गुटबन्दीको संस्कृति

0
83

-सन्तबहादुर नेपाली
यतिखेर नेपाली कांग्रेसले पूर्ण बैठकको आयोजना गरेर पनि रामचन्द्र पौडेल समूहको अनुपस्थितिका कारण सो दल अनिर्णयको बन्दी जस्तो बनेको छ । पार्टी अध्यक्ष शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गर्न खोजे पनि देउवा समूह मात्रले निर्णय गर्नु भन्दा सहमतिका आधारमा निर्णय गर्न खोज्दा कांग्रेस अनिर्णयको बन्दी जस्तो बनेको हो । उता नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ । बैठकमा ने।का।मा जस्तो कुनै समूहको अनुपस्थिति त छैन । तर बैठकमा असन्तुष्टिहरु पोख्ने र गुटको मानसिकता प्रकट हुने अवस्था देखिएको समाचारहरु बाहिर आइरहेका छन् । देशका यी ठूला राजनीतिक दलभित्र गुटबन्दीको व्यापक जालो रहेको छ । केही समय पहिले नेकपाको एउटा कार्यक्रममा हात हालाहाल समेतको अवस्था आई पुगेको थियो । ने।का। मा त्यसप्रकारको हात हालाहालको स्थिति कहीं कतै आएको भए पनि बाहिर आएको छैन ।

कांग्रेस भित्र शेर बहादुर देउवाले १४ औं महाधिवेशनलाई आफ्नो स्थिति मजबुत नपार्दासम्म आयोजना नगर्ने पक्षमा देखिएका छन् । त्यसका लागि उनले विभागहरुको संख्या बढाउने योजना बनाएका छन् । त्यसकारण पौडेल समूहले बैठकमा आगामी महाधिवेशनको कार्यक्रम ल्याउने भए मात्र बैठकमा सामेल हुने अडान लिएको छ । रामचन्द्र पौडेललाई सहमत बनाउन पार्टी अध्यक्ष शेरबहादुर देउवा उनकै घरमा भेट्न पुगेका थिए । तर रामचन्द्र पौडेलले आफ्नो अडान नछाडेपछि देउवा बहुमत पक्ष मात्रको भए पनि बैठक डाक्न बाध्य भएका थिए । बैठक चलिरहेको बेला अहिले पौडेल पाथिभरा शक्तिपिठको दर्शनार्थ पूर्वतिर लागेका छन् ।

विधानले असाधारण स्थिति आएमा त्यसको कारण खोलेर एक वर्षसम्म महाधिवेशन सार्न सकिने बताएको छ । त्यो बाहेक महाधिवेशन ४ वर्ष मै गर्नु पर्ने प्रावधान रहेको छ । तर पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीका कारण अर्को पक्षलाई कतै फाइदा पुग्न नजाओस् भनेर नै संस्थापन पक्ष आफ्नो पकड मजबुत बनाए पछि मात्र महाधिवेशन गर्ने तयारीमा रहेको बुझिन्छ । पौडेल समूह अनुपस्थित भए पनि समायोजन सम्बन्धी काम बैठकले आगामी पौष १५ भित्र सक्ने निर्णय गरिसकेको छ । पार्टीका सबै तहको समायोजन गरिसक्न निर्वाचन समितिलाई निर्देशन दिएको छ । लामो समयदेखि कांग्रेसभित्र यसप्रकारको रस्साकस्सी चलिरहेको देखिन्छ । रामचन्द्र पौडेल समूह तर्फका प्रकाशमान सिंह, शाशंक कोइराला लगायतका शीर्ष नेताहरु पार्टीमा गुटको अन्त गर्नु पर्ने कुरा उठाउँदै आएका छन् ।

नेकपा भित्रको गुटबन्दी पनि चरम चुलिमा रहेको देखिन्छ त्यो स्थिति अहिलेको बैठकबाट पनि थाहा हुन आएको छ । पूर्व एमाले र पूर्व माओवादीका दुई धारहरुका बीचमा दुई समूहहरु आफ्नो गुटगत स्वार्थलाई हेरेर मात्र काम गर्छन् । एमालेभित्र पहिले देखि नै ओली र नेपालको समूूह खुलारुप मै देखापरेको तथ्य हो । त्यो भित्र पनि पूर्व माओवादी र पूर्व एमालेका व्यक्ति पिच्छेका उपगुटहरु रहेको देखिन्छ । अहिले नेकपाभित्र सरकार कसरी संचालन गर्ने रु संसद कसरी संचालन गर्ने रु भन्ने विषयमा निकै समस्या परे जस्तो देखिन्छ । संसदमा अहिलेसम्म सभामुख चयन हुन सकेको छैन । कृष्णबहादुर महरा यौन दुव्र्यवहारको घटनाको कारण बहिर्गमन भएपछि सभामुख पद दुई महिनादेखि रिक्त रहँदै आएको छ । पूर्व एमाले पक्षले पूर्व सभामुख सुभाष नेम्वाङलाई अगाडि सारेको छ । उसको तर्क यो छ कि एउटै पार्टी भएपछि यो वा त्यो समूह भन्ने हुँदैन ।

