चिनियाँ कम्युनिस्ट पार्टीको सर्वहारा क्रान्तिको बाटो नेपालका लागि पनि अनुसरणयोग्य : केसी

0
1798

काठमाडौँ । अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) को आयोजनामा राजधानीमा डिसेम्बर २६, २०१७ (तदनुसार २०७४ पुस ११ गते) का दिन सम्पन्न एक सय पच्चिसौँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मन्तव्य राख्दै चिनियाँ कम्युनिस्ट पार्टीको सर्वहारा क्रान्तिको बाटो नेपालका लागि पनि अनुसरणयोग्य भएको बताउनु भयो । “चीनको प्राकृतिक सम्पदामाथि जापानले कब्जा गरी रहेको थियो । च्याङकाई सेकसित माओले जापानको विरुद्धमा संयुक्त मोर्चाको प्रस्ताव गर्नु भयो । तर च्याङकाई सेक उल्टै कम्युनिस्ट पार्टीमाथि खनियो” उहाँले चिनियाँ इतिहासको जानकारी गराउनु भयो । अध्यक्ष केसीले चीनको जस्तै नेपालको अवस्था पनि जटिल र गम्भीर भएको बताउनु भयो । अहिले चीनमा समाजवादी व्यवस्था नभए पनि चीनको प्रगतिले अमेरिकालाई पनि आच्छुआच्छु परेको बताउँदै राजमो नेता केसीले चीनको यस्तो प्रगतिका पछाडि माओको नेतृत्वमा चीनमा सम्पन्न भएका आर्थिक गतिविधिले पनि काम गरेको दावी गर्नु भयो ।

नेपालको वर्तमान राजनीतिक परिस्थितिका बारेमा सङ्क्षिप्तमा चर्चा गर्दै उहाँले एमाले र माओवादी गठबन्धन कम्युनिस्ट तालमेल नभएको दावी गर्नु भयो । एमालेको प्रसङ्ग लिदै राजमो अध्यक्ष केसीले भन्नु भयो– “प्रजा परिषद समेत मिसिएर बनेको पार्टीले पनि समाजवाद ल्याउँछ ?” उहाँले व्यङ्ग्य गर्नु भयो– “यस्तो पार्टीले समाजवाद ल्याउँछ भनेर काङ्ग्रेस थर्थरी हुने झ्” चुनावपछि पार्टी एकता गर्ने भनिए पनि अहिलेसम्म उनीहरुको बीचमा एकता हुन नसकेको सन्दर्भमा उहाँले भन्नु भयो– “राजनीतिलाई पेसा मान्ने भएकाले नै एमाले–माओवादीबीचको एकतामा खिचपिच परेको हो ।”

“माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा विश्वभरिका लागि नै वैज्ञानिक विचारधारा हो” अध्यक्ष केसीले भन्नु भयो– “हामी मरे पनि वा यहाँ उपस्थित हामी सबैले कम्युनिस्ट पार्टी छोडे पनि माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा समाप्त हुन्न ।” उहाँले चुनावमा अपेक्षित विजय प्राप्त नभएकाले साथीहरुमा निराशा आएको बताउँदै यो स्थितिलाई अस्थायी मात्र भएको दावी पनि गर्नु भयो ।

अन्टुकका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता तथा का.वा. महासचिव लोकराज भुसालको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here