को थिए, मगर आदिकवि जीतबहादुर सिंजाली मगर ?

0
525

खोमा तरामु मगर

दरभंगा प्लेनममा भाग लिएर नेपाल फर्किएपछि उनी पंचायतको दवदवाका कारण कम्युनिष्ट राजनीतिमा सोचेजस्तो सक्रिय हुन सकेनन् । उनी मगर भाषामा साहित्य लेखन र अध्ययनमा बढी चिन्तन गर्न थाले । २०३६ सालतिर पंचायत विरुद्ध आन्दोलन चर्किदै गएपछि उनी पनि क्रमशः सक्रिय हुन थाले । पुष्पलालसंगको गहिरो राजनैतिक सम्बन्धका कारण जनमत संग्रहको बेलामा साहना प्रधान आदिकवि जीतबहादुर सिंजाली मगरको घर खोज्दै स्याङ्जा पुगेका थिए ।

जीवनमा मान्छेहरु जति गर्छन् त्यो भन्दा सयौं गुणा आफ्नो ब्याज खोज्छन्, सिंगो समुन्द्रै पिइदिन खोज्छन् । तर मान्छेहरु यस्ता पनि हुन्छन् जो निरपेक्ष पसिनाको खेती गर्छन् र आँसुको फसल काट्छन् । सट्टामा केही माग्दैनन् मात्रै उन्मुक्त समाजको सपना पाल्छन् र यसैको निम्ति थालिएको परिवर्तनको महायज्ञमा होमिन्छन् । तिनै मध्ये पर्छन् मगर आदिकवि जीतबहादुर सिंजाली मगर ।

२०१७ सालमा मगर भाषाक सुरुवौ किताब र मगराती भाषाङ ल्हिङ टुक्कावौं किताव (२०१९) प्रकाशित गरेर मगरभाषा साहित्यमा कलम चलाएका आदिकवि सिंजाली मगर आखिर किन लेख्छन् ? लेख्नका लागि मात्रै कि जिउनका लागि ? हो, मगर आदिकवि जीतबहादुरले वरण गरेको काव्य–आस्था उध्र्वमुखी एउटा निश्चित आन्दोलनको पृष्ठभूमिमा उभिएको छ, त्यो हो– मगर आन्दोलन । त्यही आस्थाको जल सिचिंत गरेर सजाइएको उनको सुन्दर काव्यिक बगैचा हाम्रो सामु साक्षी छ ।

जन्म र शिक्षादिक्षा :-

१९८८ जेठ १८ गते विहीवार, गुल्मी जिल्लाको सुदूर गाउँ ठूलो लुम्पेक गाविसको गेझामा रहेको मावली घरमा जन्मिएका हुन् उनी । त्यतिवेला उनको स्थायी ठेगाना स्याङ्जाको आलमदेवी गाविसको कोटाकोटमा थियो । उनका बुवा प्रेमबहादुर सिंजाली मगर जैसी विद्या जानेका थिए । बुवाको ३६ बर्षकै उमेरमा पेटको रोगका कारण मृत्यु भएपछि आदिकवि सिंजाली मगरले जीवनमा कठिन संघर्ष गर्नुपर्यो । समयको प्रतिकूलताका बावजुद पनि आदिकवि सिंजाली मगरले शिक्षामा जोड दिए । गोरखा २ नम्बरबाट कक्षा ८ उत्तीर्ण गरी काठमाडौं हानिएका सिंजाली मगर रानीपोखरीमा रहेको दरवार हाइस्कूलबाट २०१७ सालतिरै ९ कक्षा हुदै एसएलसी उत्तीर्ण गरे । त्यसपछि तत्कालीन नेशनल कलेजबाट अंग्रेजी बिषयमा २०२१ सालमा आइए उत्तीर्ण गरेका थिए ।

