एकताका लागि भेटघाट र संयुक्त कार्यक्रम स्थगित तर कार्यगत एकता कायम

0
633

काठमाडौं । ने.क.पा. (मसाल), ने.क.पा. (क्रान्तिकारी माओवादी), ने.क.पा. (विप्लव पक्ष), ने.क.पा. (कट्टेल पक्ष) समेतका बीचमा पार्टी एकता बारे छलफल चलाउने र परस्परमा सहमति भएका विषयहरुमा संयुक्त आन्दोलन संचालन गर्ने समझदारी मसालले स्थागित गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले सो बारे एक विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा उल्लेख छ: ‘२०७५ बैशाख ४ गते काठमाडौंमा राष्ट्रियता सम्बन्धी चार पक्षको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यो कार्यक्रममा पनि राष्ट्रियता सम्बन्धी विषयहरु बाहेक पार्टीका अन्य विषयहरु नउठाउने सहमति भएको थियो । त्यो सहमति अनुसार नै हाम्रो पार्टीका प्रवक्ता का. रामप्रकाश पुरीले पारस्पारिक सहमति वा आचार संहिताको परिधिभित्र रहेर आफ्ना विचार प्रकट गर्नु भएको थियो ।’ अगाडि भनिएको छ ‘तर अन्य पक्षहरुद्वारा हाम्रा बीचमा भएको सहमति र आचारसंहिताको अतिक्रमण गरेर निर्धारित विषयभन्दा बाहिरका आफ्ना आफ्ना पार्टीका नीतिहरु बारे विचार प्रस्तुत गर्ने काम गरियो । त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ ।’
‘अन्य पक्षहरुको त्यस प्रकारको कार्यपद्धतिका कारणले अब उनीहरुसित पार्टी एकता सम्बन्धी संयुक्त भेटघाट र संयुक्त कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । तर त्यो कारणले विभिन्न तल्ला स्तर वा संघसंस्थाहरुमा आवश्यकतानुसार भेटघाट गर्ने वा कार्यगत एकता गर्ने कार्यमा बाधा पुग्ने छैन ।’ पछि उनीहरुले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरुसित पुन: नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्ने बारे विचार गर्न सकिने सिंहले बताएका छन् ।
अहिले उनीहरुसितको भेटघाट वा कार्यगत एकता स्थगित गरे पनि उनीहरुका शान्तिपूर्ण सभा, जुलुस वा कार्यक्रमहरुमा सरकारले गर्ने गिरफ्तारी वा दमनको विरोध गर्ने मसालको नीति कायम रहने सिंहले बताएका छन् ।
आज बैशाख ९ गते एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्ने प्रतिवद्धता देशी र विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्र हुनुका साथै भागबण्डा सम्बन्धी मतभेदका कारणले पुरा नभएको मसालले ठहर गरेको छ । “उनीहरुको पार्टी एकता सम्बन्धी प्रयासमा देखापर्ने बाधा वा विभाजनले सरकारको नै विघटन नहोस् र देशमा राजनीतिक अस्थिरताको वातावरण तयार नहोस् ।” मसालले भनेको छ “प्रतिक्रियावादीहरुले उनीहरुको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न गर्नुका पछाडिको मुख्य उद्देश्य वामपक्षीय सरकारलाई विघटन गराउनु नै हो ।”
प्रारम्भदेखि नै यातायातमा सिन्डिकेट प्रथालाई समाप्त गर्नुपर्दछ भनेर आवाज उठाउँदै आएको मसालले अहिले सरकारले सिण्डिकेट प्रणालीलाई समाप्त गर्न उठाएको कदमलाई समर्थन गर्दै त्यो कार्यलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ :

यही २०७५ बैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले कतिपय राजनीतिक प्रश्नहरुबारे छलफल गरी निम्नलिखित निर्णयहरु गरेको छ ।
