गलबन्दी’ विवाद : भाका कपी गर्ने शम्भु कि प्रकाश ?

0
46

नवोदित लोकगायक प्रकाश सपुतको नयाँ गीत ‘गलबन्दी’ यतिबेला चर्चाको शिखरमा छ । उक्त गीत अहिलेसम्म युट्युबमा डेढ करोडभन्दा बढीले हेरिसकेका छ्न् । नेपाली मौलिक लोक भाकामा रहेको उक्त गीत चर्चाको शिखर चढ्दै गर्दा त्यसलाई विवादको घेरामा समेत तानिएको छ ।

वरिष्ठ गायक शम्भु राईले ‘गलबन्दी’ को भाका आफ्नो पुरानो देउसी–भैलो गीतको भाकासँग हुबहु मिलेको दाबी गरेका छन् । विवाद बढ्दै जाँदा त्यसलाई जातिवादी रंग दिनेदेखि त्यसैमाथि टेकेर आफ्नो राजनैतिक स्वार्थको रोटी सेक्ने प्रयास गर्ने सम्मका निकृष्ट कार्यहरु पनि हुन् थालेका छन् ।

दुवै गीत सुन्दा शम्भु राईको केही वर्ष पुरानो उक्त देउसीभैलोसम्बन्धी गीतभित्र रहेको सानो अन्तरा र प्रकाश सपुतको ‘गलबन्दी’को भाका कताकता सामान्य मेल खाएजस्तो सुनिन्छ । तर, त्यसैका आधारमा प्रकाशले शम्भुको भाका चोरेरै ‘गलबन्दी’ बनाएका हुन् भनेर दाबी गर्न सक्ने आधार भने भेटिँदैन । खासगरी ‘गलबन्दी’भित्रको ‘गलबन्दी च्यातियो तिम्ले तानेर…’ भन्ने लाइन र शम्भु राईको भैलोसम्बन्धी गीतभित्रको ‘आउ नाचौँ साथी हो…’ भन्ने लाइनको शुरुको उठान गर्दा भाका सामान्य मिले जस्तो सुनिन्छ । तर, हुबहु होइन ।

लोक भाका भनेकै गाउँठाउँमा स्थानीय जनताले गुनगुनाउने भाका हुन् । तिनै भाकाहरुलाई केही परिमार्जित र परिस्कृत गरेर लोकगीतका सर्जकहरुले त्यसमा आफ्नो शब्दहरु राखी आफ्नो सिर्जनाको रुपमा जनसमक्ष पस्कने गर्छन् । प्रकाश सपुतले पनि ‘गलबन्दी’ मा त्यसै गरेको देखिन्छ । रोधी बस्ने, झाम्रे गाउने नेपाली मौलिक लोक संस्कृतिका तिनै प्रचलनहरुलाई प्रकाशले ‘गलबन्दी’को विषय बनाएका छन् ।

लोक गीतहरुमा भाकाको सामान्य अंश मिल्नुलाई यति ठूलो विवादको विषय बनाउनु त्यो वान्छनीय देखिँदैन । तर, पनि शम्भु राई जस्तो वरिष्ठ गायकले यसलाई विवादको विषय किन बनाए ? यो निकै विचारणीय प्रश्न हो ।

व्यक्तिगत रुपमा शम्भु राई र प्रकाश सपुत दुवैसँग मेरो नजिकबाट चिनजान छैन । उहाँहरुलाई जति चिनिएको छ त्यो उहाँहरुको सिर्जनाको आधारमा नै चिनिएको छ । मैले चिने सम्म प्रकाश नवोदित लोक तथा दोहरी गायक हुन् भने गीत संगीतको क्षेत्रमा लामो कालखण्ड गुजारेका शम्भु राई पुराना र पाका गायक हुन् । मैले सुने र बुझेसम्म शम्भु राईको साङ्गीतिक यात्राको प्रारम्भ प्रगतिशील सांस्कृतिक आन्दोलनबाटै भएको थियो ।

