कथा- देशविहीनहरू

0
24

  • प्रकाश थापा मगर

उमेश झाडी फाँड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी गरेका रहेछन् ।

हामी त्यस ठाउँमा पहिले पनि पुगेका थियौँ । तर अहिलेको समयसम्म धेरै नै परिवर्तन भैसकेको थियो । पाँच वर्ष पहले हामी आउँदाको मौसम वर्षात्को थियो । हामीलाई यहाँसम्म पुग्न पैदल यात्रा गर्नुपरेको थियो । गुवाहटी हुँदै कार्बिआङलोङसम्म जाने जिपको सेवा त्यतिखेर बन्द थियो । तैपनि उमेशजीसित भेट गर्नै पर्ने भएकाले हामीले मेघालयको बाटो हुँदै जानु परेको थियो । हामीलाई यहाँसम्म पुग्न दुई दिन लागेको थियो ।

भारतको पूर्वी–उत्तर क्षेत्रमा पर्ने त्यो ठाउँ घना जङ्गल भए पनि पश्चिमोत्तरको जस्तो थिएन । न त त्यहाँ पश्चिमोत्तरमा जस्तै जताततै पानीको मूल फुटेको हुन्थ्यो, न असौजको त्यो समयमा पनि त्यहाँ नेपालको उच्च पहाडी लेकमा झै जुका लाग्दथ्यो । रातो माटोमाथि उभिएको त्यो जङ्गलमा नेपालमा जस्ता झाडीहरू पनि थिएनन् । त्यहाँ सालका रूखहरू पनि यदाकदा मात्र भेटिन्थे । बढी मात्रामा सल्लाका र थोरै मात्रामा साजन र चिलाउनेका रूखहरू थिए त्यहाँ । धेरैथोरै पानीको मुहान बगिरहेका अवस्थामा थिए । तर ती मुहान खालि पहाडको खोँचमा मात्र थिए । खोँचमाथि चिलाउनेको रूख सिङ्गै तेस्र्याइएको थियो । राम्ररी ताछतुछ पनि नपारिकन राखिएका ती चिलाउनेका मुढाहरू हिउँदमा फर्निचरका लागि काम लाग्दथ्यो, तबसम्म खोँचमा पानी सुकिसक्थ्यो र साँघुको आवश्यकता पर्दैनथ्यो ।

ढुङ्गाहरू नगण्य मात्रामा रहेको त्यो स्थानमा पहराहरू पनि देखिँदैनथे । हेर्दा मनोरम लाग्ने मध्यम उचाइका ती पहाडहरू, त्यसमाथि सल्लाको जङ्गलले ढकमक्क ढाक्दाको दृष्य यति मनोरम लाग्दथ्यो, जस्तो कि ती पहाडहरू मानिसहरूद्वारा निर्माण गरिएका हुन् । मुश्किलले आधा घण्टाभन्दा बढी हिड्नु पर्दैनथ्यो कि टापुको सिरान आइहाल्दथ्यो । भौगोलिक स्थितिलाई सर्सरी हेर्दा त्यहाँको पहाडलाई महाभारत शृङ्खला मान्न सकिदैँनथ्यो, तर थियो त त्यो महाभारत पहाड नै । ढुङ्गा र पानीको अभावले होला, त्यहाँ पहिरो गएको पनि कहिँ कतै देखिएन । मानव बस्तीहरू पातला थिए । प्रत्येक टोलमा काठको काम भएको देखिन्थ्यो । तर व्यावसायिक रूपमा होइन कि गाउँले आवश्यकता पूर्ति गर्नका लागि । ढुङ्गाको कमी भएकाले गर्दा त्यहाँका घरहरू बाँसको कप्टेरा, फल्याक र माटोद्वारा बनाइन्थ्यो ।

