ओली र प्रचण्डको सिद्धान्त पुष्पलालसँग मिल्दैन : माेहन विक्रम सिंह

0
1916

सन्त गाहामगर

काठमाडौं । आज साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस । २००६ सालमा कोलकातामा नेकपा स्थापना गरेका पुष्पलालले २००५ मा कम्युनिष्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गरेका थिए । २०१७ सालमा राजा महेन्द्रले कू गरेपछि भूमिगत भएका पुष्पलाल निर्वासित जीवन बिताउन बाध्य भए । विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकजुट गराउन तेस्रो सम्मेलन आयोजना गरेका उनको २०३५ साउन ७ गते नयाँ दिल्लीमा उपचारका क्रममा निधन भयो ।

दोस्रो महाधिवेशनदेखि नेकपाका संस्थापक महासचिव पुष्पलालसँग एउटै कमिटीमा रहेर काम गरेका नेकपा -मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ शीर्षकमा पुस्तक प्रकाशित गरेका थिए । के आज पनि ८४ वषर्ीय सिंह पुष्पलाललाई गद्दार नै मान्छन् त ?

आइतबार मध्यान्ह बनस्थलीस्थित निवासमा सिंहले अनलाइनखबरकर्मीसँग भने, ‘जीवनभरि राजतन्त्रको विरोध र नयाँ जनवादी क्रान्तिका लागि संघर्ष गरेका पुष्पलाललाई गद्दार भन्नु सही थिएन ।’

हामीले पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर कम्युनिष्ट नेता सिंहसँग  कुराकानी गर्‍यौंः

पुष्पलाल श्रेष्ठसँग कहिले र कसरी भेट भयो ?

म कम्युनिष्ट पार्टीमा लाग्नुभन्दा पहिला नै पुष्पलालसँग भेट भएको थियो । यो कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्नु भन्दा पहिलाको कुरा हो । सिंहदरबार विद्रोहपछि डा. केआईसिंह सिंहले राजनीतिक पार्टीका नेताहरूलाई भेट्न बोलाएका थिए । त्यतिबेला पुष्पलाल, शम्भुराम श्रेष्ठ, टंकप्रसाद आचार्य लगायतसँग म पनि गएको थिएँ । त्यतिबेला नै हो पहिलो पटक पुष्पलालसँग भेट भएको । यो २००८ सालको कुरा हो ।

सांगठनिकरुपमा पुष्पलालसँग कसरी जोडिनुभयो ?

मैले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएँ । त्यसपछि जिल्ला कमिटीमा बसेर काम गरें । त्यतिबेला प्रशिक्षण, आमसभा आदिमा उहाँसँग भेट हुन्थ्यो । २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट म पनि केन्दि्रय कमिटीमा निर्वाचित भएँ । त्यसपछि २०१८ सालसम्म एउटै कमिटीमा बसेर काम गरियो । २०१८ सालमा जेल परेर २०२७ सालमा रिहा हुँदा कम्युनिष्ट पार्टी विभिन्न टुक्रामा विभाजित भइसकेको थियो । रिहा भएपछि पुष्पलाललाई भेट्न वनारस गएँ ।

पार्टीलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा सल्लाह गर्न गएको थिएँ । न्यूक्लियस गठन गरेर पार्टीलाई एक बनाउने प्रयत्न गर्‍यौं । तर, एकीकृत हुने प्रक्रियामा सामेल हुन पुष्पलाल तयार हुनुभएन । उहाँको भनाइ सम्मेलन बनाएर जानुपर्छ भन्ने थियो ।

पुष्पलालका संघर्षपूर्ण दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?