२०४२/४३ सालतिर सायद उहाँहरु सङ्कल्प सांस्कृतिक परिवारमा सङ्गठित भएर प्रगतिशील साङ्गीतिक क्षेत्रमा कृयाशील हुनुहुन्थ्यो । मैले सुनेसम्म पछि प्रगतिशील गीत सङ्गीतको धारलाई छोडेर उहाँहरुलेनै भन्ने गर्नु भएको ‘बुर्जुवा’ गीत सङ्गीतको क्षेत्रमा लाग्नु भयो ।

आफूले पहिले गाउँदै आएका प्रगतिशील गीतहरुलाई शब्द परिवर्तन गरी मायाप्रेमका भावका शब्दहरु राखी गाउन थाल्नुभयो । सत्य कति हो त्यो थाहा भएन । तर ‘चलेछ बतास सुस्तरी…’ र ‘चिट्ठी तिमीलाई लेखुँ भन्छु…’ लगायतका गीतहरु त्यसरीनै बनाइएका गीतहरु हुन् भन्ने कुरा मैले धेरै पहिले सुनेको थिएँ । पञ्चायती कालरात्रिको त्यो बेला जनताका गीतहरु गाउँदै हिँड्नु त्यो अवश्य पनि सहज थिएन । जनताका वेदनाका गीत गाउँदै हिँड्दा व्यक्तिगत रुपमा कुनै आम्दानी हुँदैनथ्यो । बरु प्रशासनको आँखाको तारो बनिन्थ्यो ।

शम्भु राई अहिले नेपाली गीत सङ्गीतको उच्च स्थानमा हुनुहुन्छ । त्यो स्थानमा रहेर त्यही क्षेत्रमा त्रियाशील नवोदित गायकगायिका र कलाकारहरुप्रति अभिभावकीय दायित्व निर्वाह गर्नुपर्ने उहाँको जिम्मेवारी देखिन्छ । तर ‘गलबन्दी’सम्बन्धी विवादमा उहाँको जुन भूमिका र अभिव्यक्तिहरु आइरहेका छन्, त्यसबाट उहाँ आफ्नो उक्त भूमिकामा पूर्ण रुपमा च्युत भएको देखिन्छ । नवोदित कलाकारहरुलाई प्रोत्साहित अभिप्रेरित गर्ने भन्दा हतोत्साहित र निरुत्साहित पार्नेतर्फ उद्द्त देखिन्छन् ।

गीतको टुक्काभित्रको सानो हरफमा सामान्य भाका मिल्नु त्यो कुनै नौलो र ठूलो कुरा होइन । त्यसरी मिलेकै आधारमा आफ्नो भाकाकै कपी गरेर गीत बनायो, त्यसमा सङ्गीतकारको रुपमा आफ्नो नाम राख्नु पर्छ भनेर शम्भु राई जसरी प्रस्तुत भैरहनुभएको छ, त्यो शोभनीय देखिँदैन । त्यसरी मिल्ने कुरा गर्ने हो भने त उहाँको देउसी भैलो गीतको टुक्काको भाका जनगायक जीवन शर्माको ‘सुनबुट्टे रेशमी चोली ल्याउन पाइन’ बोलको गीतसँग ठ्याक्कै मिल्न जान्छ । शर्माको सुनबुट्टे रेशमी बोलको गीतको सुरुको उठान र शम्भु राईको देउसी भैलो गीतको ‘आउ नाचौँ साथी हो…’ टुक्काको उठान दुरुस्त सुनिन्छ । शम्भु राईले उक्त देउसी भैलो गीत बढीमा दस वर्षअघि निकाल्नुभएको होला । शर्माको उक्त गीत रक्तिम परिवारको जनगीति यात्रा भाग–४ मा समेटिएको छ । जुन म्युजिक नेपालबाट २०४८ सालतिर प्रकाशित भएको थियो ।