त्यहाँका स्थानीय बासिन्दाहरू कार्बी जातिका थिए । उनीहरूको नै त्यहाँ वहुलता थियो । त्यसका साथै नेपालीहरूको बस्ती पनि उल्लेखनीय थियो त्यहाँ । नेपालको सामाजिक स्थितिमा दलित भनिनेहरूको त्यहाँ उपस्थिति कार्बीपछिको दोस्रो क्रममा थियो । यद्यपि त्यहाँ छुवाछूत थिएन । उनीहरूले त्यहाँ थर बदलेका थिएनन्, वास्तविक थर नै राखेका थिए । शायद कार्बी जातिमा छुवाछूत नभएकाले होला, नेपाली मूलका दलितहरूले पनि थर परिवर्तनको आवश्यकता देखेका थिएनन् । छिटपुट रूपमा क्षेत्री, ठकुरी, ब्राह्मण र अन्य जातिहरू पनि थिए । ठकुरीमा जातीय रवाफ अझै पनि थोरै बाँकी थियो । तर उनीहरू दलितका घरमा खाना खान्थे । ठकुरी वंशमध्येको एउटा परिवार त्यहाँ केही सम्भ्रान्त स्थितिमा थियो । उनीहरू जङ्गल फाडेर खोरिया बनाउँथे र त्यसलाई लीजमा दिने गर्थे अरू नेपालीहरूलाई । यही कारणले गर्दा उनीहरूको स्थिति आर्थिक रूपमा केही वलियो थियो । उनीहरू घोडा पाल्दथे । त्यहाँको भौगोलिक अवस्थालाई हेर्दा घोडा आवश्यक देखिन्थ्यो पनि ।

नेपालीभाषीहरूको पनि धर्म, संस्कार हिन्दू नै थियो । त्यसका साथै घरमा प्रकृति पूजास्वरूप कुखुरा, बाख्रा र रागाको बली प्रथा पनि कायमै थियो । यता नेपाली पशुपतिनाथ भन्दै ठाउँ ठाउँमा मन्दिर बनेका थिए । त्यसका पूजारीहरू नेपालीले आपसमा सल्लाह गरेर चुन्थे । तर मन्दिरकै कर्मले पूजारीहरूको जीविका चल्दैनथ्यो । त्यसका लागि नेपालीहरूले सल्लाह गरेर केही जमिनको व्यवस्था गरिदिएका हुन्थे । मन्दिरमा दिइने दान र खेतीबाट मात्र पुजारीको जीविका चल्दथ्यो ।

हामी गत साल त्यहाका ठकुरी मुखियाकहाँ बास बसेका थियौँ । उनले बताएका थिए– सरकार र भूमिगत सङ्गठनहरूको आपसी द्वन्द्वका कारणले त्यस क्षेत्रको भौतिक विकास हुन सकेको थिएन । त्यहाँ साँझ परेपछि आम मानिसहरूको हिँड्डुल बन्द हुन्थ्यो । राती त खालि भूमिगत सङ्गठनका मानिसहरू हिँड्डुल गर्दथे, त्यो पनि यदाकदा मात्र । दुई/चार महिनाको अन्तरालमा आसाम राइफल्सको गस्ती हुन्थ्यो त्यहाँ । उनीहरूले भूमिगत सङ्गठनका मानिसहरूलाई त भेट्दैनथे, तर बाटो ’roundका स्थानीयवासीलाई अवश्य धम्काउँथे । यही कारणले गर्दा स्थानीय जनतामा आसाम राइफल्सप्रति चर्को असन्तोष थियो । तर उनीहरू त्यसको प्रतिवाद पनि गर्न सक्दैनथे । भूमिगत सङ्गठनहरूले भने आम मानिसहरूलाई केही गर्दैनथे । खालि केही सम्पन्न मानिसहरूसित वेला वेलामा चन्दा माग्दथे ।

हामी बाटामाथिको खाली ठाउँमा बसेर घाम तापिरहेका थियौँ र फुर्सदमा एक वर्ष पहिलेको दृष्य स्मरण गर्न भ्याएका थियौँ । सुनिल सर र मैले उमेशलाई त्यो मेसोको झाडी फाडेर नसिध्याउँदासम्म नबोलाउने अघोषित सहमति गरेका थियौँ । हामीले बोलाएको भए उनको काम डिस्टर्ब हुन्थ्यो । हामी गुवाहटीबाट त्यहाँ चार वजेतिर पुगेका थियौँ । पाँच वजेतिर साँझ पर्दथ्यो । अब साँझ पर्न धेरै समय बाँकी नरहेकाले काम सकेपछि मात्र बोलाउने भन्दै हामीहरू धेरै बेरसम्म सुस्तायौँ ।

