अब के गर्छन् साना कम्युनिष्ट पार्टी ?

0
1439

काठमाडौं । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्य राख्दै एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गरे । उनीहरुले पार्टी एकताको घोषणा मात्र गरेनन्, विभिन्न धारामा रहेका साना कम्युनिष्ट पार्टीहरुलाई एकतामा आउन अपील पनि गरे ।

नेपाल कम्युनिष्ट पार्टी घोषणाको समारोहमा प्रधानमन्त्री ओली र नेता प्रचण्डले देशभित्र रहेका सबै कम्युनिष्ट घटकलाई छाति चौडा बनाएर एकतामा आउन अपील गरे । तर, साना पार्टीले अहिलेसम्म ओली र प्रचण्डको अपीलमाथि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

धेरैको चासो छ, अब के गर्छन् साना वाम दल ? साना दलका अधिकांश कार्यकर्ता नेकपामै पार्टी एकता गरे हुन्थ्यो भन्नेमा छन् । नेत्रविक्रम चन्द, मोहन वैद्य, सीपी मैनाली, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी नेतृत्वका वाम घटकहरु अहिले पनि सक्रिय छन् । यसबाहेक वाम पृष्ठभूमिबाट आएका नेता बाबुराम भट्टराई नयाँ शक्ति पार्टीको नेतृत्व गरेका छन् । अब के गर्लान् त यी घटकहरु ?

(१)  केसीको राष्ट्रिय जनमोर्चा

एमाले र माओवादीसँग गठबन्धन बनाएर चुनाव लडेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा एक सिट जितेको छ । मूलतः प्युठान र बाग्लुङ जिल्ला र फाटफुट रुपमा मध्य नेपालमा संगठन भएको राष्ट्रिय जनमोर्चा एमाले–माओवादी एकताप्रति मौन देखिन्छ ।

चुनावमा भाग लिने कार्यनीति लिएको जनमोर्चा भविष्यमा नेपाल कम्युनिष्ट पार्टीसँग एकतामा आउने सम्भावना छ । तर, मोर्चाको माउ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको मनोविज्ञान र दृष्टिकोणलाई नेताहरुले कसरी सम्बोधन गर्छन् ? एकता त्यसैमा निर्भर हुने देखिन्छ ।

(२) चन्दको नेपाल कम्युनिष्ट पार्टी

नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा रहेको छ । प्रचण्ड–बाबुरामहरु शान्ति प्रक्रियामा आउनु नै क्रान्तिप्रति गद्दारी ठान्ने यो शक्ति नयाँ युद्ध गर्ने बताइरहेको छ । नेपालमा नयाँ क्रान्तिका लागि नेता विप्लवले एकीकृत जनक्रान्तिको सिद्धान्त अघि सारेका छन् ।

यस समूहमा नेपालमा आमूल परिवर्तन चाहने युवा शक्ति मात्र छैनन्, अवैधानिक ढंगले आर्थिक लाभ हासिल गर्न चाहने समूह पनि छ । यो समूहले एमाले–माओवादी एकतालाई क्रान्तिको गद्दारी भनिरहेको छ ।

नेपालमा वास्तविक कम्युनिष्ट आफू नै दावी गर्ने विप्लव माओवादी तत्काल एकतामा आउने देखिँदैन । बरु, तत्कालका दृष्टि एमाले–माओवादी एकताप्रति असन्तुष्ट कार्यकर्ता तान्ने दाउमा उनी देखिन्छन् ।

(३) रोहितको नेपाल मजदुर किसान पार्टी

कुनै बेला देशका अधिकांश स्थानमा बलियो संगठन भएको नेपाल मजदुर किसान पार्टी अहिले भक्तपुर जिल्लामा सीमित भएको छ, त्यो पनि पार्टीको संगठनभन्दा अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’को प्रभावका कारण जीवित छ ।

