काजोल

0
349

झमक घिमिरे
***********
दाजु तिमीलाई पोहोर साल
मैले बाँधिदिएको राँठी
आज मेरी काजोलले चुडाइदिएकी छे,
त्यसमा अल्झेको दीर्घजीवनको कामना
स्वयं काजोल आफैंले धारण गरी !

वर्षौदेखिको नदेखिएको बुर्काभित्रको जीवन
कालो रात च्यातेर
कञ्चन आकाशमा नृत्य गरिरहेकी चाँदनी जस्तै
स्वच्छन्द र उमुक्त बनेर
धरतीमा नृत्य गर्न चाहन्छ !

दाजु तिम्रै हातले जलाइएका काजोलहरू
तिम्रै हातले निमोठिएका तरुण सपनाहरू
तिम्रै हातले स्वाहा पारिएका चाहनाहरू
मेरी काजोल एक एक ब्यूँताउन चाहन्छे,
तिम्रो सत्ता उल्टाएर
आफ्नो सत्ताको वीजारोपण गर्ने चाहन्छे!

त्यो आस्थाको क्यानभासमा त्यसको रङ पोत्न चाहन्छे,
हो, मेरी काजोल सृष्टिभरी प्रेमको रङ पोख्न चाहन्छे
प्रेममय भएर जिन्दगीको नदी बगाउन चाहन्छे!

हिजो तिमीले जलाइदिएको शरीरबाट निस्केको आत्मा
हिजो तिमीले निमोठेका वास्नाहरू
हिजो तिमीले स्वाहा पारेका सपनाहरू
ब्यूँताएर आफ्नै सीमारेखा कोर्न चाहन्छे,

जुन सीमारेखा तिमीले पार गरेका छौ
त्यही सतहमा उभिएर
म र मेरी काजोल
तिम्रै लागि सीमारेखा कोर्ने छौँ
जसलाई नाघेर तिमीले नारीत्वको अपमान गर्ने छैनौ,
त्यो सतहमा उभिने छ
क्रान्ति र शान्तिको सीमास्तम्भ
मानवता र प्रेमको सीमास्तम्भ !

अनि तिमी भातृत्वको पर्खाल ढाल्ने छैनौ,
मैले बाँधिदिएको राँठीको मुल्य बुझ्छौ
अह्म परै च्यातेर उभिने छौ
त्यहाँ प्रेमको बीज उम्रीने छ
र, काजोलहरू मारिने छैनन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here