चित्रबहादुर–नारायणमान : देश टुक्रयाउन खोज्नेका विरोधी र सादगी नेता

0
2609

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी झट्ट हेर्दा एकै स्वभावका देखिन्छन् । सत्ता र शक्तिको खेलमा यी दुवै नेताको खासै दिलचस्पी देखिँदैन । बाग्लुङको मध्यम किसान परिवारमा जन्मिएका हुन् केसी । परिवार आफैँले काम गर्‍यो भने उनको खान पुग्ने जग्गाजमिन बाग्लुङमा छ ।

बिजुक्छे भक्तपुरका रैथाने हुन् । पाँच भाइ छोराहरूमध्ये उनी जेठा हुन् । उनी नारायणमानको नामले भन्दा बढी रोहित उपनामले चिनिन्छन् । उनको साहित्यिक उपनाम हरिबहादुर श्रेष्ठ हो । कहिल्यै सरकारी लाभका पद लिएका छैनन् बिजुक्छेले । केसी पनि स्वभावका हिसाबले बिजुक्छेजस्तै देखिन्छन् । तर, केपी ओली नेतृत्वको सरकारमा भने केसी पहिलोपटक सरकारमा सहभागी भए ।

कुनै वेला उनी संसद् र जम्बो मन्त्रिपरिषद्लाई व्यंग्यात्मक रूपमा ‘भेडीगोठ’ भनी उच्चारण गर्थे । तर, केसी आफैँ ‘भेडीगोठ’मा उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा सरकारमा सहभागी भए । संयोग यस्तो बन्यो कि केसी सहभागी सरकारमा चारजना उपप्रधानमन्त्री थिए । यसलाई अपवाद मान्ने हो भने दुवै उस्तै–उस्तै स्वभावका सादगी नेता हुन् भन्दा अत्युक्ति हुँदैन ।

११ महिनाले जेठा बिजुक्छे
चित्रबहादुर केसीभन्दा नारायामान बिजुक्छे ११ महिना मात्रै जेठा छन् । बिजुक्छे २६ फागुन १९९६ मा भक्तपुरको सुकुलढोकामा जन्मिएका हुन् । केसी २० माघ १९९७ मा बाग्लुडको मल्म गाविसमा । भक्तपुरमा जन्मिए पनि बिजुक्छेले रौतहटको गौरमा अध्ययन गरेका थिए । त्यहाँ अध्ययन गर्दा सुरुमा उनलाई लीलाराज उपाध्याय र चिन्ताहरण सिंहले राजनीतिप्रति आकर्षित गराएका थिए । २०१२–१३ सालदेखि नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनमार्फत राजनीतिमा सक्रिय भएको स्मरण गर्छन् बिजुक्छे । दुवैले कम्युनिस्ट पार्टीको सदस्यता २०१४ सालतिर लिएका हुन् । एकै समयमा जन्मिएका, एकै समयमा राजनीतिक जीवन सुरु गरेका र एकै पार्टीको सदस्यता लिए पनि यी दुई नेताबीचमा लामै समय भेट भने भएन । २०२३ सालको तेस्रो महाधिवेशनबाट कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि अलग बाटो पहिले केसी समूहले लियो । तर, बिजुक्छेले भने २०३१ सालबाट मात्रै आफ्नो बाटो समाते ।

तेस्रो महाधिवेशनसम्म नेपालमा एउटै कम्युनिस्ट पार्टी थियो । त्यसवेला महासचिव थिए तुलसीलाल अमात्य । त्यसपछि भने नेपालका कम्युनिस्टहरू छिन्नभिन्न हुन सुरु गरेका हुन् । त्यसवेला भएको विभाजनले केन्द्रमा कम्युनिस्ट पार्टीहरू झन्डै–झन्डै विघटनको स्थितिमा थिए भने क्षेत्रीयस्तरमा विभिन्न कम्युनिस्ट समूह देखा पर्न थालेका थिए ।

पूर्वमा झापाली समूह, बाग्लुङ, दाङ, प्युठानलगायतमा छुट्टै क्षेत्रीयस्तरका इलाकीय संगठन बन्न थाले । बाग्लुङ, दाङतिरका इलाकीय संगठनमा सक्रिय थिए चित्रबहादुर । नारायणमान भने पुष्पलाल समूहबाट अलग भई २०३१ मा आफ्नै नेतृत्वको पार्टी गठन गर्न पुगे ।

