इतिहासको एक त्रासदपूर्ण घटनाः देशका चार सपुतको हत्या

0
77
– शशिधर भण्डारी

आधुनिक नेपालको इतिहास नै काण्डैकाण्ड र पर्वैपर्वहरुले भरिएको छ । राजनीतिक सत्ता र शक्ति संघर्षका निमित्त यति ठूला रक्तपातका घटनाहरुले भरिएको इतिहास विश्वका कमै मुलुकहरुमा पाइन्छ । इतिहासमा कहिलेकाँही यस्ता त्रासद र रोदनपूर्ण घटनाहरु शासकहरुले क्रुरतापूर्वक घटाउँछन् । ती घटनाहरुले भावी दिनका युगौँ लामा कालखण्डसम्म समयलाई चिमोटी रहन्छन् । इतिहासप्रति गम्भिर हुने जो कसैलाई भावविभोर बनाइरहन्छन् । फ्रान्सेली राज्य क्रान्ति एउटा डरलाग्दो रक्तपातपूर्ण क्रान्ति थियो । ज्याकोविन र दिरोन्दिस्ट दुबै दल क्रान्तिकै लाममा थिए । तर कार्यनीति फरक–फरक थियो । ज्याकोविन उग्र क्रानितकारी थिए भने जिरोन्दिस्ट नरम थिए । १७९३ को जुन २ मा ज्याकोविनहरुले सत्ताको दुरुपयोग गर्दै जिरोन्दिस्ट दलका २२ जना नेता र नेतृहरुलाई गिलोटिन मेसिनमा चढाएर काट्ने निर्णय गरे । २ जुनमा नै राष्ट्रियता र क्रान्तिको गीत गाउँदै २२ जना जिरोन्दिस्ट दलका नेता र नेतृहरुले गिलोटिन मेसिनमा काटिएर आफ्नो जीवनको इहलिला समाप्त गरेका थिए । त्यसमा जिरोन्दिस्ट दलकी नेतृ मेडम रोलाले काटिनु एक मिनेट पूर्व भनेकी थिइन “ए प्रजातन्त्र तेरो नाममा कति ठूलो अपराध भयो ” त्यो घटनालाई आज पनि फ्रान्सेलीहरुले एउटा रोदनपूर्ण डरलाग्दो अपराधका घटनाका रुपमा लिन्छन् । यद्यपी फ्रान्सेली क्रान्तिले लुई सोह्रौँ र उनकी  पत्नी मेरी एनटोनेट समेतलाई गिलोटिन मेसिनको सिकार बनाएको थियो ।

विश्वको इतिहासमा क्रान्ति र प्रतिक्रान्तिका दौरानमा ठूला ठूला नरसंहारका घटनाहरु घट्ने गर्दछन् । तर हत्याकाण्डको स्वरुप ,प्रकृति, आत्मबोध र करुण दृष्यहरुको मनोवेगले भरिएका केही प्रतिनिधि घटनाहरुले मनुष्यको मष्तिष्क नै हल्लाइदिन्छन् । जिरोन्दिस्टहरुको हत्याकाण्डले फ्रान्सेली मात्र होइन, विश्वकै इतिहास थाहा पाउने मानिसहरुको मस्तिष्क हल्लाइदिने गर्दछ । त्यस्तै नेपालको इतिहासमा वि।सं १९९७ माघ १० गते दखि १५ गते सम्म सहिद शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तात्कालीन राणा सरकारले गरेको हत्याकाण्ड हृदयविदारक , रोदनपूर्ण र राणा सरकारका विरुद्धमा ठूलो घृणा र क्षोभ उब्जाउने घटनाका रुपमा नेपालको इतिहासमा अंकित छ । भारतमा २२ वर्षीय युवा भगत सिंहले साम्राज्यवादी शासकका अगाडि अंग्रेजी साम्राज्यवादको भारतबाट पलायन बाहेक कुनै पनि सर्त र प्रलोभनलाई अस्वीकार गर्दै फासीमा झुण्डिएर महान मृत्युवरण गरेका थिए । ठीक त्यसैगरी नेपालका चार सहिदहरुले पनि राणा शासनका सबै सर्त र प्रलोभनहरुलाई थुक्दै राणा शासनको अन्त्य भन्दा तलको कुनै संझौता गरेनन् । देश र जनताका लागि हाँसी हाँसी महान मृृत्युवरण गरे । वि।सं १९०३ मा कोतमा एकसय पचास भन्दा धेरै मान्छेको हत्या गरेर जंग बहादुर कुवँरले स्थापना गरेको जहाँनिया राणा शासनको विरुद्धमा आवाज उठाए वापत लखन थापाको सर्वप्रथम हत्या भएको थियो । वि।सं १९७७ मा मकैको खेती भन्ने पुस्तक लेखेको कारणले राणाहरुले सुब्बा कृष्णलाल अधिकारीलाई जेलमा कोचेका थिए । सात वर्ष पछि उहाँको जेलमै निधन भएको थियो । राणाहरुको एकतन्त्रीय शासनमा नेपाली जनताले ठूलो दमन , शोषण , अन्याय र अत्याचार सहन प¥यो । राणाहरुले इष्ट इण्डिया कम्पनी सरकारको जीहजुरी गरेर आफ्नो क्रुर शासन चलाइरहे । त्यसैले कार्ल माक्र्सले जंग बहादुर कुवँर राणालाई अंग्रेजहरुको कुकुर भन्ने संज्ञा दिएका थिए ।

