एकता समाजले बुझायो दूतावासमा जानकारी पत्र

0
349

टोकियो । जापान नेपाली एकता समाजले नेपाली दूतावासको कार्यालय टोकियोमा जानकारी पत्र बुझाएको छ । ३१ डिसेम्बर २०१७ देखि १ जनवरी २०१८ मा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेको समाजले सम्मेलनले तय गरेका उद्देश्यहरु नेपाली राजदूत प्रतिभा राणा समक्ष २९ जनवरी २०१८ (२०७४ माघ १५ गते) का दिन बुझाएको हो ।

समाजका अध्यक्ष यमलाल सापकोटाको नेतृत्वमा गएको जापान नेपाली एकता समाजको सात सदस्यीय प्रतिनिधि मण्डलले राजदूत राणा समक्ष सो जानकारी पत्र बुझाएको थियो । जानकारी पत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा जापान नेपाली एकता समाजका उपाध्यक्ष भिम केसी, कोषाध्यक्ष केशव सापकोटा, केन्द्रीय सदस्य विष्णु केसी र टोकियो क्षेत्रीय समितिका कृष्ण सापकोटा र रुद्रलाल निउरे सहभागी रहनु भएको थियो । जानकारी पत्रमा सम्मेलनले पारित गरेका समाजका उद्देश्यहरुलाई बँुदागत रूपमा प्रस्तुत गर्दै जापान नेपाली एकता समाजले गर्ने सामाजिक कार्यक्रमहरुमा सम्मानित दूतावासको रचनात्मक सहयोगको अपेक्षा समेत गरिएको छ ।

अध्यक्ष यमलाल सापकोटाको हस्ताक्षर रहेको उक्त जानकारी पत्रमा अगाडि भनिएको छ– “सर्वप्रथम त यो सम्मानित दूतावासलाई जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन २०१७ डिसेम्बर ३१ र २०१८ जनवरी १ मा ओसाकामा सम्पन्न भएको जानकारी गराउन चाहान्छौँ । सम्मेलनले तय गरेका उद्देश्यहरुको जानकारीका साथ यो जानकारी पत्र बुझी लिनु हुन अनुरोध गर्दछौँ ।

“नेपाल सम्पन्न भयो भने नेपालीहरु संसारको जुन कुनामा गए पनि सम्पन्न हुन्छन्” भन्ने भनाइलाई आत्मसात गर्दै हामी नेपालीहरु रोजगारीको सिलसिलामा संसारका विभिन्न देशहरुमा आफ्ना पसिना बगाई रहेका छौँ र अहिले राज्यको कृषिपछिको दोस्रो ठुलो राजस्व सङ्कलनको स्रोत बनी रहेका छौँ । यसरी कामका सिलसिलामा विदेश पलायन हुने नेपालीहरुका आफ्नै प्रकारका कथाव्यथाहरु छन् । यसैको मौका छोपेर नाजायज फाइदा उठाउनेहरुको कमी पनि छैन । विदेश पठाउने नाममा मानवीय बेचबिखनका घटनाहरु घटेका पनि प्रशस्तै उदाहरणहरु छन्, जुन कुरा सचेत वर्ग सबैलाई अवगतै छ । कैयौँ नेपालीहरु आर्थिक प्रलोभनका कारण घर न घाटको अवस्थामा रहेका घटनाहरु पनि अनगिन्ती छन् । साहुले कम ऋण पत्याउनेहरु मलेसिया र खाडी मुलुकमा र केही बढी ऋण पत्याउनेहरु युरोप, अमेरिका र एसियाका जापान, चीन, दक्षिण कोरिया जस्ता देशहरुमा जाने गरेको पाइन्छ । यस्तो परिवेशभित्र उत्पन्न समस्या समाधान, आफ्ना नागरिकहरुको सुरक्षाका लागि विभिन्न देशहरुमा कार्यरत कूटनीतिक नियोग र दूतावास अनि विभिन्न सामाजिक सङ्घ/संस्थाहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । सबैको सामूहिक प्रयासले मात्रै केही गर्न सकिन्छ भन्ने विश्वासका आधारमा हाम्रो तहबाट पनि संस्थागत रूपमा जाने निर्णय गरी २०१२ मा जापान नेपाली एकता समाज गठन गरी आफ्नो यात्रा तय गरेको जानकारी यो सम्मानित दूतावासलाई गराउन पाउँदा हामी निकै गौरवान्वित छौँ ।