“ओ हो सुनिल सर, कहिले आउनु भयो त” एकाएक पछाडि फर्किँदा हामीलाई देखेपछि उमेशले भने ।

सुनिल सरले कामलाई डिस्टर्ब नहोस् भनेर उहाँलाई कामका बीचैमा नबोलाएको बताउनु भयो ।

पसिनाले निथ्रुक्क भिजेको शरीर । उमेश कुरा बिसाउँदै हामीछेउ आइपुगे । टाउकोको पगडी जस्तो कपडा फुकाएर उनले आफ्नो अनुहार पुछ्न थाले । हामीलाई त्यति वेला थाहा भयो– घाम वा हावा मात्र छेक्ने नभएर पसिना पुछ्ने काम पनि गर्ने रहेछ त्यो कपडाले । त्यसै पनि हिउँदको समयमा त्यो पगडी घामभन्दा पनि चिसो हावा छेक्नका लागि लगाइएको जस्तो लाग्दथ्यो । गर्मी होस् या जाडो—पसिना आउँदा पगडीको काम त थियो नै ।

हामी उमेशसँगै घरतिर लाग्यौँ । घरमा उनकी श्रीमती र दुई वटी छोरीहरू थिए । खर जस्तैै घाँसले छाएको छानो । बाँसको भाटाले घेरिएको । त्यसमा रातो माटोले लेपिएको । घर एक तले थियो । फल्याक जोडेर ढोका बनाइएको थियो । पूर्वतिर फर्किएको घर अगाडिको आँगन । लिपेर चिल्लो बनाइँदा माखा पनि लर्केला जस्तो थियो । आँगनको तीनतिर माटाको डिल बनाइएको थियो ।

हामी तीनै जना आँगनको डिलमा बस्यौँ । उमेशकी ठूली छोरीले अम्खोरामा पानी लिएर आइन् । शायद यो त्यो घरको चलन थियो, हात–मुख धुनका लागि पानी दिने । उमेशले हामीलाई ‘पानी पिउनु हुन्छ कि’ भनेर सोध्नु भयो । हामीले तिर्खा नलागेको बतायौँ । उहाँले हातमुख धुन थाल्नु भयो । यत्तिकैमा उमेशकी श्रीमती कपडाले शीर ढाकेर वाहिर निस्कनु भयो । त्यसपछि हामीलाई नमस्कार गर्नु भयो । हामीले पनि नमस्कार फर्कायौँ ।

एकै छिनमा चिया आयो । कालो चिया भए पनि सुकुमेल र मरिच राखेर बनाइएकाले असाध्यै स्वादिस्ट लाग्यो । जाडोका वेलामा मरिच राखेको चियाको वेग्लै महत्व भएको हामीले वारम्वार महशुस गरेका थियौँ ।

साँझ खाने वेला भयो । हामी खाना खान बस्यौँ । उमेशजी पनि हामीसँगै खान बस्नु भएको थियो । खानाका वेलामा मैले उमेशजीको नेपालमा घरपरिवारको ’boutमा सोधेँ । उमेशले सहजताका साथ आफ्नो घर म्याग्दी भएको र परिवार यही नै भएको बताए । जब उमेशले आफ्ना’boutमा बताउँदै थिए, सुनिलले मलाई दाहिने कुहिनीले घुच्याउनु भयो । यो कुनै गोपनीय कुरातर्फको इशारा थियो । बुझेपछि म चुप लागेँ । राती सुत्ने वेलामा मैले सुनिल सरलाई वास्तविकता के हो रु भनेर सोधे । उहाँले मलाई भोलि विहान बताउँला भन्नु भयो । त्यस रात वास्तविकताको व्यग्र प्रतिक्षाका वावजुद हामी निदाउन बाध्य थियौँ, खासगरी म ।