वि.सं १९९३ सम्म एउटा राजनीतिक पार्टी नै स्थापना गरेर संस्थागत रुपमा राणा शासनका विरुद्धमा आवाज उठाइएको थिएन । १९९३ जेठ २० गते दशरथ चन्द , रामहरी शर्मा , टंक प्रसाद आचार्य र धर्मभक्त माथेमा मिलेर ‘प्रजा परिषद’ भन्ने एउटा राजनीतिक पार्टीको स्थापना गरेका थिए । यो नै नेपालको प्रथम रजनीतिक दल थियो । तर यो दललाई चार वर्ष पनि पुग्न नदिएर राणाहरुले क्रुर दमन गरेका थिए । १९९७ माघ १० गते देखि १५ सम्मको अवधिमा प्रजा परिषदका धर्मभक्त माथेमा , दशरथ चन्द र  गंगालाल श्रेष्ठ मात्र  होइन प्रखर राणा विरोधी तर प्रजा परिषदसित असम्बद्ध शूक्रराज शास्त्री समेतलाई राणा सरकारले मा¥यो । सरदार भीम बहादुर पाण्डेद्वारा लिखित त्यस बखतको नेपाल भाग ३ का अनुसार राजा त्रिभूवनले पनि प्रजा परिषदलाई रु ४ हजार भारु चन्दा दिएका थिए । त्यतिबेला त्यति पैसाले धेरै काम गर्दथ्यो तर दुर्भाग्य १ राणा शासनको क्रुर दमनका कारण तंगभंग भएपश्चात प्रजा परिषदले २००७ को राणा विरोधी संघर्षमा नेतृत्व र अगुवाई गर्न सकेन । वि।सं २००७ पछि प्रजा परिषदका नेता रामहरी शर्मा र टंक प्रसाद आचार्य राजदरबारको वरिपरी नै रहे । राज दरबारमा पछि झन चुलिएको निरंकुशता र वंश परम्पराका विषयमा बल्ल बल्ल बाँचेको प्रजा परिषद कम्तीमा आलोचनात्मक विवेककासाथ समेत प्रस्तुत हुन सकेन । तर पनि प्रजा परिषदका सदस्यहरुले राणा शासनका विरुद्धमा जसरी गर्जेर प्राणको आहुती दिए , त्यस आधारमा प्रजा परिषदको उच्च मूल्यांकन बिना नेपाली इतिहासको आधुिनक कालखण्डको जग नै राम्रो बन्दैन ।

