अमेरिकी साम्राज्यवाद रयमनी गृहयुद्ध

0
381
  • अपत्य शर्मा

विश्वका आम जनता प्रजातन्त्र, शान्ति र समृद्धि चाहन्छन् । सर्वसाधारण भोका, नाङ्गा, शोषित, पीडित, दमित जनता गास, बास र कपासको समस्या हल होस् भन्ने चाहन्छन् । शान्ति चाहँदा चाहँदै पनि उनीहरुलाई युद्ध गर्न बाध्य पारिदै छ । देशभित्रका शोषक शासक प्रतिक्रियावादी तानाशाहहरुको तानाशाहीको अन्त्य गर्न सङ्घर्ष अनिवार्य हुन्छ । तर स्वतन्त्रता, मानव अधिकारको रक्षा र आर्थिक समृद्धिका लागि देशभक्त जनता जब सङ्घर्षको मैदानमा उत्रिन्छन्, तब अमेरिकी साम्राज्यवादीहरु प्रतिक्रियावादी पुँजीवादी तानाशाही वा सामन्तवादी सत्ताको रक्षाका लागि अगाडि आउने गरेका छन् । राष्ट्रवादी देशभक्त सङ्घर्षशील जनता, जो साम्राज्यवादी हस्तक्षेपको विरोध गर्छन्, तब कम्युनिस्ट भनेर आम नरसंहार मच्चाउन आफ्ना सी.आई.ए. देखि सम्भव भए जति सबै किसिमका सैन्य सामग्री र सल्लाहकारहरु पठाउँछन् । यदि विद्रोही पक्ष शक्तिशाली हुँदै गएमा मानव अधिकार र लोकतन्त्रको नाममा सैनिक हस्तक्षेप आक्रमण गरेर प्रतिक्रियावादी सत्तालाई जोगाउने काम गर्दै आएका छन् । सिरियाली, अफगानी, लिबियाली, यमनी आदि जनताले अमेरिकी साम्राज्यवादीलाई कुनै हानी–नोक्सानी नगर्दा पनि हस्तक्षेप गरेर अपार धनजनको नोक्सान गर्नु र ती मुलुकहरुमा मानवीय सङ्कट सिर्जना गर्नु साम्राज्यवादीहरुको युद्धपिपासु प्रवृत्ति हो । यस सन्दर्भमा यमनबारे चर्चा गरौँ ।

यमन गणतन्त्रको जनसङ्ख्या २,७३,९२,७७९ छ भने जाति समूहहरु अरब, अफ्रो–अरब, दक्षिण एसियन र युरोपियन छन् । धर्मतर्फ मुस्लिम ९९.१ प्रतिशत, आधिकारिक आँकडा अनुसार सुन्नी ६५ प्रतिशत, शिया ३५ प्रतिशत छन् । कुल क्षेत्रफल ५,२७,९६८ स्क्वायर कि.मि. छ भने यमन मध्य–पूर्वी मुलुक हो । यसको दक्षिणमा अरेबियन प्रायद्वीप, उत्तरमा साउदी अरेबिया, पूर्वमा ओमन पर्छ । राष्ट्रपतीय व्यवस्था भएको यमनका राष्ट्रपति रबु मन्सुर हाडी छन् । रक्षा बजेट (२०१४ मा) १.९ अरब अमेरिकी डलर थियो । सक्रिय सेना १० देखि २० हजार छन्, तापनि सीमा रक्षा प्रभावकारी रूपमा गर्न सकेको छैन ।

