एकता पछिका भ्रम र वास्तविकता

0
434

 – गौरीलाल कार्की

जेष्ठ ३ गते एमाले र माओवादी केन्द्रको एकता भइ नेपाल कम्युनिस्ट पार्टीको गठन गरिएको छ । यस घटनाले नेपाली राजनीतिमा एक प्रकारको हलचल नै ल्याएको छ । नेपालको वाम आन्दोलनमा निसन्देह यो एउटा महत्त्वपूर्ण राजनीतिक घटना हो । संसदीय राजनीतिको दृष्टिबाट यो अहिलेको संघीय संसदमा झण्डै दुइतिहाई पकड भएको र ७ वटा प्रदेश मध्य ६ वटा प्रदेशमा बहुमतको सरकार बनाएको अजंगको पार्टी बनेको छ । भोटको जोडघटाउको दृष्टिबाट पनि यो पार्टीको प्रतिस्पर्धामा तत्काल अरु कुनै पार्टी आउन नसक्ने देखिएको छ। यो एकता सँगै नेपाली राजनीतिमा विभिन्न प्रकारका भ्रम र वास्तविकता सतहमा प्रकट हुन थालेका छन् । यो एकताले नेपालको राजनीति, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, पार्टी, देशको राज्यव्यवस्था, समृद्धि र सुशासन जस्ता महत्वपूर्ण विषयमा नयाँ ढंगले बहसको सृजना भएको छ । नयाँ बनेको कम्युनिस्ट पार्टीले आफ्नो पथप्रदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई लिएको छ । यसले समाजवादी राज्यव्यवस्थालाई अन्तिम लक्ष मानेको छ । यो पार्टीको समाजवाद सम्म पुग्ने बाटो भनेको शान्तिपुर्ण संसदीय संघर्षबाट, वर्गसमन्वयको सिद्धान्त, बिकास, समृद्धि र सुधारवादी तरिकाले विनायुद्ध समाजवाद सम्म पुग्न सकिन्छ भन्ने पुर्व एमालेको नीतिमा नै आधारित छ ।

भ्रम र वास्तविकता :
यो एकताले नेपाली जनमनमा सानाठूला विभिन्न भ्रम सृजना गरिरहेको छ । ती भ्रम मध्य आधारभुत रुपमा २ वटा मुख्य भ्रम छन् । ती हुन् “पहिलो नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी बनेको छ भन्ने भ्रम। दोस्रो अब यो पार्टीले नै मुलुकका सम्पुर्ण अन्तर्विरोध हल गरेर समृद्धिको ढोका खोलेर समाजवादको स्थापना गर्नेछ भन्ने भ्रम।” नवगठित पार्टीका नेता कार्यकर्ताले यी दुइटा आधारभूत कुराको विभिन्न माध्यमबाट देशव्यापी प्रचारप्रसार गरिरहेका छन् । सामान्य जनता जसले राजनीतिक विश्लेषण गर्न जान्दैनन् तिनीहरुमा यसको व्यापक प्रभाव परेको छ । नवगठित पार्टी र अहिलेको सरकारबाट भए गरेका राष्ट्र र जनताको हितका कामहरूमा आवस्यक सहयोग र समर्थन गर्नु पर्दछ । त्यसको साथसाथै जनतामा परेको यो गलत भ्रमलाई चिर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । यदि यस प्रकारको भ्रम चिर्न असमर्थ भएको खण्डमा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अत्यधिक कमजोर बन्दै जानेछ र अन्तमा विलयको खतरा पनि उत्पन्न हुनसक्ने छ ।