विहान चिया पिएपछि उमेशजीको खोरियातिर घुम्न जाने निधो भयो । उमेशजीको ध्यान अदुवा खेतीतिर थियो । त्यसैका लागि उहाँले हिजो झाडी फाँड्नु थियो । त्यो ठाउँमा पनि फागुनतिर अदुवा लगाउने योजना थियो उहाँको ।

हामी खोरियामा पुग्यौँ । खोँचको बीचमा खेत थियो । वर्षात्को समयमा भलपानी पनि हिँड्ने भएकाले खेतका आलीहरू भत्किइसकेका थिए । उमेशजीले त्यो खेतको धान स्याहार्न पाउनु भएको थिएन । कारणः बँदेलले उहाँको खेतको धान सबै सिध्याइदिएको थियो । बँदेललाई धपाउन मुढाहरूमा आगो लगाएर रातभरि जागै बस्ने गरिन्थ्यो । डढेलोले पूरै डढिनसकेका मुढाहरू अहिले पनि यत्रतत्र देखिन्थे त्यहाँ । हिउँदमा ती खेतहरू बाँझै रहन्थे । त्यसका पछाडिको एउटा कारण बँदेल पनि थियो । वर्षात्को तुलनामा बँदेलको उत्पात हिउँदमा बढी नै हुन्थ्यो ।

उमेश झाडी फाँड्न थाल्नु भएको थियो । हामी झाडी फाँड्न त्यति अभ्यस्त थिएनौँ । स्थानीय बोलीमा दाउ भनिने हतियारद्वारा ती झाडी उमेशजीले कुशलतापूर्वक फाँड्न थाल्नु भयो । सरदर एक किलो तौल भएको दाउ उचालेर झाडी फाँड्ने काममा हामीहरू धेरै बेर टिक्न नसक्ने निश्चित थियो । त्यसकारण हामीहरूले घाम पर्ने ढुङ्गा खोजेर आराम गर्ने ठेगान गर्यौ र बस्यौँ पनि । ढुङ्गामाथि बसेपछि सुनिलजीले हिजोको तामल निकाल्नु भयो । तर उहाँ आफैले खानु भएन । उहाँ चुना खान अध्यस्त हुनु हुन्थेन । मैले चुनालाई कोट्याएर फ्याँके । मेरो पान वा तामलप्रति सुरूदेखि नै मोह थियो । तर चुना अलिकति धेरै हुँदा जिब्रोमा घाउ बनाइदिँदा समस्या हुन्थ्यो । अब सुनिल सरले हिजो खाना खाँदा कुहिनीले घोच्याएर रोक्नु भएको उमेशको बेलीविस्तार सुरू गर्नु भयो :

“म्याग्दीमा पुस्तौनी घर थियो उमेशको । अहिले पनि छ रे परिवार त्यहाँ । एक छोरा, एक छोरी उता पनि छन् । छ/आठ महिनाका लागि काम पुग्दथ्यो, घरको जमिनबाट । चार महिना जति खाली बस्नु पर्दथ्यो । कोदो, फापर, मकैको खेतीका लागि कडा परिश्रम गर्नु पर्ने । त्यसपछि पनि खान नपुग्ने । छोराछोरी हुर्कन थालेका थिए । उनीहरूलाई पढाउनु पर्ने थियो । फिस त धेरै थिएन । तर कापी, कलम, ड्रेस लगायतका खर्च उठाउन पनि धौ धौ भैरहेको थियो । त्यस गाउँका मान्छेहरू रोजगारीका लागि गुवाहटीतिर गएका थिए ।

१५ वर्ष पहिले उनले म्याग्दी छोडेका थिए । गुवाहटीतिर गएका मान्छेहरूले उतै गएर केही गर्नु पर्दछ भन्ने सल्लाह दिएका थिए । उमेशसँग खेतीकिसानीमा काम गर्ने वाहेक अरू सिप थिएन । गुवाहटीमा पनि गाई पालेर प्रशस्त पैसा कमाइन्छ भन्ने सुनेपछि उनी गुवाहटी आएका थिए ।