२२ अप्रिल लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा हामीले नेपालमा क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई अरु सुदृढ र शक्तिशाली बनाउनु पर्ने, तात्कालिक रुपमा गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र जनहितसित सम्बन्धित प्रश्नहरुमा आन्दोलन गर्नुपर्ने, अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनमा पनि बढी भन्दा बढी योगदान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौं । हाम्रो पार्टीले उक्त विषयहरुमा बढीभन्दा बढी योगदान दिने प्रतिवद्धता प्रकट गर्दछ ।
ने.क.पा. (मसाल), ने.क.पा. (क्रान्तिकारी माओवादी), ने.क.पा. (विप्लव पक्ष), ने.क.पा. (कट्टेल पक्ष) समेतका बीचमा पार्टी एकता बारे छलफल चलाउने र परस्परमा सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त आन्दोलन संचालन गर्ने समझदारी भएको थियो ।
हाम्रा बीचमा विभिन्न सैद्धान्तिक, राजनीतिक, तात्कालिक कार्यदिशा र कार्यशैली बारे कैयौं मतभेदहरु छन् । तैपनि ती विषयहरुमा स्पष्टता र परस्परमा अधिकतम सहमतिमा पुगेर पार्टी एकताका लागि आधार तयार पार्न हामीले आपसमा पार्टी एकताबारे छलफल चलाउने समझदारी गरेका थियौं ।
तात्कालिक कार्यदिशा वा कार्यशैली बारे पनि हाम्रा बीचमा कैयौं मतभेदहरु छन् । संघीयता, विभिन्न राजनीतिक शक्तिहरुको विश्लेषण र उनीहरु प्रतिको नीति, कार्यशैली, आन्दोलनका पद्धति आदि बारे हाम्रा बीचमा कैयौं मतभेदहरु छन् । कतिपय पक्षले स्थानीय तहलाई खारेज गर्नुपर्ने कुरामा जोड दिइरहेका छन् भने हामीले संघीयता वा प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने र स्थानीय तहलाई अरु अधिकारसम्पन्न गराउनुपर्ने कुरामा जोड दिइरहेका छौं । तर यी र त्यही प्रकारका अन्य कैयौं मतभेदहरु भए पनि आपसमा सहमति भएका विषयहरुमा संयुक्त कार्यक्रमहरु सञ्चालन गर्ने, संयुक्त मञ्चहरुमा सहमति भएका विषयहरु मात्र प्रस्तुत गर्ने र अन्य विषयहरुलाई आफ्नो–आफ्नो पार्टी स्तरमा बेग्लै लैजाने सहमति भएको थियो ।
२०७५ बैशाख ४ गते काठमाडौंमा राष्ट्रियता सम्बन्धी चार पक्षको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसमा जलसम्पदा, सीमा, सन्धि र सम्झौता वा परराष्ट्र नीति सम्बन्धी कैयौं विज्ञहरुको पनि उपस्थिति थियो । त्यो कार्यक्रममा पनि राष्ट्रियता सम्बन्धी विषयहरु बाहेक पार्टीका अन्य विषयहरु नउठाउने सहमति भएको थियो । त्यो सहमति अनुसार नै हाम्रो पार्टीका प्रवक्ता का. रामप्रकाश पुरीले पारस्पारिक सहमति वा आचार संहिताको परिधिभित्र रहेर आफ्ना विचार प्रकट गर्नु भएको थियो । तर अन्य पक्षहरुद्वारा हाम्रा बीचमा भएको सहमति र आचारसंहिताको अतिक्रमण गरेर निर्धारित विषयभन्दा बाहिरका आफ्ना आफ्ना पार्टीका नीतिहरु बारे विचार प्रस्तुत गर्ने काम गरियो । त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । अन्य पक्षहरुको त्यस प्रकारको कार्यपद्धतिका कारणले अब उनीहरुसित पार्टी एकता सम्बन्धी संयुक्त भेटघाट र संयुक्त कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । तर त्यो कारणले विभिन्न तल्ला स्तर वा संघसंस्थाहरुमा आवश्यकतानुसार भेटघाट गर्ने वा कार्यगत एकता गर्ने कार्यमा बाधा पुग्ने छैन । पछि उनीहरुले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरुसित पुन: नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्ने बारे विचार गर्न सकिने छ । तर अहिले उनीहरुसितको भेटघाट वा कार्यगत एकता स्थगित गरे पनि उनीहरुका शान्तिपूर्ण सभा, जुलुस वा कार्यक्रमहरुमा सरकारले गर्ने गिरफ्तारी वा दमनको विरोध गर्ने हाम्रो पार्टीको नीति कायम रहने छ ।