साहित्य लेखनमा आदिकवि :-

गुल्मी भार्सेका भीमबहादुर बुढाथोकी र ढलकप्रताप राना आदिसंग मिलेर मगर समाज सुधार संघ खोले २०१२ सालमा । जसको संस्थापक सचिब भए उनी । सो संस्थाको मुख्य उद्देश्य मगर जातिलाई गोलबन्द गर्नु र समयानुकूल अगाडी बढाउनु थियो । यसमा मातृभाषाको विकास, संरक्षण गरि साहित्य सिर्जनामार्फत चेतना जगाउने जिम्मेवारी उनैलाई दिईएको थियो । उनको यो संस्थागत रुपमा मातृभाषा साहित्यको लेखन, अध्ययन र चिन्तन गर्ने सुरुवात थियो ।
उनको मगर मातृभाषाको साहित्य लेखन २०१२ सालको सेरोफेरोबाट गरेको देखिन्छ । कृतिगत रुपमा २०१७ सालमा मगर भाषाक सुरुवौ किताब र मगराती भाषाङ ल्हिङ टुक्कावौं किताव (२०१९) लेखेर उनले आफूलाई मगराती साहित्यको आदिकविको रुपमा परिचित गराउन सफल भएका छन् । मगर भाषामा लेखिएको यो पहिलो कृति हो । उक्त किताव २७ पेजमा फैलिएको छ भने मातृभूमि प्रेस घण्टाघर काठमाडौंले मुद्रण गरेकोे लेखिएको छ । आदिकवि जीतबहादुर सिंजाली मगरको योगदान, व्यक्तित्व र कृतित्वका बिषयमा मगरभाषाका अध्येता लोकबहादुर थापा मगरले २०४७ सालमै उनको जीवनीमा आधारित पुस्तक नै लेखेर प्रकाशित गरेका छन् ।

आदिकविको भूमिगत जीवन :-

२०१५÷१६ सालतिर मगर आदिकवि जीतबहादुर सिंजाली मगर टी.बी रोगबाट ग्रसित भए । त्यतिबेला सरकारले टी.बी. रोग लागेका विरामीलाई कोटा सिस्टममा चाइनिज दुतावासमार्फत उपचारका लागि चीन पठाउने गर्दथ्यो । उनी पनि उपचारका लागि चीन जाने भनेर घरमा बाँकी रहेको पाखो बारी बेचेर काठमाडौ पुगे । उनी काठमाडौं त पुगे, तर उनको कोटामा अर्के अफ्रिकी मान्छेलाई पठाइदिएछ चाइनिज दुतावासले । उनी उपचार गर्न जानबाट बञ्चित भएपछि खिन्न भए । त्यही बचेको रुपैयाँले उनले २ वटा मगर भाषामा लेखिएको कविता संग्रह छापे । त्यसपछि काठमाडौंमा उपचार गराउदै उनले किर्तिपुरमा अंग्रेजी शिक्षक भएर पढाउन थालेका रहेछन् झण्डै दुई बर्षसम्म ।

उनी नुवाकोट पश्चिम १ नम्बरमा गएर शिक्षण गर्न थाले । त्यही समय उनले मिलीजुली विवाह गरे र २ छोरा र १ छोरी पनि भयो । नुवाकोटबाट फर्केपछि उनी आफ्नो जन्मथलो स्याङ्जा फर्किएनन् किनकी घरका कोही थिएनन् । आमाबुवाको मृत्युपछि एक्लै भएका कवि जीतबहादुर सिंजाली मगर विवाहपछि पनि एक्लै बन्न पुगे । त्यसैले उनी त्रिशुलीमा आएर केही समय शिक्षण गर्न थाले । त्यहाँ पनि उनी बस्न नसकेपछि शिक्षण पेशाकै सिलसिलामा नवलपरासी, प्यूठान, अर्घाखाँची, दाङ हुदै रोल्पाको ओनाफे गाउँसम्म पुगे २०२४ सालसम्म आइपुग्दा । रोल्पामा अध्यापन गर्ने क्रमा पूर्वसांसद बर्मन बुढा मगरसंग पनि उनको बसाई र चिनापर्ची भएको रहेछ । उनले जहाँ–जहाँ स्कूल स्थापना गरेर पढाए, त्यहाँ सबै स्कूलहरु अहिले क्याम्पसस्तरमा विकास भइसकेको उनी बताउँछन् ।