के नवगठित नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो ? यो भ्रमको वास्तविकता के हो, यसबारे सामान्य शब्द र शैलीमा सर्वसाधारणले समेत बुझ्ने गरि छलफल गरौं । यो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी होइन र अब हुन पनि सक्दैन । पार्टीको जनमत ठुलो हुँदैमा मात्रै त्यो कम्युनिस्ट पार्टी हुँदैन । कम्युनिस्ट पार्टी र समाजवादको नाम राख्दैमा वा जप्दैमा पनि कम्युनिस्ट हुन सक्दैन । कुनै कम्युनिस्ट पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो वा होइन भन्ने कुरा त्यो पार्टीले अवलम्बन गरेको सिद्धान्त, उसले अपनाउने व्यबहार र उसको क्रान्तिकारी कार्यनीति र रणनीतिले मात्रै छुट्टयाउन सकिन्छ। कम्युनिस्टहरुले माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई अवलम्बन गरेका हुन्छन् । माक्र्सवादको मुल सिद्धान्त द्वन्द्वात्मक ऎतिहासिक भौतिकवाद हो । यसका पनि विभिन्न नियमहरु छन् । ती नियम मध्य पनि एउटा महत्त्वपूर्ण नियम छ, जसलाई द्वन्द्वात्मक भौतिकवादको मुटु पनि भनिन्छ त्यो हो कुनै पनि चिजमा अन्तर्निहित परस्पर विरोधी तत्वबीच संघर्ष (द्वन्द्व) को नियम।राज्यव्यवस्था वा मानव समाजको बिकासमा अर्थात् ऎतिहासिक भौतिकवादमा यो नियम समग्र उत्पादन प्रणालीको परिवर्तनको लागि वर्गसंघर्षको रूपमा अभिव्यक्त हुन्छ । यो नियम अनुसार वर्गसंघर्षको डौरानमा परिस्थिति अनुकुल हारजित भैरहन्छ तर  अन्तिम जित शोषित, उत्पीडित वर्गको नै हुन्छ । त्यस पश्चातको समाज पहिलेको तुलनामा प्रगतिशील हुन्छ । यही नियमानुसार अन्ततः समाजवाद स्थापना गर्नको लागी झन् ठुलो रक्तपात पुर्ण क्रान्तिको आवश्यकता पर्दछ । पुँजीपतिहरुले आफुले विभिन्न तरिकाले नाफा गरेर जम्मा पारेको ब्यक्तिगत सम्पत्ति गरिव जनतालाई दिन मान्ने त कुरै छैन राज्यलाई पनि दिन मान्दैनन् । सम्पुर्ण उत्पादनका श्रोत र साधन राज्यको स्वामित्वमा ल्याउन यो युद्धको नियम अनिवार्य वा बाध्यकारी हुन्छ । तर संशोधनवादीले विना वर्गसंघर्ष पनि समाज बदल्न सकिन्छ भन्ने मान्यता राखेका छन् , त्यो गलत छ । नवगठित पार्टी यो मुल सिद्धान्तबाट च्युत भैसकेको संशोधनवादी तथा पुँजीवादउन्मुख पार्टी हो । कम्युनिस्ट व्यवस्थाले ब्यक्तिगत जायजेथाको बिरोध र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्ने गर्दछ । कम्युनिस्ट बन्न खोज्नेहरुले जब पुजीवादीले झै व्यक्तिगत सम्पत्ति थुपार्ने सपना बुन्दछ्न् तब संशोधनवादी धारमा खडा हुन पुग्दछ्न् । क्रान्तिकारी रहन सक्दैनन् । त्यसकारण नवगठित नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी होइन ।

हिजोको एमाले र माओवादी केन्द्र दुबैले उग्रवामपन्थी बाटो अवलम्बन गरेका थिए । कुरो अघिपछिको मात्रै थियो। त्यसबेला सतही प्रकारले यिनिहरु क्रान्तिकारी देखिन्थे । उनिहरुले जुन विद्रोहको बाटो अवलम्बन गरे त्यससँगै उनीहरुको केन्द्रिय समितिमा सत्ता क्यारिरिस्ट सोचाइको विकास भएको थियो । विद्रोहको बेला उनिहरुले उठाएका कतिपय जायज मागबाट प्रभावित भएर जनता वा तलका कार्यकर्ता त्यसमा होमिएका थिए त्यो जनताको क्रान्ती प्रतिको विश्वास र स्परिटको कदर गरिनुपर्छ। तर ती विद्रोह ठोस परिस्थिति अनुसार नभएकोले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा फाइदा पुग्न सकेन अनि क्रमशः पहिले एमाले र पछि माओवादी केन्द्र समेत चरम दक्षिणपन्थी अवसरवादको शिकार भएका थिए । प्रतिक्रियावादीको जस्तै दक्षिणपन्थीको पनि मुख्य केन्द्र भनेको संसदीय सत्ता हत्याइ राख्नु नै हो । अहिले उनिहरु दुबैको त्यो मुख्य लक्ष मिल्न गएकोले एकताको वातावरण तयार भएको हो । यसर्थ यो एकता क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको गठन हेतु भएको होइन कि संसदीय सत्तामा बलियो पकडको लागि भएको हो । त्यसमा उनिहरु सफल भएका छ्न् । त्यसलाई क्रान्तिकारीको रुपमा बुझ्नु हुँदैन ।

