कांग्रेस नेता खुमबहादुर खड्काको निधन

0
219

काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज साँझ निधन भएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन्। खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। माइल्ड स्ट्रोक भएपछि केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएर खड्कालाई थप उपचारका लागि फागुन ६ मा नयाँदिल्ली लगिएको थियो।

खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म पटक-पटक मन्त्री भएका थिए।

खड्का ५० को दशकमा कांग्रेसभित्रका शक्तिशाली नेता थिए। उनी अन्तिम पटक ०५८ मा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।

राजाले शासन सत्ता हातमा लिएपछि जब दलहरुले संघर्ष गर्न थाले, खड्का ओझेलमा पर्दै गए। त्यसमाथि सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि उनी गत ०६९ भदौ ६ देखि ०७० असोज २३ सम्म जेल बसेका थिए।

जेलबाट बाहिरिएपछि उनले आफूलाई हिन्दू राष्ट्रको पक्षधरका रुपमा उभ्याउँदै शक्ति आर्जन गर्दै गएका थिए। उनले कांग्रेसको तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा दोस्रो बढी मत ल्याएका थिए।

अप्ठ्यारो परिस्थितिमा पनि गुटको संरक्षण गर्न सक्ने र त्यसलाई प्रयोग गर्न सक्ने भएकाले उनी राजनीतिको छायाँमा रहँदा पनि चर्चामै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here