पहिलो भेट
बिजुक्छे र केसीको पहिलो भेट कहिले भयो ? ठ्याक्कै तिथिमिति यी दुवै नेतालाई याद छैन । केसी पञ्चायतकालतिर भएको हुनुपर्ने ठान्छन् । तर, बिजुक्छे करिब १५ वर्ष अगाडितिर भक्तपुरमा मोहनविक्रम सिंहसँगै भेटेको स्मरण गर्छन् । ‘दस–पन्ध्र वर्ष पहिले चित्रबहादुर केसीसँग भक्तपुरमा मोहनविक्रम सिंहको साथमा पहिलो भेट भएको थियो,’ बिजुक्छे भन्छन् । तर, केसी पञ्चायतकालमा आक्कल–झुक्कल र बहुदल आएपछि बाक्लै भेटघाट भएको बताउँछन् । ‘यसै वर्ष यही महिनाको यही गते पहिलो भेट भन्ने कुराको याद मलाई छैन । तर, यति भन्न सक्छु पहिलो भेट पञ्चायतकालकै अवधिमा भएको छ । तिथिमिति याद भएन,’ केसीले नयाँ पत्रिकासँगको कुराकानीका क्रममा भने, ‘आक्कलझुक्कल पञ्चायतमा भेट भए पनि बहुदल आएपछि भने हाम्रो छ्यापछ्याप्ती भेट भएको छ ।’

पार्टी एउटै, तर सँगै कमिटीमा रहेनन्
यी दुवै नेता झन्डै १० वर्ष एउटै कम्युनिस्ट पार्टीमा रहे । तर, एउटै कमिटीमा बस्ने अवसर दुवै नेतालाई जुरेन । ‘बिजुक्छे पनि तेस्रो महाधिवेशनसँगै अलग हुनुभयो । हामी पनि झन् पहिले नै अलग भइसकेका थियौं,’ केसी भन्छन्, ‘उहाँ र म एउटै कमिटीमा बस्ने अवसर मिलेन । नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, निर्मल लामा, प्रचण्ड, मोहन वैद्यहरूसँग भने मैले एकै कमिटीमा बसेर काम गरेको छु ।’

तेस्रो महाधिवेशनपछि अलग धार समातेका यी दुई नेताका बीचमा त्यसयता कहिल्यै राजनीतिक कार्यदिशा मिलेन । केसी अझै पनि नयाँ जनवादी क्रान्तिको पक्षमा वकालत गरिरहेका छन् । तर, बिजुक्छे उनको लाइनभन्दा धेरै टाढा पुगिसकेका छन् । कामदार वर्गको प्रजातन्त्र जसलाई बिजुक्छे समाजवाद भन्छन्, उनी अहिले त्यो राजनीतिक लाइनमा छन् । २०४६ सालमा बहुदल आएपछि नै देशमा पुँजीवादी क्रान्ति पूर्ण भएको र अब समाजवादको बाटोमा जानुपर्ने राजनीतिक लाइन उनको पार्टीले लिएको छ । त्यसयता उनले लगातार समाजवादको वकालत गर्दै आइरहेका छन् ।

‘केशरजंग रायमाझीले दरबारको बाटो समातेपछि कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न हुन थालिहाले, सबैका आ–आफ्नै राजनीतिक लाइन बन्न थाले,’ केसी भन्छन्, ‘बिजुक्छेको पनि आफ्नै र हाम्रो पनि फरक भएपछि बाटै अलग हुने भइहाल्यो, अनि एकै कमिटीमा बस्ने, सँगै काम गर्ने कुरै रहेन ।’

४२ वर्षदेखि पार्टी नेतृत्वमा
बिजुक्छे १० माघ ०३१ यता लगातार पार्टी नेतृत्वमा छन् । नेमकिपाको स्थापना भएयता उनले ४२ वर्ष नेतृत्व गरिसके । नेमकिपामा अहिलेसम्म उनलाई नेतृत्वबाट विस्थापन गर्ने र टक्कर दिने नेता देखिएका छैनन् । भक्तपुरलाई उनले पार्टीको मजबुत किल्ला नै बनाएका छन् । २०४८ सालपछिका हरेक निर्वाचनमा उनी त्यहीँबाट प्रत्यक्ष निर्वाचित भई सांसद बनेका छन् । अहिले पनि त्यहीँका जनताको प्रतिनिधित्व उनले संसद्मा गर्छन् ।