त्यसकारण उपयुक्त व्यक्ति सुभाष नै हुन भन्ने छ । पूर्व माओवादी पक्षको भनाई के रहेको छ भने आगामी महाधिवेशन भएर पार्टी एक अर्कामा अन्तर्घुलन नहुँदासम्म दुवै समूहको अस्तित्व कायम रहन्छ । त्यसकारण पहिले माओवादी पक्षको सभामुख भएको हुनाले अहिले पनि माओवादी कै हुनुपर्छ । त्यसका लागि उपयुक्त उम्मेदवार अग्नी सापकोटा हुन भनेर अडान लिएको छ । त्यो विषय त्यति गम्भीर देखिंदैन । किनकि अन्तमा अध्यक्ष द्वयको निर्णय नै निर्णायक हुने छ र त्यो निर्णय हुन्छ नै । तर समस्या कहाँ छ भने सभामुख पदमा सुभाष नेम्वाङ वा अग्नी सापकोटा जो कोही भए पनि सभामुख र उपसभामुख एउटै पार्टीका हुन मिल्दैन । त्यसकारण शिवमाया तुम्वाहाम्फेलाई उपसभामुख पदबाट हटाउन पर्छ वा उनलाई कायम राखेमा सभामुख अर्को पार्टीको व्यक्ति हुनुपर्छ । निश्चित छ नेकपाले सभामुख नेकालाई दिने छैन । त्यसकारण उपसभामुखमा शिवमाया तुम्वाहाम्फेलाई कसरी हटाउने र त्यो पदमा अन्य पार्टीबाट कसलाई ल्याउने रु भन्ने प्रश्न तेर्सिएको छ । अहिले चर्चामा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको नाम पनि आएको छ तर सत्ता साझेदार पार्टी समाजवादी पार्टी भएकाले समाजवादी पार्टीबाट ल्याउने कि भन्ने चर्चा पनि छ । नेकपाले आफ्नो आन्तरिक समस्या समाधान गर्न हम्मे हम्मे परेको छ । आगामी पौष ४ गते देखि संसदको हिउँदे सत्र शुरु हुँदैछ । त्यो भन्दा पहिले सभामुख , उपसभामुखको टुंगो नलगाउने हो भने संसद संचालन हुन गाह्रो छ । किनकि उपसभामुखबाट शत्रको प्रारम्भ र समापन हुन नसक्ने प्रावधान रहेको छ ।

अध्यक्ष द्वयका तर्फबाट अध्यक्ष प्रचण्डबाट बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदनमा पार्टीभित्र गुट उपगुटहरु झाँगिएको र त्यसले पार्टी अनुशासनलाई कमजोर पारिएको उल्लेख समेत गरिएको छ । १६ पृष्ठ लामो प्रतिवेदनमा पार्टी, सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे एजेण्डा उठाइएको बताइन्छ । तर सबैभन्दा चिन्ताको विषय पार्टीमा अनुशासनको स्तर कमजोर हुनु, अराजकता बढेर जानुले पार्टी अगाडि बढ्न नसकेको कुरा उठाइएको बताइन्छ । कान्तिपुर लेख्दछः नेकपाभित्रका गुटले कुन तहको आकार लिइसकेका छन् भन्ने प्रस्टोक्ति अध्यक्ष द्वयकै प्रतिवेदनमा पनि छ । “पार्टीभित्र घात अन्तर्घात र अराजकताका प्रवृत्तिहरु बढिरहेका छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको गुट अराजकताले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।” प्रतिवेदनमा छ अगाडि लेख्छ, “पार्टीको अनुशासन नभए पछि विधि र पद्धतिलाई बिर्सिए पछि हुने यस्तै हो ” नेकपाका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले भने “आलोचनालाई विरोधका रुपमा लिइयो र पार्टीको संस्थागत प्रणालीलाई कमजोर बनाइयो, यसकै कारण गुटबन्दी बढेको हो ।”

