नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनालले क्रान्ति बिना नेपाली जनताका समस्या समाधान हुन नसक्ने बताउनु भएको छ । खनालले समाजको नई दिल्ली नगर समितिद्वारा खेलिएको २०१८ को भैलो कार्यक्रम समिक्षा सहित समापन कार्यक्रमलाई सम्बोधनको क्रममा देशमा क्रान्ति सम्पन्न पार्नका लागि सचेत र संगठित जनशक्तिको आवश्यकता रहेको बताउनु भयो ।
भारत प्रवासमा विभिन्न खाले संघ संस्थाहरुमाथि धावा वोल्दै– एकता समाजको स्थापना पछि कैयौं संगठन निर्माण भए तर उनीहरुले नेपाली जनतालाई गुमराह मात्रै गराएको बताउनु भयो ।
“कैयौं संगठनका मातृ पार्टीहरुले पटकपटक सरकारको नेतृत्व समेत गरेका छन् । अहिले पनि दुइतिहाइ बहुमतको कम्युनिस्ट सरकार छ ।” खनालले भन्नु भयो– “तर जनतालाई सुशासनको अनुभुती भने पटकै भएको छैन । उल्टै महंगी, भ्रष्टाचार हत्याहिंसा बलात्कार जस्ता घटनाहरुको नियन्त्रण नहुँदा जनतामा विस्तृणा फैलिएको छ ।”
निर्वाचनको समयमा रोजगारको लागि विदेशमा जान नपर्ने र गएकोलाई फिर्ता गराउने प्रतिबद्धताको विपरीत सरकारले नयाँ नयाँ मुलुकसँग थप श्रमसम्झौता गरि युवाहरूको पलायनलाई बढावा दिएको सचिव खनालले बताउनु भयो ।
खनालले भन्नु भयो– “हामी प्रवासी नेपालीहरुलाई निराश बनाएको छ, यो अवस्थामा संगठनको कार्य मनोरञ्जनको लागि नभएर परिवर्तनको आवश्यक पुरा गर्नको हुनु पर्दछ ।”
मुक्ति भुसालको अध्यक्षता र शिव केसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सचिव ठाकुर खनाल, केन्द्रीय महिला बिभागकी शारदा पौडेल खनाल, क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे, क्षेत्रीय साँस्कृतिक बिभागका विजय खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ पश्चिमोत्तर क्षेत्रीय समितिका मदन भुसालको अतिथि आसनग्रहण पछि ज्ञात–अज्ञात सहिदहरुको सम्मानमा मौनधारण पछी कार्यक्रममा उपस्थित जनसमुदायलाई नगर अध्यक्ष बिन बहादुर केसीले स्वागत मन्तव्य दिनुभएको थियो ।
दिल्ली स्थित गैर राजनैतिकसंगठनका प्रतिनिधि, व्यापारी बुद्धिजीवी तथा समाजसेवी व्यक्तिहरुको समेत उपस्थित रहेको सो कार्यक्रममा नगर साँस्कृतिक बिभागका पहल सिंह परियार र नगर महिला विभाग अध्यक्ष सिता केसीले पनि बिचार राख्नु भएको थियोे ।
कार्यक्रममा उदयमान कलाकारहरुलाई पुरस्कार वितरण गरिएको थियोे भने भैलोको दौरानमा नियमित र अनुशासित रूपमा सहभागी भै अविभाकिय भुमिका निर्वाह गर्नु भए की प्रेमा केसीलाई शारदा पौडेल खनालले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।