यमनको अर्थतन्त्रमा उद्योगहरुमा कच्चा तेल उत्पादन र पेट्रोलियम रिफाइनिङ, सानो परिणामको उत्पादनमा कटन टेक्सटायल र छालाका सामान, हस्तकलाका सामान आल्मोनियम उत्पादन हुन्छ भने प्रमुख बालीहरुमा अन्न, फल, सागपात, कफी, रुवा र प्राकृतिक स्रोतहरुमा पेट्रोलियम, माछा, चट्टान नुन, मार्बल, सुन, सिसा, निकेल, तामा छन् भने कच्चा तेल जगेडा ३ बिल बिबिल्स छ । मुद्रामा रियल छ । प्रतिव्यक्ति सकल घरेलु उत्पादन २,७०० अमेरिकी डलर छ । आयात ५.५ अरब छ, जसमध्ये युएई २०.९ प्रतिशत, चीन १४.३ प्रतिशत, साउदी अरेबिया ९.८ प्रतिशत, कुवेत ७.४ प्रतिशत छ । निर्यात १.४ अरब अमेरिकी डलर छ, जसमध्ये चीन २४.५ प्रतिशत, युएई १६.५ प्रतिशत, साउथ कोरिया १० प्रतिशत, साउदी अरेबिया ९.९ प्रतिशत, कुवेत ९.१ प्रतिशत इन्डिया ८.५ प्रतिशत, टुरिज्म एक विलियन बजेट ५.९ बिलियन छ । साक्षरता ७० प्रतिशत छ ।

यमनको भूभाग बिबिल्कल राज्य शिवा अथवा सवाको भाग थियो । यमन शताब्दीयौँसम्म अट्टोमन टर्किसको शासनमा रहेर १९१८ मा स्वतन्त्र भयो । इमाम याह्या इब्न मुहमदले १९०४–४८ सम्म शासन गरे र उनको हत्या गरिएपछि उनका छोरा इमाम अहमदले १९४८ देखि ६२ सम्म शासन गरे । ब्रिगेडियर जनरल अब्दुल्ला अल–सलालको नेतृत्वमा १९६२ मा यमन अरब रिपब्लिक भएको घोषणा गरे । अहमदका उत्तराधिकारी इमाम मोहमद अल–बाडर पहाडतिर भागे, जहाँ जनजातिहरु शाही सेनामा सामेल भए । त्यस शाही सेनालाई साउदी राजाले सहायता गरे । राजतन्त्रवादी र गणतन्त्रवादीहरुको बीच भएको लडाइमा एक लाख ५० हजार जनता मारिए । यो लडाइँ १९७० मा आएर समाप्त भयो ।

बेलायती उपनिवेश एडेन र बेलायत संरक्षित दक्षिण अरेबिया मिलाएर दक्षिणी यमन भएको थियो । दक्षिणी यमन नोभेम्बर १९६७ मा स्वतन्त्र भयो । सोभियत पक्षको माक्र्सवादी राज्य भएकाले यसले १९७० मा पिपुल्स डेमोक्रयाटिक रिपब्लिक अफ यमन नामाकरण गर्‍यो । तीन लाख यमनी दक्षिणबाट उत्तरतिर स्वतन्त्र भएपछि भागे । दुई दशकसम्म दुई राज्यहरुका बीचमा शत्रुता रह्यो । दुई मुलुक मे २१, १९९० मा औपचारिक रूपले एक भए । तर क्षेत्रीय विपक्षी जातिमा आधारित भएकाले १९९४ मा पूर्ण रूपको गृहयुद्ध भयो । मे २१, १९९४ मा पृथकतावादीहरुले दक्षिणी यमनबाट अलग भएको घोषणा गरे । तर उत्तरतिरका सेनाले दक्षिणी यमनको राजधानी एडेनमाथि जुलाईमा अधिकार गरे । सेप्टेम्बर २८ मा एउटा नयाँ संविधान स्वीकृत भयो ।

२००४ को जुनमा यमनी सरकारी सेना र शिया विद्रोहीका बीचमा युद्ध सुरु भयो । शिया विद्रोहीको नेतृत्व एक जना अमेरिकी विरोधी पुरेत हुसेन अल हाउथीले गरेका थिए । यस सङ्घर्षमा २०० जना मारिए । यमनी सरकारले सेप्टेम्बर १० मा अल काउथीलाई यमनी सेनाले मारेको घोषणा गर्‍यो । अक्टोबर १२, २००० मा अमेरिकी सेना इन्धन भर्न रोकिएको समयमा बम खसालेपछि १७ जना अमेरिकी मारिए । अमेरिकी सरकारले यो हमला अल–कायदाका नेता ओसामा बिन लादेनसँग सम्बन्धित आतङ्कवादीले गरेको भनेर दोषारोपण गर्‍यो ।

