जी.बी. लामा
आज लाखौँको सङ्ख्यामा युवाहरु विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाई रहेका छन् । आ–आफ्नो पारिवारिक गर्जो टार्नकै लागि देशको खम्बा मानिने असङ्ख्य युवा शक्तिहरु विदेसिने क्रम अझै पनि बढ्दो छ । खास गरी खाडी मुलुकमा आएका निम्न वर्गीय कामदारहरु प्रवासमा दैनिक १६ घण्टासम्म मजदुरी गरेर पनि आफ्नो पारिवारिक आवश्यकता पुर्ति गर्न कठिन भई रहेको छ । देशमा व्याप्त महङ्गी, कालाबजारी र भ्रष्टाचार र राजनैतिक अस्थिरताका कारण श्रमजीवी जनताको स्थिति झन् नाजुक बन्दै गैरहेको छ । आफ्नो देशमा कुनै पनि उद्योग व्यवसायको स्थापना र रोजगारको कुनै सम्भावना नदेखिएपछि शिक्षित, अशिक्षित र दक्ष, अदक्ष सबै खाले युवाहरु आफ्नो सुन्दर भविष्यको खोजीमा प्राणभन्दा प्यारो मातृभूमि त्यागेर विदेश पलायन भई रहेका छन् । आज विश्व श्रम बजारमा नेपाल मजदुर उत्पादन गर्ने कारखानाको रूपमा परिणत हुँदै छ । करिब ३५ लाखभन्दा बढीको सङ्ख्यामा सचेत युवाहरु प्रवासी भूमिमा अत्यन्त न्यून मूल्यमा आफ्नो श्रम बेच्न बिवश छन् । वैदेशिक रोजगारीमा सरकारले प्रभावकारी र श्रममुखी नीति बनाई श्रम सम्झौता लागु गर्न नसक्नुका कारण नै आज खाडी मुलुकहरुमा आम मजदुरहरुले यी समस्याहरु झेल्नु परेको छ ।
आज जुन मुलुकमा नेपाली कामदारहरुको सङ्ख्या वृद्धि हुादै गएको छ, त्यहाा नेपाली मजदुरहरुको पीडा र समस्याहरु थप जटिल बन्दै गई रहेको पाउँछौँ । सस्तो मूल्यमा श्रम बेच्न बिवश अधिकांश नेपालीहरु कम्पनीद्वारा पाउनु पर्ने, तलब र सेवा–सुविधाहरुबाट वञ्चित मात्र हैन, मालिक र उपल्लो तहका कर्मचारीहरुको चरम श्रम शोषण र मानसिक याताना झेल्दै कडा परिश्रम गर्न बाध्य छन् । कम्पनीको कडा नियम र कानुनले गर्दा जस्तोसुकै अन्यायमा परे पनि आफ्नो करार अवधीसम्म चुपचाप सहनु शिवाय कुनै विकल्प हुन्न । यसरी कठिन परिस्थितिसँग झेल्दै आफ्ना जिन्दगीको महत्त्वपूर्ण दिनहरु गुजार्नु नेपाली युवाहरुको नियति बन्दै गएको छ भने अर्कातिर, कतिपय युवाहरुमा विभिन्न कुलत, दुव्र्यसन, विकृति र विसङ्गतिले नराम्रोसित प्रभावित पारेको पाइन्छ । मदिरा तथा लागु पदार्थको सेवन, जुवातास र वेश्यावृत्तिले उर्जाशील युवाहरुको मन–मस्तिस्कलाई रनभुल्लमा पारेको पाउँछौँ । विसङ्गति र कुलत परी सकेका युवाहरुले पारिवारिक आवश्यकता पुरा गर्ने वा बचत गर्ने त कता हो कता, अनावश्यक खर्चका लागि नै मासिक तलब अपुग भई रहेको हुन्छ । फलत: ऋणमा चुर्लुम्म डुबेर पठाइएको परदेशीको आशैआशमा रहेका परिवार जनको अवस्था अझ दयनीय र विकराल बन्दै गई रहेको हुन्छ । कतिपय युवाहरु कम्पनीको चित्त नबुझ्दो व्यवहार र अन्य विविध कारणले कम्पनी छोडेर गैरकानुनी रूपमा अझ कष्टकर र कारुणिक जीवन बिताई रहेका छन् ।