राष्ट्रवादी अडान भएका रोहित तत्काल पार्टी एकता गर्ने सोंचमा छैनन् । तर, संसदीय निर्वाचनमा भाग लिने कार्यनीति लिएको नेमकिपाका लागि थ्रेस होल्ड र एमाले–माओवादी एकता चुनौति बनेर उभिएको छ । यो समूह ढिलो–चाँडो एकतामा आउने देखिन्छ ।

(४) वैद्यको क्रान्तिकारी माओवादी

प्रचण्डसँग अलग भएर बसेका मोहन वैद्यले क्रान्तिकारी माओवादी नामक पार्टी चलाइरहेका छन् । तर, उनको पार्टीमा प्रौढ युस्ताका केही नेताबाहेक कार्यकर्ता र मतदाता देखिँदैनन् । क्रान्तिका लागि भन्दै अलग भएको यो समूहका सक्रिय र शक्तिशाली बहुमत नेता–कार्यकर्ता विप्लवतिर लागेपछि वैद्य माओवादी अस्तित्व रक्षाको संकटमा छ ।

यो समूह तत्काल नेकपासँग एकतामा आउने देखिँदैन । तर, चुनावमा भाग लिने वा हतियार उठाउने भन्नेबारे वैद्य माओवादी अनिर्णयको बन्दी भएको छ । अहिलेकै परिस्थिति हेर्दा वैद्यका नेता, कार्यकर्ता केही ओली–प्रचण्ड धार र केही विप्लव धारमा लागेर पार्टी नै सिद्धिने खतरा छ ।

(५) मैनालीको नेकपा माले

सीपी मैनालीको नेतृत्वमा रहेको नेकपा (माले) ले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा कहीँ जित्न सकेन । माले–एमाले एकतापछि माले पूनर्गठन गरेका मैनाली वैचारिक मतभेदभन्दा पनि राजनीतिक प्रतिद्धन्दिताका कारण अलग समूहमा छन् ।

अघिल्ला निर्वाचनहरुमा माओवादीसँग चुनाव चिन्ह मिल्ने कारण मालेले केही सिट जित्दै आएको थियो । तर, यसपटक त्यो अवसर मिलेन । तर, एकताबारे माले मौन छ । मालेको एकीकृत पार्टी नेकपासँग कुनै वैचारिक मतभेद देखिँदैन । यसरी हेर्दा भविष्यमा मैनालीको उचित व्यवस्था हुन सक्दा माले पनि एकतामा समाहित हुन सक्छ ।

(६) बाबुरामको नयाँ शक्ति नेपाल

नयाँ बैकल्पिक शक्ति निर्माणको उद्घोषसहित माओवादीबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्तिको संयोजक छन्। । यस समूहले आफूलाई कम्युनिष्ट शक्ति नठाने पनि वाम लोकतान्त्रिक शक्ति मान्दै आएको छ । इतिहासमै अस्तित्व संकटमा रहेको नयाँ शक्ति एकताको उचित मौकाको खोजीमा देखिन्छ ।

माओवादीमा छँदा राष्ट्रिय छवि बनाएका बाबुरामलाई ओली र प्रचण्डले खास ठूलो महत्व दिएका छैनन् । पछिल्लो समय भट्टराई नेपाल कम्युनिष्ट पार्टीसँगै एकताको मनोविज्ञानमा छन् । व्यक्तिगत आकांक्षा ठूलो र संगठनको आकार सानो हुँदा उनी आफै अन्तद्र्धन्द्धमा फसेको देखिन्छ । तर, नयाँ शक्ति केही समयभित्र नेकपासँग समाहित हुने सम्भावना छ ।

(७) अन्य वाम समूह

यीबाहेक आहुति, गोपाल किराँती लगायतका नेताहरुले पनि नयाँ पार्टी भन्दै स–साना समूह बनाएका छन् । तर, उनीहरुसँग न संगठन छ, न व्यवस्थित गन्तव्य ।

पार्टी एकतामा वैचारिक र व्यक्तिगत टकरावमा बाहिरिएका यी नेताहरु कालान्तरमा नेपाल कम्युनिस्ट पार्टीमै आउने सम्भावना छ ।

उज्यालो नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here