को हुन् खस ?

0
2475
शशीधर भण्डारी 
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ । इतिहासकारहरूको अथक मेहनत खोज र अनुसन्धानले केही तत्थ्यहरूलाई हाम्राअगाडि ल्याएको छ । ती तथ्यहरू नै आज हाम्रो अतीतलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने ऐनाजस्ता भएका छन् । प्राज्ञिक मानव समुदायको चियागफमा प्राय यो भनाई एउटा कहावतका रुपमा लिने गरिन्छ : “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन, जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन” । यसले मानव जातिको व्यावहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाइ वा आँकलनभन्दा कठिन छ ।
मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ । इतिहासकारहरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् ।१ आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन । राज्य र त्यसका सीमाहरू पनि थिएनन् ।  मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे ।२ मानव जातिको विकासमा असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ ।३ पुरातत्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन् । ती हुन्– पाषण युग, कास्य युग र लौह युग । यो विभाजनलाई प्रयाप्त मानिँदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो ।४ पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन् । जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रिक, टाइग्रिस र युफ्रेटिस सभ्यता आदि पर्दछन् । ग्रीकबाट त आजको विश्व नै ऋणी छ । मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ ।५ यिनै मानव सभ्यताको विकासक्रमसँग राज्य साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ । यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेविलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ ।
कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन् ।६ पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रुपमा परिचित भइसकेको थियो । लगभग २९०० ई. पू. मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिले स्थापित गरेको सम्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए । यो १००० वर्ष ई.पू. को कुरा हो । त्यतिबेलाको प्रचलित हम्बुरावी कानुनमा “जस्तालाई त्यस्तै, खुनको बदला खुन”७ भन्ने विधानमा आधारित न्याय प्रणाली थियो । यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए । खसहरूको आक्रमण जारी रह्यो । सन् १७०० ई.पू. देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा विजय प्राप्त गरेका थिए । ई.पू. १७०० देखि ११५५सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तत्थ्यहरू पाइन्छन् । यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ । खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि । भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन् । खसहरू आर्य भएपनि वैदिक आर्य होइनन् ।८ यिनीहरू ईसापूर्व प्रथम शताब्दतिर भारत वर्षमा प्रवेश गरेका थिए र ईसाको पाँचौ शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए ।९ यो तत्थ्यले नेपालमा अहिले बाक्ला–बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै वस्तिमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन् । यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तत्थ्य प्रमाणहरूसित मेल खादैनन् । बाह्रौ शताव्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए ।१० पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौँ शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ  । नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए । पृथ्वी मल्लको राज्यकाल (वि.स. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ ।११ पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.स. १४३५–४६) पछि बिलायो ।१२ यसरी ई.पू. प्रथम शताव्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँुदै भारतवर्ष छिरेका र ईसाको पाँचौँ शताब्दीतिर कश्मीरबाट पहाडको कछाडै–कछाड कमाउँ गढवाल हँुदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य बिलाए तापनि नेपालमा हजारौँ वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ । खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट उत्पत्ति भएका छन् ।

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू

जस्तै† अधिकारी : दशको हाकिम
कार्की : राजस्व अधिकृत
भट्ट : राज पुरोहित वा धर्माधिकारी
भण्डारी : राजकीय कोषको प्रमुख
लेखक : लेखक
महतरा : ग्राम प्रमुख
रोकाया : महतराको सहयोगी
थापा : सैनिक दर्जा
खड्का :सैनिक दर्जा
राना : सैनिक दर्जा
बुढा : सैनिक दर्जा
बुढाथोकी : सैनिक दर्जा

कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

…………………………….
खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृश्यमा खसहरू यहाँका आदिवासी नभएपनि पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने  आधार देखिदैन । पुराणहरूमा नेपाललाई जम्मुद्विप भनिएको छ । नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रुपमा प्रचलित छ । किराँत राजाले कुरुक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन् । महाभारतका एकजना पात्र दुर्योधनले आफू खस भएकोमा गौरव गर्दथे । पाण्डवहरू विराटनगरमा विराट राजा कहाँ १ वर्ष गुप्तवास बसेका थिए । विराटनगर विराट राजाका नामले नै विराटनगर नाम रहेको हो भन्ने श्रुती पनि छ । खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् । जस्तै† पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर१३ आदि सम्पूर्ण त्यसमा पर्दछन् । वर्तमान कुमाउँ मण्डल खस मा (कस्साइट) बताइँने पश्चिम एसियाई पर्वतीय जातीको विशाल लीला क्षेत्रको पूर्वी भाग थियो ।१४ अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ । जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ । यस्तै कस्स जातिको उपनिवेश कस्सीर कालान्तरमा कश्मीर बन्न गयो । बैदिक साहित्यमा यो जातिलाई काश भनिन्थ्यो । असुरहरूसित रक्त मिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो । रामायण महाभारतलगायतका हिन्दू पुराणहरूमा यो जातिलाई खस या कस भनिएको छ । मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ । कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरूले खसहरूको संस्कार र भाषा खस कुरालाई आत्मसाथ गरे । उन्नाइसौँ शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधाभन्दा धेरै जनसङ्ख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे ।१५ इतिहासमा एउटा प्रभावशाली जातिका रुपमा रहेको खस जातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाइँदैन । यहसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुदै गएको थियो ।१६ यसबाट के देखिन्छ भने यो जाति आÇनो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाइँदैन । यो जातिले हिन्दुकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमश: छोड्दै गएको पाइन्छ । यसको निवास्थान कहाँ हो ? यी आज कहाँका रैथाने मानिन्छन् त ? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्यानुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य क्षेत्री जाति१७ भन्ने उल्लेख छ । यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ । धर्म, सम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरूको संस्कृतिसँग घुलमिल भई जनजातिका कैयौँ संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन । यहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको बर्णाश्रम धर्मलाई समयको गतिसँगै तीब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ ।

नेपाली खस

भारतवर्षमा प्रवेश गरेपछि वैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि बर्ण व्यवस्थातर्फ आकर्षित भए । प्राचीन खसहरू ब्राम्हण बन्ने प्रक्रिया प्राचीन पौराणिक कालमा मात्र सीमित भयो । मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने । खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ । तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भनिन्छन् । खस आगमनपहिले भारतीय मैदानी भागबाट आएका ब्रामण र राजपुत आ–आÇना समकक्षीसँग घुलमेल भएर बसेका हुन् ।१८ खस आगमनपहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो । अहिलेको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए । मगरातमा मगर मुखियाको शासन थियो । गण्डकी प्रदेशको उत्तरी भागमा गुरु· जातिका कविला राज्यहरू थिए । कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता र खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो । जुम्लाको सिञ्जालाई राजधानी बनाई त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हँुदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाइ खस भन्ने प्रचलन अहिले पनि छ । जस्तै† उदाहरणका लागि पर्साइ, सिटौला, ओली,कुमाई हुन् भने रिजाल, भण्डारी, पण्डित आदि जुम्ली हुन् । खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ ।

खस र किराँत

खस र किराँत दुई भिन्न रगत होइनन् । ती दुवै एकै किङिगज (किर र काशी) महाजातिका दुई साखा हुन् । किराँतहरूभित्र लासा गोत्रका लेम्मु (लेय आझ अर्थात् सौहिक मूलका लिम्बुका पूर्वज) ले प्रवेश गर्नुभन्दा पहिले किराँतको काशी गोत्र थियो । मध्य एसियाको किङिगज किर (किराँत) र गिज (काशी) को साभा विभेद विन्दु हो । त्यहाँबाट विभक्त हुनु पूर्व ती दुवै एक थिए ।१९

खस र लाङ्घालीहरू

खस जातिको प्राचीन इतिहासलाई हेर्दा खस र लाङ्घालीहरू (मगर आदि) को सम्बन्ध पनि अनादीकालिन बन्धकका रुपमा देखिन्छ । अहिले हस्तिहरूको उत्थानको युगमा अनेकौँ काशी (खस) हरू गज (नाग अथवा ला·ा) मा परिणत भएका थिए । आदित्य मित्तानी युगमा खस (गज) हरू पृथ्वीका सबै दिशामा दिग्गजका रुपमा तैनाथ भएका थिए । पछि नेपालका कैयौँ लाङ्घाली जाति खस जातिमा प्रवेश गरेका थिए । नेपालका खसको बिहेमा मगर नास्ती र मगरको बिहेमा खस नास्ती भन्ने प्रचलन छ । यो प्रचलन असाध्यै पुरानो प्रचलन हो । यसले खस र लाङघाली (मगर आदि) का बीचमा असाध्यै लामो सामाजिक सम्बन्ध भएको देखाउँछ । पराक्रमको आधारमा कतिपय लाङ्घालीहरू खसमा रुपान्तरण भएको र कतिपय खसहरू लाङ्घालीमा रुपान्तरण भएका प्रशस्त ऐतिहासिक तथ्यहरू र जनश्रुति पाइन्छन् ।  अहिले हामीले नेपाली समाजमा खस बाहुन र लाङ्घालीहरूका थरमा पनि समानता पाउँछौं । जस्तै† बराल, थापा, खड्का, लामिछाने, बुढाथोकी, भण्डारी आदि लाङ्घाली र खस दुवै जातिका थर हुन् । जनश्रुतीलाई मान्ने हो भने त बुढाथोकी मगरहरूले अझै पनि कहिँ–कहिँ आफुलाई खसको सन्तान भन्न हिच्किचाउदैनन् । बालकृष्ण पोख्रेलका अनुसार मगर र खसको नाता धेरै सन्निकट छ । आज केही खसहरूलाई पावइ अर्थात् मतवाली क्षेत्रीका रुपमा पाउँदा र उहिले केही मगरहरूलाई राजसि (ब्राम्हण, नरेस) का रुपमा पाउँदा सन्निकटताको यो पक्ष प्रष्टिएर आउँछ ।