अर्को कोणबाट विश्लेषण गर्दा हिजो स्वयं माओवादी केन्द्रले एमालेलाई दक्षिणपन्थी संसदीय पार्टीको रूपमा ब्याख्या गरेको थियो । के आज एमाले एकाएक क्रान्तिकारी शक्तिमा रुपान्तरण भएर एकता गरिएको हो त ? होइन । स्वयं माओवादी पनि दक्षिणपन्थी संसदीय भासमा जाकिएकोले एकता संभव भएको हो । एकताको सन्दर्भमा बराबरी, सम्मानजनक र समानताको लागि माओवादीले जतिसुकै कोशिश गरेपनि आखिर यो एकता माओवादी केन्द्रको एमालेमा विलय नै हो । पथप्रदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद, अध्यक्ष केपी ओलि / पुष्पकमल दाहाल भनेको प्रथम केपी ओलि, सचिवालय ९ जनामा एमाले ६ माओवादी केन्द्र ३ जना, मुख्यालय धुम्बराही, चुनाव चिन्ह सुर्य, माओवादको परित्याग आदि यी सबै दृष्टिबाट यो माओवादीको एमालेमा विलय नै हो भन्दा अनुपयुक्त नहोला । यी केही प्राबिधिक कुराले मात्रै यो दाबी गरेको छैन मुख्य रुपमा नीति र नेतृत्वको दृष्टिबाट पनि विलय नै भएको हो । अब भन्नुस् एउटा संशोधनवादी  दक्षिणपन्थी अवसररवादी पार्टीमा जतिसुकै पार्टी विलय भएपनि दक्षिणपन्थी नै हुन्छ, क्रान्तिकारी हुन सक्दैन । मैले यसो भनिरहदा यो एकताको विरोध गरेको होइन । कम्युनिस्ट आन्दोलनमा एकताको जरुरी छ तर क्रान्तिकारी नीति सिद्धान्त, जनता र देशको पक्षमा केन्द्रित एकताको जरुरी छ व्यक्तिगत र समुहगत सत्ता स्वार्थको लागि भएको एकता न त दिगो हुनेछ न त हितकारी। यो एकताले तात्कालिक राजनीतिक दृष्टिबाट देश र जनतालाई फाइदा पुग्न सक्ने देखिएला। जस्तो स्थायी सरकार, राष्ट्रियताको रक्षाको प्रश्न र केही विकास निर्माणका सवाल आदि यी सकारात्मक कुराको समर्थन हुनुपर्छ । यसमा पनि आशा राख्नुपर्छ तर पुरै भर पर्नुहुन्न । केही सुधारका काम प्रतिक्रियावादीले नि स्वभावतः गरिरहेका हुन्छन् । त्यसको पनि समर्थन गर्नुपर्छ । त्यसकारण यो एकता राजनीतिक रुपले ठिक छ र यसको समर्थन गर्नुपर्छ तर सैद्धान्तिक रूपमा गलत छ । यसले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अरु थप कमजोर बनाउने छ ।

अर्को यो पार्टीले नै मुलुकका सम्पुर्ण अन्तर्विरोध हल गरेर समृद्धिको ढोका खोलेर समाजवादको स्थापना गर्नेछ भन्ने भ्रम जनतामा पर्न गएको छ । तर यसको वास्तविकता पनि अर्कै छ । हामीले समृद्धि के लाई मान्ने ? पुँजीवादी व्यवस्थामा व्यक्तिगत सम्पत्ति जति जति बढी भयो त्यसको समृद्धि भयो भन्ने मानिन्छ । तर पुँजीवादी व्यवस्थामा सिमित मुट्ठीभर मानिसको हकमा समृद्धि संभव हुन्छ । उनीहरुको कारण बहुसंख्यक जनता झन्झन् साधन श्रोत बिहिन भैरहेका हुन्छन् । त्यसबेला पनि देशमा विकास निर्माण, प्रबिधिको विकास भएको हुन्छ तर बहुसंख्यक जनता त्यसको पहुँच बाहिर नै रहने गरेका हुन्छन् । जस्तो भारतले आफ्नो देशमा धेरै विकास गरेको छ । त्यहाँ भौतिक पुर्वाधार, प्रबिधि लगायतका सबै कुरामा विकास भएको छ तर सम्पुर्ण जनताले अहिलेसम्म पनि त्यसको सुखको अनुभुती गर्न सकिरहेका छैनन् अब भन्नुहोस् त्यसलाई कस्तो समृद्धि भन्ने ? कसको लागि समृद्धि ? यो महत्वपूर्ण कुरा हो ।

