अनलाइन भिडियाे मार्फत यसरी मनाइयाे १३१ औं मई दिवस

0
20

टोकियो जापान ।
२०७७ वैशाख १९ गतेका दिन १३१औं मईदिवसको अवसरमा जापान नेपाली एकता समाज क्षेत्रीय कमिटी टोकियोको आयोजनामा विश्वभर छरिएर रहेका मजदुरहरु बीच अनलाइन भिडियो आमसभा सम्पन्न भएको छ । कोभिड १९ ( कोरोना भाइरस ) संक्रमणको कारण सम्पुर्ण मजदुरहरु आ- आफ्नो बासस्थानमा लकडाउनमा रहेको कारण यो प्रविधिको सहायतामा आमसभाको रूपमा मइ दिवस मनाइएको जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष देवेन्द्र बस्यालले बताउनु भयो ।

यो दिवस सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवसको रूपमा मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

सभामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा जापान नेपाली एकता समाजका कोषाध्यक्ष शालिकराम सापकोटाले अहिले पनि नेपाल लगाएत विश्वका श्रमजीवी मजदुरहरु शोषण र उत्पीडनमा रहेको हुँदा राज्यव्यवस्थामा आमूल परिवर्तनको आवश्यकता रहेको औल्याउनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नु भएको थियो । उहाँले अहिले विश्व मानव कोरोना संकटमा परेको बेला नेपाल सरकारले अत्यधिक बहुमत हुँदाहुँदै पनि त्यो संकट पार लगाउनुको साटो राजनीतिक अस्थिरता र सत्ता खिचातानीको राजनीति गरेको बताउनु भयो । कोरोनाको कारण श्रमजीवी जनता र मजदुर झन्झन् समस्यामा परेको उहाँको भनाइ थियो । अतिथिको रूपमा सभालाई सम्बोधन गर्दै बरिष्ठ वामपन्थी नेता कृष्ण पौडेलले मजदुर र किसान वर्ग क्रान्तिका आधारभूत वर्ग भएकोले कम्युनिस्ट आन्दोलनको विकास मजदुर र किसान वर्गको जगमा गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

अनलाइन आमसभामा सम्बोधन गर्ने अन्य अतिथिहरुमा अन्तराष्ट्रिय नेपाली एकता समाज अध्यक्ष गंगा पौडेल, बाम्पन्थी नेता बिमल शर्मा, अखिल नेपाल जनजाति महासंघ महासचिव रामबहादुर बुढामगर, अखिल नेपाल ट्रेडयुनियन महासंघ अनटुक अध्यक्ष नारायण सापकोटा, अखिल भारत नेपाली एकता समाज संस्थापक अध्यक्ष तथा हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दबहादुर थापा, रक्तिम सांस्कृतिक अभियान संस्थापक तथा जनगायक जिवन शर्मा, अखिल नेपाल किसान संघका पूर्व महासचिव कृष्ण केसी, अखिल नेपाल युवक संघ अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेल, बाग्लुङ्ग जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुँगाना, जातीय समता समाज केन्द्रीय सदस्य राजेन्द्र नेपाली हुनुहुन्थ्यो । यसैगरी मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा द.भा. क्षे. स. अध्यक्ष महेन्द्र वस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व उपाध्यक्ष मान बहादुर थापा, जापान नेपाली एकता समाजका अध्यक्ष यामलाल सापकोटा, जापान स्थित वामपन्थी नेता हेमलाल शर्मा हुनुहुन्थ्यो ।

यसैगरी विभिन्न मुलुकका नेपाली एकता समाजका अध्यक्ष तथा प्रतिनिधि मध्ये साउथ कोरीयाबाट बिदुर शर्मा, दुवइबाट कृष्ण केसी, जापानबाट बिष्णु केसी, बेल्जीयमबाट हिमाल थापा र स्पेनबाट दुर्गा शर्मा, ओमनबाट छविलाल बस्नेत, विक्रम थापा, जातीय समता समाजका संस्थापक अध्यक्ष पूर्व सभासद सन्तबहादुर नेपाली, प्रगतिशिल पत्रकार महासंघ पूर्व अध्यक्ष नारायण शर्मा, रक्तीम परिवारकी पूर्व सचिवालय सदस्य तथा जनवादी गायीका निलिमा पुन, राष्ट्रिय जनमोर्चा पूर्व केन्द्रिय सदस्य गौरिलाल कार्की, अखिल ( छैठौं )पुर्व केन्द्रिय सदस्य तथा युवा नेता सागर कुँवर लगायतले सभामा आफ्ना भनाइ राख्नु भएको थियो ।

सभा सुरु हुनु अघि सहिद प्रति एक मिनेट मौनधारण गरिएको उक्त कार्यक्रमको बीच बीचमा जनगायक जीवन शर्मा र जनवादी गायिका निलिमा पुनले रक्तिमका सांस्कृतिक कोसेली पस्कनु भएको थियो । उहाँहरुलाई मानबहादुर भण्डारी, लक्ष्मी रिजाल उदय, शरद लामिछाने र नवीन बस्यालले साथ दिनुभएको थियो । झण्डै सय जनाको सहभागिता रहेको भिडियो अनलाइन आमसभाको स्वागत मन्तव्य जापान नेपाली एकता समाजका सचिव बासु पौडेलले गर्नुभएको थियो भने संचालन, सहजीकरण र अध्यक्षता जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष देबेन्द्र बस्यालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here