काठमाडौं । भारतमा आयोजित मन्त्रीस्तरीय बैठकमा नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतले नेपालको कृषि क्षेत्रको विकासका लागि आधा दर्जन क्षेत्रमा सहयोग गर्ने समझदारी गरेको जानकारी गराएका हुन् ।
समझदारीमा नेपालको कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना, कृषि उपजको बढदो आयात प्रतिष्थापन गर्न भारतीय पक्षले कृषिमा नयाँ साझेदारीका सम्भावनाहरु खोज्न सहमति भएको हो ।
समझदारी अनुसार भारतले कृषि अनुसन्धान परिषदलाई अनुसन्धानमूलक विश्वविद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्नेछ । त्यसैगरी अर्गानिक खेती, प्राङगारिक मलको प्रयोग र करेन्टाईन चेकपोष्ट स्थापनाका बारेमा पनि सहमति गरिएको छ । करेन्टटाईन नेपालको ४ वटा ठाउँमा स्थापना गर्ने सहमति गर्न पनि भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए ।
समझदारी अनुसार भारतले नेपाललाई आवश्यक रासायनिक मल उपलब्ध गराउनेछ । नेपाली किसानहरुलाई समयमै मल उपलब्ध गराउने गरी सहमति गरिएको पनि मन्त्री खनालले बताए ।
उनले नेपालको निर्यात व्यापारमा कुनै समस्या भए तत्काल समाधान गर्ने प्रतिवद्धता पनि भारतीय पक्षले जनाएको उल्लेख गरे । भारतले नेपालको अर्गानिक खेती प्रविधिको विकासका लागि पाईलट प्रोजेक्टमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । नेपाल–भारतबीच सन १९९१ पछि कृषि क्षेत्रमा भएको यो नै पहिलो समझदारी हो ।
समझदारीलाई अघि बढाउन थप छलफलका लागि भारतीय कृषि मन्त्री राधामोहन सिंह नेपाल आउनेछन् ।