अप्ठ्यारो मान्छे

0
178

— विनोदविक्रम के.सी.

सजिलै त मलाई केही पनि चाहिँदैन
सजिलो त मलाई केही पनि गर्नु छैन घ्

सजिलो त
नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ
लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ
बृद्ध आमाबाउलाई बृद्धाश्रमको गेट बाहिर फालेर भाग्न सजिलो हुन्छ

सजिलो त
पुँजीवादको पुत्ररत्न बनेर मजदुरको माड लुट्न सजिलो हुन्छ
कुनै सत्तासिनको ढोकामा आत्माको बलि दिन सजिलो हुन्छ
अत्याचारबाट नजर हटाएर अन्यत्र आँखा टाँग्न सजिलो हुन्छ
जिब्रो चपाएर बोल्न या मौन बस्न सजिलो हुन्छ

सजिलो त
विजेताहरूको इतिहास रटेर
पराजितका काटिएका नाक–कानमाथि
पर्दा हाल्न सजिलो हुन्छ
सजिलो त
विष पिउन सजिलो हुन्छ

सजिलै त कायर भइन्छ, कायर
सजिलोले त प्राप्त गराउँछ केवल गुलामी

म सजिलै जन्मिएको होइन
एउटा समरै लडेर
मेरी आमाले मलाई यो धर्तीमा ल्याएकी हुन्
सजिलै हुर्किएको होइन म
हुँडार जस्तो गरिबीको निर्दयी अट्टहासबीच
हुर्किएको हुँ

म कम्युनिस्ट बनेको दिन
उनीहरूले मेरा लालाबालालाई तोप दागेका थिए
म सत्यको उज्यालो खोज्न निस्केको सााझ
उनीहरूले देशमा ब्ल्याकआउट गरेका थिए
मेरा सपनाहरू फुल्न–फुल्न लागेकै याममा
उनीहरूकै आदेशमा गडगडाएको थियो आकाश
र, भएको थियो भारी अम्ल वर्षा
कुन दु:खले जोगाए हुाला सपनाहरूलाई मैले

म अप्ठ्यारै अप्ठ्यारोहरूबाट बनेको
अप्ठ्यारो मान्छे हुँ
मैले सजिलो खोजेँ भने
मैले सजिलो रोजेँ भने
मृत्यु हुन्छ एउटा बागीको
बिच्किन्छ एउटा तुफानी यात्रा
दुनिया कुरूप बनाउने नियतहरू विरूद्ध चलाउन
बाँकी बच्ने छैन एउटै अस्त्र
समाप्त हुने छ खराब र असलको भेद

सजिलै मलाई केही चाहिँदैन
एक दानो अनाज र एक घुट्को पानी चाहिँदैन
जून चाहिँदैन, फूल चाहिँदैन

सजिलै त मलाई कसैको प्रेम पनि चाहिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here