इतिहासले वर्तमान सरकारलाई क्षमा दिने छैन : मसाल

0
1630
काठमाडौं । डा. के.सी.को अनसनको क्रममा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुने र त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्ने नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज एक विज्ञप्ती जारी गरि सो अवधारणा सार्वजनिक गर्नुभएको हो ।
विज्ञप्तीमा सिंहले लामो अनसनका कारणले डा. के.सी.को जीवन संकटको अवस्थामा पुगेको बताउनु भएको छ । त्यसकारण उनको प्राणको रक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्ने र कुनै जोर जर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरुलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यान दिनु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।
नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलन आफ्ना गलत प्रकारका राजनीतिक उद्देश्यहरुद्वारा निर्देशित रहेको र आन्दोलनको उद्देश्य केवल सत्तासितको प्रतिस्पर्धा मात्र रहेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको पूर्ण पाठ:
आज २०७५ साउन ४ गते उपलब्ध केन्द्रीय समितिका सदस्यहरु सहित ने.क.पा. (मसाल)को केन्द्रीय कार्यालयको बैठक बस्यो । त्यो बैठकमा डा. गोविन्द के.सी.का मागहरु, उनको अनसन र त्यसबारे सरकारले अपनाएको नीतिबारे विस्तृत रुपले छलफल भयो । त्यो बैठक निम्न लिखित निष्कर्षमा पुगेको छ ।
१.डा. के.सी.का मागहरु माथेमा आयोगको प्रतिवेदन र राष्ट्रिय आवश्यक अनुसार छन् । त्यस कारण हाम्रो पार्टीले उनका मागहरु पूरा गर्नु पर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।
२. लामो अनसनका कारणले डा. के.सी.को जीवन संकटको अवस्थामा पुगेको छ । त्यसकारण उनको प्राणको रक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्ने आवश्यकता छ । कुनै जोर जर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरुलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यान दिनु पर्ने आवश्यकता छ । 
३. अहिले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकले माथेमा आयोगका मूलभूत सिफारिसहरुलाई अस्वीकार गर्दछ । त्यसकारण त्यो विधेयकलाई फिर्ता गरेर माथेमा आयोगको सिफारिस अनुसार नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
४. डा. के.सी.का मागहरुका पक्षमा देशमा उठिरहेको आवाज र त्यसका लागि भइरहेको आन्दोलनसित ने.क.पा. (मसाल)ले ऐक्यवद्धता प्रकट गर्दछ ।
५. डा. के.सी.का मागहरु समेतका लागि ने.का.ले आन्दोलनको जुन घोषणा गरेको छ, त्यो उसका आफ्ना गलत प्रकारका राजनीतिक उद्देश्यहरुद्वारा निर्देशित छ । त्यसको त्यो आन्दोलनको उद्देश्य खालि सत्तासितको प्रतिस्पर्धा मात्रहो र, त्यसकारण, त्यो आन्दोलनलाई हामीले समर्थन नगर्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । त्यसैले हाम्रो पार्टी त्यसले आयोजना गर्ने आन्दोलन सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं । 
६. डा. के.सी.का मागहरुका पक्षमा र उनको जीवन रक्षाका लागि स्वास्थ्यकर्मी, नागरिक समाज, मानव अधिकारवादी आदिले गर्ने आन्दोलनहरुलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौं र आवश्यकतानुसार उनीहरुद्वारा आयोजित कार्यक्रमहरुमा सहभागी हुने हाम्रो नीति हुनेछ ।
७. हाम्रो पार्टीको नजिकका मोर्चा, जनवर्गीय संगठनका समिति वा सदस्यहरुले आफ्नो स्वतन्त्र पहलकदमीमा पनि डा. के.सी.का मागहरुका पक्षमा विभिन्न कार्यक्रमहरु वा सरकारका गलत नीतिहरुका विरुद्ध विरोध कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । हाम्रा विभिन्न मोर्चा वा जनवर्गीय संगठनहरु द्वारा आयोजित आफ्ना कार्यक्रमहरुमा पनि हामीले डा. के.सी.का माग वा आन्दोलनका पक्षमा बढी भन्दा बढी विचारहरु लैजाने प्रयत्न गर्नु पर्दछ । देशका अन्य विभिन्न पक्षहरुसित पनि पारस्पारिक समझदारी वा सहमतिका आधारमा डा. के.सी.का मागहरुका पक्षमा संयुक्त कार्यक्रमहरुको आयोजना गर्ने हाम्रो नीति हुनेछ । 
८. सरकारले डा. के.सी.का मागहरु प्रति सकारात्मक दृष्टिकोण अपनाउने भन्दा तिनीहरु प्रति बढी नकारात्मक दृष्टिकोण अपनाएको पाइन्छ । सरकारको त्यस प्रकारको नीति र कार्यशैलीलाई हाम्रो पार्टीले कडा शब्दमा आलोचना वा विरोध गर्दछ । 
९. डा. के.सी.को अनसनको क्रममा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुने छ र त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्नेछ । त्यस प्रकारको कुनै अप्रिय घटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमा दिने छैन ।
मिति : २०७५ साउन ४ गते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here