खस र त·गण

स्थुलरुपमा तामाङ (त·ण) अथवा अस्वगणभित्र नेवार, तामाङ, थारू, गुरु· र थकालीलाई पाउँछौँ । उहिले केही काशी खसहरूले पनि अस्वगणभित्र प्रवेश गरेका थिए भन्ने कुरा घोडाबाजी फ्रान्सेली शब्द गाजी (तुलनीय संस्कृत बाजी) ले पनि प्रदान गर्दछ । यसबारे पहिलो भागको सातौँ अध्यायमा विशेषरुपले भनिएको छ । केही खसहरू (चन, थकाली, अधिकांश नेवार देउभाजु आदि ) ले त·ण समाजमा प्रवेश गरेका छन् । लाखे थरका नेवाहरू लाङ्घाली मूलका ठहरिनु सम्भव भए झै बैद्य थरका नेवारहरू विशुद्र तमुगण मूलका ठहरिनु सम्भव छ । भन्नाले तङगण समूहका नेपाली र खसहरूका बीचमा पनि रगतको दोहोरो आदान–प्रदान भएको छ ।२२ यसबाट के देखिन्छ भने आर्यरुपी खस जाति र मङ्गोलियनका बीचमा रक्तसम्बन्धमात्र होइन, जातीय समागम भएको पनि देखिन्छ । केही किराँतहरूले अहिले पनि आफूहरूलाई तागाधारी वा जनै लगाउँने जातिका रुपमा दावी गर्दैछन् । जनै लगाउन पनि थालेका छन् । बरु संस्कृति र परम्परामा त्यति कट्टर नभएको खसले जनै लगाउँने परम्परालाई विस्तारै छोड्दै गएको देखिन्छ ।

खस भाषा

बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देवदेवीका नाम जानकारीमा आएको बताइएको छ । कस अर्थात् खसहरू बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ । ख्यातिप्राप्त भाषा शास्त्री जि.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन् । पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिइएको छ । खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो । पछि गएर सबै बाहिसे र अधिकांश चौबिसे राज्यको राज्य भाषा नेपाली हुन गयो । यो २२ खस वा नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषाभित्र पर्दछ । यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ । आज हामीले नेपाली भाषाका रुपमा बोलिँने खस भाषा यही अवस्थामा थिएन । साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हँुदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाट फैलिँदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ । विकास भएको र सजिलो भाषा हँुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुँनाले पनि यो भाषालाई अन्य भाषाभाषीहरूले ग्रहण गरेको र विस्तार भएको देखिन्छ ।  २०५८ को जनगणनानुसार ४८.६१ प्रतिशत नेपाली जनताले आÇनो मातृभाषा नेपाली बताएका छन् । अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन् । यसबाट नेपाली या खस भाषा देशका बहुसङ्ख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रुपमा स्थापित भएको छ । जसरी संस्कृत भाषालाई स्थापित गराउँने राज्य तहबाटै जोड दिइरहँदा पनि संस्कृत भाषा जटिल भएको कारणले जनजिब्रोमा स्थापित हुन सकेन । नेपाली या खस भाषा विस्तार वा स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका साथ–साथै भाषामा रहेको सरलता पनि हो ।

नेपालको खस अङ्ग

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक ,बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । नेपाली समाजका विविध अङ्गहरू छन् । जस्तै† लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झै, लाङ्घालीहरू, नेवार, तामा·, गुरुङ र थारू झै त·णहरू केही हिमाली, राव, तराइलीहरू । यी अनेकौं अङ्गहरूमध्ये खस नामक अङ्गले पनि नेपाली हुँनुमा गौरव मान्दै आएको छ ।२४ नेपालको एकीकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा नेपालको इतिहासमा खस जातिले बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएको छ । नेपालको वर्गीय मुक्ति र सामाजिक मुक्ति आन्दोलनमा पनि खस जाति महत्वपूर्ण भूमिकामा रहेको देखिन्छ । वर्गीय समाजमा यो जाति इतिहासको शासक मात्र होइन, शासित र उत्पीडित रैतीका रुपमा पनि रहँदै आएको छ ।