केसीको पार्टी नेतृत्वमा पनि बिजुक्छेकै जस्तो अवस्था छ । उनी पनि ३० वर्षभन्दा बढी समय निरन्तर नेतृत्वमा छन् । तर, फरक यति छ कि उनको पार्टी राष्ट्रिय जनमोर्चा नेकपा मसालको खुल्ला चुनावी मोर्चा हो । मूल पार्टी नेकपा मसाल भने अहिले पनि अर्धभूमिगत छ, जसको नेतृत्व मोहनविक्रम सिंहले गरिरहेका छन् ।

केसी आबद्ध पार्टीले २०४४ सालमा भारतमा भूमिगत रूपमा वैधानिक खुला मोर्चाका रूपमा राष्ट्रिय जनमोर्चा गठन गरेको थियो । त्यतिवेला अखिल नेपाल राष्ट्रिय जनमोर्चा नाम थियो । त्यसको नेतृत्वमा थिए केसी । त्यसपछि बीचमा एकता केन्द्रसँग पार्टी एकता गर्दा केसीले केही समयका लागि अमिक शेरचनलाई जनमोर्चाको अध्यक्ष पद छाडिदिए । तर, पछि शेरचनसँगको बाटो अलग भएपछि केसी नै पुनः अध्यक्ष भए ।

केसी ०५६ मा मात्रै संसद्मा पुगेका हुन् । त्यसयता उनी पनि निरन्तर संसद्मा छन् । २०५६ र २०६४ सालमा बाग्लुड–२ बाट प्रत्यक्ष चुनाव लडेर उनी संसद्मा पुगे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक तर्फबाट सांसद चुनिएर आए । उनको पार्टीले प्रत्यक्षमा कहीँ पनि निर्वाचन जितेन ।

सम्बन्ध : औपचारिक मात्रै
संसद्मा दुवैले झन्डै–झन्डै समान हैसियतमा प्रतिनिधित्व गर्छन् । संसद्मा बिजुक्छेको पार्टीका चार र केसीको पार्टीका तीनजना सांसदले प्रतिनिधित्व गर्छन् । आ–आफ्ना पार्टीको संसदीय दलको नेतृत्वमा दुवै छन् । तर, आफूहरूबीच एकदमै औपचारिक सम्बन्ध रहेको बिजुक्छे बताउँछन् । ‘संसद्को बैठकमा हाम्रो बरोबर भेटघाट हुन्छ । सैद्धान्तिक र राजनीतिक पक्षहरू नै हाम्रा सम्बन्ध हुन्,’ केसीसँगको सम्बन्धबारे बिजुक्छेले नयाँ पत्रिकासँग भने, ‘उहाँसँग मेरो सम्बन्ध पार्टी–पार्टीबीचको मात्रै छ, सामान्य खालको ।’

केसी पनि सामान्य सम्बन्ध मात्रै रहेको बताउँछन् । संसद्मा दुवै एक–दुई लहर तल–माथि गरेर बस्छन् । त्यस्तो वेला पनि उनीहरूका बीचमा आपसी कुराकानी खासै हुँदैन । ‘संसद् चलिरहेका बेला आ–आफ्ना स्थानमा रहन्छौँ र आपसमा कुराकानी हुने सम्भावना हुन्न, बरु बैठकभन्दा पहिले र बैठकपछि छोटो छोटो कुराकानी बेलाबखत हुन्छ,’ बिजुक्छे भन्छन् ।

एउटा मुद्दामा भने जहिल्यै समानता
दुवै नेताबीच एउटा मुद्दामा जहिल्यै समानता देखिन्छ । त्यो हो, राष्ट्रियताको मुद्दा । नेपालको राजनीतिमा भारतीय प्रभाव बढेको र भारतले नेपालमाथि अतिक्रमणकारी नीति लिएकोमा यी दुवैको समान धारणा छ ।

सत्तामा रहेका दलहरूले भारतीय शासकवर्गसँग देखाउने रुझाने प्रवृत्तिले नेपालको राष्ट्रियतामाथि खतरा देखिएको दुवै नेताको दाबी छ । यही विषयमा यी दुई नेता र दुवै पार्टीले वेलावेलामा सहकार्य पनि गर्दै आएका छन् । ‘बहुदल आएपछि कतिपय वेलामा सहकार्य पनि भयो । सहकार्य अरूसँगभन्दा उहाँहरूसँग कमै भयो । राष्ट्रियताको मामिलामा भने उहाँहरूसँग बढी विचार मिल्ने हुँदा त्यस विषयमा भने हाम्रो सहकार्य भइरहेको छ,’ केसी भन्छन् ।