२००७–१० सम्म उत्तर पश्चिमी क्षेत्रमा शिया विद्रोहीले विद्रोहले गरे भने दषिणका पृथकतावादीले, पूर्वमा सुन्नी लडाकुहरु, जो अरेबियन प्रायद्वीपका अल–कायदाहरुसँग सम्बन्धित थिए, उनीहरुले विद्रोह गरेका थिए र समुद्री तटवर्ती क्षेत्रमा समुद्री डाकुहरुले यमनी सरकारलाई चुनौती दिइरहेका थिए । अरब बसन्तको समयमा भएका प्रदर्शनहरुमा राष्ट्रपति अली अब्दुल्ला सालेको राजीनामाको माग गरे । जुन ३ मा राष्ट्रपतिको कम्पाउण्ड सानमा भएको रकेट हमलामा सालेह बेसरी घाइते भएका थिए । उपराष्ट्रपति अब्दुल रब्बुक मन्सुर हाडी कायम मुकायम राष्ट्रपति भए । अबवर अल अवलाकी, एक अमेरिकी नागरिक र आमूल परिवर्तनकारी मुस्लिम मुल्ला, जो अमेरिकी साम्राज्यवादका विरुद्ध सम्बन्धित थिए, उत्तरी यमनमा अमेरिकी मिसाइल हमलामा सेप्टेम्बर ३०, २०११ मा मारिए । नोभेम्बर २३, २०११ मा सालेहले राज्यशक्ति सुम्पिए । हाडी आधिकारिक रूपमा चुनावमा बिना प्रतिस्पर्धा फेब्रुअरी २०१२ मा राष्ट्रपति भए । तर यमनमा स्थिरता ल्याउन असमर्थ भए । अमेरिकी साम्राज्यवादीले ए.क्यू.ए.पी. (अल–कायदा अरेबियन प्रायद्वीप) विरुद्ध लगातार हवाइ आक्रमण गर्‍यो । जुन ९, २०१५ मा ड्रोन आक्रमणमा समूहका नेता, नासीर अल उहाइशी मारिए । हाउथी भनेर चिनिएका शिया विद्रोहीहरुले सेप्टेम्बर २०१४ मा राजधानी सानामाथि अधिकार जमाए र पश्चिमी यमनका धेरै भागमा नियन्त्रण गरे । अन्य क्षेत्रहरुमा भीषण युद्ध भयो । सुन्नी मुलुकहरुको सहकार्यमा साउदी अरेबियाले हाडीलाई समर्थन गरेर हाउथी सेनामाथि हवाइ आक्रमण मार्च २५, २०१५ मा थाल्यो । साउथी सेनालाई इरानको सहयोग र सालेहप्रति वफादार सैनिक एकाइहरुले समर्थन गरे । हवाइ हमला र अरू युद्धहरुले गर्दा नागरिकहरुको हताहती ज्यादै उच्च बन्दै गएको छ । ए.क्यू.ए.पी. ले दक्षिणी यमनका भागहरुमा नियन्त्रण गर्‍यो, तापनि २०१६ मा केही क्षेत्रहरुबाट लखेटियो । सुन्नी अतिवादी समूह आई.एस.आई.एस. ले २०१५–१६ मा शियाका अधिकार क्षेत्रमा घातक आतङ्कवादी बम विस्फोटहरु गरायो । संयुक्त राष्ट्र सङ्घको पहलमा युद्धविराम अप्रिल १०, २०१६ मा भए तापनि अगस्तमा पुन: युद्ध फैलियो । संयुक्त राष्ट्र सङ्घको आधिकारिक अनुमान अनुसार कमसेकम १० हजार मानिस २०१५ देखि यमनी गृहयुद्धमा मारिई सकेका छन् । जुलाई ३१, २०१६ सम्म २.८ मिलियन मानिस विस्थापित (आन्तरिक शरणार्थी) भइसकेका छन् भने एक लाख ८० हजार यमनीहरु शरणार्थीका रूपमा नजिकैका मुलुकमा बसिरहेका छन् ।