जनताले विकास निर्माण, विज्ञान प्रविधि, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार अथवा गाँस, बाँस र कपास आदि इत्यादी सबैको समान रूपमा व्यवस्था हुनुपर्ने चाहना राखेका छन् । त्यो अहिले संभव छैन । त्यो समाजवादी क्रान्ति पश्चात् स्थापना हुने आमूल परिवर्तन पछि मात्रै त्यो पुरा हुन सक्दछ । भन्न त नवगठित नेकपाले आफ्नो अन्तिम उदेश्य समाजवाद हो भनेको छ । अहिलेको अवस्थामा आमूल परिवर्तन गरेर समाजवाद स्थापना गर्ने र त्यसपछिको समृद्ध नेपाल यो पार्टीले बनाउन सक्दैन । किनभने यो निश्चित सिद्धान्त र त्यसको व्यबहारमा प्रयोग गरेर मात्रै संभव रहन्छ । त्यो काम अनुशासित क्रान्तिकारी  कम्युनिस्ट पार्टीद्वारा नै संभव रहन्छ । समाजवाद त काल्पनिक समाजवादीले पनि भनेकै हुन् । डेमोक्रेटिकहरुले पनि समाजवाद भनेका छन् । नेपालमा त समाजवाद कांग्रेसको पनि नारा हो अब कम्युनिस्ट पार्टीको त हुने नै भयो तर यी भनिएका सबै समाजवाद श्रमजीवी जनताको लागि होइनन् यी पुँजीपतिको लागि नै हुन् । त्यसकारण जनताले चाहेको समाजवादको समृद्धि र अहिले चर्चा भैरहेको समृद्धि फरक फरक कुरा हो यो कुरा स्पष्ट हुनु जरुरी छ । अर्को अर्थमा भन्नुपर्दा अहिले मुलुकमा चर्चा भएको समृद्धि शोषणमुलुक व्यवस्था भित्रको समृद्धि भएकोले व्यक्तिमुखी छ र यसले सम्पुर्ण श्रमजीवी वर्गको सम्पुर्ण कुराको ग्यारेन्टी गर्न सक्दैन । त्यो समाजवादी व्यवस्था पछि नै हुन्छ ।

