अन्तर्राष्ट्रिय महिला दिवस International women’s day

0
691

लक्ष्मी बेल्वासे

अन्तर्राष्ट्रिय महिला दिवश महिलाहरुको दिन हो । जुन दिनलाई विश्वभरका आम महिलाहरुले आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनको एउटा महत्वपूर्ण दिनको रुपमा मनाउने गर्दछन् । सामाजिक तथा राजनैतिक जीवनसँग जोडिएर महिलाहरुले प्राप्त गरेका उपलब्धिहरुको सम्मान स्वरुप यो दिन मनाउने गरिन्छ । खास गरि यो दिन संसारभरका श्रमिक तथा मेहनतकस महिलाहरुको अधिकार प्राप्तिको आन्दोलनको रुपमा शुभकामनाहरु आदान प्रदान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाईन्छ ।

कुनै पनि देशको प्रगतिको लागि त्यो देशको सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा महिलाहरुको भुमिका र सहभागितालाई प्रमुखरुपमा लिनुपर्दछ । महिलाहरुको सहभागिता विना कुनै पनि प्रकारका बिकासात्मक कार्यहरूको कल्पना गर्न सकिँदैन । बिधमान असमान र विभेदयुक्त्त समाजले महिलाहरु माथी एकोहोरो र निकै निर्ममतापुर्बक प्रहारहरु गरेको छ । संसारको सामाजिक बिकासका लागि यस खालका लैंगिक असमानताको निरुपण गरिनु अत्यावश्यक हुन्छ । तर यस्ता कैयौ देशहरु छन् जहाँ देशको आर्थिक र राजनैतिक क्षेत्रमा महिलाहरुको उपस्थिति एकदमै न्युन रहेको छ । समाजमा एउटी महिला भएर जन्मिएकै कारणले उसले बिभिन्न प्रकृतिका शारीरिक तथा मानसिक शोषण खेप्नुपरेको छ । समाजमा अहिले पनि कयौँ महिलाहरु हिंसाको शिकार भएका छन् । त्यस्ता हिंसाहरु घरेलुदेखि सामाजिक र राजनैतिक प्रकृतिका हुने गरेका छन् । महिला हिंसाका विश्वमा घट्ने घटनाहरुलाई हेर्दा यौन हिंसाका घटनाहरुको अवस्था बढ्दो रुपमा पाईन्छ । यसखालका महिला हिंसाका घटनाहरु यति अमानवीय र क्रुर छन् की जुन घटनाले सामान्य मानविय समबेदना समेतको धज्जी उडाएका छन् । जस्तो अफ्रिकामा महिला भै जन्मनु अपराध जस्तै हुन्छ र त्यहाँ महिलाको अस्तित्वलाई नै नामेट पार्न खोजिदै छ । भारत, बंगलादेश लगायतका देशहरुमा दाईजोप्रथाको कारण हजारौं महिलाहरुले जिउँदै जलेर मर्नुपरेको कुरापनि त्यति नौलो भएन । नेपालकै तराई क्षेत्रमा पनि दाईजो प्रथा र यसका कारण सृजना भएका अपराधका घटनाहरु निरन्तर घटिरहेका छन् ।

एउटी महिलाले आफ्नी आमाको पेटमा भ्रुणको रुपमा गर्भमा रहँदा देखिनै उसको हत्याका अनगिन्ती प्रयासहरु हुने गरेका छन् । यदि उसले जन्म लिईहाले पनि समाजमा कयौं बिभेदको शिकार हुनुपरेको छ । कयौं अवसरबाट महिला भएकै कारण बञ्चित हुनुपरेको छ । समाजका सामाजिक संस्कार, रितिरिवाज र धार्मिक चलनहरुका नाममा समेत कुनै न कुनै प्रकारले प्रताडित बनाउने र विभेद गर्ने गरेको पाइन्छ । धार्मिक शास्त्रहरुलाई तत्कालीन सन्दर्भमा समाजको कानुनको रुपमा स्थापित गरि कानुनत महिला माथी उत्पिडन गर्ने र शोषण गर्ने गरिएको थियो । हिन्दु शास्त्र अनुसार पुरुषहरु यति सम्म स्वतन्त्र थिए की उनीहरुले जति सुकै बिवाह गर्नु स्वतन्त्र र बहादुरीको बिषय हुन्थ्यो । बहुबिवाह संस्थागत थियो । जस्तोकी योगेन्द्र मल्लका ३१ वटी रानी थिए भनिन्छ । शास्त्रहरुमा भगवानहरुका थुप्रै श्रीमती भएको कुरा उल्लेख गरिएको पाइन्छ । समयको क्रम सँगै यि कुराहरु समाजमा कम हुँदै गएतापनी समाजमा अझै पनि नारीको स्थिति जर्जर छ । दासप्रथा, बालबिवाह, बहुबिवाह जस्ता जटिल प्रथाहरु अझै पनि निरन्तर चलिरहेका छन । नेवार समुदायमा कुमारी प्रथा, सुदुरपश्चिममा छाउपडी प्रथा, देउकी जस्ता रुढीग्रस्त संस्कारहरु अझै पनि हट्न सकेका छैनन् । कुनै न कुनै रुपमा समाजमा स्थापित छ्न् । परम्परा देखिनै महिलालाई बच्चा जन्माउने, हुर्काउने, घरपरिवारको ख्याल गर्ने, सासुससुरा र लोग्नेको स्याहार सुसारमै दिनहरु ब्यतित गर्नुपर्ने जस्ता कार्यहरुले उनीहरुको क्षमता, प्रतिभा र सृजनात्मकताहरु गर्दा संकुचित हुँदै गए । त्यस सँगै अन्य बिभेदहरु पनि संस्थागत हुँदै गएको पाईन्छ ।

