गजलको संक्षिप्त इतिहास र नेपाली गजल

0
1123

ललित-कलाभित्र पर्ने साहित्यको कविता वर्गको विधा हो गजल । करुणा, प्रणय र स्त्रीसितको वार्तालाप आदि विभिन्न अर्थमा गजललाई जोडिएको पाइन्छ । स्त्रीसितको वार्तालाप स्वभावत: कोमल, भावुक र शृङ्गारिक हुने हुनाले गजलको शब्दचयनदेखि भावविधानसम्म कोमल शृङ्गारिकता अपेक्षित मानिँदै आएको छ । करुणा, छटपटी, रतिराग, बेचैनी र आहत मनको स्वरतर्फ गजलको शाब्दिक अर्थले इङ्गित गर्छ । तर आजको गजल जीवन-जगतका तमाम विषयहरूलाई टिपेर क्रमश: जटिल र वैचारिक बन्दै गइरहेको छ । सायदै जीवनको कुनै त्यस्तो पाटो होला जहाँसम्म गजल पुगेको छैन ।

‘गजलको जन्म ईसाको दशौं शताब्दीमा इरानमा भएको हो । जसरी पूर्वमा दर्शन, अर्थशास्त्र, सङ्गीत, राजनीति, शिक्षाजस्ता ज्ञानका सबै शाखाको मूल खोज्दै संस्कृतसम्म पुगिन्छ अनि युरोपमा त्यो खोज ल्याटिन र ग्रिक भाषासम्म पुग्छ त्यसरी नै मध्यपूर्व एसियाको जरा अरबी र फारसी भाषासम्म जोडिएको छ । गजलको मूल स्रोत इस्लामपूर्वको अरबी भाषा हो । तर ‘गजल’ शीर्षकमै अरबीमा कुनै साहित्यिक विधा भने भेटिँदैन । अरबी भाषाको ‘कसीद:/कसीदा’ नामक काव्यविधा गजलको पैत्रिक थलो हो भन्ने समालोचकहरूको ठम्याइ छ । बादशाह र नबाबहरूको प्रशंशामा रचिने स्तुतिगान प्रकृतिको कसीदामा भूमिकाको रूपमा अग्रभागमा रहने ‘तश्बीब/नसीब’ नै इसाको दशौं शताब्दीको मध्यतिर फारसीमा गजलको रूपमा विकसित भएको हो । १०० को हाराहारीमा श्लोक/पद्य/शेर/कपलेट समेटिने कसीदाबाट विकसित गजलमा भने सामान्यतया ५ देखि १२ शेरसम्म रहने गरेका छन् । छोटो, प्रभावकारी र अपेक्षाकृत विस्तृत विषयवस्तु समेटिने हुनाले इरानमा गजलले सर्वाधिक लोकप्रिय विधाका रूपमा कसीदालाई विस्थापित गरेको देखिन्छ । इरानी कवि ‘रौदकी’लाई गजलको जन्मदाता मानिन्छ । उनी दृष्टिविहीन कवि थिए ।

वाहिदी, निजामी, महाकवि फिरदौसी-लगायतका फारसी कविले गजललाई स्वतन्त्र विधाका रूपमा विकास गरे । ईसाको बाह्रौं शताब्दीको उत्तरार्धतिर मुस्लिम शासकहरूको प्रवेशसँगै गजल भारत प्रवेश गरेको मानिन्छ । इरानी सभ्यता, संस्कृति, भाषा र साहित्यसित भारतीय संस्कृति र नव्य भारतीय आर्य भाषाहरूको संसर्गबाट ईसाको पन्ध्रौं शताब्दीतिर विकसित भएको उर्दू भाषामा गजल मौलाएको हो । यद्यपि उर्दूभन्दा पहिले नै सूफी कवि अमीर खुसरो-ले हिन्दीमा गजल लेखनको थालनी गरेको मानिन्छ । गजलको मतलासित मिल्ने उनको एउटा शेर उपलब्ध छ । उर्दूमा सुस्पष्ट रूपमा सत्रौं शताब्दीको उत्तरार्धमा समसुद्दीन वली-ले गजल-लेखनको जग बसालेको देखिन्छ । उनी समग्र उर्दू कविताका पितामह पनि हुन् । पछि सौदा, मीर तकी मीर, दर्द, गालिब र मोमिन-जस्ता शायर (गजलकार)ले यो परम्परा अघि बढाए । हिन्दीमा आधुनिक गजलको विकासमा दुष्यन्त कुमारको भगीरथ योगदान निर्विवाद छ । उनले गजलको विषयलाई प्रेम र मदिराबाट माथि उठाएर विस्तृत बनाए ।

