किन भरिँदैन कोख?

0
423

मान्छे आफ्नो सन्तानका लागि के गर्दैन? सन्तानको लालनपालन र शिक्षादिक्षाका लागि ऊ जीवनमा जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छ। तर, केही दम्पती यस्ता हुन्छन्, जसलाई सन्तानसुख प्राप्त हुँदैन। बाँझोपनका कारण धेरैका घरमा निराशा छाएको हुन्छ। चिकित्सा विज्ञान यति अगाडि बढिसक्यो कि निःसन्तान दम्पतीका काखमा सन्तान खेल्न सक्छन्। बाँझोपन, यसका कारण दम्पतीले भोगेका पीडा, यसको उपचार आदिबारे अञ्जान स्वीकृति र अम्मर जिसीको सहयोगमा डी. विनोद र दीपक दाहालको खोजीनिती:

महिलालाई गरिने सबैभन्दा अपमानजनक गाली हो- बाँझी। उता, पुरुषलाई निःसन्तान भनिँदा मर्माहत हुन्छ। बाँझोपनका कारण धेरै दाम्पत्य जीवन भताभुंग भएको छ। बाँझोपनको दोष जति महिलाले खेप्नुपर्ने स्थिति छ। कमजोरी पुरुषमा हुन्छ, तर त्यसको दोष महिलाको थाप्लोमा खनाइन्छ।

प्रजनन् तथा हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तव २०४४ सालमा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा कार्यरत थिइन्। त्यतिबेला उनकोमा एक निःसन्तान दम्पति उपचारका लागि आएका थिए। पुरुषको वीर्यमा समस्या देखिएको थियो। प्रजनन्का लागि आवश्यक शुक्रकिटको कमीले सन्तान नभएको उनले जानकारी गराएकी थिइन्। सात वर्षपछि उनै पुरुष अर्की पत्नी लिएर फेरि उपचारका लागि डा. उमाकहाँ आइपुगे। ‘मैले त्यही कुरा दोहोर्‍याएँ,’ उनले भनिन्, ”तपाईंको वीर्यमा समस्या छ, त्यसैले गर्भधारण हुन सक्दैन’ भनेँ। कृत्रिम गर्भधारण सेवा लिन परामर्श दिएँ।’ त्यसको दुई वर्षपछि फेरि उनै पुरुष तेस्री श्रीमतीलाई लिएर उपचारका लागि उनैकहाँ आए। ती पुरुषले तीन बिहे गरेका थिए। दोस्री श्रीमतीले सन्तान नभएको सन्तापमा आत्महत्या गरेकी थिइन्।
काठमाडौँमा व्यवसाय गरी बसेका बुटवलका दिनेश रेग्मी (नाम परिवर्तन) को विवाह भएको २० वर्ष नाघिसकेको छ। व्यावसायिक रूपमा उनी सफल छन्। काठमाडौँमा घर पनि बनाएका छन्। र, पनि उनी दुःखी छन्। उनको श्रीमतीको कोख अहिलेसम्म भरिएको छैन। सन्तान प्राप्तिका लागि उनले नेपालदेखि भारतका विभिन्न अस्पताल धाए। तर, सफलता हात लागेन। ‘सबैभन्दा ठूलो सम्पत्ति सन्तान रहेछ, त्यही नभएपछि सम्पत्ति कमाउनुको कुनै अर्थ छैन,’ उनी पीडामिश्रित स्वरमा भन्छन्।
यस्तै पीडा भोगिरहेका छन्, मोरङका प्रकाश कार्की दम्पतीले। पेसाले शिक्षक प्रकाशले सन्तानप्राप्तिका लागि महायज्ञसम्म गरे। सन्तानको लालसाले उनले थप दुई विवाह गरे तर उनको घरआँगन सन्तान सुखले हराभरा भएन। ‘ममा कमजोरी भएको चाल पाएपछि त्यसको उपचार गर्ने समय बितिसकेछ,’ उनले सुस्केरा काढे।

के हो बाँझोपन?
चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान् श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शरीरिक सम्पर्क गर्दा पनि गर्भधान नभएमा त्यसलाई बाँझोपन भन्छन्। धेरै आधारमा बाँझो पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो। सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक वर्षभित्र गर्भ रहेन भने उपचार थाल्नुपर्ने चिकित्सकको भनाइ छ।
गर्भधानका लागि जैविक रूपमा डिम्बवाहिनी नलीभित्र पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ। त्यो मिलन महिलाको महिनावारी भएर डिम्ब निस्किएको समयमा हुनसक्छ। चिकित्सकका अनुसार महिनावारी भएको १४ औं दिनमा मात्रै डिम्बाशयबाट डिम्ब निस्किन्छ। महिनावारीमा तलमाथि हुने महिलाको सन्दर्भमा एक/दुई दिन तलमाथि हुन्छ। यौन सम्पर्कपछि पाठेघरका मुख हुँदै डिम्बनलीतर्फ लाग्ने शुक्रकीट र डिम्बाशयबाट नलीतर्फ आउने निस्किएको डिम्ब (अण्डा)को भेटपछि गर्भाधान हुन्छ। धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमन ताम्राकारका अनुसार यस्तो डिम्ब एवं शुक्रकीटले उपयुक्त वातावरणमा सामान्यतः १३ देखि १७ दिनसम्ममा गर्भाधान हुन्छ। ‘जतिसुकै इच्छा राखे पनि महिनावारीको सात दिनपछि र सात दिनअघि गर्भाधानको संभावना रहन्न,’ उनले भने, ‘डिम्ब र शुक्रकीट पाठेघर वा डिम्बनलीमा दुईदेखि तीन दिनसम्म बाँच्न सक्ने भएकाले सो समयमा भेट हुँदा मात्रै गर्भाधान हुने हो।’
शुक्रकीट पाठेघरको मुखमा जम्मा भएर डिम्बवाहिनी नलीतिर लाग्छ। करिब १० सेन्टिमिटर लामो नलीमा नमर्दै उनीहरू भेटिएपछि मात्रै गर्भाधान हुन्छ। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार सबै अवस्थामा गर्भाधान हुनासाथ बच्चा बनिहाल्दैन। ‘थाहा नपाएरै पनि थुपै्र गर्भहरू खेर गइरहन्छन्, ‘ उनले भनिन्, ‘डिम्ब र शुक्रकीटको भेट हुनासाथ गर्भाधान हुन्न।’
अग्रवालका अनुसार धेरैजसो दम्पती सन्तान चाहना राखेर बिना अस्थायी साधन सहवास गरेको पहिलो पटकमै सन्तान लाभ हुनुपर्छ भन्ने भ्रममा छन्। ‘महिलाको प्रत्येक महिना डिम्ब निस्किन्छ भन्ने छैन, डिम्ब ननिस्की गर्भ रहन्न,’ उनले भनिन्, ‘त्यसैले पनि कम्तीमा एक वर्षको नियमित सम्पर्कको हिस्ट्रीपछि क्रमशः जाँच एवं उपचार गर्नुपर्छ।’
चिकित्सकहरू महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको अवस्थामा नियमित सम्पर्क गरेको ६ महिनासम्ममा बच्चा नभएमै जाँचका लागि सल्लाह दिन्छन्। प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क) देखि नै गर्भ नरहने र दोस्रो प्रकारमा गर्भ रहिसकेपछि अन्य समस्या आउँछन्।
डा.अग्रवालको अनुभवमा नेपालमा धेरै बाँझोपन पीडितहरू उपचार थाल्नासाथ सफलता नपाएपछि तनावमा फस्ने गरेका छन्। ‘जति तनाव लिन्छन्, उति संभावना कम हुन्छ,’ उनले भनिन्, ‘निष्पि्कक्री भएर गरिएको सहवासमा गर्भाधानको संभावना बढी हुन्छ।’ सामान्यतः ९२ देखि ९५ प्रतिशत बाँझोपनलाई शल्यक्रिया र औषधिबाट हल गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय रूपमा करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्। नेपालमा पेसा क्षेत्र, आर्थिक अवस्थाका आधारमा १५ देखि २५ प्रतिशतसम्म दम्पति यो समस्याबाट ग्रस्त छन्। ‘करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता नलागीकन बाँझोपन पीडित भएका हुन्छन्,’ डा. रिजाल भन्छन्।