त्यसै गरी घरेलु कामदारका रूपमा खाडी छिरेका महिलाहरुको पीडा कम दर्दनाक छैन । सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो हुादै महिलाहरु ओसारपसार, मनाव तस्करी अझै बन्द हुन सकेका छैनन् । फलत: आज खाडीमा महिलाहरुको समस्या दिन–प्रतिदिन बढ्दो छ । कैयौँ महिलाहरु बिना तलब महिनौँसम्म घरमा बन्दी सरह जीवन गुजार्नु परेको छ भने कतिपय घर मालिकको चरम यौन शोषण र श्रम शोषणमा जिउन बिवश छन । कतिपय उनीहरुले भने मुताबिक नमान्दा दिएको अमानवीय यातनाका कारण मृत्यु हुने गरेका घटनाहरु समेत बारम्बार दोहोरिदै आएका छन् । मोटो कमिसनमा महिलाहरु बेचबिखन कार्यमा दलालहरुको गिरोह अन्तर्राष्ट्रिय स्तरमा नै अझै सक्रिय छन् ।
यी यावत कठिनाइ, श्रम शोषण, कुलत र विसङ्तिहरुका बीच प्रवासमा निश्चित उद्देश्यका साथ विभिन्न सङ्घ/सङ्गठनहरु पनि स्थापित भई रहेका छन् । कतिपय आ–आफ्ना धर्म, संस्कृति, जाति, क्षेत्र र सम्प्रदाय विशेषका उद्देश्य पूर्तिका लागि स्थापना भएका छन् भने कतिपय वैचारिक आस्था र सामाजिक सेवा र भावना अनुरूपका उद्देश्य पुरा गर्ने सङ्घ/सङ्गठनहरु पनि स्थापना भएका छन् । ती कतिपयले युवाहरुलाई विकृति विसङ्गतिबाट टाढा रहन र देश, समाजप्रति चिन्तनशील बन्न अभिप्रेरित गराउँदै आई रहेका छन् ।
नेपालको पछिल्लो राजनैतिक परिवेशमा देखा परेको जातीयता, साम्प्रदायिकता र सङ्घीयता जस्ता विषयहरुले प्रवासमा रहेका युवाहरुलाई पनि प्रभाव पारेको देखिन्छ । खास गरी जनजातिहरु, जसलाई आफ्नो राज्य स्थापना भयो भने सबै चिजको सम्भावना हुन्छ भन्ने कुरा सिकाएर दिमागमा एकोहोरो छाप बसाल्ने प्रयत्न गरिएको छ, उनीहरुले आफू कुनै जातीय उत्पीडनका कारण प्रवासिनु परेको होइन भन्ने जान्दा जान्दै पनि प्रवासमा पनि जातीय राज्य र साम्प्रदायिक राजनीतिको वकालत गर्न पछि परेका छैनन् । यदि जातीय उत्पीडनको मारमा परी खान, लाउनका लागि दु:ख झेल्नु परेको र प्रवासिनु परेको हो भने जातीय उत्पीडनमुक्त र उच्च जात भनिने बाहुन, क्षेत्री जातका मान्छेहरु किन प्रवासमा जनजातिहरुले जस्तै दु:ख भोगी रहेका छन् त भन्ने प्रश्नमा उनीहरु अनुत्तरित छ्न । समाजमा जबसम्म वर्गीय असमानता र शोषणको अन्त्य हुादैन, तबसम्म कुनै पनि किसिमका अन्याय, अत्याचार र उत्पीडनबाट मुक्ति हुन सक्दैन भन्ने कुराको राम्रो हेक्का नभएका कारण जनजातिहरुबीच प्रवासमा पनि यस्तो असर र प्रभाव देखिएको छ । अर्कातिर, प्रवासमा आएर राजनीति गर्नु हुन्न, सङ्गठित भएर के काम भन्ने जस्ता ग्रसित मानसिकताका