सर्वाधिक लोकप्रिय, चर्चित र लेखिने पढिने विधा भएर पनि नेपाली साहित्यको मूलधारबाट गजल अझै उपेक्षित छ । मूलत: आख्यान र कवितालाई नै साहित्य मानेर नेपाली साहित्यको संस्थागत यात्रा अगाडि बढेको सन्दर्भमा हेपिएको विधाका रूपमा पर्दछ गजल । अल्लारे या खहरे विधाका रूपमा केही स्थापित कवि र उपन्यासकारले गजललाई गलत बुझेका छन् । कुनै दिन राजा-महाराजाका अन्तरङ्ग मनोरञ्जनको साधनका रूपमा लिइने गजलले आज तिनै महाराजाको विलासी र कामुक चरित्रको भण्डाफोर गर्दै साधारण जनताको हृदयमा मुस्कान भर्दछ । आम-मानिसले आफ्नो मानेको र सहज, सुबोध्य, सम्प्रेषणीय विधाका रूपमा रहेको गजल अब अल्लारे विधा रहेन । यो परिपक्व र खारिएको स्थापित अभिव्यक्तिको माध्यमका रूपमा विकास भएको छ । यसले नेपाली-गर्भमै पनि १०० वर्षको कठीन परीक्षा दिइसकेको छ ।

नेपालमा गजल भित्र्याउनेदेखि संरक्षण र संबर्धन गर्ने काम सवासय वर्षअगाडि नै भएको हो । मोतीराम भट्टलगायतका केही नेपाली युवाहरूले भारतबाट अध्ययन गरेर नेपाल फर्किँदा यो विधा पनि बोकेर फर्किए । उनीहरूले एउटा मण्डली नै खडा गरेर सामूहिक रूपमा गजलको उन्नयनमा होमिए । मोतीमण्डली नै नेपाली गजलको पहिलो सामूहिक/संस्थागत अभियान हो । नेतृत्वकर्ताका रूपमा मोतीराम भट्ट नेपाली गजलका संस्थापक हुन् । १९५१ मा उनकै सङ्कलन र लेखनमा प्रकाशित ‘सङ्गीत चन्द्रोदय’ नै नेपाली गजलको पहिलो सङ्ग्रह हो । त्यसको करिब १५ वर्ष नबित्दै नेपाली गजल गाइयो १९६५ मा पहिलो नेपाली गायक सेतुरामबाट । उनले नै धून भरेको उक्त गजल मोतीराम भट्टको चर्चित रचना ‘यता हेर्यो यतै मेरा नजर्मा राम …’ थियो । गजल लेखनको त्यो जगमा इँटा थप्ने काम भीमनिधि तिवारीले गरे । सायद संख्यात्मक रूपमा सबैभन्दा बढी गजल लेख्ने नेपाली गजलकार भीमनिधि तिवारी नै हुन् । त्यसो त उनी सबैभन्दा बढी कथा लेख्ने नेपाली कथाकार पनि हुन् । उपेन्द्र बहादुर जिगरको नाम पनि नेपाली गजलमा अविस्मरणीय छ । उनले गजलमा शतक जमाएका छन् – १९९६ मा १०१ गजलहरूको सङ्ग्रह प्रकाशित गरेर । त्यसयता एक्काईसौं शताब्दीको चालीसको दशकसम्म नेपाली गजल कछुवा गतिमा अघि बढेको देखिन्छ ।