प्रत्यक्ष यमनी बर्बर युद्धमा संलग्न नभए तापनि अमेरिकी साम्राज्यवादीको आशिर्वाद साउदी अरेबियालाई रहँदै आएको थियो । तर गत वर्षदेखि अमेरिकी सेनाको विशेष दस्ता ग्रिन बेरेटहरुका करिब एक दर्जन दस्ता साउदी अरेबिया र यमनको सीमामा तैनाथ गरिएका छन् । यसले यमन युद्धमा गोप्य रूपले अमेरिकी संलग्नता बढ्दो रूपमा देखिदै छ । यी सैनिक कमान्डोहरुले हाउथीका गोप्य बिलस्टिक मिसाइलका स्थलहरुलाई नष्ट पार्ने लक्ष्यका साथ तैनाथ गरिएका छन् । किनभने साउदी अरेवियाको रियाद र अन्य साउदी शहरहरुमा हाउथी विद्रोहीले मिसाइल आक्रमण गर्दै आएका छन् । ग्रिन बेरेटका बारेमा विस्तृत विवरण दिइएका छैनन्, तापनि द न्युयोर्क टाइम्स र युरोपियन कूटनीतिज्ञहरुबाट समाचार बाहिर आएका हुन् । यमनको भित्रसम्म पहुँच भएका हौथी विद्रोहीहरुलाई निसानामा पार्न अमेरिकी पैदल सेना सीमानामा पठाउनाले यो अरू भित्रसम्म घुस्दैछ । जब अमेरिकी सैन्य दस्ता अगाडि बढ्छ भने अन्य विकसित पुँजीवादी मुलुकहरुले पनि सहयोगको हात अमेरिकालाई दिनेछन् । अल–कायदालाई अमेरिकी लगायत युरोपेली मुलुकहरुले ठुलो आतङ्कवादी सङ्गठन मान्दै आएका छन् । वर्षौंदेखि अल–कायदा अरेबियन प्रायद्वीपलाई आफ्नो आधारभूमि बनाउँदै आएको छ । हाउथी शिया मुस्लिम विद्रोहीहरुलाई इरानको समर्थन रहेको छ । हाउथी विद्रोहीहरुले यमनको उत्तरबाट राजधानी सानामा एकत्रित भएर यमनी राष्ट्रपति अब्द रब्बु मन्सोर हाडीलाई भाग्न बाध्य पारे, जो अमेरिकाको यमनमा आतङ्कवाद विरोधी मुख्य साथी हो ।

२०१५ मा मिलीजुली सैनिक आक्रमणको नेतृत्व गर्दै साउदी अरेवियाले हाउथीहरुमाथि बम वर्षाउन थाले । किनभने हाउथी विद्रोहीरुले साउदी राजधानी रियादसम्म मिसायल आक्रमण गर्दै आएका छन् । हाउथीलाई अमेरिकी साम्राज्यवादले आतङ्कवादी समूह भनेर वर्गीकरण गरेको छैन र हाउथी समूहले अमेरिकालाई प्रत्यक्ष रूपले कुनै खतरा पुर्‍याएका छैनन् । साम्राज्यवादी तथा विकसित पुँजीवादी कुनै पनि मुलुक र अन्य मुलुकमा कुनै गतिविधि नगरेर यमनी भूमिमै सङ्घर्षरत देखिन्छन् । हाउथी अपरिस्कृत लडाकु समूह हुन ।