कारण प्रवासका असङ्ख्य युवाहरुलाई सामूहिक सचेतनाबाट विमुख गराउँदै, देश र समाजप्रतिको दायित्वबाट समेत पन्छाउँदै रहेको पाउँछौँ । युवाहरुमा केही सचेतना फैलाउँदै उनीहरुलाई कुलतबाट जोगाउन र देश समाजप्रति दायित्वबोध गराउनका लागि प्रयासरत जमातबाट युवाहरु एक कोस परै रहन खोज्नुले यो कुरा स्पष्ट पार्दछ– नेपाली युवाहरुलाई सचेत गराउँदै समाजप्रति दायित्वबोध गराउने कार्य अझै सहज छैन । जबसम्म युवाहरुले यी कुराहरुलाई स्वत:स्फूर्त रूपमा हृदयदेखि नै मनन गर्न सक्दैन, तबसम्म नै देशको राजनैतिक, सामाजिक लगायत हरेक क्षेत्रमा देखा परेको विकृति, विसङ्गतिलाई अन्त्य गरी समुन्नत समाज निर्माण गर्न गाह्रो हुन्छ, यद्यपि प्रवासमा आफ्ना निजी कामका बाबजुद पनि केही सचेत युवाहरु आम युवाशक्तिलाई सचेत र सङ्गठित गराउँदै समाज र देश बदल्ने अभियानमा निरन्तर लागी नै रहेका छन् ।
आज आम प्रवासी युवाहरुले बुझ्नु पर्ने कुरा यो हो कि दुई दिनको जिन्दगी हाासो–खुशी र मजामा नै बिताउनु पर्छ भनेर कुर्लिने र समाजको सबैभन्दा सचेत युवा वर्गको भूमिकाबाट नै टाढा रहने हो भने भोलि हाम्रो देश र समाजको अवस्था कस्तो रहला ? समुन्नत र सभ्य समाज कसरी निर्माण हुन सक्छ र ? राज्य संयन्त्र र राजनैतिक विसङ्गतिको अन्त्य कसरी गर्न सकिन्छ र ? आफ्नो सामाजिक दायित्वबाट पन्छिएर समाज र देशको विकास कसरी सम्भव हुन्छ ? तसर्थ, स्वदेश या विदेशमा रहेका आम युवाशक्ति अब सचेत हुने बेला आएको छ ।
करिब दुई दशक अघिदेखिको अवस्थालाई हेर्दा अधिकांश युवाहरुको उर्जाशील श्रमशक्ति विदेशी भूमिमा नै खर्चिने गरेको देखिन्छ । यी उर्जाशील श्रम, समय र शक्तिलाई स्वदेशमा नै लगानी गर्ने वातावरण बनाउन गम्भीर ध्यान पुर्याउनु आजको आवश्यकता हो, नत्र भावि अरू धेरै पुस्ताहरुको अवस्था पनि यही हुने छ । किनकि आफ्नो देश निर्माणमा जुट्नु पर्ने पौरखी हातहरु विदेशी भूमिमा नै खियाउनु पर्ने हुन्छ । त्यसको फलस्वरूप आफ्नो देशको अवस्था झन् झन् अन्धकार नै हुने छ । तसर्थ देशको सुनौलो भविष्य र स्वर्णिम युगको उदय आजका आम युवाहरुमा निर्भर हुने भएकाले आम युवाशक्तिहरु सचेत र सङ्गठित हुादै आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्न आजैदेखि दत्तचित्त भएर लाग्न अपरिहार्य भई सकेको छ ।
अविचलित रूपमा चेतना र जागरणको अनवरत यात्रा नै भविष्यको सफलताको संवाहक हुन्, समाज परिवर्तनको मार्गदर्शन हुन् भन्ने भावनालाई आत्मसात गर्दै अघि बढेका युवाहरुको महान् अभियानलाई आम प्रवासीहरुले सहयोग र समर्थन गरेमा समुन्नत समाज र देश निर्माणमा योगदान पुर्याउन सक्छ भन्नेमा कुनै दुई मत नहोला ।