पचासको दशकबाट भने आधुनिक नेपाली गजलको कायापलट नै भयो । ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, ललिजन रावल-लगायतका सर्जक/अनुसन्धाताहरूले गजललाई नयाँ आयाम दिए । अहिले बुँद राना, घनश्याम न्यौपाने, सनत वस्ती, रवि प्राञ्जल, कृष्णहरि बराल, प्रकट पङ्गेनी, श्रेष्ठ प्रियालगायतका दर्जनौं क्षमतावान् सर्जकले नेपाली गजललाई नयाँ दिशा दिइरहेका छन् ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म गजलमाथि शोध र सिर्जनात्मक कार्य सम्पन्न भएका छन् । घनश्याम न्यौपाने र कृष्णहरि बरालले नेपाली गजलमा पिएचडीको शोध सम्पन्न गरेका हुन् । यसले पनि हालको नेपाली गजलको आयाम कति विशाल छ भन्ने सङ्केत दिन्छ । अनाममण्डली, गजलगृह नेपाल, नेपाली गजल प्रतिष्ठान-लगायतका दर्जनौं संस्थाहरू पनि गजलको उन्नयनमा समर्पित छन् । साठीको दशकमा खुलेका स्थानीय रेडियो (एफएम) हरूले त गजललाई गाउँसहर सबैतिर भिजाइदिए । सयौंको सङ्ख्यामा वैयक्तिक, प्रतिनिधि या संयुक्त गजलसङ्ग्रहहरू प्रकाशित भइरहेका पनि छन् । पछिल्लो समय फेसबुकजस्ता सामाजिक सञ्जालको योगदान पनि अविस्मरणीय छ । हाल आएर गायन क्षेत्रमा पनि गजलको चलखेल बढ्दो छ ।

फारसीबाट उर्दु र हिन्दी हुंदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्ष पुगिसकेको छ। नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ। मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झ48डै आधा शताब्दी पश्चात पुनर्जागृत भएको नेपाली गजलको आरम्भ भने परम्परागत शास्त्रीय छन्द तथा बहरको आधारमा नभै स्वनिर्मित छन्दका गजलहरुको निर्माणबाट भएको देखिन्छ। चालिसको दशकको पूर्व सन्ध्याबाट शुरु भएको पुनर्जागृत नेपाली गजलले स्वनिर्मित छन्दका अतिरिक्त परम्परित तथा नेपाली माटो सुहाउँदो बिभिन्न लोक लयहरुलाई समेत आधार बनाएर आफ्नो लयगत  स्वरुपको निर्माण गरिसकेको छ।

मूलतः लय र संगीतको जगमा ठडिएको एउटा यस्तो काब्य बिधा हो गजल―जो निश्चित संरचनाभित्र बाँधिएर पनि स्रष्टाले वाचन गर्दा अनि पाठकले गजल पढ्दा सांगीतिकता प्रकट हुन सकेन भने त्यो गजलले उच्चता प्राप्त गर्न सक्दैन। अझ गायनसँग सम्बध्द बिधा भएकोले गजलले पूर्णता त तब मात्र प्राप्त गर्छ, जब त्यो गजल–रचनालाई संगीतबध्द गरेर गाइन्छ। जसरी साहित्यको नाटक बिधा रङगमञ्चसँग सम्बध्द बिधा भएकाले नाटकको सम्बन्ध लेखक तथा पाठकका अतिरिक्त दर्शकसँग समेत रहन्छ, त्यसैगरी गजल रचनालाई पनि गायनका रुपमा प्रस्तुत गरेपछि लेखक तथा पाठकका अतिरिक्त श्रोताहरुसँग समेत गजलको सम्बन्ध स्थापित हुन्छ र गजल जीवन्त बन्छ। मानव–मनमा शब्दको अपेक्षा श्रुतिको र वाचनको अपेक्षा गायनको प्रभाव सू73म रुपमा रहने कुरा वैज्ञानिक आधारमा पनि सिध्द भइसकेको छ।