नेता अमृत बोहराले गुटबन्दी र अराजकताको मूल जरोलाई ठीकसित पहिचान गरेका छन् । जब “संस्थागत प्रणाली” लाई कमजोर बनाइन्छ, “गुटबन्दी बढ्छ” “विधि र पद्धतिलाई बिर्सिएपछि हुने यस्तै हो ।” खास गरेर पूर्व एमालेमा पहिलेदेखि केपी ओलीको गुट बन्यो । त्यसलाई प्रतिवाद गर्न नेपालको गुट बन्यो । पछि पार्टी एकता भएपछि पनि माओवादी पनि गुटसहित एकीकृत भयो । प्रचण्डको एउटा गुट छ, नारायणकाजीको अर्को गुट छ । गुटहरु आफ्नो बैठक बस्छन् निर्णय गर्छन् । त्यसपछि पूर्ण बैठकमा उपस्थित हुन्छन् । एक पटक त प्रचण्डले भनेका थिए रे, “आ–आफ्नो समूहमा छलफल गरेर भोलिसम्म आफ्नो विचार ल्याउनुस” गुटबन्दी तलबाट कहिल्यै हुँदैन । गुटबन्दी माथिल्लो शीर्ष नेतृत्वबाट हुने गर्छ । त्यो कुरा कांग्रेस वा नेकपामा मात्रै होइन, नेपालका अन्य पार्टीहरुमा पनि त्यो संस्कृति विकसित भइरहेको छ । नेतृत्वलाई जब आफ्नो पदको माया हुन्छ, स्वार्थ हुन्छ, उसलाई नेतृत्व टिकाउन चुनौति उत्पन्न हुने देख्छ, उसले आफू वरिपरिकालाई संगठित गर्छ र नेतृत्वलाई स्थायित्व दिने प्रयास गर्छ । त्यतिबेला उसलाई गुटबन्दी गर्नु अनिवार्य जस्तो हुन्छ । जब नेतृत्वले गुटबन्दी गर्न शुरु गर्छ, अन्य सामान्य नेताहरुले त्यसको प्रतिवाद गर्नु अनिवार्य हुन्छ । त्यसरी अर्को गुट जन्मन्छ । यसरी गुट जन्माउने काम स्वयं नेतृत्वले नै गरिराखेको हुन्छ ।

गुटबन्दीको संस्कृतिले नेपालमा कैयौं राजनीतिक दलहरुबीच टुट्ने, फुट्ने, अनि जुट्ने प्रक्रियाबाट गुज्रिंदै आएका छन् । विशेष गरेर कम्युनिस्ट पार्टीमा त झनै व्यक्ति पिच्छेका पार्टी बन्ने गरेको इतिहास छ । त्यसबाट कैयौं कार्यकर्ताहरु निराश हुने र पलायन हुने पनि गरेका छन् । तर गुटबन्दीमा लिप्त रहने नेताहरुलाई इमान्दार कार्यकर्ताहरु प्रतिको कुनै चासो रहँदैन । उनीहरु आफू वरिपरीका कार्यकर्ता भए पुग्छ भन्ने ठान्छन् र आफ्नो भविष्य सुरक्षित हुनुमा नै सफलता ठान्छन् । गुटलाई बचाउन खोज्दा नै भ्रष्टचार, अनियमितता बढेर गएका छन् । पार्टीहरु बदनाम भएका छन् । संसदीय दलहरुलाई त गुट उपगुट भए पनि खासै फरक पर्दैन । किनकि कांग्रेस जति चिरा भए पनि आखिर भोट दिनेले रुखमा नै दिन्छ । अहिले त नेकपाको पनि त्यही अवस्था छ । जति गुट भए पनि भोट सूर्य भित्रको हँसिया हथौडा चिन्ह सम्झिए पुग्छ । तर क्रान्तिकारी परिवर्तन गर्न खोज्ने दलहरुमा गुटबन्दीको संस्कृति विकास भयो भने त्यसले सिंगो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई असर पुग्छ । त्यसकारण जुन सुकै पार्टी भए पनि गुटबन्दीको स्रोत नेतृत्व नै हुने गरेको छ । नेतृत्वले सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्नु पर्छ । त्यसका लागि सबै भन्दा बढी स्वयं नेतृत्व नै अनुशासित हुनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here