२०२७ सालमा रोल्पाको कुरेलीका धनसिंह मुखियासंग दाङ देउखुरीको नाकामा सुकुम्बासी वस्ती बसालेर बसाई सरेपछि आदिकवि सिंजाली मगरले सदाका लागि शिक्षण पेशा छाडे । शिक्षण अध्यापनको यो लामो समयसम्म उनले आफ्नो परिवार, समाज, जाति, सबैलाई भुले । मगर जाति वा संघसंस्थाहरुबाट उनी पुरै ओझेलिए । एक किसिमले उनी भूमिगत जस्तै जीवन विताए । करिब चार दशक लामो समय राजनीतिक, सामाजिक संघसंस्थाहरुबाट ओझिलिनु पर्नाको कारणबारे उनी भन्छन्– “स्वभावले म एकान्तप्रेमी छु । अध्यापन पेशामा लागेपछि र दाङ्को देउखुरीमा सुकुम्बासी बस्तीहरुको सेवामा लाग्दालाग्दै मैले आफ्नो जाति र समाजलाई भुलेजस्तै भयो । काम गर्दै जाँदा फुर्सदै भएन ।”

कुचो बाजे र मास्तरजी :-

छिया–छिया र कलेटी परेको, फाटेर टालेको लुगा लगाएका, थोत्रा झोला, झोलामा फाट्दा आफै सिलाउनका लागि सियो धागो, फाटेको चप्पल, पुरानो ढाकाटोपी र कुटेलौरो टेकेर टुकुरटुकुर हिडिरहने पैदल यात्री –उनको यो बर्षौदेखिको हुलिया हो । देख्दा अत्यन्त दयनीय रुपमा देखिइने र हिडिरहने मगर आदिकविलाई धेरै ठाउँमा ‘चोर’ ठानेर सबै गाउँलेहरु मिलेर पक्राउ गरि प्रहरी चौकीमा बुझाइदिएको समेत सत्य घटनाहरु घटे उनका जीवनमा ।

दाङ जिल्लाको देउखुरी लगायतका आसपासका क्षेत्रहरुमा उनलाई ‘मास्तरजी’ अर्थात् ‘थापा सर’ वा ‘कुचो बाजे’ आदि भनेर चिन्दा रहेछन् । भारतीय सीमा नजिक सुकुम्बासी बस्तीमा बसेर उनी जंगलबाट कुचो बटुलेर बेच्ने गर्दा रहेछन् । यसरी उनलाई कतिपय ठाउँमा ‘झाडुबाजे’ पनि भन्दा रहेछन् । पश्चिम नेपालका कृष्णनगर, भालुवाङ, देउखुरी, लमही, रिहार, कोहलपुर, नेपालगञ्ज, घोराही, तुल्सीपुर लगायतका ठाउँहरुमा उनले जीवन निर्वाहका लागि कुचो बिक्री गर्दा रहेछन् । यही कुचो बेचेर नै उनले जीवनको पछिल्लो धेरै समय बिताएका रहेछन् । झण्डै डेढ दशक सम्मको लामो शिक्षण पेशा र उनको बौद्धिकताका कारण उनलाई मास्तरजी अर्थात् थापा सर भनेर पनि परिचित रहेछन् ।

बेपत्तापछिको पदार्पण :-

मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगरले लामो समयसम्म भूमिगत जीवन बिताएका छन् । बुढेसकालको सहारा, घरखेती स्याहार्ने कोही नभएकाले ३८ बर्षपछि आफूलाई माया गर्ने बहिनी कालीको हातबाट टिका लगाउने, दुःख पाएको भए आफूसंगै लिएर फर्कने सोचका साथ २०६३ कार्तिक १० गते अर्थात् तिहारअघि सधैको पुरानै हुलियामा उनी जन्मथलो गुल्मी जिल्लाको ठूलो ल्हुम्पेक पुगेका थिए । बहिनी कालीको घरमा पुग्नुअघि नै छिमेकी घरमा बहिनी कालीबारे सोधपुछ गर्दा २ बर्ष पहिले नै मृत्यु भएको कुरा थाहा पाएपछि मर्माहत बनेर ढल्दै गरेको साँझपख उनी कसैलाई जानकारी नदिई फर्किन खोजेका थिए । स्थानीय रुकबहादुर राना मगर (तत्काली नेपाल मगर बिद्यार्थी संघ,तानसेन बहुमुखी क्याम्पसका अध्यक्ष) ले दयनीय अवस्थाको एक्लो बुढो मान्छे देखेर सोधिखोजी गर्दा उनी मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर भएको पुष्टि भएको थियो । त्यसपछि अर्कोदिन उनी भेटिएको सूचना काठमाडौं, बुटवल लगायत देशभर सम्प्रेषण भएपछि सबैलाई आश्चर्य र रोमाञ्चित बनाएको थियो र स्थानीय ठूलो लुम्पेक मगर संघद्धारा अभिनन्दन गर्दै बाजागाजा सहित उनको पुख्र्यौली घर स्याङ्जाको कोटाकोट पु¥याइएको थियो । चार दशक लामो समयसम्म हराइरहेका मगर आदिकवि जीतबहादुर सिंजाली मगरको यो ‘बेपत्तापछिको पदार्पण’ थियो ।