डा.अग्रवालका अनुसार पुरुषमा हुने बाँझोपनको प्रमुख कारण शिशु अवस्थामा बच्चाको गुप्तांगमा सेक्ने प्रचलन हो। ‘यसले शुक्रकीटको स्रोत नै नष्ट हुन्छ,’ उनी भन्छिन्, ‘त्यो बाहेक शुक्रकीट नबन्नु, नली बन्द हुनु, बनिसकेको वीर्य बाहिर आउने बाटोमा अवरोध हुनु र योनीमा वीर्य स्खलन हुन समस्या हुनु तथा शुक्रकिटको बनावटमा जटिलता हुनु पुरुषजन्य निःसन्तानका कारण हुन्।’
डा. ताम्राकारका अनुसार अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकिट बन्न सक्दैन। ‘कहिलेकाहीँ त शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिएर पनि बाँझोपन हुनसक्छ,’ डा. ताम्रकारले भने।
डिम्बाशयजन्य तत्वहरू, पाठेघरको मुखमा तथा योनीमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बवाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको कार्यमा खराबी महिलाजन्य बाँझोपनका कारण हुन्। डा. अग्रवालका अनुसार महिलामा पाठेघरको आकार नै सानो हुनु, डिम्बाशयले डिम्ब उत्पादन नै गर्न नसक्नु, डिम्बनलीले डिम्ब नटिप्नु, पाठेघरमा हुने संक्रमणले शुक्रकीट मर्नु, डिम्बाशयको नली सानो हुनु, यौनसम्पर्क राख्दा हुने अधिक पीडा र शुक्रकीटलाई असर पुर्‍याउने (योनीमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुनसक्छ।
डा. भोला रिजाल राज्यले निःसन्तान दम्पतीमाथि अन्याय गरिरहेको ठोकुवा गर्छन्। ‘परिवार नियोजन भनेर सन्तानको संख्या घटाउनतिर लागेको राज्यले सन्तान नहुनेलाई उपचारमा सहुलियत दिनेतर्फ सोच्न भ्याएकै छैन,’ उनले भने, ‘बाँझोपनको योजनाबद्ध उपचार र टेस्टट्युब बेबी प्रविधिलाई राज्यले सघाउनुपर्छ।’

०००
धनुषाका ४५ वर्षीय पद्मप्रसाद ठाकुरले तीन बिहे गरिसके। उनलाई अरूले पूर्वजन्ममा पाप गरेका कारण सन्तान नभएको भन्दा मरेजस्तो लाग्छ।
बा”झोपन महिलाको मात्र समस्या हो, पुरुÈमा यस्तो समस्या हुँदैन भन्ने सामाजिक मान्यताका कारण उनले बहुविवाह गरेका हुन्। ‘सन्तान नभएकोमा हामीलाई पीडा छ नै, अझ सामाजले समेत नकारात्मक दृष्टिले हेर्दा मन खिन्न हुन्छ,’ चेकजाँचका लागि काठमाडौँ आएका उनले आफ्ना पीडा सुनाए। गाउँकै एक स्वास्थ्यकर्मीको सल्लाहमा उनी यसबारे बुझ्न काठमाडौँ आएका हुन्।
निःसन्तान हुनुको पीडाले भक्तपुरका जीवन दुलाल र राधिका मानन्धरको जोडी पनि आहत छ। ३० वर्षे जीवन र २६ वर्षकी राधिकाले बिहे गरेको पाँच वर्ष भइसक्यो तर बच्चा जन्मेन। गाउँघरमा कुरा काट्नेहरूदेखि वाक्क भइसकेका उनीहरू बाँझोपनको उपचार गर्न ओम अस्पताल पुगेका थिए।
विवाह भएको २० वर्षभन्दा बढी भइसक्दा पनि सन्तान जन्माउन नसक्दा आफ्नै परिवार र समाजबाट समेत तिरस्कार भोगिरहेको अनुभव बटुलेकी ३८ वर्षीया ललिता भन्छिन्- ‘लोग्नेमान्छेको कारणबाट पनि त बच्चा नभएको हुन सक्छ नि। तर, हाम्रो गाउँतिर त बच्चा भएन भने स्वास्नीमान्छेलाई नै दोष दिने गरिन्छ।’ अशिक्षित ललितालाई के कारणले सन्तान भएन भन्ने त थाहा छैन, तर आफूबाट सन्तान नभएकै कारण श्रीमान्ले अर्को विवाह गरेको भने उनलाई राम्ररी याद छ। ‘बुढाले ‘वंश अगाडि बढाउन पनि अर्काे बिहे गर्नैपर्‍यो’ भनेपछि मैले के गर्नु?’ उनले भनिन्। श्रीमान्ले अर्को विवाह गरेको केही समयपछि उनले घर छाड्नुपर्‍यो। हाल उनी ज्यामी काम गरेर गुजारा गरिरहेकी छिन्। अर्की श्रीमतीबाट पनि उनका श्रीमान्ले सन्तानसुख पाउन सकेका छैनन्।
