किसान आन्दोलनपछि तीन महिना जेल

0
181
–खगुलाल गुरुङ
                  त्यो किसान आन्दोलनका बेलामा राजा त्रिभुवनले सरकारको निर्माण गरेका थिए । उनले एउटा सल्लाहकार समिति पनि बनाएका थिए । त्यतिबेला मोहनविक्रम सानै भए पनि उनलाई सल्लाहकार समितिमा मनोनित गरेका थिए । मोहनविक्रमले उक्त पदलाई अस्वीकार गर्नुभयो । त्यसैबेलामा किसान सम्मेलन जनकपुरमा भएको थियो । मनमोहन अधिकारीलाई वारेन्ट थियो । हाम्रो जनकपुरको अन्तिम दिनमा, त्यहाँको धर्मशालामा रातीको १२ बजे मनमोहनले क्लास दिंदै थिए । प्रधानमन्त्री टंकप्रसाद आचार्य थिए । मनमोहन अधिकारीसहित अरू ३–४ जनालाई वारेन्ट थियो । त्यो रातीको समयमा पनि टंकप्रसादका सेनाहरूले धर्मशालामा घेरा हालेका थिए । त्यसैबेलामा म बाहिर पिसाव गर्न गएको बेलामा देखें कि सेनाहरूले धर्मशाला घेरेका छन् । तुरून्तै भित्र सूचना गरें । हतारहतार गरी मनमोहन अधिकारीलाई बाहिर निकाल्यौं र सुरक्षित गर्‍यौं । अन्य साथीहरूलाई पनि भगायौं । अनि मात्र टंकप्रसाद आचार्यको सेनालाई भित्र आउन दियौं । त्यसपछि म दाङ र पाल्पाका साथीहरूसित गोरखपुरसम्म गएँ । मोहनविक्रम काठमाडौंतिर जानुभयो । केही दिनपछि म गोरखपुरबाट बेलुकी कपिलवस्तुको पत्थरकोट आइपुगें । आउँदा एकजना मुसलमानको घरमा खाना खाएँ । मसँग एक रूपैयाँ मात्रै थियो । त्यही पैसाले खाना खाएर सुपाखोला, नुनथला (अर्घाखाँची) आई आफन्तको घरमा ३ दिन बसेर घर आएको हुँ । त्यसपछि हामी फेरि बैठक बस्यौं । हामीले प्रगतिशील शिविर चलाउँदा चन्दा सहयोग गर्ने खिमविक्रम हुनुहुन्थ्यो । खिमविक्रमले काफलनेटी (अर्घाखाँची)को एकजना बाहुनको २५ मुरी उब्जा हुने बाङ्गेफेंदीको खेत जबर्जस्ती राजीनामा गर्न लगाउनुभएको रहेछ । मोहनविक्रमले काफलनेटीको बाहुनलाई बुबाले अन्याय गर्नुभयो, लौ साथी हो, हामी त्यो खेतको धान काट्न जाऔं, बुबाले हामीमाथि केही गर्न खोजेमा हामी पनि लडौं भन्नुभयो । हामी २०–२५ जना साथीहरू धान काट्न गयौं । त्यसबेलामा पिपलटारीको टेकबहादुर र थानेश्वर पण्डितले पनि सहयोग गरेका थिए । काफलनेटीको बाहुनले भने कि तिमीहरूले मेरो २५ मुरी धान काटिदिन्छौ, फेरि उहाँले मेरो ५० मुरी धान काटिदिनुहुन्छ । त्यसो भनेर उनी डरले आएनन् । हामी २ दिन एक रात त्यहीं बाङ्गेफेंदी बस्यौं । त्यसपछि कौछेको बाटो भएर मच्छीतिर जान हिंड्यौं । हामीलाई केही भनेमा उहाँलाई बाँध्ने उद्देश्यले त्यही बाटो भएर आएका थियौं । तर केही भन्नुभएन । बरू त्यो खेतको राजीनामा च्याती बाहुनलाई धान कटाउनुभयो ।
