आदिवासी जनजाति समस्या समाधानको सन्दर्भ

0
508

प्रकाश थापा मगर

परिभाषा:

सामान्यतः जनजाति भनेको साझा भूभाग, साझा भाषा, साझा मनोविज्ञान, साझा संस्कृति र रहनसहन भएका समान गोत्रहरूको त्यस्तो मानव समुदाय हो, जसको अस्तित्व काफी हदसम्म आदिम स्थितिसित सम्बन्धित हुन्छ । उनीहरूको बीचमा मुद्रा प्रचलनको तुलनात्मकरुपमा अभाव हुन्छ; महिलाहरूलाई अरू विकसित जातिहरूका तुलनामा सापेक्ष स्वतन्त्रता प्राप्त छ र प्रकृति पूजाको परम्परा विद्यमान छ । धर्मशास्त्रीय विधि-विधिानमाथि आधारित पूजा उनीहरूले स्वीकार्दैनन् । यो समुदाय अझै पनि पुँजीवादी संस्कार र संस्कृतिमा पुरै सामेल भैसकेको छैन । यही कारणले गर्दा उनीहरूको सामाजिक विकास पछि परेको मानिँदै आइएको छ । मुद्रा प्रचलनको अभाव तर वस्तु बिनिमयमाकाथि आधारित सम्बन्धका कारणले उनीहरूको जीवनस्तर अपेक्षाकृत माथि उठ्न सकेको छैन । यद्यपि उनीहरू जमिन र जङ्गलसित जोडिएका हुन्छन् तर पुँजीवाद मुद्रालाई पुँजीमा रुपान्तरण गरेपछि अस्तित्वमा आउँने भएकाले जनजातिहरू त्यस स्थितिमा आउन सकिरहेका छैनन् ।
यस्तै अर्को समुदाय आदिवासी छ । आदिवासीको सम्बन्ध समयसित छ । आदिवासी भनेको प्राचीन मानव समुदाय हो, जसले जङ्गल फाँडेर मानव वस्ति आवाद गराउनमा उल्लेखनीय भुमिका खेलेको थियो । यो समुदायको समस्या पनि यही हो कि उनीहरू पनि जमिन र जङ्गलसित जोडिएका हुन्छन् । खालि यही कारणले गर्दा नै उनीहरू पिछडिएका हुन्छन् । उनीहरूमा पनि मुद्रा प्रचलनको अभाव देखिन्छ ।
यसरी हेर्दा आदिवासी र जनजाति दुवै जमिन र जङ्गलसित जोडिएका मानव समुदायहरू हुन् । खालि यही कारणले गर्दा उनीहरूको पुँजीवादी समाजमा उच्च जीवनस्तर कायम हुन सक्दैन र खालि यही कारणले गर्दा नै उनीहरूको यस प्रवर्गमा अस्तित्व हुन्छ । जति उनीहरू जमिन र जङ्गलसित अलग हुँदै जान्छन्, उनीहरू जातीय अल्पसङ्ख्यकमा परिणत हुँदै जान्छन् र उनीहरू झन्-पछि-झन् गरिव बन्दै जान्छन् । उनीहरूमध्ये केही व्यक्तिहरूका लागि सम्भव छ कि पुँजीपति बनुन् तर धेरै मानिसहरूका लागि भने भुमिहीन बन्नुको अर्को विकल्प छैन । आजसम्मको सामाजिक विकासको निष्कर्ष यस्तै रहेको छ ।

आदिवासी जनजातिका समस्या:

माथि उल्लेख गरिएका आदिवासी र जनजातिका परिभाषाबाट नै बुझ्न सकिन्छ कि उनीहरूको मुल समस्या जमिन र जङ्गलसित पृथक भएपछि उत्पन्न भएको छ । पुँजीवादको विकासका लागि जमिनको औद्योगीकरण हुँनु आवश्यक छ । त्यसका लागि जङ्गलको पनि सहायक भुमिका हुँने गर्दछ । जबकि जमिन र जङ्गलमाथि आदिवासी जनजातिहरूको स्वामित्व हुन्छ, पुँजीवादको विकासका लागि उनीहरूबाट यी दुवै चीजहरू खोस्नुपर्ने हुन्छ र दुनियाँभरीका पुँजीपतिहरूले आजसम्म त्यही काम गर्दै आइरहेका छन् । यस क्रममा पुँजीवादले (पहिले सामन्तवादले र पछि उसकै पदचिन्हमा अगाडि बढेर पुँजीवादले पनि) खालि जमिन र जङ्गल खोस्नेमात्र होइन, उनीहरूका भाषा, लिपि, प्राकृत धर्म, संस्कृति र रहनसहन पनि खोसेर लैजान्छ र त्यसका स्थानमा उसले नगद लेनदेनमाथि आधारित सम्बन्ध ब्ंेी त्मसंजपवदेीपच स्थापित गर्दछ ।
यसरी प्रष्ट छ, आदिवासी जनजातिका समस्याका दुईवटा पाटाहरू छन्: प्रथम- जमिन र जङ्गल खोसिँनु, जसले गर्दा उनीहरूको जीवननिर्वाहका साधन गुम्दछ र उनीहरू भुमिहीन बन्न जान्छन्, वर्गीयरुपमा भन्नुपर्दा उनीहरू सर्वहाराकरणतिर रुपान्तर हुँदै जान्छन्; द्वितीय- सांस्कृतिक सम्पत्ति खोसिँनु, जसले गर्दा उनीहरू भाषाविहीन, संस्कृतिविहीन र मनोविज्ञानविहीन हुन्छन् । तसर्थ यो प्रष्ट छ कि आदिवासी जनजातिका समस्याहरूको सन्दर्भमा चर्चा गर्दा यी दुवैथरीका समस्याहरूलाई एक-अर्को समस्याबाट अलग गरेर हेर्न सकिन्न र हेर्नु हुन्न ।

