क्यान्सरपछिको जीवन

0
288
  • नविन प्यासी

एक दिन मेरो छोरालाई लागोस् कि मेरी मामु क्यान्सर लागेर पनि जिन्दगीदेखि कहिल्यै निराश भइनन्:

विश्व स्वास्थ संगठनका अनुसार संसारभर सन् २०१८ मा मात्रै अनुमानित ९६ लाख मानिस क्यान्सरका कारण मर्दै छन् । हरेक ६ वटा मृत्युमध्ये एउटा क्यान्सरका कारण हुने गरेको छ । बिनु केसी (४४) । ३४ वर्षको उमेरमा उनलाई ब्रेस्ट क्यान्सर भएको पत्ता लाग्यो ।

जतिवेला उनको काखमा साढे तीन वर्षको छोरो थियो । बिनुले बाँचेको ३४ देखि ४१ सम्मको ७ वर्षको जिन्दगीभर वरिष्ठ कवि वैरागी काइँलाले भनेझैँ ‘जीवनको छेवै भएर सासैपिच्छे मृत्युु’ गइरहन्थ्यो ।

हरेकपटक मृत्युको पदचाप छेवैमा सुनेर बाँचेकी बिनुले त्यो कहालीलाग्दो र कर्कस जीवन सधैँ भोगिरहन परेन । बिनुको जीवनको आकाशमा बादल मात्र लागेका थिए, घाम अस्ताइसकेको थिएन, मात्र छेकिएको थियो । जून पनि अस्ताइसकेको थिएन ।

छोराले दूध खान छाडेको पाँच महिना भएको थियो । वेलावेलामा मात्र खान्थ्यो । कहिलेकाहीँ बिनु झसंग हुने गर्थिन् । केही भएजस्तो हुन्थ्यो । ‘कस्तो–कस्तो डर लाग्थ्यो । आफूलाई केही हुँदै छ भन्ने भान हुन्थ्यो,’ उनले सम्झिन् ।

मनलाई थामिरहन सकिनन् । डाक्टरकहाँ गइन् । उनलाई दूध सुकाउने औषधि दिइयो । तर, २० को १९ भएन । केही समय डाक्टरले अलमल्याइदिए, अथवा स्वयं डाक्टर नै अलमलिए । डाक्टरमाथि चित्त नबुझेपछि बिनुले ‘अर्काे ठाउँ रिफर गर्नुस् न !’ भनिन् ।

ती डाक्टरले रिसाउँदै ‘आइमाई भनेको गाइबस्तुजस्तै हो, कसैको दूध बढी आउँछ त कसैको कम आउँछ’ भनेर गाली गरे । बिनुको मन कटक्क खायो । केही जवाफ दिन सकिनन् । आँखाभरि आँसु पार्दै घर फर्किन् । डाक्टरको कुराले बिनुको दुखिरहेको छाती झनै चिरा पार्‍यो । बिनुको मनमा डरले झनै ठूलो खाडल खन्यो । 

‘क्यान्सर’ शब्द सुन्नासाथ भक्कानिन्थिन् । कता के हराएजस्तो, के गुमाएजस्तो लाग्थ्यो, बिनुलाई । तर, परिवारको प्रेम, हौसलाको सामु ‘नाथे क्यान्सर’ घुँडा टेक्न बाध्य भयो । र, बिनुले जीवनको अर्को अध्याय सुरु गर्न सकिन् ।

एक दिन बिनु बाथरुममा नुहाइरहेकी थिइन् । अचानक आफ्नो ब्रामा रगतको सानो तीन/चारा छिटा देखिन् । छिटा देखेर अचम्ममा परिन् । स्तनको मुन्टो निचोरिन् । ‘ओहो ! रगत पो आयो त ! एकैक्षण सासै रोकिएझैँ भयो,’ उनले त्यो क्षण याद गरिन् । के गर्ने, के नगर्ने सोच्नै सकिनन् । अत्तालिइन् ।

निकैै लामो समयदेखि बिनुको मनमा चलिरहेको डरको रेल झनै द्रुत गतिमा चल्न थाल्यो । त्यो कुरा श्रीमान्लाई सुनाइन् । हुन त बिनु सानैदेखि निडर स्वभावकी थिइन्, तर पनि यसपटक उनको मनमा डर निकै अग्लो भएर उभिएको थियो । ‘श्रीमान्ले डाक्टर प्रकाश सायमीलाई सम्पर्क गर्नुभयो । उहाँले क्यान्सर अस्पताल जान सुझाउनुभयो,’ बिनुले सम्हालिँदै भनिन् ।

उनको छातीभित्र चलिरहेको आतंकको हुरी सानोतिनो थिएन । त्यसले जीवनकै झुपडी मजाले उडाइदिन पनि सक्थ्यो । जब क्यान्सर नै हो भन्ने रिपोर्ट आयो, उनले सोचिन्, ‘म कस्तो छोटो जीवन लिएर आएकी रहिछु ।’ बच्चा सम्झिन्, जसले पाँच महिनाअघि मात्र दूध चुस्न छाडेको थियो, वेलावेलामा ‘मामु बुबु खान मन लाग्यो’ भन्थ्यो र चुस्थ्यो । एउटी आमाको ममताको हिमाल एकाएक पग्लियो । आंँखाहरू आँसुको आहालमा डुबे ।

