एउटा प्रेम घले, जसले पर्यटक लोभ्याउने घलेगाउँ बनाए

0
505

आश गुरुङ

लमजुङ — सैनिकमा भर्ती नहुनेलाई गाउँमा गिज्याइन्थ्यो । ‘नामर्द’ भनिन्थ्यो । त्यसैले उनी पनि लाहुरे बन्न १८ वर्षको उमेरमा भारतको सिमला पुगे । साथ दिने आफन्त छँदै थिए ।

सैनिक भर्ती केन्द्र पुग्दा गल्ती काम गरेका सैनिकलाई सजाय दिइँदै गरेको देखेपछि भर्ती हुने रहर विस्तारै हराउन थाल्यो । उनलाई गाउँ फर्कन मन लाग्यो । स्कुल खोल्ने र युवालाई गाउँमै रोजगारी दिने अठोट लिए । तर भर्ना हुन लगेका मितदाइ केरमान गुरुङ र आफ्नै दाइ प्रवीणराजको गाली खाए । बाबुआमा, आफन्त सबैले गाली गरे । सेनामा भर्ती हुन नसकेको भन्दै ‘नामर्द’ को संज्ञा दिइयो । यसले झन् उनलाई केही गरेर देखाउने ‘इख’ पलायो ।

गाउँमुनि बगुमस्थित उत्तरकन्या प्रावि (हालको मावि) बाट पाँच कक्षा उत्तीर्ण गरे पनि उनले एसएलसी कटाउन पाएनन् । गाउँमै स्कुल खोलेर पढाउन थाले । पढाउँदा पढाउँदै २०४९ सालमा ३२ वर्षको उमेरमै उत्तरकन्या गाविसको अध्यक्ष बने ।

त्यतिबेला उनले सार्वजनिक ठाउँमा धूमपान, मद्यपान गर्न नपाउने र जुवातास खेल्न नपाउने नियम बनाए । सानै उमेरमा अध्यक्ष बनेपछि गाउँका बूढापाकाले उनको कामलाई मन पराएनन् । विरोध हुन थाल्यो । कतिपयले उल्लीबिल्ली गरे । तर पनि घरघरै पुगेर गाउँलेलाई बुझाउन थाले । फेरि ०५४ सालमा गाविस अध्यक्ष बने । र, उनी तिनै प्रेम घले हुन्– आधुनिक घलेगाउँका अवधारणाकार, जसले घलेगाउँलाई दुई पटक दक्षिण एसियाली मुलुकको नम्बर एक पर्यटकीय गाउँका रूपमा स्थापित गराए ।

……

घलेगाउँलाई चिनाउन उनले निकै संघर्ष गरेका छन् । साथी भुवनसिंह गुरुङ पर्यटन मन्त्रालयमा काम गर्थे । सिरुवारीको चर्चा सुनेका प्रेमले भुवनलाई सिरुवारीको नाम चर्चामा आउनुका कारण सोधे । सिरुवारीलाई पर्यटकीय गाउँ बनाउन भुवनको हात रहेको थाहा पाए । प्रेमले भुवनलाई सिरुवारी लैजान आग्रह गरे । भुवनको ससुरालीगाउँ भएकाले प्रेमले घुम्ने र बुझ्ने अवसर पाए ।

टोनी पार्क नामकी अस्ट्रेलियन नागरिकले पर्यटक लैजाने गरेको जानकारी पाएपछि उनले तिनै विदेशीसँग भेटाइदिन भुवनलाई आग्रह गरे । काठमाडौं, नक्सालस्थित टोनीको कार्यालयमै गएर घलेगाउँबारे जानकारी गराए । टोनी घलेगाउँ आउन तयार भइन् ।

अनि, भुवनको सहयोगमा मन्त्रालयले टोनीलाई ६ दिनको ‘पर्मिट’ बनाइदियो । टोनी पार्क पहिलोपटक पर्यटक बनेर घलेगाउँ आइन् । स्थानीय परिकार चखाउनुका साथै संस्कृति देखाएपछि मक्ख परिन् । उनले घलेगाउँ पर्यटकका लागि गन्तव्य बन्न सक्छ भनेपछि प्रेम पनि मक्ख परे ।