जातीय सवालमा वर्गीय समस्या नै प्रमुख:

विदितै छ कि मानिसलाई बाच्नका लागि सबैभन्दा पहिले गास, बास र कपास चाहिन्छ । त्यसका लागि भौतिक तथा आर्थिक सम्बन्ध स्थापित गरिँनुपर्दछ । त्यसकारण मानव जातिको पहिलो र आधारभुत समस्या उसको जीवननिर्वाहको समस्या नै हो । त्यसपछि आउँछ सांस्कृतिक समस्या । मानिसहरूका बीचमा सम्बन्ध कायम गर्नका लागि साधन चाहिन्छ । त्यो साधन भाषा नै हुन सक्छ । त्यसरी भाषा र लिपिको समस्या त्यत्तिकै महत्वपूर्ण हुन जान्छ । प्रत्येक समाजलाई अनुशासित र नैतिकवान बनाउनका लागि संस्कार, संस्कृति चाहिन्छ । जीवनलाई एउटा निश्चित बाटोमा डोÚयाउनका लागि चिन्तन अथवा विचार, दर्शन चाहिन्छ । त्यही क्रममा मानिसले भौतिकवादी दर्शनप्रति अबोधगम्यताको परिणामस्वरुप आदर्शवादी दर्शन अपनाउँछ । यही दौरानमा उसले धर्मलाई पनि अपनाउँछ । यसरी भौतिक सम्बन्धका साथै मानिसहरूका अगाडि सांस्कृतिक सम्बन्ध पनि त्यत्तिकै महत्वपूर्ण हुन जान्छन् ।
तर जहाँसम्म सांस्कृतिक र वर्गीय सम्बन्धमध्ये कुन प्रमुख हो ? भन्ने सवाल छ, त्यसबारे निष्कर्षमा पुग्दा वर्गीय सम्बन्ध नै प्रमुख हुन जान्छ । यसको अर्थ यो होइन कि सांस्कृतिक सम्बन्धको गौण महत्व हुन्छ । त्यसका साथै आमरुपमा थाहा भएको विषय हो कि जीवननिर्वाहको व्यवस्था नहुँदासम्म मानिसले सांस्कृतिक सम्बन्धलाई अगाडि बढाउन सक्दैन बरू जीवननिर्वाहको ग्यारेण्टी गरेरमात्रै सांस्कृतिक समानता प्रत्याभूत गर्न सकिन्छ । त्यसकारण जातीय समस्याको सवालमा चर्चा गर्दा वर्गीय सम्बन्धको तुलनामा सांस्कृतिक सम्बन्ध स्वतः द्वितीय विषय बन्न जान्छ । फेरी पनि भनाईको अर्थ यो होइन कि सांस्कृतिक सम्बन्धलाई गौण ठानियोस् बरू यसको आसय यो हो कि आदिवासी जनजातिहरूको वर्गीय समस्या (उदाहरणका लागि जमिन र जङ्गलसित जोडिँने समस्या) बाट ध्यान नहटाइकन सांस्कृतिक समस्यालाई समाधान गर्ने प्रयत्न गरिसोस् । यहाँ जमिन र जङ्गलसित जोडिँने सवाललाई निरपेक्षरुपमा लिइँनु हुदैन बरू यसको आसयलाई बुझ्नुपर्दछ अथवा उनीहरूको जीवननिर्वाहको समस्यालाई ग्यारेण्टी गरिँनुपर्दछ ।

आन्दोलनको स्वरुप: जातीय कि वर्गीय ?