एक वर्षदेखि आफ्नी प्रेमिका मिना तामाङसँग शारीरिक सम्पर्क राख्दै आएका २३ वर्षे रामलाल बोहरा प्रेमिकाको कोखमा गर्भ रहेको रिपोर्ट पाएपछि चिन्ताले पिरोलिएका छन्। गएको महिना महिनावारी रोकिएपछि चेकअपका लागि अस्पताल पुगेका उनीहरू गर्भ रहेको भन्ने डाक्टरी रिपोर्टपछि बच्चा गिराउने वा जन्माउने भन्ने दोधारमा छन्। ‘सधँैजसो कन्डम युज गरिन्थ्यो तर यसपालि कसरी गर्भ रह्यो पत्तै भएन,’ रामलालले भने, ‘ पहिलो बच्चा एबोर्सन गर्‍यो भने पछि बाँझोपनको समस्या आउने हो कि भन्ने चिन्ता छ।’ पहिलो बच्चा फालेमा कोख नै रित्तो हुन्छ भन्ने सुनेका छन् उनीहरू। उनीहरू चाँडै नै बिहे गर्दै छन्।
अछामकी २७ वर्षे कमला शाहीबाट विवाह भएको छ वर्È बित्दा पनि सन्तान नभएपछि श्रीमान् बाबुलाल शाहीले त्यसको दोष श्रीमतीलाई दिँदै अर्को बिहे गरे। तर, अर्को विवाह गरेको चार वर्È बित्दा पनि उनका सन्तान भएनन्। पहिली श्रीमतीबाट सन्तान नहुनुको कारण थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो। सन्तान नहुनुमा आफू पनि कारण हुनसक्छु भन्ने कुरा श्रीमान्ले उति नै खेर बुझेका भए दोस्रो विहे गरेर दुईजना महिलाको भविष्य तनावमय बनाउने थिएनन्।
विवाहको १५ वर्षसम्म पनि सन्तान नभएपछि जाँच गराउँदा श्रीमतीको तर्फबाट नै बच्चा हुन नसक्ने थाहा पाएपछि कृष्ण श्रेष्ठले आफन्तकै छोरालाई ‘एडप्ट’ गरे। बच्चा जन्मेदेखिकै सम्पूर्ण धार्मिक तथा सामाजिक एक-एक प्रथालाई अपनाएर उनले सो बच्चालाई स्वीकारेका हुन्। समाजमा राम्रै आर्थिक तथा सामाजिक प्रतिष्ठा कमाएका कृष्णको सन्तान नहुँदाको पीडा पनि अलग्गै छ। ‘म उनलाई असाध्यै माया गर्छु,’ उनले भने, ‘बच्चा नभएकै कारणले कसरी यतिका वर्षको साथ छाड्न सकिन्छ र?’
के हो त उपचार?
‘पोसिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, धूम्रपान मद्यपान त्याग्ने, भिटामिन ई, सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुरा खाने। यी सबैले शुक्रकीट बन्न मद्दत गर्छन्,’ डा. ताम्राकार भन्छन्, ‘वीर्यमा शुक्रकीटको संख्या कम छ भने कृत्रिम रूपमा वीर्य निकाली सामान्य सरसफाइपछि विशेष किसिमको पाइप (क्याथेटर) बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ। शीघ्रपतन, लिंग नउठ्ने जस्ता समस्याका लागि मनोवैज्ञानिक परामर्श लिनुपर्छ।’

वीर्यको जाँचका क्रममा खराबी नपाइए पनि महिलाको योनीमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट (भित्री तह) एवं डिम्बवाहिनी नली छ, छैन भनी जाँचिने अग्रवाल बताउँछिन्। ‘योनीमार्गदेखि डिम्बवाहिनी नलीसम्म कुनै खराबी छैन भने प्रत्येक महिना एउटा भन्दा बढी डिम्ब उत्पादन तथा निष्कासन हुने (सम्बन्धित चिकित्सकको निगरानीमा) औषधि र सुई दिन सकिन्छ,’ उनले भनिन्।