हामीबीच कैयौं राजनीतिक, वैचारिक मतभेद अवश्य थिए । तर, पुष्पलाल पार्टीप्रति, क्रान्तिप्रति पूर्णरुपमा समर्पित व्यक्ति हुनुहुन्थ्यो । उहाँ रातदिन पुरै पार्टीको काममा लाग्नुहुन्थ्यो । व्यवहारिकरुपमै सादा जीवन अपनाउनुहुन्थ्यो । दत्तचित्त भएर प्रशिक्षिण दिने, संगठन गर्ने, लेख लेख्ने गर्नुहुन्थ्यो । समग्रमा भन्दा एउटा क्रान्तिकारी कम्युनिष्ट नेतामा हुनुपर्ने कार्यशैली र सम्पूर्ण गुण उहाँमा थियो ।

पुष्पलालसँग यहाँको राजनीतिक असहमति कसरी शुरु भयो ?

पुष्पलालले कांग्रेसलाई मित्रशक्ति भन्नु भएको थियो । उहाँको विश्लेषण आफ्नो ठाउँमा ठीकै थियो होला । तर, हामीले दुश्मनलाई मित्रशक्ति भनेको व्यक्तिलाई गद्दार ठहर्‍यायौं ।

पुष्पलालजीसँगको असहमति दरभंगा प्लेनमबाट शुरु भएको हो । त्यसभन्दा अगाडि डा. केशरजंग रायमाझीको राजतन्त्र पक्षधर र संविधानसभा विरुद्धको लाइनप्रति हाम्रो संयुक्त असहमति थियो । त्यो लाइनविरुद्ध पुष्पलाल, शम्भुराम र म एकै ठाउँमा थियौं । हामीले लामो समयसम्म रायमाझीको लाइनको मिलेरै विरोध गर्‍यौं । दरभंगा प्लेनमपछि भने हामी एक ठाउँमा रहन सकेनौं । त्यो प्लेनममा पुष्पलालले संविधानसभाको लाइन छोड्नुभयो । त्यसपछि मतभेद शुरु भयो । उहाँहरूले नेपाली कांग्रेसले लिएको विघटित संसद पुनस्र्थापनाको पक्ष लिनुभयो । म त्यसमा सहमत भइनँ । मैले संविधानसभाको नारालाई नै कायम राखेँ ।

पछि मतभेद बढ्दै गयो । केन्द्रीय कमिटीमा रायमाझीको लाइन राजावादी थियो, सिधै राजतन्त्र नभने पनि उनले संसदको पुनस्र्थापनामार्फत राजावादी लाइन लिएका थिए । संविधानसभाको लाइन लिने म एक्लै थिएँ ।

प्लेनममा फरकमत मतदानबाट टुङ्गो लाग्ने भयो । भोटिङ हुँदा मेरो प्रस्ताव बहुमतले पारित भयो । रायमाझी र पुष्पलालजीहरूको प्रस्ताव मतदानबाट अस्वीकृत भयो । प्लेनमबाट पारित भए पनि रायमाझीले मेरो प्रस्तावलाई कार्यान्वयनमा लगेनन् । प्लेनमको म्यान्डेट मान्न केन्द्रीय कमिटी बाध्य छैन भन्ने निर्णय गराए ।
त्यसपछि पुष्पलाल, शम्भुराम र हामी तेस्रो महाधिवेशनको तयारीमा जानुपर्छ र त्यसमा विद्रोह गर्नुपर्छ भनेर लाग्यौं । यसैबीचमा म पक्राउ परें । जेलमा भएकाले २०१९ सालमा भएको तेस्रो महाधिवेशनमा म सहभागी हुन सकिनँ ।

यहाँले पुस्तक नै लेखेर ‘गद्दार पुष्पलाल’ भन्नुको कारण चाहिँ के थियो ?

यो विषयमा चर्चा गर्नुअघि अलिकति ऐतिहासिक सन्दर्भमा जानुपर्दछ । ०२६ सालतिर म, कमल कोइराला, सिन्धुनाथ प्याकुरेल, भक्तमान श्रेष्ठ, गोविन्द ढुंगाना लगायत १५ जना भद्रगोल जेलमा थियौं । त्यतिबेला बाहिर पार्टी टुक्रा-टुक्रा भइसकेको थियो । हामीले जेलमै बसेर सम्पूर्णस्थितिको मूल्यांकन गर्न थाल्यौं ।