माथि चर्चा गरिएझैँ मानव जातिका लागि (चाहे उनीहरू आदिवासी जनजाति होउन् वा अरू जाति) पहिलो र आधारभुत समस्या उनीहरूको जीवननिर्वाह नै हुन सक्छ । त्यसकारण यस विषयप्रति ध्यान नहटाइकन जातीय आन्दोलनलाई अगाडि बढाउँनुपर्छ । यही मुख्य सवाल हो, जसले जातीय आन्दोलनको स्वरुप निर्धारण गर्दछ । जसले आधारभुत सवालबाट ध्यान नहटाइकन जातीय समस्यालाई समाधान गर्न थाल्दछन्, उनीहरूको एउटा मोर्चा बन्दछ । अखिल नेपाल जनजाति सम्मेलन र अखिल भारत नेपाली जनजाति सम्मेलन यही श्रेणीका सङ्गठनहरू हुन् । जसले आधारभुत सवाल केही पनि होइन, सांस्कृतिक समस्या नै सबैथोक हो भन्ने दृष्टिकोण राख्दछन्, उनीहरूको अर्को मोर्चा बन्दछ । गैर-वामपन्थी चिन्तन भएका जातीय सङ्गठनहरू यस श्रेणीभित्र आउँछन् । पहिलो श्रेणीका जातीय सङ्गठनहरूले आधारभुत सवालबाट ध्यान नहटाउँने भएकाले उनीहरूले आफुजस्तै उत्पीडित जातिका शोषित जनतासित एकता कायम गर्दछन् भने दोस्रो श्रेणीका सङ्गठनहरूले सिङ्गो जातिलाई नै शोषक वा शोषित ठान्दछन् र सिङ्गो जातिसित नै दुश्मनी मोल्दछन् । यसरी उनीहरूको दृष्टिकोण साम्प्रदायिक बन्न जान्छ ।

वास्तविकरुपमा जातीय समस्या समाधानको सवाल:

जातीय समस्या भन्नाले आधारभुत समस्या र सांस्कृतिक समस्या हुन् भनेर माथि नै चर्चा गरिसकिएको छ । त्यसकारण आधारभुत समस्यालाई समाधान गर्नका लागि यस पङ्क्तिका जनसमुदायसित एकाकार हुँनु र यसप्रकारको आन्दोलनसित एक्यवद्धता कायम गर्नु आदिवासी जनजातिहरूको पनि कर्तव्य हुन्छ तर ज्ञात भएको विषय हो कि आधारभुत समस्याको पूर्ण समाधान अन्ततः वर्गविहीन समाजको निर्माणपछि नै सम्भव हुँनेछ । तैपनि यस क्षेत्रमा तुलनात्मकरुपमा भएपनि सुधारका कामहरू गरिँनु आवश्यक छ । सुधारका आन्दोलनलाई पनि उपयोग गर्नुपर्ने आवश्यकता छ । आदिवासी जनजातिहरूले पनि यस विषयबाट ध्यान हटाउँनु हुँदैन ।
जहाँसम्म वास्तविकरुपमा जातीय समस्याको समाधानको सवाल छ, माथि चर्चा गरिएझैँ वर्गसङ्घर्षको समाप्तिपछि नै पूर्णरुपमा समस्याको समाधान हुँनेछ । सांस्कृतिक अधिरचना आर्थिक आधारमाथि उभिँने भएकाले आर्थिक आधारको क्षेत्रमा समानता नभैकन सांस्कृतिक क्षेत्रमा समतापूर्ण दृष्टिकोण निर्माण हुँनु असम्भव छ । जब प्रत्येक मानिसका गास, बास, कपासका समस्या समाधान हुँनेछ, तब एक मानिसले जातिको नाममा, धर्मको नाममा, भाषाको नाममा, मनोविज्ञानको नाममा, संस्कार र संस्कृतिको नाममा अर्को मानिसको शोषण गर्नुपर्ने आवश्यकता रहँनेछैन । त्यसका साथै मानिसले मानिसलाई गर्ने शोषण समाप्त हुँनेछ । यो प्रक्रिया खालि एक देशमा मात्र कायम भएर हुँनेछैन, बरू विश्वव्यापीरुपमा यो स्थिति कायम हुँनुपर्नेछ । यसरी मानिसले मानिसलाई गर्ने शोषण दुनियाँभरीबाट समाप्त हुँनुका साथै सांस्कृतिक क्षेत्रमा हुँने शोषण पनि समाप्त भएर त्यसको स्थानमा समतापूर्ण समाजले लिँनेछ ।
यस सम्बन्धमा कम्युनिष्ट घोषणा-पत्रको निम्न उद्दरण प्रस्तुत गरेर यो लेखलाई समाप्त गर्नु सान्दर्भिक हुनेछ:
”जुन अनुपातमा एक व्यक्तिद्वारा अर्को व्यक्तिको शोषण समाप्त हुँनेछ;
त्यही अनुपातमा एक जातिद्वारा अर्को जातिको शोषण पनि समाप्त हुँनेछ ।
राष्ट्रहरूभित्र वर्गहरूका बीचको विरोध समाप्त हुँनुका साथै राष्ट्रहरूका बीचको आपसी बैरभाव पनि समाप्त हुँनेछ ।“

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here