प्रेम पोखरामा आयोजित पर्यटनसम्बन्धी गोष्ठीमा गए । मुख्यवक्ता थिए डा. हर्क गुरुङ । ‘हिमाल देखाउनुपर्छ, पैसा आफैं आउँछ’ भन्ने डा. गुरुङको भनाइले उनलाई लोभ्यायो । उनले हिमाल हेरेर पातीघारी समाउँदै दिसा गर्ने स्थानीयको बानीलाई रोके । पर्यटकलाई हिमाल हेर्ने वातावरण बनाउनुपर्छ, त्यही पाती पर्यटकको शिरमा चढाउनुपर्छ भन्दै घरघरै हिँडे । शौचालय बनाउने अभियान चलाए । गाउँ सफा राख्न उर्दी गरे । घर–आँगनमा सागपात फलाउन अनुरोध गरे । गाउँमा हराएको घाँटु, सोरठी र कृष्णचरित्रलाई ब्युँताए ।

पर्यटकलाई बाटैमा लिन जाने र लिन जानेक्रममा ‘यालमी’ नाचेर भित्र्याउन थाले । सुरुमा १२ घरको पिँढी र धन्सारमा कोठा बनाउन लगाए । बाहिरी मान्छे गाउँमा ल्याएको भन्दै त्यतिबेला गाउँले सबै रुष्ट बने । केही त बोल्नै छाडे । कसैले प्रेम घलेको कुरा सुन्नु हुँदैन भनेर समूह बनाउन थाले ।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा गाउँ सुनसान थियो । त्यही बेला प्रेमले ग्रामीण पर्यटन विकास समिति गठन गरे । चहलपहल बढाउन समितिले ०५७ सालमा महोत्सव आयोजना गर्‍यो । महोत्सव घोषणासँगै माओवादी कार्यकर्ताले उनलाई अपहरण गरे ।

‘तपाईंहरू नयाँ नेपाल बनाउन हिँड्नुभएको छ । हामी गाउँको विकास गरौं भनेर लागेका छौं’ भनेपछि प्रेमका कुरा माओवादीलाई चित्त बुझ्यो । महोत्सव सम्पन्न भयो । त्यसपछि ललितकला क्याम्पसका चित्रकारले घलेगाउँमा कला महोत्सव गरे । महोत्सव र गाउँको प्रचारका लागि राजधानीमा सांस्कृतिक कार्यक्रम देखाएर पैसा संकलन गरे । घलेगाउँको प्रचार बढै गयो । आन्तरिक तथा बाह्य पर्यटक गाउँमा देखिन थाले ।

पर्यटन बोर्डले २००३ को पर्यटन वर्षमा घलेगाउँलाई पनि जोड्यो । सरकारी अधिकृत घलेगाउँ उक्लिन थाले । प्रचारप्रसारले घलेगाउँलाई ग्रामीण पर्यटकीय गाउँका रूपमा चिनायो । नेता, मन्त्री पनि घलेगाउँ आएर बस्न थाले । हाल प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँ घोषित भयो ।

३२ वर्षकै उमेरमा जनप्रतिनिधि बनेका प्रेम अहिले पनि जनप्रतिनिधि नै हुन् । त्यतिबेला उनी एउटा गाविस (हाल एउटा वडा) का अध्यक्ष थिए । अहिले सात गाविस मिलाएर बनाइएको (९ वडा) गाउँपालिकाका अध्यक्ष । गुरुङ पहिचान बचाइराख्न उनले गाउँपालिकाको नाम गुरुङ जातिको आदिम थलो ‘क्व्होलासोंथर’ राखेका छन् ।

काठमाडौं जाँदा म:म: खाएपछि १० प्रतिशत सेवा शुल्क लेखेको बिल लिएर उनी गाउँ फर्के । गाउँघरमा बढी सेवा दिनुपर्छ भनी उनले सबैको सहमतिमा सेवा शुल्कलाई १५ प्रतिशत राखे । हरेक होमस्टेले कमाएको पाँच प्रतिशत ग्रामीण पर्यटन विकास समिति घलेगाउँलाई बुझाएको हुन्छ । त्यसबाट कार्यालय निर्माण गरी तीन कर्मचारी पालिएको छ ।