यसखालका सामाजिक बन्धन र रिति बिरुद्ध बोल्ने महिला सामाजिक अभियन्ताहरु बिरुद कयौं षड्यन्त्रहरु हुने गरेका छन् । समाज परिवर्तन गर्न खोज्ने तसलिमा नसरिन देश निकाला हुन पुगिन, मलाला युसुफजाइको कन्चटमा गोलि प्रहार गरियो, बेनेजिर भुट्टोलाई धार्मिक आलोचकको आरोपमा बिभत्स हत्या गरियो । यस्ता कार्यहरु पक्कै पनि महिला अधिकारको आन्दोलनका लागि अबरोध हुन् र अधिकारकर्मी महिलामाथिको निकृस्ठ प्रहार हो ।

ब्यक्ती, समाज र राज्यको पितृसत्तात्मक सोंचले महिला माथी गरेको अपमान र विभेद सँगै महिलाले महिलामाथी गर्ने शोषण पनि एउटा अमिलो उदाहरण हो । आफु बुहारी हुँदाका पिडाहरु भुलेर सासु बनेका तिनै महिलाले आफ्ना बुहारी माथी अत्याचार गर्छ्न् । त्यहि नारी सौता बनेर अर्की नारी माथी अन्याय गर्न पुग्छे । अझैपनि भाउजु, बुहारी, नन्द, आमाजुहरुको नाममा हुने सामाजिक संस्कार र चरित्र अहिले पनि पुरानै प्रकृतिको छ । ठुला ओहोदामा बसेर साधारण ग्रामिण महिलाहरु, पिछडिएका, उत्पिडित र कमजोर महिलाहरुलाई शोषण र दमन गरेका पाइन्छन् । यसखालका विभिन्न प्रकृतिका बिभेदहरु विरुद्ध स्वयं महिलाहरु भित्र सचेतनाको आवश्यकता छ । त्यसोत महिला मुक्तिको आन्दोलन बर्गिय मुक्ति बिना सम्भब छैन, यधपी महिलाका कयौं अधिकारको प्राप्ती र रक्षाको संघर्षलाई भने निरन्तर अघि बढाइरहनु आवश्यक छ । महिला अधिकारका यस्ता संबेदनशिल बिषयहरुलाई कुनै लैंगिक समुदायको विरुद्धको अभियान बुझ्नुको साटो महिलाहरुको मानव अधिकारको बिषयको रुपमा बुझिनुपर्दछ । त्यसकारण हरेक वर्ष मनाइँदै आइएको (मार्च ८ का दिन) अन्तर्राष्ट्रिय महिला दिवशले वास्तवमा एउटा दिनलाई दिवशको रुपमा मात्र मनाउन नभई महिला अधिकारको बहस र पैरवी गर्ने दिनको रुपमा लिनुपर्छ । यो दिन समाजमा विधमान विभेद, उत्पिडन र हिंसाको अवस्थाबाट मुक्त पार्दै समतामुलक समाजको निर्माण गर्न महिला शिक्षाको विकाश गर्ने दिनको रुपमा लिनु पर्छ । समाजका हरेक स्रोतहरु माथी महिलाको पहुँच बढाई महिला सशक्तिकरणको माध्यमबाट स्वतन्त्र र न्यायिक समाजको निर्माण गर्ने विषयमा छलफल गर्ने महिलाको एउटा ऐतिहाँसिक दिनको रुपमा अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसलाई लिनु पर्छ । अन्तमा संसारका सबै श्रमिक र मेहनतकस महिलाहरुलाई हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here