सामाजिक इतिहासमा खस

माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर वैदिक आर्य होइनन् । एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो । राजा भारदार र सामान्य प्रजासमेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे ।२५ तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढावालका हिन्दूहरूका अगाडि खसहरूले आफुलाई शङ्करका भक्तका रुपमा उभ्याउँथे । खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन । त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ । कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्कारमा समेत उदार हुनाले कुमाउँ गढवाल हुँदै नेपाल पसेको खस जातिले नेपालमा प्रचलित रहेका मङ्गोलियन वा जनजातिका संस्कारहरूलाई पनि सहजै अवलम्बन गर्न पुग्यो । उदाहरणका लागि नेपालका मङ्गोलियनहरूलाई दशै पर्व मान्न सिकायो भने मङ्गोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैमा टिकाका रुपमा अुनसरण गर्‍यो । अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समयसापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ ।
प्रागऐतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो । नेपालका आर्य खस र मङ्गोल दुवै बाहिरबाट आएर बसेका जाति हुन । मङ्गोलियन जातिको नेपाल प्रवेश मुख्यत: उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए । यी मुख्य जातिबाहेक अन्य जातिको अस्तित्व भएतापनि नेपाली समाजको मुख्य धारा निर्माणमा यी दुई मुख्य जातिको भूमिका रहेको देखिन्छ । यी दुई जातिमध्ये नेपालमा मङ्गोलियन जातिको प्रवेश पहिले भएको देखिन्छ ।२६ सांस्कृतिक हिसाबले हेर्दा नेपाली संस्कृति मङ्गोलियन र खस आर्यहरूको मिश्रित संस्कृतिको प्रतिमानका रुपमा उभिएको देखिन्छ । नेपाली संस्कृति कुनै जातिको एक्लो संस्कृति होइन । विश्वका अन्य देशहरूमा जस्तो नयाँ जातिको प्रवेशले सङ्घर्ष तथा एक जातिको प्रवेशले अर्को जातिको सङ्घर्ष नेपालमा भएन ।२७ नेपालमा पहिले प्रवेश गरेका मङ्गोलियनहरूले पूर्वी नेपालमा खसहरूको आगमनलाई खतरामा रुपमा हेरेनन् । खसहरूले पनि मङ्गोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन् । यहाँका आदिवासी, आर्य र मङ्गोलियनका बीचमा ठूलो मात्रामा जातीय सङ्घर्ष भएन । दुवै जातिले प्रारम्भकालदेखि नै एक–अर्काको अस्तित्व स्वीकार्दै मेलमिलाप गरेर बसेको देखिन्छ ।२८ नेपालका यी जातिहरूका बीचमा र अन्य जातिका बीचमा पनि सांस्कृतिक आदान–प्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहदै आएको छ । नेपालको सामाजिक इतिहासमा यो सांस्कृतिक व्यावहारिक तथा मनोवैज्ञानिक सङ्गमलाई नेपाली सामाजिक सभ्यताका रुपमा अरूले पनि मूल्याङ्कन गर्ने गरेका छन् ।
सन्दर्भ साम्रगी
१. प्रो. अ.ज. मानफ्रेद, सङ्क्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११
२. ऐ…
३.राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद १ आठवाँ संस्करण १९९३, पृष्ठ ११
४.प्रो. अ.ज. मानफ्रेद माथि उल्लेखित पादटिप्पणी पृष्ठ ऐ
५. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसार का इतिहास, युरोसिया पब्लिसिङ हाउस प्रा.लि., रामनगर, नई दिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६
६. प्रा. डा. सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौँ, प्रथम संस्करण, २०६१ पृष्ठ १९५
७. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पादटिप्पणी, पृष्ठ ४६/४७
८. प्रा. डा.सूर्यमणि अधिकारी, माथि उल्लेखित पादटिप्पणी
९. ऐ…
१०.ऐ…
११. ऐ…
१२.ऐ…
१३. यमुनादत्त वैष्णव, ‘अशोक’ कुमाउँका इतिहास ‘खस (कस्साइट) जाति के परिप्रेक्ष्य मे’, मोडर्न बुक स्टोर्स, नैनिताल, १९७७ पृष्ठ १८३
१४.ऐ…प्रस्तावना (निवेदन)
१५.ऐ…
१६. ऐ…
१७. ऐ…
१८. प्रा. डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पादटिप्पणी, पृष्ठ १९६
१९. बालकृष्ण पोख्रेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, विराटनगर, २०६५ पृष्ठ ६३४
२०. ऐ…
२१. ऐ…
२२. ऐ…
२३. प्रा. डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पादटिप्पणी, पृष्ठ १९९
२४. बालकृष्ण पोख्रेल, माथि उल्लेखित पादटिप्पणी, पृष्ठ १६३
२५.प्रा. डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पादटिप्पणी, पृष्ठ १९७
२६. प्रा. डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनीतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १
२७. ऐ…
२८. ऐ…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here