नेपाली भाषामा लेखिएका संरचनागत रुपमा सबल नेपाली गजलहरू एकाध अपवाद बाहेक चालिसको दशकपछि मात्र गायनमा आउन थालेको हो। गेय बिधा हुँदा हुदै पनि पचासको दशकसम्म लेखिएका अधिकांश गजलहरुमा छन्द–मात्राको सन्तुलन नहुनु, सन्तुलित गजलहरुमा भाव सशक्त भए पनि गेयता तथा सांगीतिकताको अभाव रहनु, गेय गजल पनि प्रायः ‘गैर मुसलसल’ भएकाले संगीतकारलाई धून सृजना गर्ने ‘मुड’ नआउनु, ‘मुसलसल’ गजलको पनि भाव अनुरुप संगीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनकालागि गजल गायकीको विकास हुन नसक्नु र अति उच्च स्तरको संगीत सिर्जना गर्न समर्थ राष्ट्रका बहुप्रतिभाशाली संगीत सर्जकहरुलाई प्रेरित गर्ने वातावरण राज्यले तयार गर्न नसक्नु जस्ता कारणले नेपाली गजल गायनमा पछि परेको हो।

पुनर्जागरणकालसँगै स्वनिर्मित लय र मात्राछन्दमा बाँधिएर गजल लेख्ने परम्पराको आरम्भ गजलकार मनु ब्राजाकीले गरे। मनु पछि मनुकै बाटोलाई पछ्याएर ललिजन रावल र त्यस पछि रवि प्राञ्जलले स्वनिर्मित मात्राछन्दमा गजल सिर्जना गरे। ललिजनपछि मात्राछन्दमा सुन्दर गजल निर्माण गर्ने प्रशस्त गजलकारहरुको आगमन नेपाली साहित्यमा भइसकेको छ। यस क्रममा पचासको दशकदेखि सनतकुमार बस्तीले बहरमा आधारित नेपाली गजलहरुको सिर्जना उल्लेख्य रुपमा गरेको पाइन्छ भने पछिल्लो समयमा मोफसलबाट डा.घनश्याम परिश्रमीे र राजधानीबाट देबी नेपाललेे पिंगल छन्द तथा फारसी बहरलाई  नेपाली गजलमा पुनर्स्थापन गर्न महत्वपूर्ण भूमिकाको निर्वाह गरेको देखिन्छ। फलतः बहरमा निर्मित गजलहरुको स्तरीय संग्रह नेपाली साहित्यमा प्रकाशित भइसकेको छ। साठीको दशकको आरम्भसँगै शिव प्रणत,गोपाल अश्क,गोर्खे साइँलो, सरोज काफ्ले, र घनेन्द्र ओझाका बहरयुक्त गजलसँग्रहहरु प्रकाशित भइसकेका छन्  भने स्वनिर्मित छन्दमा गजल सृजना गरिरहेका गजलका पुराना स्रष्टादेखि नयाँ पुस्ताका असंख्य गजलकारहरुका बहरबध्द नेपाली गजलहरु पनि प्रकाशित भइरहेका छन्। अनामम48डलीबाट प्रकाशित बहर तथा शास्त्रीय छन्दमा रचित गजलहरुको सङ्कलन ‘बहरमाला–२०६३)’ यसको उदाहरण हो।

यसबाट छन्द–लयविहिन नेपाली गजल लेख्ने एउटा जमात त अब स्वतः पाखा लाग्ने नैे छन्। तर सुन्दर गजलको लागि शास्त्रीय बहर भन्दा पनि स्रष्टाको लय–चेतनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। वार्णिक छन्दमा कविता लेख्नेेहरु सबै लेखनाथ बन्न सकेनन्, तर भूपि शेरचन गद्य कविताबाटै लोकप्रिय बने। स्वनिर्मित वा परम्परित छन्दमा रचित निम्न शेरहरू के बहर वा पिंगल छन्दका अन्य शेरहरुजस्तै आकर्षक एवम् अर्थपूर्ण छैनन्? ‘कस्का लागि उन्न थाल्यौ आज फूल–मालाहरू, गन तिमी फूलका थुंगा गन्दैछु म प्यालाहरू’ (१६ मात्राको स्वनिर्मित छन्द–मनु ब्राजाकी), ‘नखोलेरै राखिएको यौटा बन्द खाम थियो, भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियोे ‘(१६ मात्राको स्वनिर्मित छन्द–ललिजन रावल ), ‘घामको लाली घोलेर रातो छ त नि छन त, रातको छायाँ परेर हो कि अँधेरो जगत’ (१६ मात्राको लोकलयात्मक छन्द–बूंद राना ), ‘मैनबत्ती जस्तै सधैँ बालेको छु जिन्दगीलाई, आफ्नै बुध्दि पगालेर पालेको छु जिन्दगीलाइ’ (१६ मात्राको स्वनिर्मित छन्द–घनश्याम न्यौपाने परिश्रमी )। उपर्युक्त गजलका मत्लाहरुमा प्रयुक्त छन्दमा लय र मात्रागत सन्तुलनसँगै गति र यति को पनि सुन्दर निर्वाह भएको छ।

