गुहार माग्ने ठाउ

0
346

– गोविन्द आचार्य

गुहार माग्ने ठाउँमा झनै खुकुरी नाङ्गा छन्
हुर्मत् लिन्छन् घुस पनि लिन्छन् मानिस बाङ्गा छन्
घुसको चुरोट घुसको बिडी सुर्ती र पानमा
भिखारीलाई लागेको बानी मागेर खानमा

सडकमा बस्ने भिखारी माग्छ लयको भाकामा
दयाले दिन्छ खुशीले लिन्छ क्या मिठो भावना
अटेर हुन्छन् बगली छाम्छन् कलम चल्दैन
मागेर चुरोट बिडी र पान नखाई हँुदैन

दयाले छुन्न आँसुले छुन्न घुसले छोएको
कामले हैन कलम पनि घुसले चलेको
हरेक याम घुसको काफल फलेर पाकेको
गुहार माग्ने ठाउँका आँखा खल्तीमा परेको

हजारौ“हजार गल्ती छन् त्यहाँ मानिस चुसेका
टम्म छन् खल्ती कलम घुमाई मानिस लुटेका
मानिस हैन सगरमाथामा महङ्गी चढेको
गुहार माग्ने ठाउँको कलम अन्याय गरेको

मागेको न्याय मागेको भिख समान मान न
गुहार माग्ने ठाउँका कुकुर लौराले हान न
काम ठग्ने ठुलो न्यायको कलम छ उसका हातमा
हरेक गाँसमा लाग्छन् ढुङ्गा न्यायका दाँतमा

यौटै आमा दुई सन्तान हामी इन्साफ फरक छ
सकिए जस्तो लाग्दै छ न्याय मुर्दाको शासन छ
घुसले चल्छ कलम यहाँ के मलम लाउला
लाउ“दैन मलम दुखेको घाउ के निको पारौला

गुहार माग्ने ठाउँले छाती कुल्चेर चिरा छ
गुहार माग्ने ठाउँमा हेर दिमागमा किरा छ
पढेका पनि सडेका हुन्छन् जगतमा गन्हाउने
ज्ञान र ध्यान संसार लुटी सम्पत्ति कमाउने

कानुनले पनि गुहार दिन्न टन्टा र झमेला
गुहार माग्ने ठाउँमा हेर्दा विचित्र छ लीला
घुसको शासन घुसको कानुन घुसको विचार
घुसको आदेश जसरी पनि मानिस निचर

आज त यस्तो हिजोलाई हेर्दा झन कस्तो संसार
बन्दैन कैलै घुसको न्याय मानिस नमार
भन्दैन गोही आँखामा आँशु पीडित नझार
बोल्दैन कानुन बोल्दैन न्याय मानिस नमार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here