प्रजा परिषदको नाउँबाट वि।सं १९९७ साल असार ९ गते राणा शासनका विरुद्धमा काठमाडौमा एउटा पहिलो कडा पर्चा वितरण गरियो । त्यस्तै असार ३० गते अर्को झन कडा कडा शब्दमा लेखिएको पर्चा छरियो । राणा सरकारले त्यो पर्चा कसले ,कहाँबाट र कतिबेला वितरण गर्दै छ भन्ने कुरा पत्तो पाएन । त्यसपछि श्रावण ११ गते सो पर्चा छर्ने संस्था र व्यक्तिको सुराकी सरकारलाई बुझाउनेलाई रु ५००० पुरस्कार दिने भनेर गोरखापत्र मार्फत सरकारले एउटा इस्तिहार जारी गर्यो । रामजी जोशी भन्ने द्रव्य पिचासले प्रजा परिषदको पोल खुलायो । त्यस क्रममै पनि साउन १७ र भाद्र २४ गते थप पर्चाहरु वितरण भए । त्यसपछि प्रजा परिषदका ५०० जति सदस्यहरु गिरफ्तार भए । टंक प्रसाद आचार्य , मुकुन्द प्रसाद रिमाल बनारसमा भएको कारणले पक्राउ परेनन् । पछि टंक प्रसादलाई उनका पिता टीका प्रसाद सख्त बिरामी छन् भन्ने जालसाजपूर्ण पत्र पठाएर नेपाल झिकाइयो ।  जनकपूर टेक्दासाथ गिरफ्तार गरियो । यस्तो जालसाजपूर्ण पत्र पठाउने व्यक्ति मनमोहन , भरतमोहनका पिता रामचन्द्र अधिकारी थिए । त्यसपछि राणा सरकारले शंकर शमसेरको अध्यक्षतामा एउटा कथित विशेष अदालतको गठन गरेर ताण्डव नृत्य प्रदर्शन गर्न थाल्यो । सो कथित विशेष अदलालतले टंक प्रसाद आचार्य , दशरथ चन्द , धर्मभक्त, माथेमा , गोबिन्द उपाध्याय ,रामहरी शर्मा , गंगालाल श्रेष्ठ , चन्द्रमान सैजु , गणेशमान सिंह , चुडा प्रसाद शर्मा , बल बहादुर पाण्डे , पुष्करनाथ उप्रेती , हरिकृष्ण श्रेष्ठ , मुकुन्द प्रसाद रिमाल आदिलाई मूल रुपमा दोषी करार गर्यो । तिनीहरुलाई नेल र हतकडी सहित सैनिक घेरामा राखेर सिंह दरबारको फुटबल मैदानमा ल्याएर उभ्याइयो । प्रजा परिषदमा आबद्ध नरहेका शुक्रराज शस्त्री , राजा राजपरिवारका सदस्यहरु समेतलाई त्यहाँ उपस्थित गराइयो ।

राणा सरकारले गठन गरेको कथित विशेष अदालतले सर्वप्रथम शुक्रराज शास्त्रीलाई झुण्डयाएर मार्ने फैसला ग¥यो । माघ १० गते ८ बजे तिर हतकडी सहितका शास्त्रीलाई जेलबाट बाहिर निकाल्यो । केही समय जेल बाहिर राखियो र लरीमा राखेर रातको ११ बजे पचली पुर्याइयो । झुण्ड्याउनुपूर्व उनलाई मिठा मिठा प्रलोभन दिइयो । , माफी माग्न लगाइयो । यी सबै कुराहरुलाई थुक्दै देशका महान सपुत शुक्रराजले महान मृत्युवरण गरे । अनि टेकुको खरीको बुटामा उनलाई झुण्ड्याएर मारियो । माघ ११ गते बिहानै धर्मभक्त माथेमालाई सिंह दरबार सैनिक स्कुलबाट सदर जेलमा लगियो । १३ गते रातको १० बजे उनलाई झुण्ड्याउन सिफल पु¥याइयो । झुण्ड्याउने हाँगो मुनी पर्खाल भएकाले पहिले पर्खाल भत्काइयो । सुर्किने गाँठो पारेर धर्मभक्तको घाँटीमा पासो लगाइयो र हाँगामा कस्ने गराइयो । धर्मभक्तको गह्रौँ शरिरले हाँगा लप्कियो र खुट्टा भुईमा परे । फेरी त्यहीँक्रम दोहा¥याइयो । फेरी त्यस्तै नै भयो । तेस्रो पटक फाँसीको डोरी नै चुडियो । भुईमा ढलेका धर्मभक्तको घाँटीको सुर्किनो फुकाउन सकिएन । त्यस पछि नर शमशेरले चक्कु लिएर डोरी मात्र काटेन गलादेखि चिउडो सम्म चक्कुले चिरेर रक्ताम्मे पा¥यो । धर्मभक्त उत्तेजित बनेर नरशमशेरलाई एक लात हाने । त्यसपछि नर शमशेरको आदेशमा १५–२० जना सिपाहीहरुले धर्मभक्तलाई निर्मम ढंगले कुटपिट गरेर मुर्छित पारे । राणा शासनको अन्त्य तथा देश र जनताको मुक्तिका निमित्त देशका महान सपुत धर्मधक्तले यस्तो क्रुर र अमानवीय यातना भोग्दै छुरीले काटेको घाउँमा डोरी लगाएर आफ्नो इहालिला समाप्त गरे ।