                     हामी अर्काे बैठक बस्यौं । अब प्यूठानमा अँधिया आन्दोलन र मोहियानी हकको लागि आन्दोलन चलाउनुपर्छ । मोहनविक्रम, सिद्धिमान, म ३ जना प्यूठानको बखडीको ठाँटीमा बस्ने ठेगान गर्‍यौं । पुण्यखोलाका ईश्वरबहादुर अधिकारी, बागदुलाका कविराजहरू पनि सहयोगी हुनुहुन्थ्यो । हामी ठाँटीमा बस्थ्यौं, ईश्वरबहादुर अधिकारीको घरबाट खाना पठाइदिन्थे । उनको घरबाट खाना नपठाएमा हामी भोकै पनि बस्नुपर्ने हुन्थ्यो । विजुवारबाट खप्रेङखोलासम्म जति किसानहरूले धनी र साहुहरूको खेत ठेक्कामा लाएका धानका खराई (धान काटेर जम्मा गरिएको थुप्रो) थिए, ती खराई पूरा गरेपछि सबै साहुहरूको खराईमा किसानको रातो झण्डा गाड्ने नीति अपनायौं । विजुवार बखडीबाट खप्रेङखोलाको दोभानसम्म रातो झण्डा गाड्ने काम गरियो । सबैभन्दा पहिले बाग्दुलाको चेतनाथ पण्डितको खप्रेङखोलाको देभान खेतमा अँधिया बुझेको भरपाई माग राखी संघर्ष गर्न थाल्यौं । चेतनाथले अँधिया दिन्नँ, भरपाई पनि दिन्नँ भने । लामो छलफल चल्यो । हामी १५–२० जना थियौं । हाम्रो साथमा विगुल पनि थियो । छलफल चल्दै गर्दा साँझ ६ बज्यो । मोहनविक्रमले चेतनाथलाई भन्नुभयो कि जबसम्म तिमीले अँधियाको भरपाई दिन्नौ त्यतिबेलासम्म मैले अन्न अगरण (खाना नखाइकन अनसन बस्ने) गर्छु । त्यसैबेलामा रातीको समयमा दम्तीको पाडे सिकारी भन्नेले करिब ३ मुरी धान हिनामिना पारिदिए । त्यस खालमा ३ रात ३ दिनसम्म १२–१५ जना साथीहरूले छाप्रो हाली अन्न अगरण गरेका मोहनविक्रमलाई कुरेर बस्यौं । अर्काे दिन हाम्रो संघर्षको रिपोर्ट रातामाटा पुर्‍यायौं । त्यसबेला प्यूठानको बडाहाकिम प्रतिमान बोहरा थिए । उनले चेतनाथलाई बोलाएर भने कि परपाई दिलाई मोहनविक्रमको अनसन तोडाउ, नत्रभने कानुनमा फस्लाउ । त्यसपछि चेतनाथले भरपाई दिए र मोहनविक्रमले अनसन तोड्नुभयो ।
                  एकदिन विजुवार कालिकाको थानमा प्यूठानभरिका शोषक, साहुहरू, फटाहाहरूको जमघट भएको थियो । उनीहरू किसानको रगत पसिनाले उम्लिरहेका थिए । उनीहरूले हामीलाई पिटेर लखेट्ने उद्देश्य राखेर भेला भएका छन् भन्ने कुरा थाह पायौं । हामीले पनि थुप्रै किसानहरूको मद्दत माग्यौं र फटाहाहरूको सभा विथोल्ने योजना बनायौं । त्यसैअनुसार किसानहरूको जुलुस लिएर फटाहाहरू जम्मा भएको ठाउँमा गयौं । त्यसपछि उनीहरू भागे । टारीको खिलध्वज भण्डारी भन्नेको एउटा खलो (धान उठाउने ठाउँ) थियो । त्यो खलोको खेत कुरको सार्कीले लाएको थियो । त्यही