बिनुसँग आफ्नै जीवनसम्बन्धी एउटा दर्शन थियो, ‘मैले कसैसँग हात थापेर नबाँचू, बरू दिएर बाँचू ।’ उनले छोरा सम्झिन्, जो बिनुको आधा सपना थियो । श्रीमान् सम्झिन्, जो बिनुको आधा यात्रा थियो । परिवार, आफन्त सम्झिइन्, जो बिनुको खुसीमा, पीडामा सधैँ साथी थिए । ‘त्यसपछि मलाई मृत्यु त्यस्तो ठूलो केही हो जस्तो लागेन,’ एक छिन मौन भएर उनले भनिन् ।

बिनुले ठमेलमा क्याफे सञ्चालन गरेकी थिइन् । क्याफे राम्रै चलेको थियो । बिनुका श्रीमान् पिएचडी गर्ने तरखरमा थिए । अचानक जिन्दगीमा आएको बदलावले बिनुलाई केही कमजोर बनाइदियो । नसोचेकै दुर्घटनामा पर्‍यो बिनुको जीवन ।

नेपाल क्यान्सर अस्पतालमा डाइग्नोसिस गराइन् । त्यतिवेलासम्म भारतमा उपचार गर्ने चाँजोपाँजो मिलाइसकेका रहेछन्, बुबा, दिदीबहिनी, सासू, नन्द, दाइलगायतले । बिनुले यसो भनिरहँदा उनका आँखाहरू थोरै रसाएका थिए, तर त्यो आँसु खुसीको थियो, प्रेमको थियो । त्यो आँसु परिवारलाई दिएको कृतज्ञताको जल थियो ।

दिल्लीको मूलचन्ददेखि मेदान्त अस्पतालसम्म लगातार सात वर्ष उनले किमो गराइन् । त्यो समयमा बिनुले यति हरेस खाएकी थिइन् कि कसैले ‘क्यान्सर’ शब्द उच्चारण नै नगरोस् भन्ने चाहन्थिन् । यो शब्द सुन्नासाथ उनी भक्कानिन्थिन् ।

कता के हराएजस्तो, के गुमाएजस्तो या ठूलै कुरा गुमाउछुजस्तो लाग्थ्यो, बिनुलाई । तर, परिवारको प्रेम, हौसलाको सामु ‘नाथे क्यान्सर’ घुँडा टेक्न बाध्य भयो । र बिनुले जीवनको अर्को अध्याय सुरु गर्न सकिन् ।

उनी घर फर्किन् । कपाल सबै झरेका थिए । नक्कली कपाल लगाएकी थिइन् । छातीमा आर्टिफिसियल कपास राखिएको थियो । दुवै स्तन काटेर फालिएको थियो । शिशिरमा बाँचिरहेको, तर हिउँले पुरेको धुपी सल्लोजस्तो एकदम निरस देखिन्थिन् ।

जब एअरपोर्टबाट बाहिर निस्किन्, छोराले नचिनेकोजस्तो गरी टोलाएर हेर्‍यो । त्यो पल बिनुको मन यसरी भाँचिएको थियो कि शब्दमा भन्नै सक्दिनन् । बिनु बोल्छिन्, ‘त्यतिवेला मलाई कस्तो नमीठो लागेको थियो । आफ्नै सन्तानले पनि आमालाई नै चिन्न सकेन ।’

घर आएपछि पनि उनी त्यही नक्कली कपाल लगाएर, छातीमा कपास राखेर बस्थिन् । एकदिन छोरा बिनुको सामुन्ने आएर ‘यो किन लगाएको मामु ?’ भन्दै कपालमा छोयो । फेरि भन्यो, ‘मलाई सबै थाहा छ मामु, तपाईंको कपाल छैन । मैले खाने गरेको बुबु पनि छैन ।’

छोराको यस्तो कुरा सुन्दा बिनुको मनमा पग्लिएको मातृत्व कुनै सिनेमामा देखाइने आमा–छोराको भावुक सिनभन्दा धेरै प्राकृतिक र कारुणिक थियो । बिनु सम्झिँदै भन्छिन्, ‘मलाई मेरो छोराले यसरी बुझिदिनु नै मेरो आधा बिरामी ठीक भएझैँ लागेको थियो ।’

अहिलेसम्म बिनुको १२ वटा ‘सिरियस’ अप्रेसन भइसक्यो । अन्य बिरामीका कारण ३ वटा त बिहेअघि नै भएको थियो । त्यही भएर पनि बिनुलाई हस्पिटल मन्दिरजस्तो लाग्छ । भन्छिन्, ‘म मन्दिर जाँदाभन्दा हस्पिटल जाँदा प्रार्थना गर्दै छातीमा हात राख्छु । हस्पिटलमा म मेरो आफ्नो ईश्वरलाई भेटाउँछु ।’