एक महिनाजति जेलभित्रै बैठक बस्यौं । त्यसबेला नयाँ जनवाद, संयुक्त मोर्चा, नेपाली कांग्रेसलगायतका विषयमा छलफल गर्‍यौं । कांग्रेसको विषयमा त्यसअघिसम्म पार्टीको विश्लेषण ‘मित्र शक्ति’ हो भन्ने थियो । राष्ट्रिय पुँजीपतिहरूको पार्टी भएकाले कांग्रेस मित्रशक्ति हो भन्ने पार्टीको ठम्याइ थियो । कम्युनिष्ट सिद्धान्तमा सामन्त र दलालको पार्टीर्लाई दुश्मन र राष्ट्रिय पुँजीपतिको पार्टीलाई मित्रशक्ति मानिन्छ । नयाँ जनवादी क्रान्तिका लागि पनि कांग्रेस मित्रशक्ति हो भन्ने पार्टीको स्विकृत धारणा थियो । यसमा पुष्पलाल, मनमोहन अधिकारी लगायत सबैको समर्थन पनि थियो ।

यो पृ्ष्ठभूमिमा जेलभित्र बसेको हाम्रो बैठकले पार्टीले यसअघि लिँदै आएको कांग्रेस पार्टीप्रतिको धारणा गलत छ, कांग्रेस सामन्त र दलालको पार्टी हो भन्ने निचोड निकाल्यो । वर्गीय रुपमा पनि कांग्रेस दुश्मन शक्ति हो, कार्यगत एकता, संयुक्त मोर्चा आदिमा सँगै बस्न सकिन्छ तर मित्रशक्ति हुन सक्दैन भन्ने निश्कर्षमा पुग्यौं । जेलबाट बाहिर निस्कँदा पनि हाम्रो यो विश्लेषणमा परिवर्तन आएन । त्यसै अनुसार चौथो महाधिवेशनमा पनि त्यही लाइन पास गर्‍यौं । र, दुश्मन शक्तिलाई मित्र शक्ति भन्ने मान्छे गद्दार हुन्छ भन्ने हाम्रो विश्लेषण रह्यो ।पुष्पलालले कांग्रेसलाई मित्रशक्ति भन्नु भएको थियो । उहाँको विश्लेषण आफ्नो ठाउँमा ठीकै थियो होला । तर, हामीले दुश्मनलाई मित्रशक्ति भनेको व्यक्तिलाई गद्दार ठहर्‍यायौं ।

पछि ‘गद्दार पुष्पलाल’ पुस्तकको नाम फेरेर ‘क्रान्तिमा भ्रान्ति’ राख्नुभयो । यसको कारण के हो ?

गद्दार ठहर गरेको केही वर्षपछि पार्टीको अर्को सम्मेलन भयो । त्यसमा हामीले पुष्पलालको विषयमा पुनःमूल्याँकन गर्‍यौं । उहाँका कैयौ विचारहरू कांग्रेस परस्त नै थिए । त्यतिबेला नेपालमा मात्रै होइन विश्वमै कम्युनिष्ट विभाजित अवस्थामा थियो । रुसलाई संशोधनवादी भन्ने चीनको लाइन थियो । रुसलाई समाजवादी मान्ने लाइन पनि थियो । पुष्पलालजी भने चीन र रुस दुबैको पक्षमा होइन मध्यमार्गमा थिए । एक हिसाबले उहाँको त्यो लाइन पनि संशोधनवादी थियो ।

तर, यति हुँदाहुँदै पनि पुष्पलालले जीवनभरि राजतन्त्रको विरोधमा संघर्ष गर्नुभयो । नयाँ जनवादी क्रान्तिका लागि, कम्युनिष्ट पार्टीका लागि र पञ्चायत विरुद्ध संघर्ष गर्नुभयो । त्यसैले उहाँलाई गद्दार भन्नु सही होइन भन्ने निश्कर्षमा पुग्यौं । र गद्दार भन्ने विश्लेषण बदल्यौं । त्यसैले गद्दार पुष्पलाल पुस्तकको शीर्षक क्रान्तिमा भ्रान्ति बनाइएको हो । पुस्तकभित्र पनि गद्दार भन्ने शब्द छैन । गद्दार भन्ने निर्णय फिर्ता लियौं । वास्तवमा उहाँलाई गद्दार भन्ने निश्कर्ष नै सही थिएन ।

पुष्पलाल र अहिलेको नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली तथा प्रचण्डबीच के के समानता वा असमानता पाउनुभएको छ ?