गुवाहटी आएपछि पनि भने जस्तो भएन उमेशलाई । गाई किन्ने पैसा थिएन उनीसित । सरसापटी गर्न पनि अरूले पत्याउने स्थितिमा पुगिसकेका थिएनन् उनी । आफ्नो गाई नभएपछि उनले गाईपालककहाँ नोकरी गर्नु पर्ने बाध्यता उत्पन्न भयो । खान, बस्न त त्यहीँ मिल्दथ्यो । तर कपडा, हिँड्डुल गर्दा नोकरीबाट पाउने पैसाले उनलाई कमी नै हुन्थ्यो । उनको योजना थियो– यहाँ अलिकति पैसा कमाएपछि गाउँमै केही गर्ने । नोकरीको बचतले चार/छ महिनामा दुई/चार हजार रूपैयाभन्दा बढी पैसा पठाउने स्थितिमा थिएनन् उनी । गुवाहटीमा फोनको सुविधा राम्रो थियो । उनले त्यहाँबाट फोन गरिरहन्थे घर । परिवार जेनतेन चलिरहेको थियो । तर उनको इच्छा, आकाङ्क्षा यत्तिमा सीमित रहेको थिएन । त्यसकारण उनलाई भुट्भुटी हुन थालेको थियो ।

यसैबीच एक जना नेपाली भेटिए जोराबाट वजारमा । उनी स्याङजातिरका रहेछन् । कार्बिआङलोङमा खेतीकिसानी गर्दा रहेछन् उनले । कार्बिआङलोङमा गाउँ बुढालाई अलिकति पैसा दिएपछि खोरिया लीजमा पाइने, त्यसमा अदुवा, अम्लिसो आदिको खेती गरिएमा राम्रै आम्दानी हुने उनले उमेशलाई बताए । कार्बिआङलोङमा साप्ताहिक वजार लाग्ने भएकाले अदुवा, अम्लिसो बेच्न पनि समस्या नपर्ने उनले बताए । ती साथीको वयानले उमेशको मानसपटलमा केही आशाको किरण देखा पर्यो । उनले मनमनै गुवाहटीमा गाईपालकको नोकर बन्नुभन्दा कार्बिआङलोङमा जमिन लीजमा लिएर आफ्नै खुट्टामा उभिने कल्पना गर्न थाले । उनले स्याङजा घर भएका ती साथीको ठेगाना, त्यहाँसम्म पुग्ने लोकेशन र कहिलेकाहीँ भए पनि लाग्ने फोन नम्बर लिए ।

ती साथीसित भेट भएको एक महिनापछि उनी कार्बिआङलोङ पुगे । त्यो गाउँमा गुवाहटीमा जस्तो गर्मी थिएन । वरिपरि घना जङ्गल, साँझ पर्नासाथ हिँड्न डर लाग्ने ठाउँ थियो त्यो । मानिसहरूको पातलो बस्ती थियो त्यहाँ । तल मैदानमा साप्ताहिक वजार लाग्दथ्यो । त्यहाँदेखि गुवाहटीसम्मका लागि मालवाहक गाडीहरू लाग्दथे, जसमा अम्लिसो, अदुवा, तरूल, सुन्तला, पिडालु लगायतका अन्न तथा फलफूलहरू ढुवानी गरिन्थ्यो ।”

“स्याङजाका ती साथीले उमेशलाई ठूलो गुन लगाए । उनले गाउँ बुढाबाट जमिन दिलाए । केही ऋण–सापटी पनि दिए” उमेशले एकाएक हाम्रो नजिकै बस्दैै भने ।

“आखिर सुनिलजीले मेरो रामकहानी सुनाएरै छाड्नु हुने भयो” उमेशले हाँस्दै भने । “तपाईको कहानी त्यति छुपा रूस्तम कहाँ छ र ?” सुनिलजीले भन्नु भयो– “खुला किताब झैँ छ ।”

उमेशले अस्वीकार गरेनन् । उनले भनेँ– “मैले लुकाउन खोजेको पनि छैन । फेरि हरेक मानिसको आफ्नै प्रकारको परिस्थिति हुन्छ । उसको जिन्दगी त्यो परिस्थितिभन्दा बाहिर जान सक्दैन । मेरो परिस्थिति’bout मलाई भन्दा बढी जानकारी अरूलाई हुन सक्दैन ।”