हाम्रो यात्राका पाँच वर्षभित्र नेपालमा र जापानमा घटेका विभिन्न घटनाहरुमा केही मल्हम लगाउने कोशिस गर्‍यौँ । विशेषत: नेपालमा गएको विनासकारी महाभूकम्पका बेलामा हाम्रो समाजको तर्फबाट भएका राहत वितरणका कार्यक्रम र विभिन्न समयमा उत्पन्न बाढी पहिरो र डुबानमा परेकाको सहयोगका लागि केही प्रयासहरु गरेको जानकारी समेत गराउन चाहन्छौँ । यो पाँच वर्षमा हामीसँग अनुभवका कमीले पनि जापानमा सम्मानित भूमिका निर्वाहमा रहेको दूतावाससँग हातेमालो गरेर आउन सकिएन तर केही अन्य सामाजिक संस्थाहरुसँग भने केही प्रयासहरु नगरेको होइन । हामीलाई परिपक्व र जिम्मेवार बनाउने काम र उत्तरदायित्व बहनले नै हो । तसर्थ हामी पनि आगामी दिनमा जापानमा रहेका विभिन्न समस्याहरुको पहिचान गरी त्यसको समाधानमा लागि पर्ने प्रणका साथ आएको जानकारी गराउन चाहान्छौँ ।
जापानको व्यस्त समयका बाबजुद पनि आफ्नो केही समय यहाँको समस्या समाधानमा खर्चिने अठोटका साथ भर्खरै ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गरी सकेका छौँ । यो नयाँ नेतृत्वले केही आफ्ना उद्देश्यहरु तय गरेको छ, जसको जानकारी यो सम्मानित दूतावास र दुतावास मार्फत् जापानमा रहेका विभिन्न सामाजिक सङ्घ/संस्थाहरुमाझ पुर्‍याई दिनु हुन अनुरोध गर्दछौँ । हामी विशुद्ध सामाजिक भावले उपस्थित भएको जानकारी समेत गराउन चाहन्छौँ । हाम्रो सम्मेलनले पारित गरेका हाम्रा उद्देश्यहरु यस प्रकार छन् ।