कम्युनिष्ट बनेछन् आदिकवि :-

मगर आदिकवि जीतबहादुर सिंजाली मगर राजनीतितर्फ आकर्षित हुनुअघि पञ्चायती कालमा राजा महेन्द्र स्याङ्जाको बलाम सवारी हुने कार्यक्रम रहेछ । उक्त कार्यक्रममा राजा महेन्द्रलाई उनले आफ्नो गाउँ र घरसम्म लैजाने वन्दोवस्त गरेका रहेछन् । त्यतिवेला त्यहाँका टाठाबाठा र प्रशासनको मिलेमतोमा राजा महेन्द्रलाई बलाम सवारी नगराई रानीघाटको बाटो हुदै पाल्पा पु¥याएपछि राजतन्त्रप्रति उनको झुकाव घट्यो र विस्तारै राजनीतितर्फ लागेका रहेछन् । त्यसपछि मगर आदिकवि जीतबहादुर सिंजाली मगर मातृभाषाको साहित्य लेखन वा चिन्तनका साथसाथै वामपन्थी चिन्तनबाट समेत प्रभावित हुदै गए । उनी काठमाडौं छँदा २०१५/०१६ सालतिरै भोटाहिटी स्थित निरञ्जनगोविन्द बैद्यको पुस्तक पसलमा गएर रसियन र चिनियाँ साहित्यिक पुस्तकहरु किनेर पढ्न थाले । यसले उनलाई बामपन्थी राजनीतिसंग नजिक बनायो ।

काठमाडौंमा क्याम्पस पढ्दा प्रयागलाल श्रेष्ठ भन्ने साथीसंग भेट भयो । प्रयागलाल श्रेष्ठले उनलाई पुष्पलाल श्रेष्ठसंग भेट गराए । पुष्पलालसंगको भेटपछि उनी कम्युनिष्ट विचार र दर्शनबाट थप प्रभावित भए । त्यसपछि उनी कम्युनिष्टहरुको जुलुस, भाषण, विचारबाट प्रभावित भएपछि उनी अन्ततः कम्युनिष्ट नै बने । त्यसअघि नै उनी ६ महिना जेल बसिसकेका थिए । पुष्पलाल, तुल्सीलाल, एकदेव आले मगर लगायत नेताहरुसंग उनको क्रमशः भेटघाट बाक्लिदै गयो । यो क्रम चल्दै गएपछि उनी पुष्पलाल लगायत नेता कार्यकर्ताहरुसंगै भारतमा भएको चर्चित ‘दरभंगा प्लेनम’ मा प्रतिनिधित्व गरे । त्यस समय केशरजंग रायमाझी नेकपाका महासचिब थिए ।

दरभंगा प्लेनममा भाग लिएर नेपाल फर्किएपछि उनी पंचायतको दवदवाका कारण कम्युनिष्ट राजनीतिमा सोचेजस्तो सक्रिय हुन सकेनन् । उनी मगर भाषामा साहित्य लेखन र अध्ययनमा बढी चिन्तन गर्न थाले । २०३६ सालतिर पंचायत विरुद्ध आन्दोलन चर्किदै गएपछि उनी पनि क्रमशः सक्रिय हुन थाले । पुष्पलालसंगको गहिरो राजनैतिक सम्बन्धका कारण जनमत संग्रहको बेलामा साहना प्रधान आदिकवि जीतबहादुर सिंजाली मगरको घर खोज्दै स्याङ्जा पुगेका थिए । २०५४ सालको स्थानीय चुनावमा उनी एमालेको तर्फबाट दाङ राजपुर गाविस अध्यक्षको उम्मेदवार बने र २०५६ सालको संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार भई चुनाव लडे । कांगे्रसका खुमबहादुर खड्काका विरुद्ध चुनाव लडेका उनी पराजित भएका थिए ।