उनले घरबाट बोतलमा ल्याएको पानी आधा जति सिध्याए । दुई लिटर पानी रहेको त्यो पेप्सीको बोतल शायद उनले सिध्याउने थिए होला, तर यत्तिकैमा उनलाई हामी दुई जना पनि त्यहाँ रहेको स्मरण भयो । पानी पिउने क्रमलाई ब्रेक दिए । त्यसका साथै दाउ बोकेर हिँडे, फेरि झाडी फाँड्नका लागि । सुनिल सरले भने फेरि उमेशको जीवन’bout चर्चा गर्न सुरू गर्नु भयो–

“स्याङजाका ती साथीले एक दिन गाउँ बुढाछेउ लिएर गए । त्यहाँ जानुको कारण खेतीकिसानीका लागि खोरिया माग्नु नै थियो । गाउँ बुढा एक हजार रूपैयामा खोरिया दिन राजी भए । एक हजार रूपैया उमेशसित थियो नै । त्यो पैसा गाउँ बुढालाई बुझाएपछि उनले खटाएका एक जना मानिस सहित उमेश र स्याङजाका ती साथी पाखातिर निस्किए । साना साना रूखहरू भएको पाखाको एक ठाउँमा अमलाको रूख थियो, लटरम्म फलेको । त्यहाँबाट पाँच मिनट दायाँ, पाँच मिनट अगाडि, त्यसैगरी वर्गाकार आकारमा पाँच/पाँच मिनट गाउँ बुढाका मानिस, उमेश र स्याङजाका साथी हिँडे । यसरी वर्गाकार हिसाबले बीस मिनट हिँडाइभित्रको जति जमिन थियो, त्यो १० वर्षका लागि लीजमा उमेशले लिने भए । त्यसमाथि थप वर्षको दुई सय किरायास्वरूप बुझाउनु पर्ने भयो । गाउँ बुढाको मानिसको साथमा भएको कपीमा यी सबै दर्ता गरियो ।

उमेशले त्यहाँ छाप्रो हाले । भाडाकुँडा, अन्नपानीका लागि स्याङजाका साथीले मद्दत गरे । पहिलो सिजन भएकाले अदुवा राम्रै भयो । त्यसपछि उनले अम्लिसो लगाए । खोरियाका छेउछाउका रूखको फेदमा तरूल लगाए । छाप्रोको छेउमा अमिलो, निबुआका रूखहरू लगाए । साग, सिमी लगायतका तरकारीहरू उनले लगाए । आलु, सकरखण्ड, पिडालु, सबै लगाए । सुन्तला पनि राम्रै फलेको थियो । खेती राम्रै भयो । खेतीका लागि मल चाहियो । युरिया, पोटासको चलनै थिएन त्यहाँ । उनले गाई किने । गाईले राम्रै कोल दियो । त्यसबाट पाँच/छ वटा गाई र गोरूहरू थपिए । कुखुरा, हाँस पनि उनले पाले । यी सबै राम्रै भयो । त्यसका साथै जङ्गली जनावरबाट घरपालुवा पशुपञ्क्षीलाई बचाउनु पर्ने हुन्थ्यो । घरमा केही चहलपहल नहुँदा वनका जनावरले हेप्ने गर्दथे ।

त्यो ठाउँमा चोरी हुँदैनथ्यो । त्यसका पछाडि त्यहाँको क्रुर सजायको भयले काम गरेको थियो । एक पटक गुवाहटीबाट आएको एउटा किशोरले नसोधिकन सुन्तला टिपेर खायो । त्यो कार्यलाई कार्बी कबिलाले चोरी ठान्यो । त्यसपछि उसलाई मरणासन्न हुने गरी कुटियो । त्यसको पक्षमा गाउँबाट कसैले कुरा उठाएनन् । केटीको बाबाआमाले पनि केही गर्न सकेनन् । उक्त किशोरको हालत कुटाइका कारण अपाहिज जस्तै भयो । उसको मानसिक स्थिति कहिल्यै ठीक भएन । गाउँमा पुलिस, प्रशासन थिएन । गाउँ बुढा मात्र त्यहाँका स्थानीय शासक थिए । त्यसका अतिरिक्त पुलिसको भूमिकामा एकाध व्यक्तिलाई नियुक्त गरिएको हुन्थ्यो । त्यहाँका मानिसलाई न्यायको आधुनिक स्वरूप’bout केही जानकारी थिएन ।