डिसेम्बर (२०१७) तिर ग्रिन बेरेटसलाई अमेरिकाले तैनाथ गरेको हो, जुन युवराज मोहमद बिन सलमनले लामो समयदेखि अमेरिकालाई हाउथीसँग लड्न सहायताका लागि अनुरोध गरेका थिए । ट्रम्प प्रशासनले आधा दर्जन सैनिक अधिकारी र कमान्डोहरु पठाएर साउदी पैदल सेनालाई तालिम दिएर उनीहरुको सीमा सुरक्षा गर्न सघाउँदै छन् । साउदी सैनिक अधिकारीहरुले अमेरिकी जासुसी विश्लेषकका सहायताले सउदी अरेबियाको दक्षिणी शहर नजरानबाट यमनमाथि हाउथी मिसाइल क्षेत्रहरुमा लगामतार रकेट आक्रमण गरे ।

पूर्व राष्ट्रपति ओबामाले लगातार सउदी अरेबियाको आलोचना गर्दै रहे, किनभने सउदीले बम प्रहार गरेर सयौँ नागरिकको हताहती गरेको थियो । यमनमा सउदीले गरेको हताहतिलाई लिएर हात हतियार बेच्न नै बन्द गराएका थिए । तर ट्रम्प राष्ट्रपति भएपछि पहिलो विदेश यात्रा सउदीको गरेका थिए । मार्चमा राज कुमार मोहम्मदले ट्रम्प र उच्च राष्ट्रिय सुरक्षाका अधिकारीहरुलाई वासिङटनमा भेट गरेपछि छ सय ७० मिलियन अमेरिकी डलर मूल्य पर्ने एन्टी ट्याङ्क मिसाइलहरु एउटा हातहतियारको प्याकेज अन्तर्गत अतिरिक्त पार्टपुर्जा र अमेरिकामा बनेका ट्याङ्क र हेलिकोप्टर पनि दिने स्वीकृति गरियो । ट्रम्पको आर्शिवादले राजकुमार मोहमद युवराज बनेपछि १२.५ अरब अमेरिकी डलर मूल्यका सैनिक हवाइजहाज सउदी अरेबियालाई बेच्न मन्जुर भए ।

रक्षा सहायक सेक्रेटरी मि. करिमका अनुसार २०१५ देखि हाउथी विद्रोहीले सय विलस्टिक मिसाइल प्रहार गरे र धेरै रकेटहरु घना बस्ती भएका केन्द्र, अन्तर्राष्ट्रिय एयरपोर्ट, सैनिक क्षेत्र, तेलका आधारभूत संरचना भएका सबै सउदी अरेबियाभित्र प्रहार गरिएका थिए ।

यमनी हाउथीलाई इरानले सबै किसिमका हातहतियार दिएकाले नै विद्रोहीले सउदी अरेबियाका भित्री भागसम्म प्रहार गर्न सकेको दाबी साउदी अरब र अमेरिकाले गर्दै आएका छन् । यमनी जनता प्रतिक्रियावादी यमनी सरकार, अमेरिकी साम्राज्यवादी तथा साउदी विस्तारवादीको दोहोरो मारमा परेका छन् । हाउथी एउटा राजनैतिक समूह हो र तिनीहरु मोटामोटी रूपमा जैदी सम्प्रदायका हुन् । यस समुदायका सदस्य यमनका तीन भागमा एक भाग छन् । हाउथीहरु शिया मुसलमान भए पनि इरानका शियाभन्दा फरक छन् । हाउथी (मिलिसिया) को सिद्धान्त अमेरिकी साम्राज्यवाद विरोधी, इजरायल विरोधी र अन्यायी सत्ताका विरुद्ध लड्ने सिद्धान्त भएकाले जनताका बीचमा घुलमिल भएर आफ्नो प्रभाव विस्तार गर्दैछन् । यमनी जनताको साम्राज्यवाद, विस्तारवाद तथा नस्लवादी यहुदीवादी विरोधी सङ्घर्षमा जीत जनताको हुनेछ र यमन एउटा शोषणरहित प्रजातान्त्रिक स्वतन्त्र मुलुक हुनेछ । यमनी जनताको शक्ति अजेय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here