दुबैले पुष्पलाललाई मान्नुहुन्छ । तर, पुष्पलालको सिद्धान्तसँग ओली र दाहालको सिद्धान्त मिल्दैन । पुष्पलालले जिन्दगीभरि नयाँ जनवादी क्रान्तिका लागि लड्नुभयो तर उहाँहरु दुबै जनाले नयाँ जनवादी क्रान्ति मान्नुहुन्न ।

एकीकरण हुनुअघिको एमालेले बहुदलीय जनवाद र माओवादीले एक्काइसौ शताब्दीको जनवाद ल्यायो । तर पुष्पलाल बाँचेको भए यसलाई मान्नु हुँदैनथ्यो । सत्तामा भएको नेकपाले माक्र्सवाद र लेनिनवाद मान्दैन । नेताहरुको व्यक्तिगत गुण र दोषको विषयमा म चर्चा गर्न चाहन्न ।

नेकपाको नेतृत्वमा दुई तिहाई सहितको सरकार गठन भएको पाँच महिना भयो । अहिलेसम्मका काम हेर्दा कम्युनिष्ट सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ?

सरकार आफ्नै घोषणाबाट पछि हट्यो । समाजवाद उन्मुख राज्य निर्माण गर्ने भन्ने कुरा संविधानमै उल्लेख छ । यो व्यवस्था सबै दलहरू सहमत भएरै राखेका थिए । देशमा अहिले नै समाजवाद आउँछ भन्ने हामीलाई लाग्दैन । त्यसका लागि आधारभूमि तय भइसकेको छैन । समाजवाद र समाजवाद उन्मुख भन्नु फरक कुरा हुन । किनभने समाजवादमा व्यक्तिगत सम्पत्ति हुँदैन, उद्योग र कृषिलाई राष्ट्रियकरण गरिन्छ ।

संविधानमै समाजवाद उन्मुख भनिएको छ । समाजवादमा जान्छु भनिसकेपछि कम्तिमा समाजवाद उन्मुखतर्फको यात्रा गर्न सक्नुपर्दछ । समाजवाद उन्मुख हुन अहिले नै सम्भव पनि छ । सरकारको नीति तथा कार्यक्रम, बजेट आदिमा नीति आएन । भूमिसुधारको कुरा गर्नुहुन्छ भने राजा महेन्द्रको पालामा जति भयो त्यस यता केही सुधार हुनसकेको छैन । सरकारले सबैभन्दा ठूलो गल्ती के गर्‍यो भने समाजवाद उन्मुख दिशाबाट पछि हट्न खोज्यो ।

सरकारले अपेक्षा अनुसार काम गर्न नसक्नुमा को जिम्मेवार छ जस्तो लाग्छ ?

दुई तिहाई, जनताको समर्थन छ । उनीहरुमा एउटा इच्छा शक्तिको अभाव देखियो । अर्कोैतिर विदेशी शक्ति र विभिन्न क्षेत्रका माफियाहरूको सामना गर्न पनि सकेनन् । शक्ति जनतामा छ भन्ने नै विर्से । जनताको शक्ति कति बेला परिचालित हुन्छ भने जतिबेला तँपाईले जनताको पक्षमा काम गर्नुहुन्छ । जनताको हितमा काम गर्ने हो भने माफिया वा कसैसँग झुक्नुपर्ने पर्दैन ।

प्रधानमन्त्री ओलीले सरकार गठनसँगै सरकार घेराबन्दी परेर काम गर्न पाइनँ भन्नुभएको छ नि ?