अहिले पनि यी दुवै पार्टी सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा छन् । संयुक्त रूपमा सहकार्य गर्दैै विरोध गरिरहेका छन् । ‘मुलुकका बारेमा हामी अलग–अलग बसे पनि कुराकानी गरिरहेका हुन्छौँ । छलफल र सरसल्लाह हुन्छ । हामीले सत्ता पक्षसँग बार्गेनिड गरेर यो फाइदा लिऔँ, यसरी जाऔँ, हामीले कहिल्यै सोचेनौँ र भनेनौँ पनि,’ बिजुक्छेसँगको सम्बन्धबारे केसीले भने, ‘हाम्रो जहिले पनि कुरा हुन्छ, नेपाली जनताको हितमा के छरछैन ? देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतामाथिको सौदाबाजी संसद्का ठूला दलहरूले गरे भने त्यसको विरोध कसरी गर्ने भन्नेमै छलफल हुन्छ ।’

सरकारमा कहिल्यै गएनन् बिजुक्छे
बिजुक्छे २०४८ सालयता लगातार सांसद भए पनि सरकारमा गएनन् । उनलाई सरकारमा सहभागी हुन पटक–पटक कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले आग्रह पनि गरे । तर, उनले सरकारलाई प्राथमिकतामा राखेनन् । केसीको पनि रुचि लगभग उस्तै हो । तर उनी केपी ओली नेतृत्वको सरकारमा सहभागी भए । धेरैले केसीको सत्तारोहणलाई पक्षरविपक्षमा रहेर बहस गरे पनि । तर, उनी आफू गणतन्त्र बलियो पार्न र संविधान कार्यान्वयनमा भारतले खेल्न सक्ने हस्तक्षेपलाई रोक्न सरकारमा गएको बताउँछन् ।

‘म सरकारमा जानुको कारण छ, एउटा संविधान जारी गर्नै नदिने भारतको हस्तक्षेपकारी नीतिलाई नटेरेर खासगरी मुख्य तीन दलले संविधान जारी गर्ने जुन साहस देखाए, त्यसले हाम्रो पार्टी पनि हौसियो । संविधान जारी भए पनि अब यसलाई कार्यान्वयन गर्न भारतले दिँदैन भन्ने हामीलाई पहिलेदेखि लागेको थियो । कार्यान्वयन गर्न पनि महाभारत हुन्छ भनेर भारतीय हस्तक्षेपको विरोधमा उभिनुपर्छ भनेर सरकारमा गएका हौँ,’ केसीले आफ्नो सरकारमा जानुको बाध्यता सुनाए ।

चित्रबहादुर बसेको ठाउँ देखेका छैनन् बिजुक्छेले
चित्रबहादुर र नारायणमानको एक–अर्काको घरमा आउजाउ छैन । एक अर्काको घरमा आउजाउ गर्ने, सँगै खानपिन गर्ने यी दुई नेताका बीचमा हुँदैन । ‘प्रायः उहाँ (बिजुक्छे) हरूसँग मात्र होइन, हाम्रो अरू कुनै राजनीतिक पार्टी र तिनका नेताहरूसँग पनि सँगै खानपिन गर्ने, अँगालो मारेरै हिँड्ने खालको सम्बन्ध छैन,’ केसी भन्छन्, ‘काम परे बेलाबखत कार्यक्रममै भेट हुन्छ ।’

केसी काठमाडौं मैतीदेवी घट्टेकुलोस्थित एउटै घरमा डेरा भाडामा बसेको १८ वर्ष पुग्यो । मन्त्री हुँदा पनि उनले त्यो डेरा छाडेनन् । बिजुक्छेले केसी बसेको घरसमेत देखेका छैनन् । ‘उहाँले म बसेको डेरा देख्नुभएको छैन, तर मैले उहाँको घर देखेको छु,’ केसी भन्छन् ।

केसीले बिजुक्छेको घरमा अहिलेसम्म एकपटक मात्र टेकेका छन् । ‘कार्यक्रमको सिलसिलामा भक्तपुर जाँदा धेरै वर्षअगाडि उहाँको घर नजिकै पुगेको रहेछु । अनि उहाँको घरमा गएँ,’ केसीले थपे, ‘तर उहाँको पार्टी अफिस एक–दुईपल्टै पुगेको छु ।’