नेपाल फर्किएपछि उनी नेपाल क्यान्सर हस्पिटलसँग जोडिइन् । त्यतै क्यान्सर रोगीहरूसँग जोडिइन्। क्यान्सर लागेका मानिससँग बस्दा उनलाई अर्कै ऊर्जा पलाउँछ । फेरि समाजले क्यान्सर लागेकालाई हेर्ने दृष्टिकोण नै गलत भएका कारण पनि क्यान्सरबाट पुनर्जीवन पाएकाहरू देख्दा सबैभन्दा नजिकको मान्छे भेटेझैँ लाग्छ, बिनुलाई । भन्छिन्, ‘रोग त जसलाई पनि लाग्छ । जुनसुकै रोग उस्तै हुन्। क्यान्सर लागेका मात्र विचरा होइनन् ।’

कति क्यान्सरपीडित त यस्ता छन्, जसलाई घरपरिवार, समाज सबैले तिरस्कार गरेका छन्, तर उनीहरूले जीवनबाट हरेस खान नहुने बिनु सुझाउँछिन् । किनकि क्यान्सरले बोकेर आएको मृत्युुलाई धेरैले लोप्पा खुवाएका छन् ।

एक दिन बिनुको सामुन्ने उनको छोरा आएर भन्यो, ‘यो कपाल किन लगाएको मामु ?’ फेरि भन्यो, ‘मलाई सबै थाहा छ मामु, तपाईंको कपाल छैन । मैले खाने गरेको बुबु पनि छैन ।’ यो क्षण उनका लागि असाध्यै कारुणिक थियो ।’

त्यस्तै एकजना छिन्, जसले क्यान्सरलाई सदाका लागि बिदा दिएकी छिन् । उनी विवाहित थिइन्, छोरा थियो । विदेशमा नै बिहे भयो । जब नेपाल आइन् र भारतमा क्यान्सरको उपचार गरिन् । परिवार, श्रीमान् सबै टाढा भए । हस्पिटलबाट सयौँपटक फोन गर्दा फोन रिसिभ भएन ।

पछि त श्रीमान्ले विदेशमै अर्कै बिहे गरेका रहेछन् । अहिले उनी श्रीमान्कै घरमा बस्छिन् । छोरो हुर्किंदै छ । तर, परिवारले दिने मनोवैज्ञानिक दबाब सधैँ झेलिरहनुपर्छ । झनै कति त बिहेभन्दा अगाडि नै क्यान्सरको उपचार गरेको, तर त्यो कुरा समाजको डरले गोप्य नै राख्नेहरू पनि छन् ।

रोगको प्रकृति उस्तै हो । जुनसुकै रोग लागे पनि त्यसले मृत्युुको बाटोमा अग्रसर गराउँछ । फेरि क्यान्सर त्यस्तो ठूलो र डरलाग्दो रोग पनि नभएको बिनु बताउँछिन् । चौथो स्टेजमा पुगेका बिरामीहरू पनि जीवनतिर फर्किएका उदाहरण उनले भेटेकी छिन् ।

त्यसका लागि डाक्टरको उपचारको साथै परिवारको सहयोग, हौसला, प्रेम चाहिने बताउँछिन्, बिनु । भन्छिन्, ‘अप्रेसनले मात्र त केही पनि हुँदैन ।’ बिनु अझै थप्छिन्, ‘जसरी सानो बच्चालाई केयर गरेर युवा बनाउँछौँ, त्यसरी नै क्यान्सरबाट मुक्ति पाउनका लागि परिवारको साथ र हौसला पहिलो सर्त हो। अनि मात्र उपचार ।’

अहिले बिनु केसीलगायत क्यान्सरबाट पुनर्जीवन पाएकाहरूले नेपाल क्यान्सर सर्भाइभर (निकास) संस्था चलाइरहेका छन् । सातजनाको कोर टिम छ । त्यसैको एक सदस्य हुन्, बिनु केसी । जसले क्यान्सरका कारण जीवनको अर्काे यात्रा सुरु गरेकाहरूलाई साथ दिने गर्छ । प्रेम, हौसला र सहयोग प्रदान गर्ने गर्छ । अहिले त क्यान्सर रोगको उपचार नेपालमै हुन्छ ।

बिनु केसीलाई त्यस्तो ठूलै र महान् काम गर्नु त छैन, तर बिनु केसी को हो भनेर चिनाउने चाहना छ । सानैदेखि निडर, आफ्नो कमी–कमजोरी औँल्याइदिनेलाई सबैभन्दा ‘बेस्ट’ मान्ने बिनु केसी भन्छिन्, ‘एक दिन मेरो छोरालाई लागोस्, मेरी मामु क्यान्सर लागेर पनि जिन्दगीदेखि कहिल्यै निराश भइनन् ।’ अहिले बिनु केसीजस्ता क्यान्सरलाई जितेका हजारौँलाई लागिरहेको छ, कवि रमेश क्षितिजले भनेजसरी:
अहो ! थप्नु छ यहाँ उज्यालो
र कोर्नु छ जिन्दगीका अपूर्व रङहरू !

(नयाँ पत्रिकाबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here