्गविभाजित समाजमा मुठ्ठीभर शोषकवर्गहरू आफ्नै जातिकै बहुसंख्यक मानिसहरूको विकासमा बाधाहरू उत्पन्न गर्दछन् भने उनीहरू अन्य जातिहरूप्रति पनि उदार हुने छैनन्, उनीहरूप्रति अरू बढी निर्मम हुनेछन्, यो नै स्वाभाविक छ ।

जुन बंगलादेशका जनताले साम्राज्यवादी शक्तिहरूको गठबन्धनमा टिकेको पाकिस्तानी सरकारको जातिगत अत्याचारका विरूद्ध सन् १९७१ सम्म मुक्तियुद्ध चलाए, त्यही बंगलादेशको सरकारले १९७१ को डिसेम्बरपछि अहिलेसम्म अन्य भाषाभाषी जनतासित कस्तो व्यवहार गरेको छ, त्यस बारेमा ध्यान दिएर हेर्दा के स्पष्ट हुन्छ भने वर्गविभाजित समाजमा श्रमजीवी जनताको आर्थिक एवं सांस्कृतिक जीवनका विकासका संभावनाहरू हुंदैनन् । देशका महत्तम जनता जहाँ साम्राज्यवादीहरूद्वारा उत्पीडित हुन्छन्, त्यहाँ अल्पसंख्यक जातिहरू अरू बढी पीडित हुन्छन्, यो स्वाभाविक हो । वर्तमान बंगलादेशमा यी सबै कुरा भैरहेका छन् ।

केवल आर्थिक र राजनीतिक क्षेत्रमा मात्र होइन सांस्कृतिक क्षेत्रमा पनि बंगलादेशमा आज साम्राज्यवादको व्यापक प्रवेश भैसकेको छ । आयात गरिएका यौनपत्रिकाहरू, सिनेमा, रेडियो, टेलिभिजन, देशी पत्रपत्रिकाहरू आदिमा दृष्टि लगाउनासाथ नै यो प्रवेश स्पष्ट परिलक्षित हुन थाल्दछ । यसका साथै धार्मिक र साम्प्रदायिक प्रचारमा पनि थुपै्र तीव्रता आएको छ । यो प्रचार साम्राज्यवादीहरू र अवसरवादीहरूको मुख्य हतियार हो । यी सबैको प्रभावका कारण सांस्कृतिक क्षेत्रमा आज चारैतिर अराजकता र दिक्शुन्यता देखिंदैछ । बंगलादेशमा व्याप्त यस परिवेशलाई बदल्नका निम्ति स्वतन्त्र विचार राख्ने, राजनीतिक प्रयत्न गर्ने वा आन्दोलन संगठित गर्ने अधिकार जनतालाई छैन ।

श्रमजीवी जनताको सांस्कृतिक विकास उसको आर्थिक जीवनको उन्नती र शोषणमुक्तिमाथि नै आधारित हुन्छ । यो विकास वर्गविभाजित समाजको समाप्तिबाट मात्र सम्भव छ । जनताको सांस्कृतिक विकासका बाधक तत्व र उसको आर्थिक जीवनको शोषण–मुक्तिका बाधक तत्वहरू एउटै नै हुन् । त्यसैले श्रमजीवी जनताको सांस्कृतिक विकासको आन्दोलन र उसको आर्थिक शोषण–मुक्तिको आन्दोलन पनि एउटै हो । यस आन्दोलनलाई बोध गर्ने र यसलाई तीब्र पार्ने आवश्यकता छ । सक्रिय राजनीतिको माध्यमबाट नै यो सबै गर्न सकिन्छ, यो सक्रिय राजनीतिको माध्यम वर्गविभाजित समाजको समाप्तिको राजनीति हो । जुन एक वर्गविहीन र शोषणरहित समाजको स्थापना गर्ने संकल्पको राजनीति हो ।
— समाज र संस्कृति (पहल–३९ बाट अनुवाद गरिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here