बिजुक्छे केसीसँग पार्टीको खासखास विषयमा छलफल गर्नुपर्दा भक्तपुरमै भेटघाट हुने बताउँछन् । ‘पार्टीका खास सन्दर्भ परेका वेला भक्तपुरमै भेटघाट हुन्छ, तर हामी दुईको पारिवारिक रूपमा खानपिनको कार्यक्रम भने भएको मलाई सम्झना छैन,’ बिजुक्छे भन्छन् । घरभित्र मात्रै होइन, घरबाहिर पनि यी दुईले सँगै खाना, चियानास्ता गरेको सम्झना दुवैलाई छैन । तर एकपटक भने तत्कालीन कांग्रेस सरकारले टनकपुर सम्झौता गर्दा सो क्षेत्रको अवलोकन गर्न यी दुवै नेता सँगै गएका थिए । तत्कालीन एमाले महासचिव मदन भण्डारी, निर्मल लामालगायतका नेताहरूसँगै बिजुक्छे र केसी पनि टनकपुर पुगेका थिए । त्यही यात्राका क्रममा होटेलमा सँगै खाना खाएको बाहेक यी दुईले सँगै बसेर खाना खाएका छैनन् । ‘टनकपुर सन्धि भएपछि रोहितजी, मदन भण्डारी, निर्मल लामा सँगै टनकपुर गएका थियौँ । सायद आनन्द होटेल भन्नेमा त्यसवेला सँगै बसेर खाना खाएजस्तो लाग्छ । नत्र अहिलेसम्म त्यस्तो छैन,’ केसी भन्छन् ।

बिजुक्छे केसीलाई सुझाब दिन्छन्
बिजुक्छेले केसीलाई एकपटक सुझाबसमेत दिएका रहेछन् । केसीको बोल्ने लवज र आदतलाई लिएर एक वर्षअगाडि बिजुक्छेले सुझाब दिएको अनुभव स्मरण गर्छन् केसी । ‘मैले बोल्दा, भाषण गर्दा, अन्तर्वार्ता दिँदा उहाँले सुन्नुहुँदोरहेछ, उहाँले मलाई सुझाब पनि दिनुभएको थियो एकपल्ट,’ केसीले भने, ‘तपाईंले कुरा गर्दा धेरैपटक ‘चाहिँ चाहिँ’ भन्नुभयो । यो ‘चाहिँ चाहिँ’ अलिक हटाउनु भन्नुभयो ।’

त्यसपछि केही समय केसी र बिजुक्छेबीच हाँसीमजाक पनि भयो । के जवाफ दिनुभयो तपाईंले भन्ने जिज्ञासामा केसीले भने, ‘त्यो मेरो आदत हो, हटाउन सके राम्रो । सुझाब दिनुभयो, धन्यवाद भनेँ । त्यसमा हाँसो भएको थियो ।’ तर बिजुक्छेलाई केसीले भने कुनै सुझाब दिएका छैनन् अहिलेसम्म । उनका बारेमा कुनै टीकाटिप्पणी पनि गरेका छैनन् केसीले ।

उखानटुक्कामा भाषण हाल्छन् केसी
संसारमा आफ्ना कुरालाई ‘जस्टिफाइ’ गर्न धेरैले आफ्नो भाषण र वक्तव्यमा उखानटुक्काको प्रयोग गर्ने गर्छन् । केसी पनि आफ्नो भाषणमा सकभर उखानटुक्का मिसाइहाल्छन् । उनलाई एकपटक बाबुराम भट्टराईले एउटै पार्टीमा रहँदा उखाने नेताको समेत आरोप लगाएका थिए । भट्टराईले केसीलाई बेलाबखत ‘उखाने हो यो अरू केही जानेको छैन’ भन्थे । ‘ठ्याक्कै उखान यो हाल्छु, यसरी झिक्छु भन्ने भन्दा पनि भाषण गर्ने वेला आइहाल्दोरहेछ, आफ्ना कुरालाई रमाइलो गरी प्रस्तुत गर्ने र आफूतिर तानिरहन पनि उखान मिसाउनुपर्दो रहेछ, म त्यही गर्छु,’ केसी भन्छन् ।

उनी संघीयताको विरोध गर्ने एक्ला मसिहा पनि हुन् । संघीयताविरोधी नेताका रूपमा नेपालमा उनले पहिचान बनाएका छन् । संघीयताले मुलुकलाई नफाप्ने र विदेशी हस्तक्षेप मात्र बढाउने बुझाइ छ केसीको । सुरुको अवधिमा बिजुक्छे पनि संघीयताको विपक्षमै देखिए पनि अहिले भने उनले संघीयता स्वीकार गरेका छन् । तर, उनले हाल कायम रहेकै १४ अञ्चललाई संघीयताको स्वरूपमा ढाल्नुपर्ने मत राख्दै आएका छन् ।

नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here