कवि भूपीको भावमा

0
121

– गोविन्द आचार्य

दुईचार हैन हजारौँ सपुत मरेर गएको
भएन पुरा हे कवि भूपी खै देश बनेको ?
प्रकृतिमाथि हमला गर्न दलाल जागेका
झरेन तारा आध्यारो तानी सङ्कट पारेका

देशको दशा देखेर लेख्ने कविलाई सास्ती छ
सत्तालाई जाति तष्करका ताँती देश तिन्नलाई मस्ती छ
पहाडका ढुङ्गा दाँतले टोक्छन् गाँसमा मुछेर
अस्मिता देशको झोल पारी पिउँछन् उखु झैँ पेलेर

हे कवि भूपि हजारौँ मरे दुईचार मोटाउने
चिन्तन यहाँ खराव भयो मानिस घोटाउने
मानिस बेच्ने प्रमाण पत्र लिएर बस्या’छन्
कोही रोग बेच्ने कोही ज्यान बेच्ने धन्दामा लाग्या’छन्

रोग बेच्ने खेती गरेर शहर धपक्कै बल्या छ
मानिसलाई मालवस्तु जस्तै झोलामा बोक्या’छ
पालेको पशु बेच्दामा बाबै मन रुन्छ धरधर
दलाल आई उडाउँछ मान्छे हावामा सरसर

हजारौँ ढोका बेच्नलाई खुला तष्करका ताँतीलाई
पुलिसका कच्चा कानुनका लौरा नदेखाऊ हामीलाई
ओठमा हाँसो गालामा लाली तष्करका ताँतीलाई
जीवन गुमाई खाडीको कमाई तष्करका ताँतीलाई

खसी र भौसी मूल्यको देशमा मानिस सस्तो छ
बुझ्दैन मर्म पीडाले पोल्छ झन् बढी सास्ती छ
चलन नयाँ आएन केही मान्छेको हितमा
आन्दोलन भए भएन तर देशका हितमा

देशको हितमा भएको भए दु:खले हट्दो हो
कामको खोजी गरेर खाडी के जान पर्दो हो
दुईचार तष्कर सत्ताको गला समाइरहेका
झुट र लुट तस्करको सिप सञ्जाल फिँजेका

हे कवि भन मिर्मिरेमा तारा कहिले झर्ने हो ?
दुईचार हैन हजारौँ मरे के अझै मर्नै हो ?
बिउको बोक्रो छरेर होला उम्रेर आएन
मान्छेको हित चाहेको गीत कसैले गाएन

मानिस बेची कोठीमा थुन्ने दलालको बाटो थुन्
तष्करको ताँती हेरेर हुन्न चेतना गीत सुन्
मान्छेको जीत भएको छैन सडेका कानुन फाल्
नयाँको खोलमा आएका तष्कर विषालु झार फाल्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here