अहिले चर्चा भैरहेको समृद्धिको कुरा यही बुर्जुवा व्यवस्था भित्रको कुरा हो । अहिलेको सरकार र नवगठित पार्टीले सम्पुर्ण कुराको समाधान नगरे पनी यही राज्यव्यवस्था भित्र जनतालाई बढी भन्दा बढी सेवा सुबिधा दिने, देश विकास गर्ने र उसको भासामा समृद्ध नेपाल निर्माण गर्ने उदेश्यमा हुने सम्पुर्ण अग्रगामी काममा सहयोग र समर्थन गरिरहनु पर्छ । भर्खरै नवगठित पार्टीको नेतृत्वको सरकारले नयाँ नीति र कार्यक्रम सम्बन्धि वक्तव्य संसदमा जारी गरेको छ । आर्थिक बर्ष ०७५/०७६ को अनुमानित प्रस्तावित  बजेटको सिलिङ बनाइ रहेको छ । करिब १२ खर्ब भन्दा बढीको बजेटको प्रारुप तयार भैरहेको खबर आइरहेका छन् । बजेट जतिसुकै ठुलो भोल्युममा आएपनी त्यसको कार्यान्वयनको पक्ष फितलो र अनियमित हुने गरेको छ । सरकारले नीति तथा कार्यक्रममा “समृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारा तय गरेको छ । भासा शैली मिठो भएपनि त्यो परम्परागत प्रकारको छ । अहिले नेपालको संविधान र स्वयं नेकपाको घोषणापत्रमा समाजवादउन्मुख र समृद्ध नेपालको उल्लेख गरिएको सन्दर्भमा त्यसको तुलनामा जनताको दृष्टिकोणबाट यो नीति कार्यक्रम त्यसको बिपरित छ । राष्ट्रिय अर्थतन्त्रको विकासको पक्षमा कुनै कार्यक्रम छैनन् । ५ बर्षमा नेपालीको आय दोब्बर बनाउने महत्वाकांक्षी नीति त छ तर त्यो राष्ट्रिय अर्थतन्त्र प्रति बफादार होइन कि पुजीवादी अर्थतन्त्र प्रति इंगित छ । रुग्ण तथा पुराना राष्ट्रिय महत्त्वका उद्योग कलकारखाना राज्यको मातहतमा संचालन गर्ने कुनै ठोस योजना बनाएको छैन । कृषि उत्पादनमा जुन योजनाको साथ वृद्धि गर्नुपर्ने हो कार्यक्रममा त्यसको कमि देखिएको छ । राज्य निर्माणको लागि छुट्याइएको रकमको ठुलो हिस्सा अनियमितता र भ्रष्टाचारको माध्यमबाट हिनामिना हुने गरेको छ त्यसलाई रोक्ने प्रभावकारी कानुन निर्माण र कार्यन्वयनको पाटो मधुरो नै राखिएको छ । तस्करी, कालोबजारी, राजस्व चुहावट, भ्रष्टाचार र अनियमितता कम गर्नका लागि सरकार संचालन गर्नेहरुको नैतिकता र आचरणमा सुधार आउनुपर्ने देखिन्छ । हिजो सम्पुर्ण व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने स्परिट भएका नेताहरू अहिले देशका विभिन्न ठाउँमा आलिसानका दरबारमा बस्ने भएका छन् । उनीहरुको सोच चिन्तन विलासीताको जीवन कसरी जिउने भन्नेतिर विकास भएको पाइन्छ । यी सबै कुरा नियन्त्रणमा राख्नुपर्ने अवस्था छ जुन यो पार्टीबाट ?संभावना छैन । त्यसकारण यसबाट ठुल्ठुला परिवर्तनकारी अपेक्षा राख्नु पनि एक प्रकारको कमजोरी हुनेछ । जस्तै जसले व्यक्तिगत सम्पत्तिको सुरक्षा र जगेर्ना गर्ने अवसरवादी नीति अंगिकार गरेको छ । जनताको आँखामा छारो हाल्न समाजवादको मन्त्र जपेको छ उसबाट जग्गा हदबन्दी र क्रान्तिकारी भुमि सुधारको आशा र अपेक्षा राख्नु बालुवा पेलेर तेल निकाल्नु सरह होइन र?

अहिले सरकारले समृद्धिको एउटा आधार स्थायित्व हो भन्ने दाबी गरेको छ । स्थायित्व हुनु सकारात्मक कुरा हो । यसले विकास निर्माण र समृद्धिमा निकै प्रभाव पार्न सक्छ । तर स्थायित्व मात्र समृद्धिको निर्णायक होइन । समृद्धिका लागि राजनीतिक स्थिरता मात्रै आवश्यक पुर्वसर्त भएको भए पंचायतकालमै आमूल परिवर्तन भैसकेको हुन्थ्यो । समृद्धि र सुशासनको लागि सिद्धान्तनिष्ठ र आचारसंहितामा निरन्तर आफुलाई राख्नुपर्ने कुरा मुख्य हो जसको अभाव छ। बरु स्थायित्वको नाउँमा थ्रेसहोल्डको व्यवस्था गरेर क्रान्तिकारी कम्युनिस्ट शक्तिको संसदमा न्युन उपस्थिति भएको छ । जसको कारण संसदमा जनपक्षीय कामकारबाहीको लागि राष्ट्रियता रक्षाको लागि बुलन्द हुने आवाज नसुनिने अवस्थामा पुर्‍याउने काम भएको छ । यसरी अहिलेको नवगठित नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वले लिएको नीति र व्यबहारलाई  ठिक ढंगले विश्लेषण गरेर जनतामा सृजना भएको भ्रम साफ गर्नुपर्ने आवश्यकता छ । यद्यपि यो सरकारले अन्य प्रतिक्रियावादी सरकारले भन्दा राष्ट्र र जनपक्षीय काम जे जति गर्न सफल हुन्छ । आँट र हिम्मत गर्छ त्यसमा सहयोग र समर्थन गर्नु जरुरी छ ।
समाप्त
२०७५ जेष्ठ १२ गते ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here