सुरुवातदेखि सल्लाह दिँदै आएका लीलाबहादुर घले, गमबहादुर गुरुङ र पछिल्लो समय आसवीर गुरुङले उनलाई घलेगाउँ बनाउन साथ दिए । लीलाबहादुरको भनाइमा प्रेमले घलेगाउँको मुहार फेरिदिए । यहाँका बासिन्दालाई काम गर्न सिकाए । प्रेमसँगै उपाध्यक्ष बनेर गमबहादुरले होमस्टे व्यवस्थापन गर्दै गए । गाउँमा आउने पर्यटकलाई घरघरै राख्ने चाँजोपाँजोमा उनले साथ दिए । ‘हामी आफैं पनि खटियौं । प्रेम दाइको राम्रो साथ मिल्यो । अनि घलेगाउँ चिनियो’, उनले भने ।

पछिल्लो समय साथ दिँदै आएका आसवीरका अनुसार घलेगाउँवासीको एकमत र एकमनले गाउँमा खेलमैदान बनेको छ, पार्क बनेको छ, क्वोइबो धीं, गुरुङ जातिको अन्तिम घले राजाको सालिकलगायत भौतिक पूर्वाधार निर्माण भएका छन् । भ्युटावर, संग्रहालय, पर्यटन भवन यहाँका पर्यटक लोभ्याउने पूर्वाधार हुन् । यस कार्यका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पनि राम्रै सहयोग मिल्यो । युवा पनि अहिले पर्यटक भित्र्याउन जुर्मुराएका छन् ।

तिनै प्रेमले भित्र्याएको होमस्टेको अवधारणाबाट घलेगाउँ घुम्न र होमस्टेमा बस्न बर्सेनि हजारौं पर्यटक आउँछन् । यही होमस्टे चलाएर घले गाउँवासी आर्थिक हिसाबमा समृद्ध बन्न अग्रसर छन् । हरेक होमस्टेले वार्षिक ४ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । आम्दानीको आधाभन्दा बढी जोगाउँछन् । ०५७ सालको विषम परिस्थितिमा भित्रिएको होमस्टेले गाउँका सोझासिधा बासिन्दालाई आयआर्जनको बाटो देखाएको छ । गाउँले होमस्टेमा रमाउन थालेका छन् ।

हरेक दिन पर्यटकको स्वागत/सत्कारमा जुटेका छन् । १ सय २० घर रहेको घलेगाउँमा ३२ घरमा होमस्टे छ । गतवर्षबाट दलित समुदायका २ घरमा होमस्टे सञ्चालन गरिएको छ । चार वर्षअघि कृषि विकास बैंकबाट १३ प्रतिशत ब्याजमा १७ लाख रुपैयाँ ऋण लिएर स्थानीयले होमस्टेमा एकै प्रकारका बेडको व्यवस्था गरेका छन् ।

गाउँमा आएर सहरकै वातावरण खोज्नेका लागि प्रेम आफैंले घलेज होम (उच्चकोटीको होमस्टे) सञ्चालनमा ल्याएका छन् । सुरुसुरुमा गाविसले सहयोग गर्‍यो । तालिम तथा व्यवस्थापनका लागि एक्यापले सहयोग गर्‍यो । तत्कालीन जिविसले मेला महोत्सवमा केही सहयोग गर्‍यो । होमस्टेको कमाइबाट उनीहरूले पर्यटकमैत्री शौचालय निर्माण गरे । घरघरमा धारा बनाए । पर्यटकलाई साँझको समय मनोरञ्जन दिलाउन गाउँमै सामुदायिक भवन निर्माण गरे ।

प्रेमले घलेगाउँलाई जसरी चिनाए, त्यसरी नै क्व्होलासोंथर चिनाउने वाचा गरेका छन् । हरेक गाउँलाई घलेगाउँसँग जोड्ने अभियान थालेका छन् । पछिल्लो तीन वर्षको अवधिमा घलेगाउँमा एक लाखभन्दा बढी आन्तरिक पर्यटक भित्रिएका छन् । बाह्य पर्यटक १० हजार आएका छन् ।

होमस्टेको स्वागत, अर्गानिक खाना र क्याम्पफायरमा पर्यटक रमाउँछन् । हिमाल र कला संस्कृतिकलाई नजिकैबाट नियाल्छन् । सडक, पानी, बिजुली, इन्टरनेटको सुविधा छ । सामूहिक चियाबगान तथा भेडीगोठले पर्यटकलाई थप आकर्षित गरेको छ । घलेगाउँको सिको गर्दै जिल्लाका एक दर्जन ग्रामीण पर्यटकीय गाउँमा होमस्टे सञ्चालनमा ल्याइएका छन् ।

कान्तिपुर दैनिकबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here