१. जापानवासी नेपाली र कूटनीतिक नियोगबीच एकता र सद्भाव बढाउनु ।
२. नेपालीहरुको कल्याण र उत्थानका लागि काम गर्नु ।
३. नेपालीहरुको हक, हित र अधिकारको रक्षाका लागि प्रयत्न गर्नु ।
४. दलालहरुबाट ठगिएकाहरुलाई न्याय दिलाउन प्रयत्न गर्नु ।
५. नेपाली भाषा र संस्कृतिको विकासका लागि प्रयत्न गर्नु ।
६. नेपालीहरुको स्वस्थ मनोरञ्जनका लागि विविध कार्यक्रमहरुको आयोजना गर्नु ।
७. नेपालीहरुको बौद्धिक विकासका लागि उपयोगी नेपाली साहित्य उपलब्ध गराउन प्रयत्न गर्नु ।
८. नेपाली चाडपर्वहरुलाई सामूहिक उत्सवका रूपमा मनाउन प्रयत्न गर्नु ।
९. नेपालीहरुलाई नोकरी, डेरा आदि खोज्नका लागि मद्दत गर्नु ।
१०. असहाय, मरणासन्न, बिरामी, बाटा खर्च नभई सङ्कटमा परेका नेपालीहरुलाई सहयोगार्थ विशेष चन्दा सङ्कलन गरी मद्दत गर्नु ।
११. नेपाली समाजमा भएका जुवातास र खराब दुव्र्यसनहरुलाई हटाउन प्रयत्न गर्न ।
१२. नेपालीहरुका मानवीय हक–हितहरुको रक्षाका लागि प्रयत्न गर्नु ।
१३. ई.पी.एस. प्रणाली अनुरूप म्यानपावर जापान ल्याउन दबाब दिनु ।
१४. मालिकबाट कामदारमाथि हुने अमानवीय क्रियाकलापलाई रोक्न प्रयत्न गर्नु ।
१५. नेपालीहरुका लागि जापान सरकारले तोकेको वेतन प्राप्त गराउन प्रयत्न गर्नु ।
१६. मजदुरहरुलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको व्यवस्था लागु गराउन प्रयत्न गर्नु ।
१७. घर विदा, बिरामी हुँदा उपचार, साप्ताहिक छुट्टी, कामको बेलामा हुने दुर्घटनाका लागि क्षतिपूर्ति, बस्ने कोठाको व्यवस्था नभएका स्थानहरुमा ती सुविधा दिलाउनका लागि जोड दिनु ।
१८. विभिन्न खाले रेस्टुरेन्ट तथा कम्पनीहरुमा समान कार्यका लागि समान वेतन दिलाउन प्रयत्न गर्नु ।
१९. नेपालीहरुबीच हुने आपसी झैझगडाहरुलाई समाधान गर्न प्रयत्न गर्नु ।
२०. प्रवासी नेपालीहरुमा प्रगतिशील, लोकतान्त्रिक र नेपालप्रतिको देशभक्तिपूर्ण भावनाको विकासका लागि प्रयत्न गर्नु ।
२१. महिलाहरुको हक–हित र अधिकार लागि जोड दिनु ।
२२. जापानमा अध्ययनरत विद्यार्थीका समस्याहरुलाई समाधान गर्नु प्रयत्न गर्नु ।
२३. नारी दिवश, मे दिवस जस्ता अन्तर्राष्ट्रिय दिवसहरु मनाउन प्रयत्न गर्नु ।
२४. नेपालमा हुने राष्ट्रियता र जनजीविका सम्बन्धी आन्दोलनलाई सहयोग र समर्थन गर्नु ।
२५. विश्वका विभिन्न मुलुकमा काम गर्ने नेपालीहरुसित सम्पर्क र सम्बन्ध बढाउन प्रयत्न गर्नु ।
२६. नेपालको लोकतन्त्र, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको आन्दोलनका लागि विदेशस्थित नेपालीमा जागृति ल्याउन र सङ्घर्षमा उतार्न जोड दिनु ।
२७. प्रवासी नेपालीहरुले आफूले काम गरी रहेको देशबाटै मतदान गर्न पाउनु पर्ने कुरामा आवाज बुलन्द गर्नु ।

यस्तै, राष्ट्रिय सम्मेलनले यमलाल सापकोटाको अध्यक्षतामा केन्द्रमा एक १७ सदस्यीय केन्द्रीय समिति, ६१ सदस्यीय केन्द्रीय परिषद पनि गठन गरेको छ । हाम्रो समाजले जापानको विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुलाई समेटेर लैजाने नीति अनुरूप विभिन्न क्षेत्रीय समिति, प्रिफेक्चरल समिति र सिटी तहका समितिहरु पनि बनाउने छ । यसले सबै नेपालीहरुमा सङ्गठित भावनाको विकास गराउने छ र विभिन्न प्रकारका समस्यामा हातेमालो गर्न मद्दत पुर्‍याउने छ भन्ने विश्वास लिएका छौँ । हाम्रा सङ्गठन निर्माणले सबैलाई अनुशासित, मर्यादित र जिम्मेवारी लिन सक्ने क्षमता वृद्धि गर्ने छ भन्ने विश्वास लिएका छौँ । यस्तो अवस्थामा दूतावास र जापानको कानुनलाई समेत अप्ठ्यारो पार्ने छैनौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छौँ । तसर्थ हाम्रो समाजले सम्मानित दूतावासको रचनात्मक सहयोगको समेत अपेक्षा गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here