घेराबन्दी भनेर डा.केसी, कांग्रेस, हाम्रो आलोचनालाई भन्नु भएको हो भने त्यो आफै बेसाउनुभएको घेराबन्दी हो । वास्तविक घेराबन्दी के हो भने आफैले शुरुमा पेश गरेको अध्यादेश बदल्न बाध्य हुनु घेराबन्दी हो । कसको घेराबन्दीका कारण उहाँ अध्यादेशको व्यवस्था फेर्न बाध्य हुनुभयो ? माफिया, सिण्डिकेट, नाफाखोरको घेराबन्दी वास्तविक घेराबन्दी हो ।

कतिपयले सरकारको विकल्पको समेत चर्चा गरेको सुनिन्छ । यहाँले यो विषयलाई कसरी हेर्नुभएको छ ?

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको साँचो हो । तर, यसको मतलब यो सरकारलाई हटाएर कांग्रेसको नेतृ्त्वमा सरकार बनाउनुपर्छ भन्ने होइन । कांग्रेसले विगतमा के गर्यो भन्ने जनतालाई थाहा छ । अन्य शक्तिको तुलनामा नेकपाले नै सरकारको नेतृत्व गर्नु सही हो ।

डा. गोविन्द केसीको मागलाई यहाँले किन समर्थन गर्नुभएको हो ?

सरकार आफैंले ल्याएको अध्यादेशबाट पछि हटेको छ । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयक फिर्ता लिएर विगतमा ल्याएको अध्यादेश र माथेमा आयोगको प्रतिवेदन अनुसारको अध्यादेश ल्याउनु पर्दछ

डा. केसीका माग व्यक्तिगत होइनन् । सरकारले नै गठन गरेको केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उनका माग छन् । उनी स्वास्थ्य क्षेत्रमा देखिएको सिण्डिकेटको अन्त्यका लागि अनसन बसेका हुन । स्वास्थ्य क्षेत्रमा कति अनियमितता छ भन्ने गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले पनि प्रष्ट पारिसकेको छ । कार्की आयोगले नाम किटेरै कारवाहीको माग गरेका छन् । केसीले उठाएका विषय देशको स्वास्थ्य र शिक्षा क्षेत्रको हितमा छ भन्ने सोचेर डा. केसीलाई समर्थन गरेका हौं । सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरेको भए अहिले अनसन बस्नुपर्ने अवस्था नै आउने थिएन । केसीको माग र माथेमा प्रतिवेदनको सिफारिस दुबै मन परेर समर्थन गरेका हौं ।

डा.केसीको मागमा राजनीति भयो भनिन्छ नि ?

नेपाली कांग्रेसले राजनीति गरिरहेको कुरा लुकेको छैन । कांग्रेसले आन्दोलनको एक अंगका रुपमा केसीलाई उपयोग गरेको छ । जुन सही होइन । केसीका मागलाई आफ्नै तरिकाले जान दिनुपथ्र्यो । कांग्रेस वा अरु कसैले उपयोग गरेको कारणले केसीका माग गलत हुन्छन् भन्ने पनि सही होइन । भोलि राप्रपा वा अरु कसैले उपयोग गर्ला, यसमा सत्याग्रह गर्नेको दोष हुँदैन । उनलाई विवादमा तान्ने कुराको हामी विरोधी हो ।

यसको समाधान के होला ?

सरकार वार्ताका लागि गम्भिर भए लागेको छैन । डा.केसीले स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको अनियमितता, भ्रष्टाचार, गुणस्तरीय स्वास्थ्य सेवा लगायतमा जोड दिएका छन् । सरकारले माथेमा आयोगको सिफारिस विपरीत विधेयक ल्यायो । केसीको मुख्य विरोध यसैमा छ । सरकार आफैंले ल्याएको अध्यादेशबाट पछि हटेको छ । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयक फिर्ता लिएर विगतमा ल्याएको अध्यादेश र माथेमा आयोगको प्रतिवेदन अनुसारको अध्यादेश ल्याउनु पर्दछ ।

२०७५ साउन ७ गते ९:४० मा प्रकाशित

अनलाइनखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here