चिकित्सकका अनुसार औषधि सेवनपश्चात् आशातीत संख्यामा डिम्ब परिपक्व हुँदै गइरहेको छ, छैन भनि अल्ट्रासाउन्डबाट जाँचिन्छ। डा. अग्रवालका अनुसार पुरूषको शुक्रकीट नै नआउने अवस्थामा उपचारबाट पनि सुधार भएन भने श्रीमान्-श्रीमतीको सहमतिमा अर्को मान्छेको शुक्रकीट लिएर सफा गरेर पाइपको माध्यमले सिधै पाठेघरमा हाल्न मिल्छ। पाठेघर नै नभएको र जन्मजात डिम्ब नबन्ने महिलामा पनि बच्चा संभव हुन्छ। डिम्ब मात्रै नभएको अवस्थामा त अन्य महिलाको पाकेको डिम्ब निकालेर टेस्ट्युब प्रविधिबाट पनि सन्तान हुनसक्ने उनी बताउँछिन्।
अन्तिम विकल्प टेस्टट्युब बेबी
पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गराइने प्रविधि टेस्ट ट्युब अर्थात् आईभीएफ (इनभिट्रोफर्टिलाइजेसन) हो। यसमा श्रीमती अथवा महिला पार्टनरबाट निकालिएको डिम्बलाई उनको श्रीमान् वा पुरुष पार्टनरको शुक्रकीटलाई प्रयोगशालामा निसेचनका लागि उपयुक्त वातावरणमा राखिन्छ। यसरी प्रयोगशालामा राखिएको डिम्ब निसेचित भयो भएन ४८ घण्टापछि चेक गरिन्छ। निसेचित भएको निर्क्यौल भएपछि सो डिम्बलाई विशेष खालको पाइप (क्याथेटर) बाट महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ। पाठेघरले यसलाई कसरी ग्रहण गर्छ भन्ने कुरा निश्चित नभएको कारण यो प्रविधिको सफलता केबल ३० प्रतिशत मात्र छ। आईभीएफ सफल हुन बच्चा बस्ने ठाउँ पाठेघर राम्रो हुनुपर्छ। यो प्रविधि पाठेघरमा शुक्रकीट प्रवेश गर्ने नली फालोपियन बन्द नभएका महिलामा मात्रै संभव छ।
यो प्रविधिमा सफलताको दर ४० प्रतिशतको हाराहारीमा भए पनि जीवित जन्मदर २५ प्रतिशतमात्रै छ। अधिकांश समयमा चार भ्रुण प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गर्दा सबै हुर्किन नसके पनि कम्तीमा एउटा हुर्किन्छ भन्ने सोच राखिएको हुन्छ। विज्ञहरूका अनुसार सफल हुँदाको अवस्थामा एकैपटक तीनचारवटा बच्चा जन्मिने संभावना बढी हुन्छ। सफल भएका केसमा एक भन्दा बढी शिशु जन्मिने चिकित्सकहरू बताउँछन्। आईभीएफका अधिकांश अवस्थामा अप्रेसनको जरूरी पर्छ।

यो प्रविधि सबै महिलामा सफल हुन्छ भन्ने छैन। त्यसरी राखिएको गर्भ तुहिने वा खेर जाने संभावना पनि भएकाले औसत महिलामा यो प्रविधिबाट बच्च जन्माउन दुईदेखि तीन पटक प्रयास गर्नुपर्ने डा. रिजाल बताउँछन्। गर्भ तुहिने, पाठेघर बाहिर गर्भ रहने, नवजात शिशुको मृत्यु हुने सम्भावना पनि धेरै हुने उनी बताउँछन्।
‘अस्पतालमा एकपटकको खर्च झन्डै चार लाख रुपैयाँ लाग्छ,’ डा. रिजाल भन्छन्, ‘धेरै महिलामा उहाँहरूकै चाहनाअनुसार दोहोर्‍याएर प्रयास पनि गरिन्छ। यसले खर्च बढाउँदै लान्छ। आर्थिक अभावकै कारण सेवा लिन नपाएकाबारे सरकारले सोच्नुपर्छ।’
नेपालमा ओम अस्पतालमा ०६१ फागुन २० गते यो प्रविधिबाट बच्चा जन्माइएको थियो। त्यो बाहेक यो सेवा ग्वार्को, ललितपुरस्थित ग्लोबल अस्पतालमा पनि छ। अन्य सरकारी तथा गैरसरकारी अस्पताल पनि यसको तयारी गर्दै छन्। ओममा मात्रै टेस्ट ट्युबमा गर्भाधान गरिने यो प्रविधिअन्तर्गत झन्डै साढे तीन सयभन्दा बढीले जन्म लिइसकेका छन्। डा. रिजालका अनुसार ओममा इटाली, अमेरिका, चिली, फिनल्यान्ड, हङकङ, बेलायत, डेनमार्कलगायत देशका जोडीले सन्तान सुख पाइसकेका छन्।
बाँझोपन भएका मध्ये झन्डै पाँच प्रतिशतलाई मात्रै आईभीएफ आवश्यक पर्ने डा.रिजाल बताउँछन्। नेपालमा तीमध्ये एक प्रतिशतले मात्रै यस्तो सेवा लिन पाएका छन्। पहिलोपटक राजेन्द्र-सन्ध्या तामाङ दम्पतीले यस प्रविधिबाट एक सन्तान जन्माएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here