नेपाली भाषामा प्रकाशित कतिपय बहरबध्द गजलहरुको अध्ययन गर्दा गजलकारहरुमा शास्त्रीय छन्दप्रति अतिशय मोह रहेको भान हुन्छ। तर तिनमा लय–सौन्दर्य एवम् भावसंयोजनको अभावमा संगीतात्मकता ध्वनित हुंदैन। भलै त्यो गजललाई मिठो स्वर तथा भाकामा वाचन गरियोस्, त्यहाँ सांगीतिकता, भावको पूर्णता र कोमलता खटकिरहेकै हुन्छ। गजलकारमा शास्त्रीय छन्दको ज्ञान हुनु राम्रो हो, तर शास्त्रीय छन्दमा लेख्नेे स्रष्टालेे पिंगल छन्द तथा बहर को शास्त्रीय ‘सूत्र’ मात्र मिलाउन खोज्दा गजल कतै कुरुप त बन्न गइरहेको छैन? स्रष्टामा लय–चेतना नभएसम्म छन्द वा सूत्रको ज्ञान निरर्थक हुन्छ। वर्तमान समयमा प्रकाशित अधिकांश बहरबध्द गजलहरु अध्ययन गर्दा ‘सूत्र’ मिलाउनका लागि मात्र ती गजलहरू लेखिएको प्रतीत हुन्छ।

‘ज्ञान’ र ‘सृजनाशक्ति’ अलग अलग कुरा हुन्। सैध्दान्तिक ज्ञान प्राप्त गरेर मात्र हुंदैन–यदि स्रष्टामा सिर्जनशीलताको अभाव छ भने। यस क्रममा प्रकट रुपमा देखा परेका डा. घनश्याम परिश्रमी र देवी नेपालद्वारा प्रशिक्ष्।ित वर्तमान पुस्ताका गजलकारहरु एवम् शास्त्रीय छन्दको  ज्ञान हासिल गरी गजल निर्माण गर्ने युवा स्रष्टाहरुमध्ये एकाध गजलकारका गजलहरूमा भने लय तथा भावको सुन्दर संयोजन सँगै सांगीतिकता समेत प्रकट भएको पाइन्छ।

यसबाट के पुष्टि हुन्छ भने संस्कृतको पिंगल छन्द तथा फारसी साहित्यले तोकेको ‘गण’, ‘वणर्’, ‘रूक्न’, ‘अर्कान’ जस्ता जटिल सूत्रहरु नपछ्याईकन पनि आफ्नै देशको हावा–पानी र माटो सुहाउँदो परम्परित वा स्वनिर्मित छन्दमा पनि सुन्दर गजल निर्माण गर्न सकिन्छ। तसर्थ  बौध्दिक कसरतद्वारा निर्मित संस्कृतको पिंगल छन्द तथा बहरबध्द गजलमाभन्दा स्वतःस्फुर्त रुपले सिर्जित गजलमा नै सहज ढंगले सांगीतिकता प्रकट हुन सक्छ भने परम्परित भाकाको मात्राछन्द वा स्वतः निर्मित छन्दमै गजल सिर्जना किन नगर्ने?

रचना काल :  पौष, २०६३

(“पल्लब”साहित्यिक पत्रिका,चितवन तथा गोरखापत्र(शनिवासरीय)मा प्रकाशित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here