नाटककार बालकृष्ण समसंगको भेट

गुल्मी भार्सेका भीमबहादुर बुढाथोकी मगर आदिकवि जीतबहादुर सिंजाली मगरका फुपाजु पर्थे । उनीसंगै एकदिन एकेडेमी गएका थिए उनी । त्यसको प्रमुख कारण थियो कवि एवं नाटककार बालकृष्ण समलाई भेट्नुपर्ने । उनले समबाट आफूले लेखेको मगर भाषाको शब्दकोश छाप्ने आश्वासन समेत पाएका थिए तर त्यो छापिएन । उनले पछि त्यसलाई जस्ताको तस्तै फिर्ता गरे । त्यसपछि भने उनी कहिल्यै एकेडेमी गएनन् । यो प्रसंग करिब २०१२/१३ सालतिरको हो । आफ्नो मातृभाषा मगरदेखि नेपाली, अंग्रेजी, बङ्गाली, संस्कृत र हिन्दी भाषा समेत जानेका मगर आदिकवि जीतबहादुर सिंजाली मगर सानै उमेरदेखि नै कहिल्यै जुवातास,खैनी चुरोटको लत बसालेनन् । उनी भन्छन्–“१८/१९ सालतिर एकजना रेश्मी मगर नाम गरेको क्याप्टेनसंग जाँडरक्सी खाएँ तर त्यसपछि धेरै बिरामी भएपछि खान छोडेको हुँ ।”

आदिकविको जेलयात्रा :-

मगर आदिकवि सिंजाली मगर धेरैपटक जेल परे । मगरभाषामा लेखेकै कारण उनलाई बारम्बार पञ्चायत प्रशासनले दुःख दिइरह्यो । पश्चिम १ नम्बर (नुवाकोट) मा भएको किसान आन्दोलनमा सक्रियतापूर्वक लागेका कारण १६ सालतिरै उनी ६ महिना जेल परेका थिए । ३०/३२ सालतिर उनलाई प्रशासनले निकै खोज्यो र ०३६ सालमा पनि उनी प्रशासनको आँखाको कसिङ्गर नै बनेका थिए । असुरकोटमा शिक्षक छँदा मगर भाषामा गीत गाएर केटाकेटीहरुलाई नचाएको अभियोगमा प्रहरीले ३ दिन हिरासतमा थुन्यो ।

कृति र सम्मान :-

आदिकवि जीतबहादुर सिंजाली मगरले दर्जनौं किताबहरु लेखेका छन् । २०१७ सालमा मगर भाषाक सुरुवौ किताब र मगराती भाषाङ ल्हिङ टुक्कावौं किताव (२०१९) प्रकाशित गरेर मगरभाषाका पहिलो पटक कविता लेखेका थिए । यही किताव लेखेबापत उनलाई नेपाल मगर संघ केन्द्रीय समितिले २०५८ सालमा मगर भाषाका ‘आदिकवि’ भनेर पद्वी दिएको थियो । त्यसपछि उनले लेस्मा रानाङ, पुनर्आगमन, गोलभाव, प्रकाश, सुकुम्बासी, नयाँ मोड, बुद्धदर्शन, आदि कृतिहरु प्रकाशित गरेका छन् । उनका कृति र जातीय भावनालाई आत्मासात गर्दै “आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान” समेत गठन गरिएको छ । आदिकवि जीतबहादुर सिंजाली मगरलाई २०६४ जेठ ५ गते सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यूको हातबाट अभिनन्दन समेत भइसकेका छन् ।

मगरभाषाका आदिकवि जीतबहादुर सिंजाली मगरले मगर जातिको आन्दोलन, इतिहास, भाषा र साहित्यका लागि ठूलो योगदान गरेका छन् । उनले गरेका योगदान सिङ्गो मगर समुदायका लागि ऐतिहासिक काम हो । तर लामो समय सम्म बेपत्ता रहेर पनि पदार्पण भएका मगर आदिकवि जीतबहादुर सिंजाली मगर यतिखेर कहाँ छन् ? उनको जीवनयापन कसरी चलिरहेको छ ? उनका बिषयमा सोधीखोजी गर्ने, उनको ब्यक्तित्व र कृतित्वहरुमाथि थप अनुसन्धान गर्ने उनका कृतित्वहरु व्यवस्थित र भौतिक जीवनको संरक्षण गर्ने काममा राज्य र सम्बन्धित निकाय संवेदनशील बन्न नसक्नु गंभीर कमजोरी होइन र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here