माघ ११ गते दशरथ चन्द र गंगालाललाई सिंह दरबाबाट जेलमा नै पठाइयो । माघ १४ गते बाफलको बाटो विष्णुमतीमा  पुर्याइयो । शोभा भगवतीमा सर्वप्रथम दशरथ चन्दलाई नर शमशेरको आदेश अनुरुप एउटा पोडेले तिघ्रामा गोली ठोक्यो । दशरथ छट्पटाउन थाले । यस्तो अवस्थामा देखेर नजिकमै गोली थापेर उभिएका गंगालालले “सक्छस भने छातीमा हान तेरो बाउलाई” भनेपछि नर शमशेर आफैले गंगालालको घुडामा गोली ठोक्यो  । पोडेले अर्को राउण्ड गोली दशरथ चन्दको कोखामा हान्यो । नर शमशेरको अर्को प्रहार गंगालालको छातीमा प¥यो । पोडेले अर्को प्रहार चन्द माथि ग¥यो । पूनः अर्को गोली गंगालालको पेट र छातीमा हानियो । यसरी दुबै जना महामानवले देश र जनताको मुक्तिका लागि रक्ताम्मे भएर प्राणको आहुती दिए । यी हुन महान सहिदहरु ।

नेपालको राजनीतिक आन्दोलनमा यस्ता महान गाथाहरु बोकेका हजारौँ सहिदहरु छन् , सुखानी , पिस्कर , छिंतांक काण्डका सहिदहरु , ऋषी देवकोटा आजाद र कृष्ण सेन इच्छुक,  यज्ञ बहादुर थापा र भिम श्रेष्ठ लगाएत हजारौँ सहिदहरुको रगतले हाम्रो मातृभूमि सिंचित भएको छ । माघ महिना सहिद दिवशको सन्दर्भ परेर मात्र यो छोटो लेखमा १९९७ सालको काण्डलाई विशेष रुपले लेखिएको हो । ती महान सहिदको बलिदानको योगफल नै हामीले प्राप्त गरेको पूँजीवादी लोकतान्त्रिक गणतन्त्र हो । नेपाल एउटा यस्तो देश पनि हो , जुन देशमा सहिद भन्ने शब्द नै सस्तो हुँदै गएको छ । हामी सहिद शब्दलाई जति सस्तो र हल्का बनाउँदै जाने छौँ त्यति मात्रामा देश , जनता अनि परिवर्तनका लागि उच्च गाथा बोकेर प्राणको आहुती दिने सहिदहरुको अवमूल्यन हुँदै जाने छ । जब देशका सच्चा सपुत र सहिदहरुको अबमूल्यन हुन्छ , आफ्नो इतिहासको गरिमाप्रति गर्व हुँदैन , त्यस्तो देशको भविष्य उज्यालो हुन सक्दैन । आज हाम्रा अगाडि को सहिद हो रु को होइन रु यो प्रश्न निकै जटिल र अनुत्तरित भएर उभिएको छ । सपुतहरुलाई सत्ताले तोकेरै अवसर दियो , सहिदहरुले लिएनन् । अनुदानमा पाएको जीवन भन्दा अमरत्वलाई रोजे , जीवनभन्दा आदर्श ठूलो माने , आफ्नो स्वार्थ भन्दा स्वाभिमनलाई माथि राखे , विचारमा डगमगाएनन् । तर दुर्भाग्य १ आज हामी सहिदहरुलाई राजनीतिक सौदाबाजीको विषयबस्तु बनाएर भ्रष्टिकरण गर्ने स्थानमा आएर उभिएका छौँ । सहिदलाई व्यवसायिकीकरण गरेर राजनीतिको रोटी सेक्ने तुच्छ कोटीको उपभोक्तावादले झण्डै झण्डै संस्कारको रुप लिन थालेको छ । यो परिदृष्य सानो राष्ट्रिय दुरभाग्य होइन । अन्त्यमा सहिदहरुको चिहानबाट भन्ने एउटा सानो कविताबाट बिट मार्छु ।
सहिदहरुलाई गाडेको चिहानभित्रको कङ्कालमा
सहिदहरुलाई दफनाएको दोभानको खरानी र अङ्गारमा
आज मैले क्रान्तिको जीवन खोजिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here