रेशम विसी
कात्रो साथै लिइकन तिमी,जाउ चेली बजार।
तिमी हिड्छाै अघिअघि पछी,लाग्छ पापी कतार॥
थाहै हूँदैन कुन दिन बेला लुकी बस्छ दैत्य।
बोल्नै हूँदैन कुन कति बेला ढुकी बस्छ दैत्य॥
चेलीबेटीहरु अब कठै,बाँच्न आशा हरायो।
ढुकी बस्दै सिंहहरु लुकी,बाघ बन्मा करायो॥
आयो याैटै हुलहरु बनी,हेर बाघ्को बथान।
आफ्नै गाऊँ घर नजिक आयो रक्षा छैन ठान॥
साथीसङ्गी पनि अब सबै,दुष्ट बन्दै गएर।
खेल्छन् पासा जिवनभरि नै,ज्यान लिन्छन् ल हेर॥
कस्को विश्वास् परि अब कहाँ,जानु सङ्गी भनेर ।
बाटो घाटो कहिँ पनि कतै,छैन खुल्ला ल हेर॥
छोरीबैनी सुरक्षित कहीँ,छैन ब्याधा बसेछन्।
घेराबन्दी गरिकन कठै,हेर दाह्रा धसेछन्॥
खाए चूसी रगत खुन यी,दुष्ट ब्वाँसाहरूले।
लिए ज्यानै छुरि पनि धसी,दैत्य दानव्हरूले॥
रुन्छिन् धर्ती अति पिर गरी,आँसु साह्रै खसाली।
त्यै आँखामा झरि बनि रहे,पीर ज्यादै बसाली॥
त्यसैले नै अब लड मिली,आउ कात्रो लिएर।
ब्याधा,ब्वाँसाहरु सब यिनी,मार्न तम्साैँ डटेर॥
कञ्चनपुरकि निर्मला पन्तको सम्झनामा !
२०७५/५/१४