कोरोनाको जोखिम कम गर्न भन्दै नेपाल एयरलाइन्सले दोहाको उडान स्थगित

0
121


काठमाडौं । नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ । निगमले कोरोना भाइरसको जोखिमका कारण मंगलबारदेखि लागु हुनेगरी दोहाको उडान स्थगन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भन्दै कतार सरकारले नेपालसहितका विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले पनि दोहाको उडान स्थगन गर्नु परेको विज्ञप्ति मार्फत जनाएको छ ।

“कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ ।

दोहाका लागि निगमले हालसम्म दैनिक उडान भर्दै आएको थियो । निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here