रातो रिवन कपालमा बाट्दा
रानीचरी जस्तै देखिन्छिन् छोरी
जामा लगाएर पिँढीमा खेल्दा
पुतली जस्तै देखिन्छिन् छोरी
तोते बोलीमा कुरा गर्दा
मायालु लाग्छिन् छोरी
आँखाबाट आँसु खसाल्दा
कारुणिक देखिन्छिन् छोरी
खुशी हुँदै खित्दा छोडेर हाँस्दा
घरै उज्यालो बनाउँछिन् छोरी
सानो हातले कुचो समाउँदा
घरआँगन सफा राख्छिन् जस्तै लाग्छ
सानो हातले कलम समाउँदा
भविष्य सुन्दर बनाउँछिन जस्तै लाग्छ
भाँडाकुँडा समालेको देख्दा
आमाको काम सिक्छिन् जस्तै लाग्छ
मिठो बोलीले आमाभन्दा
माया पोको पारे जस्तै लाग्छ
भाइबैनी स्याहारेको देख्दा
जिम्मेवारी काँधमा बोके जस्तै लाग्छ
त्यसैले,
सानैदेखि सृजनशील देखिन्छिन् छोरी
जब जवान हुँदै जान्छिन् छोरी
रातो, हरियो अनि पाहेलो रङ्गहरुले रङ्गिन्छिन्
संस्कारभित्र ढाकिन्छिन्
अनगिन्ती सपनाहरुमा बेरिन्छिन्
मायाजालका सिक्रीहरुले जेलिन्छिन्
अरुका खुशीका लागि समर्पित हुन्छिन्
सामाजिक मान्यताहरुलाई पछ्याउँदै
घरपाधेरी, आागनमझेरी सजाउन तल्लिन हुन्छिन्
बाहिरी दुनियाँ भुलेर
आफ्नै घरलाई सासार देख्छिन् छोरी
सन्तानलाई सारा खुशी सम्झेर
भावनाहरु सबै खन्याउँछिन्
आँसु लुकाएर मुस्कान दिन्छिन्
पारिवारिक मेल–अनमेलहरुको सामना गर्दै
कर्तव्यनिष्ठ सामाजिक सेना बन्छिन्
कहिले लक्ष्मी, देवी, कुमारी,
बुहारी, आमा र हजुरआमा हुँदै
अनेक अनेक साइनोमा सम्बोधित हुन्छिन्
आफू सकिएर अरुलाई उभ्याउछिन् छोरी
अनि, विस्तारै विस्तारै
रङ्गरुप फेरिदै गएको पत्तै पाउँदिनन् छोरी
अरुको छेउमा बस्नलायक हुदिनन्
अरुको बोली नसुन्ने बन्छिन्,
आफ्नै सन्तान नचिन्ने हुन्छिन्
लौरो बिना उभिन नसक्ने हुन्छिन्
अरुले जस्तै चपाउन नसक्ने हुन्छिन्
आफैले पकाउने गरेको डेक्ची उठाउन नसक्ने हुन्छिन्
हाँस्दा पहिरो गएको जस्तै देखिन्छिन्
बोल्दा तोते बोल्छिन्
गुन्याँ एउटै डल्लो पारेर लगाउँछिन्
अरुको सहारा बिना चल्न नसक्ने हुन्छिन्
श्रीमानको मृत्युवरणले
समाजले लगाउने आरोपको पराकाष्ठा खेप्छिन् छोरी,
शरीरको रातो वस्त्र खोसिएर सेतै वस्त्रमा देखिन्छिन्
र, पनि बाँचेकै हुन्छिन् छोरी
सबैको सामु हाँसेकै हुन्छिन्
संस्कारले बाहिरी रुप फेरिदिए पनि
रगतको रङ्ग रातो नै रहन्छ
जीवन रहेसम्म रातो रगतले
जिन्दगी रङ्गिएको हुन्छ
त्यसैले त छोरी
धैर्यताका खानी हुन्
दुई आँखाका नानी हुन्
मानवताका महारानी हुन्
धर्तिकी स्वाभिमानी हुन् ।