अमदावाद, २७ अप्रेल । सरकारको स्थायीत्वदेखि लिएर आमुल परिवर्तनका लागि जनताको एकता अपरिहार्य रहेको एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले बताउनु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अहमदावाद नगर समितिको सातौं नगर सम्मेलनको उद्घाटन मन्तव्यका दौरानमा पौडेलले सो अभिव्यक्ति दिनु भएको हो ।
पौडेलले एकता समाज बारे बोल्दै सरोज शर्मा, जलजला (विद्या ढकाल) देखि मित्रलाल शर्मासम्मका उच्च नेतृत्वको योगदानले नै एकता समाजको पृष्टिभूमि बनेको बताउनु भयो । “एकता समाज आज बंगालको खाडीदेखि लिएर, अरबको खाडीसम्म र जम्मुकश्मिरदेखि लिएर कन्याकुमारीसम्म पुगेको छ, यस दौरानमा हामीले कैयौं उच्च नेतृत्व गुमाएका छौं तर उपलब्धिहरु प्नि अत्याधिक छन् ।” वहाँले अगाडि भन्नु भयो– “हिमाचलका नेपालीहरुलाई सरकारले इलिजीविटी र डोमिशाइल प्रमाण पत्र मागेको विरोधमा होस् वा सीमानामा लुटिने नेपालीहरुका सवालमा होस् सर्वत्र हामीले आफ्नो भूमिकालाई कति छायाँ पर्न दिएका छैनौं ।”
नेपालको राजनीतिक अवस्था बारे बोल्दै पौडेलले भन्नु भयो– “देशको राजनीतिक अस्थिरताले नेपाली जनतालाई सधैभरी प्रताडित बनायो, स्थायी सरकारको अभाव र अदूरदर्शि राजनीतिको मार नेपाली जनताले भोग्दै आइरहेका छन् ।” जबसम्म जनताको पक्षमा काम गर्ने राज्य व्यवस्था आउँदैन तबसम्म जनता अशिक्षा, वेरोजगार, अस्वस्थको मारमा परि रहने पौडेलले बताउनु भयो । सबै प्रकारका समस्याहरु समाधाना लागि जनताको एकताको आन्दोलन अत्यावश्यक रहेकोमा समेत पौडेलले जोड दिनु भयो ।


कार्यक्रमको अध्यक्षता टेक बहादुर बर्माले गर्नु भएको थियो भने पदम खड्काले कार्यक्रम सञ्चालन । कार्यक्रममा सहभागिहरुलाई भीम बहादुर महतरा र कलाकारहरुले स्वागत गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार रमकला काउछा, रक्तिमका क्षेत्रीय संयोजक हरि काउछा, अहमदावाद नगर समितिका मोहन बस्नेत र भरत विक लगायतको आतिथ्यता रहेको थियो ।