कोरोना भाईरस, नेपाल सरकार र विदेशमा रहेका नेपालीको अवस्था

0
56

-दिपक बन्जाडे

कोरोना भाईरस अर्थात् कोभिड १९ को प्रभाव अहिले विश्वभरी छ। करिब चार/ पांच महिना देखि यसैको चर्चा संसार भर छ। यसको प्रभाव नेपाल संगै अरू मुलुकहरूमा पनि छ। एक व्यक्ति बाट अर्को व्यक्तिमा सजिलै सर्ने यो रोगले संसारलाई आतङ्कित पारेको छ। विडम्बना यसको औंषधी अहिले सम्म बनेको छैन्। विभिन्न विधि प्रयोग गरी यसबाट नियन्त्रण हुने प्रयास जारी छ ।

संसारका प्राय: देशहरू आजको दिन सम्म लक डाउनमा छन्। कोहि पूर्ण लकडाउनमा छन्, कोहि अर्ध लकडाउनमा छन भने कोहि व्यवस्थित तरिकाले दूरी कायम गर्दै आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन ।

अब कुरा गरौँ आफ्नै देशको ; नेपाल लकडाउन भएको करिब डेढ़ महिना भन्दा बढि भयो यो बिचमा अरू देशको तुलनामा नेपाल सुरक्षित छ। तर पूर्ण छैन्। खतरा पनि उत्तिकै छ। यसको प्रमुख कारण हो कोरोना बाट ग्रसित मुलुकहरू बाट आवाज- जावत बन्द गर्नु र बन्द गर्नु पनि पर्थ्यो। अन्यथा नेपालको स्थिति भयावह हुने सम्भावना छ। किनकि नेपालमा स्वास्थ्य क्षेत्रको स्थिति अत्यन्तै दयनिय छ। यि सबै क्षेत्रको जानकार भए र नैं जनता सचेत बने र आफ्नो सुरक्षा गर्न सफल हुँदै छन्। तर पूरा भएको छैन निरन्तर कटिबद्ध रुपमा जनता सचेत भईरहनु पर्ने हुन्छ। जब सम्म कोरोना भाईरस विश्वमा अन्त्यको घोषणा हुँदैन ।

अब कुरा गरौँ विदेशमा भएका नेपालीहरूको ; अरू देशको तुलनामा नेपालमा नेपालीहरु केहि भए पनि सुरक्षाको अनुभूति गर्दै गर्दा के विदेशमा भएका नेपालीहरु पनि उत्तिकै सुरक्षित छन त ? पक्कै पनि छैनन। किनकि देश छोडेर विदेश गएका नेपालीहरु कोहि पढ्न गएका छन, कोहि व्यापार गर्न गएका छन् भने धेरै जसो काम गरी पैसा कमाउन गएका छन । आखिर जे भएपनि अहिले समस्या उहि हो, कोरोना भाईरस बाट कसरी सुरक्षित रहने। तर विदेशमा पनि नेपालीहरूको रहन सहन र दैनिक जीवन शैली फरक- फरक छ। मजदुरी गर्न जानेहरू भन्दा पढ्न अलि व्यवस्थित छन। किनकि उनीहरू नेपाली समाजमा उच्च वर्ग भित्र पर्दछन ।

अब विदेशमा भएका नेपाली मजदुरहरुको कुरा गरौं ; विदेशमा भएका नेपाली मजदुरहरू अहिले पहिलेको तुलनामा धेरै नै समस्यामा परेका छन । भाइरसका कारण प्राय: देशहरू लकडाउन मा हुँदा उनीहरूले काम गर्ने क्षेत्रहरू बन्द छन। जस्तै : कम्पनीहरु, कार्यालय, होटल, क्याफे, रेस्टुरन्ट, पेट्रोल पम्प लगायत अन्य क्षेत्रहरू समेत बन्द छन कोहि आंशिक चालु छन । ति आंशिक चालु भएका रोजगार दाताहरुले पनि प्रतिशतका आधारमा तलब दिने बताईरहेका छन ।

जब काम गरी सुनौलो भबिष्य को लागि घर समाज र देश छोडि प्रदेश पसेका आम नेपालीहरु यसबाट ठूलो प्रभावमा परेका छन ।उनीहरु सँग काम र दाम नहुँदा सिंगो समाज र राष्ट्रलाई भयंकर क्षति हुने देखिन्छ। केवल उनीहरु अहिले बाँच्ने आधार मात्रै खोज्दै छन । जब महिना भरी काम गरिन्छ र महिनाको अन्त्यमा तलब बुझी केहि आफ्नो जोहो गर्ने र केहि घर परिवारको लागि पठाउने आम सबै मजदुरको यो निरन्तर अहिले बन्द जस्तै छ । रोजगार दाताहरुले अहिले केवल खानाको लागि भन्दै केहि प्रतिशत का आधारमा तलब दिएको अवस्था छ । यो अवस्थामा उनीहरु अहिले घर जाने मनस्थितिमा छन । तर सुरक्षाको दृष्टिकोणले भन्दै सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द छन । सरकारले यसमा खासै पहल गरेको देखिदैन । जबकि नेपालमा लकडाउन भएको आज करिब डेढ महिना जति भयो। यस अवधिमा सरकारले विदेशिएका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गर्न सक्नु पर्थ्यो तर यि तमाम मामलाहरुमा सरकार धेरै नै चुक्यो ।

