पौष २०, काठमाडौं । टिकापुर काण्डका अभियुक्त रेशम चौधरीलाई संसदको सपथ ग्रहण गराएको कार्यप्रति नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले गम्भीर आपत्ती र विरोध प्रकट गरेको छ । उनीमाथि एउटा नावालक सहित ९ जना मानिसहरूको हत्याको आरोप छ । यो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय’को सम्मान दिनु अत्यन्त आपत्तिजनक कार्य भएको मसालले बताएको छ । पार्टीका महान्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरि भन्नु भएको छः “यो कुरा बुझ्न गाह्रो पर्दैन कि मधेशवादीहरूको दवावमा नै सरकारले यो कार्य गरेको हो ।”
मधेशवादीहरूले रेशम चौधरीलाई सपथ ग्रहण उनको मुद्दालाई राजनीतिक मुद्दा बताएर उक्त मुद्दालाई फिर्ता लिन तथा संविधानमा उनीहरूका राष्ट्रघाती संशोधनहरूलाई स्वीकार गर्न समेत लगातार दवाव दिंदै आएका छन् र उनीहरूका मागहरू पूरा नगरेमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने धम्की दिंदै आएका छन् । मधेशवादीहरूको त्यस प्रकारको धम्कीका कारणले नै सरकारले रेशम चौधरी जस्तो गम्भीर प्रकारको ज्यान मुद्दामा गिरफ्तार भएको व्यक्तिलाई समेत सपथ ग्रहण गराउने कार्य गरेको छ । सरकारको त्यस प्रकारको कार्यको वक्तव्य मार्फत महामन्त्री सिंहले तीव्र शब्दमा विरोध र भत्र्सना गर्नुभएको छ ।
“मधेशवादीहरूले जुन प्रकारका मागहरू अगाडि सारेका छन्, ती अत्यन्त आपत्तिजनक र राष्ट्रघाती प्रकारका छन् । उनीहरूको दवावमा आएर अहिले सरकारले रेशम चौधरीलाई सपथ ग्रहण गराएको कार्यबाट सरकारले उनीहरूका संविधानमा संशोधन सहित अन्य मागहरू पनि पूरा गर्दै जाने त होइन ?” शंका उत्पन्न भएको बताउँदै सिंहले भन्नु भएको छ ः “गम्भीर आशङ्का उत्पन्न भएको छ ।”
सरकारका त्यस प्रकारका कुनै पनि सम्झौतापरस्त कदमहरूको आफ्नो पार्टीले सम्झौताहीन प्रकारले विरोध गर्ने र अन्य सबै देशभक्त, राजनीतिक शक्तिहरू, सङ्घ संस्था, व्यक्तित्व वा जनतासँग पनि त्यसका लागि सिंहले अपील गर्नुभएको छ ।