उमेशको त्यहाँको बसाइँ राम्रै भयो । तर त्यहाँको जमिन आवाद गर्ने, पशुपञ्क्षी हेर्ने, घरमा खाना पकाउने लगायतका सबै काम उमेश एक्लैले गर्नु पर्दथ्यो । पाँच वर्षसम्म त उनले यी सबै काम एक्लै गरे । त्यहाँको काम, रहनसहनमा यतिसम्म व्यस्त भए कि उनले नेपाल घर म्याग्दी जाने विषयप्रति उनले ध्यान दिन सकेनन् । गुवाहटीमा जस्तो यहाँ फोनले काम नगर्ने हुनाले फोनद्वारा सम्पर्क पनि हुन छाड्यो । हुलाकको व्यवस्था त्यहाँ थिएन ।

यसैबीच उनको सम्बन्ध नजिकै बसोबास गर्ने क्षेत्री परिवारकी छोरी सीतासित भयो । सीता पढाइ छाडेर घरै बसेकी थिइन् । त्यहाँ पाँच कक्षासम्मको स्कुल थियो । त्यसपछि अगाडिको पढाइका लागि घण्टाभर टाढा जानु पर्दथ्यो । उनले सात कक्षासम्म त्यहाको स्कुलमा पढेकी थिइन् । त्यसपछि अगाडिको पढाइका लागि अझै टाढाको बजारसम्म जानु सम्भव भएन । अब उनी घरै बसेर काम गर्न थालिन् । यसरी बसेको पनि पाँच वर्ष भैसकेको थियो । तबसम्म उनको उमेरले २३ नाघिसकेको थियो ।

उमेश र सीताको पानी पिउने पधेरो एउटै थियो । पानी लिन जाँदा दुबैको भेटघाट हुन्थ्यो । त्यो भेटघाट अन्ततः प्रेममा बदलियो । अब सीताले उमेशको घरसम्म पानीको गाग्री पुर्याइदिन थालिन् । एक दिन नजिकैको रूखको फेदीमा सुस्ताउँदै बसिरहेका उमेश र सीतालाई सीताको बाबाले देखिहाले । यस विषयमा ’roundका मान्छेहरू जम्मा भएर छलफल चल्यो । छलफलमा उमेश केही बोलेनन् । सीतालाई सोध्दा उनले उमेशलाई मन पराएको बताइन् । त्यसपछि गाउँलेहरू उमेश र सीताको विवाह गरिदिने सहमतिमा पुगे । यसरी उनीहरूको विवाह भयो । अहिलेसम्म उनीहरूका दुई वटा सन्तानहरू भैसकेका थिए ।”

“अब के हुन्छ । उमेश नेपाल जान्छन् कि जान्नन् ? घर गए भने यहाको परिवारलाई उतै लैजान्छन् कि के गर्छन् ? के छ उमेशको भनाइ ?” मैले एकै पटक थुपै्र पश्न सोझ्याएँ सुनिल सरतिर । सुनिल सरले भन्नु भयो– “यो कुरा त उमेशजीलाई नै सोध्नु पर्छ । ऊ आइसक्नु पनि भयो ।”

तबसम्म उमेश झाडी फाँडिसकेर हामीछेउ आइसकेका थिए । उनी हामीसँगै बसेर पगडीले अनुहार पुछ्न थाले । पसिनाले निथ्रुक्कै भिजेका उमेशको टाउकोको रौँभरि झाडी फाँड्दा उडेका फूलहरूका भुवा अड्किएका थिए । उनी ‘थकाइ लाग्यो’ भन्दै हामी नजिकै बसेर सुस्ताउन थाले ।

मैले फेरि तिनै प्रश्न उमेशतिर सोझ्याएँ । उनी गम्भीर भए । केही बेर बोलेनन् ।

एक छिनपछि भने– “उतिखेर यति टाढासम्म त सोचिएन सर । सीता नभएको भए मेरो घरवार यत्तिको हुँदैनथ्यो । अब बच्चाहरू पनि भए । यिनको पालनपोषण गर्नै पर्यो ।”