अब प्रश्न उठ्छ कि विदेशबाट नेपाल नागरिक भित्राउँदा कोरोना पनि भित्रन्छ ? रोग भित्रन्छ भनेर आफ्ना नागरिकलाई विदेशी भूमिमा भोकले मार्ने ? हो धेरै नागरिक देश भित्रदा रोग पनि भित्रन सक्छ, तर सबै नागरिकहरुमा त हुँदैन नि ! यदि भित्रि सकेका नागरिकलाई कसरी व्यवस्थित बनाएर राख्ने भन्ने हेक्का यि तिन तहका सरकारलाई हुनु पर्ने हो कि नाई ? तर छैन । यिनीहरूको ध्यान पुगेको छैन । आफ्ना नागरिकलाई स्वदेश ल्याएर व्यवस्थापन गर्ने सवालमा सरकार भित्रका नीति निर्माताहरु अनविज्ञ जस्ता देखिन्छन । विडम्बना, आफ्ना नागरिकलाई स्वदेश फर्काउने सवालमा नागरिक समाज, बुद्धिजीवी वर्ग, सञ्चार माध्यम हरुको पनि खासै ध्यान गएको छैन। सायद यिनीहरू पनि यहि कोरोनाको भयमा छन हाेला। तर यसो नहुनु पर्ने हो ।

आफ्ना नागरिकहरु प्रति सबै जिम्मेवार हुनुपर्ने हो। यतिसम्म त बुद्धि हुनुपर्ने हो कि लकडाउनको समय उपयुक्त समय हो। किनभने, देश भित्रका आम नागरिकहरु घर भित्रै छन त्यहि समयमा बाहिर बाट आउने कुनै पनि नेपाली नागरिकको भेटघाट हुने अवस्था हुने थिएन। उनीहरुलाई सुरक्षित तवरले क्वारेन्टाईनमा राख्न सकिन्थ्यो भने विदेशमा भएका तमाम नेपालीहरुलाई सरकार भएको महशुस हुन्थ्यो। अर्कोतिर उनीहरूका परिवारहरू ढुक्क हुनेथिए । विडम्बना परिस्थिति अहिले उल्टो भएको छ । परदेशमा नेपालीहरु हतास मनस्थितिमा छन भने उनीहरुको परिवार पनि झन् ठूलो तनावमा छन। नहुन पनि कसरी , किनकि परिस्थिति झन- झन जटिल बन्दै छ।

सरकार अझै पनि यि सवालमा आनाकानी गर्दै छ । सरकार र उसका आसेपासेहरु राजनीतिक जोड घटाउमा लागेका छन। अर्थतन्त्र डामाडोल हुने भन्दै बढो भावनात्मक चिन्ता गर्दै छन । आर्थिक वृद्धिदर घट्ने हावा गफ गर्दै छन। तर परिणाममुखि र दिगो अर्थतन्त्रमा कुनै पहल दिदैनन । जबकि अहिले पनि आर्थिक वृद्धिदर घट्ने र बढ्ने ले गरिब श्रमजीवी मजदुरहरुलाई खासै असर गर्दैन। यिनी आलेखहरू त दलाल राज्य सत्ता र पूँजीपति वर्गहरूका देखाउने दस्तावेज मात्र हुन । यसैमा टेकेर उनीहरूले राज्य दोहन गर्ने कानुनका बाटाहरु हुन। दुई चार जना पुँजीपतिको सम्पति गरिबको नाममा जोडेर आर्थिक वृद्धिदरका जोड घटाउमा लाग्नु कुनै तुक छैन ।

अब के गर्ने त ? अब सरकारले कुनै हिसाब- किताब नगरी विदेशमा भएका नागरिकलाई अविलम्ब स्वदेश फिर्ता गराई उत्पादन मुलक काममा प्रोत्साहन गर्नुको विकल्प छैन । देश भित्रको हजारौं हेक्टर भूमिले युवाहरुलाई बोलाइरहेको छ, पर्खिरहेको छ । अब ढिला गर्ने अवस्था छैन । यो एउटा चुनौती संगै विश्वलाई देखाउने नेपालका लागि ठूलो अवसर पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here