काठमाडौं । अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशन २०७५ माघ ११, १२ र १३ गते सुनसरीको इटहरीमा सम्पन्न हुँदैछ ।
जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले दिनु भएको जानकारी अनुसार चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनप्रिय नेता चित्र बहादुर केसीले गर्नु हुनेछ । महाधिवेशनको तयारीका लागि केन्द्रीय पदाधिकारी तथा सुनसरीका स्थानीय समितिहरु क्रियाशील भइरहेको महासचिव बुढाले जानकारी गराउनु भएको छ ।
“जनजाति समस्या समाधानका लागि वर्गीय समस्याको समाधान, राष्ट्रियता, जनतन्त्र र जनजाति अधिकारको पक्षमा चौथो राष्ट्रिय महाधिवेशन” मूल नारा तय गरिएको सो राष्ट्रिय महाधिवेशन तीन दिनसम्म इटहरीमा सम्पन्न हुनेछ । पहिलो दिन उद्घाटन कार्यक्रम निश्चित गरिएको छ । इटहरी बजारको चोकमा महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न हुने भएको छ । महाधिवेशनको उद्घाटन पूर्व जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको केन्द्रीय कोषाध्यक्ष लाल बहादुर रानाले बताउनु भयो । केन्द्रीय कोषाध्यक्ष राना महाधिवेशन सफल पार्न इटहरीमा खटिरहनु भएको छ । उहाँले उद्घाटन पूर्वको जुलुशमा धाँगड, लिम्बु, राई लगायत विभिन्न जातिसित सम्बन्धित झाँकीहरु प्रस्तुत गरिने योजना रहेको बताउनु भयो । उद्घाटनको अघिल्लो दिन माघ १० गते पत्रकार सम्मेलन गरी सम्मेलनका बारेमा मिडिया जगतलाई सूचना सम्प्रेषण गरिने योजना रहेको पनि उहाँले जानकारी दिनु भयो ।
चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न थुप्रै जिल्लाहरुमा अधिवेशन तथा भेलाहरु सम्पन्न भइसकेको जनजाति सम्मेलनले बताएको छ । सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकीले देशभरिका जिल्लाहरुबाट राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक चयन भइसकेको बताउनु भयो । उहाँले दुई सय ५० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षकहरुको महाधिवेशनमा उपस्थिति हुने बताउनु भयो । अध्यक्ष बुढाथोकीले राष्ट्रिय महाधिवेशनमा भाइचारा सङ्गठनलाई आतिथ्यताका लागि निमन्त्रणा गरिसकिएको बताउनु भयो । उहाँले सबै भाइचारा सङ्गठनबाट आधिकारिक प्रतिनिधिहरुको आतिथ्यता सुनिश्चित भएको जानकारी पनि दिनु भयो ।
राष्ट्रिय महाधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम सम्पन्न भइसकेपछि दोस्रो र तेस्रो दिन बन्द शत्र र समापन कार्यक्रम निश्चित गरिएको बताइएको छ । बन्दशत्र र समापन कार्यक्रम इटहरीकै टरहरास्थित हलमा सम्पन्न हुनेछ । सम्मेलनभरि रक्तिम सांस्कृतिक अभियानका अभियानले जनवादी चेतनामूलक गीत तथा नृत्यहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।
नेपालका आदिवासी जनजातिका नाममा थुप्रै सङ्गठनहरु रहेको, त्यसमध्ये कतिपय सङ्गठनले त डलर समेत पचाउने गरिरहेको सन्दर्भमा अखिल नेपाल जनजाति सम्मेलन अरू सङ्गठनमा कुन अर्थमा फरक छ भन्ने हाम्रो प्रश्नमा महासचिव बुढाले सम्मेलन स्थल इटहरीबाट भन्नु भयो– “मुख्य फरक त हामीले जनजातिलाई आन्दोलनलाई मूल रूपमा वर्गीय आन्दोलनसित जोडेर लैजाने गरेका छौ“ ।” उहाँले अगाडि भन्नु भयो– “तपाईले महाधिवेशनका लागि निश्चित गरिएको मूल नारामा नै देखिसक्नु भयो, वर्गीय समस्याको समाधान नभइकन जनजाति समस्याको निर्णायक समाधान हुन सक्ने छैन भन्ने हाम्रो विचार हो ।” यो महाधिवेशनले नयाँ के गर्नेछ भन्ने हाम्रो प्रश्नमा महासचिव बुढाले फेरि भन्नु भयो– “अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो राष्ट्रिय महाधिवेशन २०७० जेष्ठमा बुटवलमा सम्पन्न भएको थियो । हामीले त्यसयताका आदिवासी जनजाति आन्दोलनको समीक्षा गर्नेछौ“, आगामी आदिवासी जनजाति आन्दोलनका लागि नीति तथा कार्यक्रम निश्चित गर्नेछौ“ र ती नीति तथा कार्यक्रमलाई व्यावहारिक दिन सक्ने खालको केन्द्रीय नेतृत्व चयन गर्ने प्रयास गर्नेछौ“ ।” उहाँले अगाडि थप्नु भयो– “२०७२ सालको संविधानमा जे जति आदिवासी जनजातिका अधिकार लिपिबद्ध भएका छन्, त्यसलाई संस्थागत कार्यान्वयन गर्दै अहिलेसम्म पुरा नभएका विषयहरुको पक्षमा जनचेतना र आन्दोलन सङ्गठित गर्न चौथो राष्ट्रिय महाधिवेशनले योगदान दिने हामीले विश्वास गरेका छौ“ ।”
अखिल नेपाल जनजाति सम्मेलनको स्थापना २०४४ वैशाख ३ गते भएको थियो । पञ्चायती कालरात्रीका अन्तिम समयतिर स्थापना भएको सो सङ्गठनले जातिवादका विरुद्ध असहमति राख्दै लगातार आदिवासी जनजातिको पक्षमा आन्दोलन चलाउँदै आइरहेको छ । चौथो राष्ट्रिय महाधिवेशनपछि यस्तो आन्दोलन अरू उचाइमा उठ्ने अपेक्षा गरिएको छ ।