चैत्र २४ गते काठमाडौंमा संयुक्त रुपले जनआन्दोलन दिवस मनाउने निर्णय गरिएको थियो र देशमा अन्यत्र संयुक्त रुपले त्यो कार्यक्रम मनाउने कुनै निर्णय भएको थिएन र हाम्रा साथीहरु कतै संयुक्त कार्यक्रममा सामेल भएका पनि थिएनन् । तैपनि कतिपय पक्ष र अनलाइनहरुले कतिपय जिल्लामा हामीहरु त्यस प्रकारको संयुक्त कार्यक्रममा सामेल भएको भनेर प्रचार गरेका थिए ।
आज बैशाख ९ गते एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । तर त्यो कार्य हुन सकेन । एकातिर त्यो एकता हुन नदिन विभिन्न देशी र विदेशी प्रतिक्रियावादीहरुले गरिरहेको षडयन्त्र र, अर्कातिर, स्वयं उनीहरुका बीचका कतिपय मतभेद, मुख्यत: भागबण्डा सम्बन्धी मतभेदहरुका कारणले उनीहरुको एकताको प्रयत्नमा बाधा पुगेको कुरा बुझ्न गाह्रो पर्दैन । तैपनि उनीहरुका बीचमा पार्टी एकता हुन्छ वा हुन्न त्यो उनीहरुसित सम्बन्धित कुरा हो । त्यस सन्दर्भमा हाम्रो मुख्य चिन्ताको विषय यो हो, उनीहरुको पार्टी एकता सम्बन्धी प्रयासमा देखापर्ने बाधा वा विभाजनले सरकारको नै विघटन नहोस् र देशमा राजनीतिक अस्थिरताको वातावरण तयार नहोस् । प्रतिक्रियावादीहरुले उनीहरुको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न गर्नुका पछाडिको मुख्य उद्देश्य वामपक्षीय सरकारलाई विघटन गराउनु नै हो ।
हाम्रो जोड यो कुरामा छ, उनीहरुका बीचमा पार्टी एकता सफल हुन नसके वा ढिला भएपनि संयुक्त मोर्चाको रुपमा अहिलेको वामपक्षीय गठबन्धन सरकार कायम रहनु पर्दछ । यो सरकार वा त्यसका नीतिहरुसित हाम्रा कैयौं मतभेदहरु छन् र ती विषयहरुमा आवश्यकतानुसार विरोध वा संघर्ष गर्ने हाम्रो नीति कायम रहने छ । तैपनि अहिलेको देशको स्थितिमा आपसी मतभेद वा पार्टी एकता हुन नसकेकाले अहिलेको सरकारको विघटन भएमा प्रतिक्रियावादीहरुलाई मद्दत पुग्ने छ र गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत बाधा पुग्नेछ भन्ने हाम्रो मत छ र त्यसबारे हामीले एमाले र माओवादी दुवैको ध्यान आकर्षित गराउन चाहन्छौं । यदि त्यस प्रकारको स्थितिको सृजना भयो भने जनताले वामपक्षीय शक्तिहरुमाथि गरेको विश्वासमाथि ठूलो धोखा हुनेछ र त्यसको दीर्घकालिन दुष्परिणाम हुनेछ ।
हाम्रो पार्टीले प्रारम्भदेखि नै यातायातमा सिन्डिकेट प्रथालाई समाप्त गर्नुपर्दछ भनेर आवाज उठाउँदै आएको थियो । अहिले सरकारले सिण्डिकेट प्रणालीलाई समाप्त गर्न उठाएको कदमलाई हाम्रो पार्टीले समर्थन गर्दछ र त्यो कार्यलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
काठमाडौं सीडीओ कार्यालयले काठमाडौका केही खास क्षेत्रहरुमा मात्र सभा र जुलुस गर्ने र शहरका अन्य भागहरुमा जुलुस गर्न निषेध गर्ने जुन आदेश जारी गरेको छ, त्यसलाई हाम्रो पार्टी अप्रजातान्त्रिक मान्दछ र त्यसको विरोध गर्दछ ।
मिति : २०७५ बैशाख ९ गते
……………….
मोहन विक्रम सिंह
महामन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here