उनी गहिरिएिर चिन्तित मुद्रामा बोल्न थाले– “मलाई थाहा छ, हामी नेपालीको यहाँ खैरियत छैन सर । हामी विदेशी हौँ यहाँ । यहाका रैथाने त कार्बी नै हुन् । हुन त नेपालीहरू यहाँ अङ्ग्रेजकै शासन कालदेखि आवाद भएका हुन् रे ! कार्बीलाई कृषि, पशुपालन, नगदे बाली लगाउन सिकाउने पनि नेपालीभाषी नै हुन् रे ! तर हाम्रो यहाँ कुनै राष्ट्रियता छैन । ७०/८० वर्षभन्दा बढी समयदेखि बसोवास गरेता पनि हामी विदेशी नै हौँ । हामी कहिल्यै यहाँका नागरिक बन्न सक्दैनौँ । यसरी विचार गर्दा एक न एक दिन हामी यहाँबाट जानै पर्छ । नेपाल जाने कि दार्जिलिङ, सिक्किम वा अन्त कतै रु त्यो त ठेगान छैन । तर कार्बिआङलोङमै जिन्दगी बित्ला भनेर त मैले सोचेको छैन । अहिलेसम्म त यसरी नै बितेको छ । भोलि जस्तो परिस्थिति आउला सामना गर्नु पर्ला । घर जान पनि सकिन्छ ।”

उनले ठट्यौली पारामा भने– “नेपाल पनि ठूलै छ । १४ अञ्चलका पचहत्तर जिल्लामा म कसो नअटाउँला र रु फेरि नेपालभन्दा बाइस गुना ठूलो भारत छ । यहाँ नेपालीभाषीहरूको सिक्किम छ । शायद एक न एक दिन दार्जिलिङ पनि राज्य बन्ला । पूर्वोत्तरभरि लाखौँ नेपालीभाषीहरू छन् । भारतको अरबभन्दा बढी जनसङ्ख्यामा हामी त यसरी हराउने छौँ कि तपाईहरूले बत्ति बालेर खोजे पनि भेट्याउन सक्नु हुन्न ।”

सुनिल सरले गम्भीर मुद्रामा भन्नु भयो– “यसरी देशविहीन भएर बस्नु हुँदैन उमेशजी । तपाईहरूले फैसला गर्नै पर्छ । यी दुई बच्चाहरूलाई पनि त भविष्य दिनु पयो । नेपालमा गए पनि तपाईको नागरिकता छैन । भारतमा तपाईहरू विदेशीको श्रेणीमा गनिनु हुन्छ । अझ तपाईहरू त शरणार्थीको रूपमा हुनु हुन्छ, त्यो पनि सूचीकृत नभएका अवैधानिक शरणार्थी । तपाईहरूले एउटा टुङ्गो लगाउनै पर्छ ।”

उमेश गम्भीर भए एकै छिन । तर उत्ति नै खेर हाँसो गर्दै भने– “नेपाली कि भारतीय ! त्यो फैसला समय आउँदा गर्दै गरौँला । सरहरू, अब तत्कालको फैसला चाहिँ खाना खाने गरौँ है । तपाईहरूले त आरामसित बसेर मेरो रामकहानी सुन्ने/सुनाउने गर्नु भएछ । मलाई त असाध्यै भोक लागेको छ । त्यत्रो झाडी फाँडेर सिध्याएँ मैले ।”

उमेशले दाउ उठाए । मैले र सुनिल सरले आधा बोतल पानी सिध्यायौँ । आखिर गफ नै गरे पनि हामीलाई पनि भोक लागेको थियो । त्यसपछि लाग्यौँ हामी उमेशको घरतिर । गम्भीर प्रश्न यतिखेर हावामा फुर्र भएको थियो । तर त्यो पूर्वोत्तर भारतमा रहेका लाखौँ नेपालीको भविष्यसित जोडिएको प्रश्न थियो ।(प्रकाश थापा मगरको ब्लगबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here