कुरेका दिन

0
185
  • गोविन्द प्रसाद आचार्य

गर्दिन कसले भन्यो र यहाँ नगरी गएका ।
देखिन कस्ले भन्यो र यहाँ मानिस पीडाका ।
हातमा तरबार बोकेको दरबार नमिठो गाएन ।
गीतले प्रीत विकाससँग कहिलै लाएन ।

नमिठो गाना गाएको मैले गायक भन्छ र ?
बधशाला मैले नराम्रो काम गरेको भन्छ र ?
मानिस राम्रो आउँछ कि भन्दै पर्खेर बसेका ।
न्याय र विकास ल्याउँछ कि भन्दै जागेर बसेका ।

दिन र रात कति हो कति छोडेर गएका ।
आउँदैन कोही देख्दैन मान्छे पीडामा परेका ।
बुढ्यौली आउँछ/आउँदैन न्याय विकास लिएर ।
यो रुप चुसी कुरुप पार्छ गइजान्छ सुकेर ।

तरबार बोक्ने दरवारका गीत नयाँले गाएका ।
त्यै भाकासँग नयाँले लय मिलाई गाएका ।
दमन गर्ने पानी र बानी दरबारको खाएर ।
पोषक नयाँ पुरानो टोपी दरबारको लाएर ।

दरबारका कुरा दरवारका छुरा झन् तिखो पारेका ।
नयाँको टलक्क गीतको भाका पुरानो गएका ।
बलले सुल्टो नपारेसम्म छ उल्टो हिँडेको ।
हावाका कुरा कुरेका दिनले मानिस निलेको ।

हुँदैन कस्ले भन्छ र यहाँ कामले गर्दैन ।
हावाका कुरा सुनेर सपना देखेर हुँदैन ।
पैसामा ताल्चा लगाउनेलाई कानुनले छोएन ।
उल्टेको देश सुल्ट्याउनलाई नउठी भएन ।

मिठो र चिल्लो ठुलो भाग खाने रहरमा झटारो ।
दरबारको पानी ठगेको बानी परेको चटारो ।
हुन् हावा कुरा युगको दर्शन मानेर हुँदैन ।
उल्टोलाई सुल्टो पार्नलाई बल नगरी हुँदैेन ।

चेतना थुन्ने विचार सुन्ये बनाउन खोजियो ।
मनन गर्ने आयो नि बेला मूल बाटो भुलियो ।
नयाँको दिलमा पलाइआए दरवारका पालुवा ।
दरबारको बानी धमिलो पानी दिलमा बालुवा ।

पुरानो जगमा अव्वल इाटा राखेर हुँदैन ।
आशाको अन्न उम्रेका झार नगोडी हुँदैन ।
बलको बाडी पुरानो झाडी बगाउन उर्राल्ने ।
सङ्कल्प गरी उल्टेको देश सुल्टोमा हिडाउने ।

बसेर खान गरेका कुरा रसिला मिठा छन् ।
कुरामा झुलाइ खाएकाहरु पोटिला चिल्ला छन् ।
भविष्य दिन्छन् कुरामा दिन्छन् काममा दिदैनन ।
दयाका भाव मिठोमा दिन्छन् कर्ममा दिदैनन् ।

भोलीको घाम नढाँटी आउँछ उदाउँछ बिहानी ।
तै घाम जस्तो हुने हो कहिले मान्छेको कहानी ।
प्रकृति भन्दा मान्छेको रात भय र खतरा ।
मान्छेको भावमा बसेर साप भएको खतरा ।

आजको जिवन कुरामा भुल्छ भोलिको आशामा ।
गइजान्छ भोलि हुँदैन केही निराशा आँसुमा ।
न हुने आशा गरेर हुन्न भरमा परेर ।
विगत कहाँ गतिलो भयो भोलिलाई कुरेर ।

नगर्ने सुखी सुन्दर जीवन छलका भोलिले ।
गर्नेलाई आशा दिएर गए ढाँटका भोलिले ।
कुराले कहाँ लैजान्छ तानी जीवनको लहरो ।
ओखर हैन फोरेर खाने ढाटको पहरो ।

ढाँटलाई आँट नठाने हुन्छ कुरामा भुलेर ।
जीवनको रस सकिन्छ जान्छ धिक्कार बनेर ।
कुराका रसमा विगत बिते यो कहिले हेर्ने हो ।
आकाशपाताल जोडेका कुरा कतिन्जेल सुन्ने हो ।

राम्रोका लागि भिडन्त हुन्छ डराउँनु पदैन ।
कुइरोको काग बनेर कोही कराउनु पर्दैन ।
हिजोका दिन बितेर गए कहर काटेर ।
पापका भाव मिठो झै लाग्ने गीतमा गाएर ।

कति हो कति कुरेका भोलि भुतमा बिलाए ।
नगर्नेहरु गर्नेको लय गाएर भुलाए ।
ढाँटलाई साथ आफन्त ठानी मानिस हिडेको ।
ढाँटका भोली घिऊका डल्ला खानलाई कुरेको ।

नमिठो कहाँ गायो र दरबार सुखलाई डाकेर ।
गरेको छल बुझेन कोही भरमा परेर ।
सत्ताको कुर्सी बनेको हो कि विषका बोटको ।
मिठोले खोस्यो हाँसो र खुसी मान्छेका ओठको ।

हितका गीत गाएर ठग्ने सत्ताको बानी हो ।
ढाँटका सत्ता बगाइदिने मानिस पानी हो ।
गीतमा उल्टो चेतना गाउने टिकेको कहाँ छ ।
कुराले बाँझो खोरियालाई फाँडेको कहाँ छ ।

आउनु पर्छ बलियो जोशमा हकको लहर ।
चेतना पार बलले सुल्टो पुग्ने छ रहर ।
कुरा हुन् छल्ने कुरा हुन् फल्ने संसार कुराको ।
गीतका कुरा हितका कति यो रुप संसारको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here