जब कि त्योभन्दा धेरै वर्ष अघि २०४३/४४ सालतिर गाउँ घरतिर रक्तिमका कलाकारहरुले गाउँदै हिँड्ने गर्थे ‘सुनबुट्टे रेशमी’ बोलको उक्त गीत । तर, जनगायक शर्माले आजसम्म पनि शम्भु राईइको गीतको भाका मेरो गीतसँग मिल्यो त्यसैले त्यहाँ सङ्गीतकारको रुपमा मेरो नाम राख्नु प¥यो भनेको सुनिएको छैन । त्यति मात्र होइन रक्तिमका गीततहरुको भाकासँग मिल्ने गरी गाइएका लोक तथा दोहोरी र प्रगतिशील गीतहरु अरु पनि छन् । बद्री पङ्गेनीले गाएको ‘लाउ चेली सिन्दुर लाउ’ बोलको गीतको भाका रक्तिमको‘ मै दुःखी किसान’ बोलको गीतको भाकासँग मिल्छ । विष्णु खत्रीको चर्चित गीत ‘ भरिया दाइले’ गीतको उठान रक्तिमको सामन्तले नौ जाल बुन्छ’ गीतसँग ठ्याक्कै मिल्छ । तर, त्यही कारण बद्री र विष्णुसँग जीवन शर्माको कहिल्यै ठाकठुक परेको सुनिएन । मुद्दा मामिला र झैं झगडामा गएको देखिएन । बरु सँगसँगै देश विदेशका कार्यक्रमहरुमा गएको देखियो ।

यस्तै, रेम रानाले लेखेको रक्तिमको अर्को चर्चित गीत ‘डुल्दै हिँड्दा भारतमा’को सुरुको पङ्तिको भाका र खेम गुरुङले गाउनुभएको ‘बेहाल भयो जिन्दगी यो’ गीतको सुरुको पङ्तीको भाका हुबहु मिल्छ । तर, ती कुनै पनि गीतहरुमा हाम्रो भाका चोरियो भनेर रक्तिमले मुद्दा मामिला गरेको सुनिएको छैन ।

त्यति मात्र होइन, शम्भु राईकै चर्चित गीत ‘चलेछ बतास सुस्तरी’को कहिलेमा काहीँ..टुक्का नारायण गोपालको ‘आजै र राति के देखेँ सपनी’ बोलको गीतको ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइ रहेको ..’ भन्ने लाइनसँ मिल्छ । के त्यसैका आधारमा अब शम्भु राईले नारायण गोपालको भाका चोरे भन्ने आरोप लगाउने ? अहँ, त्यतिका आधारमा शम्भु राईजस्ता वरिष्ठ गायकले त्यसरी चोरी गर्नु भो होला भनेर हामी भन्न सक्दैनौँ ।

भनिन्छ, पुँजीवादी बजारमा नियम कानुन, नैतिकता, अनुशासनभन्दा पैसाकै प्रशासन चल्ने गर्छ । कतै ‘गलबन्दी’ विवादमा पनि पैसा असुल्नकै लागि विवादको बबण्डर मच्चाइएको त होइन ? यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

यस गीतको विवाद बढ्दै जाँदा यसलाई जातिवादी रुप दिने दुस्प्रयास पनि भएको देखिन्छ । जातिवादीहरुको उक्त हर्कत निन्दनीय छ । यसैलाई आधार बनाएर केही राजनैतिक पार्टीहरुले यसैबाट आफ्नो राजनैतिक स्वार्थको रोटी सेक्ने दाउ पनि खेलेको देखिन्छ । उनीहरु विवाद सल्टाउनेभन्दा पनि बल्झाउनेतर्फ उद्दत देखिन्छ्न् । यसतर्फ दुवै पक्ष संयमित र सचेत रहनु पर्दछ।

विवादलाई राजनीतिक रंग दिएर कसैलाई फाइदा हुने छैन । अग्रज स्रस्टाहरुको सबैले सम्मान गर्नु पर्दछ, नवोदित लाई अग्रजहरुले प्रोत्साहन र उत्प्रेरणा दिनुपर्छ । त्यही मापडण्डका आधारमा यो विवादलाई सल्टाउन सकिन्छ ।

(लेखक प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका अभियन्ता हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here