छलछाम नगर्न डा. केसीको चेतावनी

0
252
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न छलछाम गरिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
        सरकारसँग सहमति गरेर पन्ध्रौं पटकको अनशन तोडेका डा. केसीले आफूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । सरकारसँगको सम्झौतापछि २७ दिन लामो अनशन तोडेर त्रिवि शिक्षण अस्पतालामा उपचाररत डा. केसीले मङ्गलबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
           डा. केसीले जारी गरेको प्रेस विज्ञप्तीमा पन्ध्रौँ सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरु आएर नौ बुँदे सहमति गरिएको स्मरण गराइएको छ । विज्ञप्तीमा भनिएको छ– “सहमति अनुरुप हाल संसदीय प्रकृयामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरु समेतबाट संशोधन हालिएको छ । सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरु आएर सम्झौता अक्षरश: कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधन तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौँ ।’
          डा. केसीले सम्झौता कार्यान्वयनमा छलछाम गरिए कडा विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् । तर सरकारले त्यो अवस्था आउन दिने छैन भन्ने विश्वास लिएको डा. केसीले जनाएका छन् । डा. केसीले सहमतिको आठौँ बुँदामा नेपाल सरकार मन्त्री परिषदले आफूसँग भएको सम्झौता अनुमोदन गर्ने भनिएकोमा त्यसको कार्यान्वयनका लागि समेत स्मरण गराए । उनले चिकित्सा शिक्षा ऐन सम्बन्धी वाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जााचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई कारवाही गर्ने लगायत सम्झौताका बुँदाको कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here