खलोमा खिलध्वजले त्यो सार्कीलाई कागज गराई दाईं लगाउन पठाएछ । हामी बखडीको ठाँटीमा सुतीरहेका थियौं । त्यो सार्की विहान ५ बजे हामी भएको ठाउँमा आयो । उसले हामीलाई साहु खिलध्वजले मलाई कागज गरायो, के कागज गरायो मलाई थाह छैन भन्न आयो । विहान ६ बजे मोहनविक्रम र म खिलध्वजकहाँ गयौं । उनलाई हामीले सार्कीलाई के कागज गराउनुभयो र भनी सोध्यौं । उनले यस्ता निउरा ( जंगलमा पाइने तरकारी खान मिल्ने) बेचेर खाने केटा आइ हाम्रो खलामा झण्डा गाड्ने ? भन्न थाले । म रिसले चुर भएँ । मैले खिलध्वजलाई पाहा पछारेजस्तै गरी पछारें । उनी उठेर मेरो घाँटी समात्न आएका थिए, मैले जुरूक्क पारेर उचालें र तल्लो गहरामा फ्याँकें । मोहनविक्रमले चिठ्ठी लेखी हाकिम प्रतिमानलाई पठाउनुभयो । प्रतिमानले एकजना प्रहरी पठाएर खिलध्वजलाई रातामाटामा लगेर अँधियाको भरपाई गराइदिएका हुन् । त्यसपछि फाँटमा जौं, गहुँ छर्ने कार्यनीति अपनाइएको थियो । बखडीको फाँटमा जौं छर्ने भनेर आएका शोषकहरूको फाँटमा राती नै हामीले बिउ छरिसकेका थियौं । फटाहाहरूको कार्ययोजना विफल पारी हाम्रो जीत भएको थियो । प्यठानमा किसानहरूको यति ठूलो आन्दोलन भएको थियो । त्यो आन्दोलनको नेतृत्व हामीले गरेको हुनाले मोहनविक्रम, म र सिद्धिमानलाई नारीकोट, ओखरकोटका गाउँलेहरूले फूलमाला लगाइदिंदै खीर, कुराउनी खुवाएका थिए ।
                   हामीले त्यतिबेला कुन किसानमाथि अन्याय भएको छ ? कुन कर्मचारीले भ्रष्टाचार गरेको छ ? भन्ने विषयलाई लिएर मोहनविक्रम र मैले खोज्दै हिंड्थ्यौं । त्यतिबेलै प्यूठानका बडाहाकिम प्रतिमान सरूवा भए । हामीले उनलाई प्यूठानमै राख्नुपर्छ भनेर माग गर्‍यौं । प्यूठानका कांग्रेस अनिरूद्र पनि सहमत थिए । हामी जनताको घरदैलो पुग्यौं । बाँदीकोट, ओखरकोट, नारीकोट, तुषारा, टिकुरी, पुण्यखोलासमेतका जनतालाई २०११ सालको चैत्र २४ गते बागदुला बगैंचामा जुटाएर, झण्डा व्यानरसहित विभिन्न मागहरू राखी जिल्ला कार्यालयमा जुलुस लैजाने कार्यक्रम थियो । हामीले प्रतिमानलाई प्यूठानमै राख्नुर्छ, घुसखोरी, अन्याय र अत्याचार बन्द हुनुपर्छ लगायतका मागहरू राखेका थियौं । त्यसैदिन मोहनविक्रम, म, नन्दलाल गुरूङ, सिद्धिमान जीसी, रूमबहादुर, हेमराज शर्मा आदिलाई कम्युनिस्टको आरोप लगाई मोहन मिश्र भन्ने हाकिमले प्रहरी लगाएर गिरफ्तार गरी ३ महिनासम्म खलंगा जेलमा राख्ने काम गरे ।
–क्रमश: –सम्पादन/प्रस्तुती– विमल पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here